व्यक्तित्वआइतवार, आश्विन २३, २०७३

समाजका पूँजी: चैतन्य मिश्र

रामेश्वर बोहरा

'पपुलिज्म' र भीडबाट टाढै रहेर बदलिंदो नेपाली समाजको वास्तविक चरित्र बुझाउन प्रा. चैतन्य मिश्रजत्तिको योगदान शायदै अरुले गरेका छन्।

संविधानसभाबाट संविधान निर्माण प्रक्रिया चलिरहँदा राजनीति र समाज दुवैलाई ध्रुवीकरणतर्फ डोर्‍याउने केही खतरनाक घटनाक्रम देखापरे। जसमध्ये एउटा थियो– 'जातीय अग्राधिकार' को प्रस्ताव। यो मुलुकलाई 'जातीय फेडेरेशन' मा लैजाने अवधारणाको नतीजा थियो।

जातप्रथाको थिचोमिचोमा परेका जाति/समुदाय र धनी–गरीबबीचको असमानता हल गर्ने एक मात्र 'सूत्र' नै जातीय अग्राधिकार भएको तर्क संविधानसभादेखि राजनीतिक पार्टीसम्म, बौद्धिक जगतदेखि नागरिक पंक्तिसम्म हावी हुनपुगेको थियो। यति गम्भीर विषयमा पनि भोट ब्यांक गुम्ने त्रास र दातृ निकायबाट हुने आर्थिक लाभको आशमा राजनीतिक वृत्तदेखि बौद्धिकहरू केही बोलेनन्, मौन बस्न चाहे। 

तर, अपवाद बने– प्रा. चैतन्य मिश्र। मिश्रले जातप्रथाले निम्त्याएका समस्या सूक्ष्म रूपमा केलाउँदै जातीय अग्राधिकारको खुलेर विरोध गरे। जातिवादी 'पपुलिज्म' को तारो बन्नसक्ने जोखिम पर्वाह नगरी नेपालमा 'जातीय फेडेरेशन' हुनै नसक्ने दृष्टिकोण अगाडि सारे। र, समावेशी, बहुजातीय र बहुभौगोलिक संघीयता उपयुक्त हुने बहस चलाए।

मुलुकका अग्रणी समाजशास्त्री मिश्रको त्यो अग्रसरता कति दूरदर्शी थियो भन्ने दोस्रो संविधानसभा निर्वाचनको नतीजाले पुष्टि गरिदियो। 'जातीयता' को बहसमा आम जनताको रुचि होइन, राजनीतिज्ञ र अधिकारवादी कार्यकर्ताको स्वार्थ मात्र रहेको भन्ने उनको दृष्टिकोण सही ठहरियो। परिणामतः उग्र जातिवादी नाराको बीजारोपण गर्नेहरू अहिले दृश्यबाट टाढा पुगिसकेका छन्।

असाधारण बौद्धिक
त्रिभुवन विश्वविद्यालयको ३७ वर्षे प्राध्यापन सेवाबाट दुई वर्षअघि निवृत्त भएका समाजशास्त्री मिश्र अमेरिकी सरकारको निमन्त्रणामा 'फुलब्राइट स्कलर इन रेजिडेन्स एन्ड ह्युर्बर्ट हम्फ्रे प्रोफेसर' का रूपमा दुई सेमेस्टर समाजशास्त्र, मानवशास्त्र र राजनीतिशास्त्रका विद्यार्थीलाई पढाएर केही समयअघि मात्र नेपाल फर्के।

तर, व्यवहारतः उनी पहिलेभन्दा सक्रिय छन्। राजनीति, अर्थतन्त्र, समाजसँग जोडिने कुनै पनि मुद्दा छिमल्न सबैले उनैलाई खोज्छन्। समाजलाई दिशानिर्देश गर्ने गहन लेख, अन्तरसंवाद र विमर्शमा उनी जुटिरहन्छन्। “चैतन्य सर यो मुद्दाबारे के भन्नुहुन्छ भनेर मिडियादेखि जनमानससम्मले खोजी गर्छन्, कुनै पनि मुद्दामा धारणा बनाउन उहाँकै प्रतीक्षा हुन्छ” मानवशास्त्री सुरेश ढकाल भन्छन्, “थप उहाँ सजिलै उपलब्ध हुनुहुन्छ, सरल हुनुहुन्छ।”

