व्यक्तित्वआइतवार, आश्विन २३, २०७३

अथक अरुणा

सविता श्रेष्ठ

शरीरमाथि महिलाका अधिकार र बदलिंदो जीवनशैलीले निम्त्याएका स्वास्थ्य समस्याबारे वर्षौंदेखि सुनिरहेको आवाज अरू कसैको नभई अरुणा उप्रेतीकै हो।

एघार वर्षकै उमेरमा चलचित्र आमा हेरेर डा. अरुणा उप्रेती (५६) ले लेखेको 'सम्पादकलाई चिट्ठी' गोरखापत्र मा छापियो। मनमा लागेका, देखे भोगेका कुरा लेख्नू भनी नौ वर्षकै उमेरमा उनलाई बुबाले डायरी थमाइसकेका थिए, जुन आजपर्यन्त जारी छ। 

बाल्यकाल र किशोरी अवस्थामा कथा, कवितामा भुलेकी उप्रेती तीन दशकयता आम मानिसका स्वास्थ्य समस्या उजागर गरिरहेकी छन्। वर्षेनि हजारौं महिलाको ज्यान लिइरहेको असुरक्षित गर्भपतनलाई कानूनी मान्यता दिलाउन सन् १९८६ देखि वकालत गर्नेमा उप्रेती अग्रपंक्तिमा थिइन्। “अहिले गर्भपतनले कानूनी मान्यता पाइसकेको छ, केही गर्न सकेकोमा खुशी लाग्छ”, उप्रेती भन्छिन्।

कामका सिलसिलामा सुदूरपश्चिम पुगेकी उनी त्यहाँका महिलामा पाठेघर खस्ने समस्या देखेर आत्तिइन्। कर्णालीमा खाद्यान्न अभावका कुरा पनि उत्तिकै चासोका साथ उठाइन्। पत्रिकामा लेख लेख्ने, टेलिभिजनमा अन्तर्वार्ता दिने अतिरिक्त उनी समस्या सुल्झाउन नीतिनिर्मातालाई समेत घच्घच्याउँछिन्।

नेपालीको बदलिएको खानपान र जीवनशैलीले स्वास्थ्यमा पारेका असरबारे पटकपटक लेखिरहँदा उप्रेतीलाई कतिपयले पोषणविद् पनि भन्छन्। हेल्थ असिस्टेन्टको पढाइपछि रूसमा सात वर्ष लगाएर एमबीबीएस अध्ययन पूरा गरेकी उनले त्यसपछिको सात वर्ष जिल्लाका विभिन्न सरकारी अस्पतालमा काम गरिन्। नेदरल्याण्ड्समा सोसल स्टडिजमा स्नातकोत्तर गरेपछि भने उनको विशेषज्ञताको दायरा फराकिलो भयो। उनी मानव स्वास्थ्य र समाजका सम्बन्धका बहुआयामबारे काम गर्न थालिन्।

जनस्वास्थ्य विशेषज्ञका रूपमा अफगानिस्तान, इरान, सुडान, भारत, श्रीलंका जस्ता देशमा प्राकृतिक प्रकोपबाट प्रभावित तथा युद्धग्रस्त समुदायका महिला र बालबालिकाको स्वास्थ्य सुधारमा काम गरेको अनुभव उनीसँग छ। मुलुकका विकट जिल्लामा स्वास्थ्य शिविर सञ्चालन गर्ने र महिला स्वास्थ्य स्वयंसेविकालाई तालीम दिने कार्यमा पनि उनको संलग्नता छ। महिला स्वास्थ्य र अधिकारबारे आयोजना गरिने अभियानमा त उनी सधैंकी सदस्य नै हुन्।

स्वास्थ्य समस्यालाई अस्पताल, डाक्टर र औषधिभन्दा बाहिरबाट समेत हेर्नुपर्ने उप्रेतीको उपचारमा परम्परागत ज्ञानको उपयोगमा पनि जोड रहेको छ। “मान्छेले जानी जानी स्थानीय स्वस्थकर खाना बेवास्ता गरिरहेका छन्, म यसलाई चिर्ने कोशिशमा छु”, उनी भन्छिन्। स्वास्थ्य सबैभन्दा बढी जनसरोकारको विषय भएको तर यसलाई बेवास्ता गरिएकोम उप्रेतीको गुनासो छ। भन्छिन्, “वास्तवमा यो जत्तिको सशक्त राजनीतिक मुद्दा अरू हुनै सक्दैन।”

आफ्ना लेख, विचारबारे जान्नेबुझेकाहरूबाटै 'यो भएन, त्यो भएन भन्दै कत्ति गनगन गरिरहेको?' भन्ने टिप्पणी उनले पटकपटक सुनेकी छिन्। तर, उनलाई यसैले सन्तुष्टि दिन्छ। भन्छिन्, “कम्तीमा मान्छेले पढेका छन्, आज गम्भीर नभए पनि कुनै बेला जीवनशैलीमा परिवर्तन ल्याउँछन् भन्ने लाग्छ।”

सन्तुलनका पर्याय: विपिन अधिकारी

स्वतन्त्रताका सारथि: राधेश्याम अधिकारी

समाजका पूँजी: चैतन्य मिश्र

लोकतन्त्र खातिर: शम्भु थापा

बेथितिका शल्यचिकित्सक: रामेश

संकटका स्वर: केदारभक्त माथेमा

अद्भुत अन्तर्राष्ट्रिय नागरिकः कुलचन्द्र गौतम

बेलाको बोली: प्रत्यूष वन्त

सीमाञ्चलका सेतु: चन्द्रकिशोर

सुशासनका योद्धा: जीवन क्षेत्री

सद्भाव दूत: शान्ता चौधरी

आमवृत्तका अभि

विकास विचारक: सूर्यराज आचार्य

विधिका वाहक: नीलाम्बर आचार्य

बहुआयामिक बौद्धिक: पीताम्बर शर्मा

हाम्रा बौद्धिक

 

प्रतिकृया दिनुहोस