बदलिंदो नेपाली समाजका स्वरुप र चरित्रबारे यथार्थपरक खरो विश्लेषकको परिचय बनाएका मिश्र नेपालमा समाजशास्त्रको औपचारिक अध्ययन शुरू गर्ने पहिलो पुस्तामध्येका हुन्।

नेपाली समाजको चरित्रबारे रहेका कैयन् भ्रम तोड्ने काम पनि उनले नै गरे। जस्तो, नेपाल 'अर्धसामन्ती र अर्धऔपनिवेशिक' भन्दै आएका कम्युनिष्ट पार्टीहरूको विश्लेषणमा उनी कहिल्यै सहमत हुन सकेनन्।

'नेपाली समाज पूँजीवादी हो' तीनदशकअघि नै मिश्रले भनेका थिए। तर, पार्टीहरू जडता त्याग्न तयार देखिएनन्। माओवादीले यही तर्कको जगमा दशकलामो हिंसात्मक विद्रोह गर्‍यो। तर, अहिले अवस्था फेरिएको छ। मुलुकका दुई ठूला कम्युनिष्ट पार्टी नेकपा एमाले र नेकपा माओवादी केन्द्रले औपचारिक रूपमै देश पूँजीवादमा प्रवेश गरेको स्वीकार गरिसकेका छन्।

“नेपाली समाजको पूँजीवादीकरणको इतिहासलाई मिश्रले जसरी अध्ययन, व्याख्या र विश्लेषण गर्नुभो, त्यो विलक्षण छ”, पार्टीभित्र पूँजीवादको बहस चलाएका एमालेका उपमहासचिव घनश्याम भुषाल भन्छन्, “विश्वविद्यालयमा खासगरी मार्क्सवाद अध्यापनमा उहाँले अग्रणी भूमिका खेल्नुभो। राजनीतिक र सामाजिक मुद्दा छिमल्ने उहाँको विशेषता यसैसँग जोडिन्छ।”

बौद्धिक कर्ममार्फत ज्ञान निर्माण र हस्तान्तरणमा मिश्रको यो समर्पणलाई नेपालको शैक्षिक र बौद्धिक जगतका लागि असाधारण मान्छन्, भुषाल। उनको भनाइमा प्रा. मिश्रले समाजशास्त्र पढ्ने र पढाउने मात्र गरेनन्, विश्वविद्यालय र बाहिरको समाजलाई जोड्ने काम समेत गरे।

मानवशास्त्री ढकाल निरन्तर एउटै दृष्टिकोणसहित समाजको रूपान्तरणलाई नजिकबाट हेर्ने, अनि बृहत् सन्दर्भसहित व्याख्या र विश्लेषण गर्ने मिश्रको खूबी नेपाली सन्दर्भमा 'यूनिक' ठान्छन्। “उहाँको प्राज्ञिक कर्मको बेजोड पाटो नै आलोचनात्मक चेत, समुदायसँगको 'इन्गेजमेन्ट' र अन्तरक्रिया हो”, ढकाल भन्छन्।

तर, मिश्र स्वयम् भने आफूमा कुनै विलक्षणता रहेको स्वीकार्दैनन्। यो आफ्नो लगन र यताउता नगर्ने स्वभावको परिणाम मात्र भएको उनको तर्क छ। “विश्वविद्यालयमा पढाउँछु, जर्नलमा लेख्छु, तर नागरिकको रूपमा पनि मेरो ड्युटी छ। पढेका कुरालाई समाजसँग जोडेर हेर्छु। मैले गरेको यत्ति हो”, मिश्र भन्छन्। मिश्रको सबैभन्दा गजबको पक्ष के हो भने शास्त्रीय मान्यता होइन, शास्त्रको जगमा आफूले बुझेको समाज पढाउँछन्, बुझाउँछन्। अहिलेको नेपाली समाजलाई चिन्ने हो भने नेपालको पहिलेदेखिकै समाज र विश्व समाजलाई बुझनुपर्ने उनको मान्यता छ।

समाजसँग अन्तरक्रिया गर्न सार्वजनिक यातायात चढ्ने र चिया दोकानमा सामान्य मान्छेका गफ सुन्नु मिश्रको जीवनशैली हो। निजी मोटर चढ्ने चाहना आजसम्म नपलाएको बताउने उनी मिलेसम्म पैदल हिंड्छन्। “समाज अध्येताले पब्लिकसँग अन्तरक्रिया नगरे के गर्ने?” 'पूँजीवाद र नेपाल', 'बदलिंदो नेपाली समाज', 'एस्सेज अन द सोसियोलोजी अफ नेपाल' जस्ता चर्चित पुस्तकका लेखकसमेत रहेका मिश्र भन्छन्।

दलविशेषको आवद्धता र सान्निध्यता बौद्धिक समुदायको सबभन्दा ठूलो समस्या र कमजोरी हो। दातृ निकाय–संस्थाका आर्थिक लाभले पनि नेपाली बौद्धिक समुदायलाई नराम्ररी गाँजेको छ, जसले स्वतन्त्र बौद्धिकको अन्तर्यमै प्रहार गरिरहेको छ। यस्तो प्रभावबाट जोगिनु समाजशास्त्री मिश्रको सबैभन्दा ठूलो पूँजी हो। एमालेका उपमहासचिव भुषाल भन्छन्, “बौद्धिक जगतमा धेरैजसोको व्यक्तित्व विवादित छ, अविवादित व्यक्तित्व नै उहाँको विशेषता हो।”

समाजशास्त्री मिश्रलाई धेरैले 'वामपन्थी स्कूलिङ' को उत्पादन ठान्छन्। तर उनका दृष्टिकोणप्रति असहमत हुने विरलै भेटिन्छन्। सन् १९८६ मा 'डेभलपमेन्ट एण्ड अनडेभलपमेन्ट' शीर्षकको लेखमा उनले नेपालले विकासका निम्ति आर्थिक रूपमा विश्वसँगको आबद्धता कम गर्दै लैजानुपर्ने र आत्मनिर्भरतामा जोड दिनुपर्ने तर्क गरेका थिए।

तर, केही समयपछि समस्याको सही पहिचान गरे पनि 'प्रेस्त्रि्कप्सन' गलत भएको स्वयंले महसूस गरे र सच्याए। त्यसपछि उनको दृष्टिकोणमा कहिल्यै उतारचढाव आएन। २०५१ सालको एमाले सरकारले ल्याएको 'आफ्नो गाउँ आफैं बनाऊँ' र ज्येष्ठ नागरिकलाई सामाजिक सुरक्षा भत्ता दिने आकर्षक कार्यक्रम घोषणा हुनुमा मिश्रकै भूमिका छ। त्यसबेला उनी राष्ट्रिय योजना आयोगको सदस्य थिए।

प्रायः आशावादी समाजशास्त्री मिश्र यतिखेर भने खिन्न छन्। र उनको खिन्नता पार्टीहरूप्रति आक्रोशका रूपमा प्रकट भइरहेको छ। “किनभने २० वर्षदेखि एउटै गतिलो शिक्षक विश्वविद्यालयमा आउन सकेन। कारण, समाजका सबै अवयवमा दलहरूले दाह्रा–नंग्रा फिंजाएका छन्”, उनको गुनासो छ, “आलोचनात्मक र स्वतन्त्र नागरिक बन्न नदिने दलहरूको यस्तो रवैया देखेर मलाई वैराग लागिरहेको छ।” पछिल्लो समय दलहरूको 'सर्वसत्तावादी' यही सोचविरुद्ध कडा प्रहार गर्न यदि कोही लागिपरेको छ भने ती मिश्र नै हुन्, जो अग्रमोर्चामा डटेका छन्।

हाम्रा बौद्धिक

बहुआयामिक बौद्धिक: पीताम्बर शर्मा

संकटका स्वर: केदारभक्त माथेमा

अद्भुत अन्तर्राष्ट्रिय नागरिकः कुलचन्द्र गौतम

सीमाञ्चलका सेतु: चन्द्रकिशोर

आमवृत्तका अभि

बेथितिका शल्यचिकित्सक: रामेश

विकास विचारक: सूर्यराज आचार्य

विधिका वाहक: नीलाम्बर आचार्य

बेलाको बोली: प्रत्यूष वन्त

 

प्रतिकृया दिनुहोस