व्यक्तित्वआइतवार, आश्विन २३, २०७३

सुशासनका योद्धा: जीवन क्षेत्री

रामु सापकोटा

माओवादी द्वन्द्वको पीडा र दोस्रो जनआन्दोलनको रापबाट आएका डा. जीवन क्षेत्री चिकित्सा शिक्षा सुधार र सुशासनका लागि लडिरहेका छन्।

बाग्लुङको दुर्गम राङ्खानी गाविसको राङ्खानी माविबाट २०५६ सालमा एसएलसी दिंदा 'मेरो जीवनको लक्ष्य' शीर्षक निबन्धमा 'दार्शनिक वा लेखक बन्छु' भनेर लेखेको डा. जीवन क्षेत्रीलाई याद छ, तर बने मेडिकल डाक्टर। उनी डाक्टरीमै सीमित हुन चाहेनन्, सुशासन र चिकित्सा शिक्षा सुधार आन्दोलनमा समाजको मार्गदर्शक बने। 

२०६२–६३ को जनआन्दोलनपछि मुलुकमा व्याप्त अस्थिरतामा चिकित्सा शिक्षामा मौलाएको चरम बेथिति विरुद्ध लड्न उनी अहिले लगातार चितवन–काठमाडौं गरिरहेका छन्। आर्थिक, राजनीतिक, सामाजिक, भ्रष्टाचार, हिंसा र अस्थिरता आदि विषयमा गतिलो गरी लेख्न र प्रखर रूपमा बोल्न सक्ने उनी फरेन पोलिसी जर्नल तथा एशिया टाइम्स अनलाइन, थर्ड रिपोर्टलगायतका विदेशी सञ्चारमाध्यमका स्तम्भकार पनि बनेका छन्।

२०६६ सालमा एमबीबीएस सकेर डाक्टरको रूपमा काम गर्न थालेपछि क्षेत्रीको परिवारमा रोजीरोटीको चिन्ता हट्यो। अध्ययनको दायरालाई पनि उनले फराकिलो बनाए। डाक्टरी पेशाभन्दा बाहिरका विषयहरूको अध्ययनले उनलाई महसूस गरायो– मुलुकमा लोकतन्त्र आए पनि जनताको पीडा–कष्ट कम हुने छाँटकाँट छैन।

माओवादी द्वन्द्वबाट प्रताडित र सरकारी यातनाको पनि भुक्तभोगी उनले २०६८ सालमा एमडी गर्न त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज आएपछि डा. गोविन्द केसीलाई चिनेका थिए। त्यसबेला डा. केसी चिकित्सा शिक्षा क्षेत्रमा पन्पिएको बेथिति हटाउन तेस्रो पटक आमरण अनशनमा बसेका थिए। त्यो भेटले डा. क्षेत्रीलाई जनताको पीडा कम गर्ने एउटा क्षेत्रको दिशानिर्देश गर्‍यो र सुशासनको अभियानमा लेख्न र शान्तिपूर्ण आन्दोलनको उपयोग गर्न थाले।

चिकित्सा शिक्षाको विकृति विरुद्ध डा. केसीले थालेको आन्दोलन प्रभावकारी हुन थाल्दा कतिपय अभियन्ता निजी मेडिकल कलेज संचालकहरूका अगाडि टिक्न नसक्ने अवस्था सिर्जना भयो। त्यतिबेला डा. क्षेत्री भैरहवाको युनिभर्सल मेडिकल कलेजमा काम गर्थे। उनलाई कलेजमा जागीर खाएर त्यसैको विरुद्ध भएको आन्दोलनमा सरिक हुन ठीक लागेन। अनि राजीनामा गरेर सुधार अभियान चलाउन काठमाडौं आए।

छँदाखाँदाको जागीर नछाड्न पारिवारिक दबाब हुने नै भयो, तर चिकित्सा शिक्षाको विकृति नहटाए १० हजार विद्यार्थीको भविष्य अन्धकार हुने र तिनले उपचार गर्ने लाखौं मानिसको स्वास्थ्य खतरामा पर्ने देखेर उनले आफ्नै आर्थिक सुरक्षालाई दाउमा राख्ने कठोर निर्णय गरेका थिए। त्यसपछि उनले ब्लग र अखबारहरूमा लेख लेखेर समाजलाई ब्यूँझाउन थाले, सञ्चारमाध्यमहरूलाई चिकित्सा शिक्षाका विकृतिहरू खोज्ने विषयहरू दिए।

डा. क्षेत्रीले नेपालको मेडिकल शिक्षामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीले जमाएको प्रभुत्व विरुद्ध कडा प्रतिवाद गरे। त्यसक्रममा उनले लेखहरू लेखेर हजारौंलाई सडकमा आउन प्रेरित गरे, सांसद्हरूसँग अन्तरक्रिया कार्यक्रमहरू चलाए।

उनले चिकित्सा शिक्षाका विकृति र अख्तियार प्रमुखमा कार्कीको नियुक्तिदेखि एनसेल कर छली, सर्वोच्चमा विवादास्पद न्यायाधीश, भारतीय नाकाबन्दी र समकालीन राजनीतिसम्मका विषयमा ५५० भन्दा बढी लेख प्रकाशित गरे।

चिकित्सा शिक्षा सुधारका लागि नागरिक अभियान र सोलिडारिटी फर डा. केसी एलायन्स गठन गरेर सक्रिय भएका डा. क्षेत्रीले परिवारभन्दा समाज र देशलाई केन्द्रमा राखेर काम गरिरहे। प्रेस विज्ञप्ति लेख्नेदेखि टिभी, रेडियो र पत्रपत्रिकामा अन्तर्वार्ता दिनेसम्म काम भ्याइरहेका उनको ध्येय समग्र नेपाली समाजको उन्नति हो।

मानिसहरू थिचोमिचोमा पर्ने, जिम्मेवार ठाउँमा बसेकाहरूले काम नगर्दा अरूले दुःख पाउने, नागरिकप्रति राज्य निष्पक्ष नहुने, निजी क्षेत्र र बजारको विकास न्यायसंगत नहुने जस्ता कारणले नेपाली समाजमा आन्दोलनहरू जन्मिने उनको विश्लेषण छ।

सार्वजनिक हितको लागि लड्न कोही न कोही अगाडि सर्नैपर्ने भएकोले आफू सुशासनको अभियानमा होमिएको डा. क्षेत्री बताउँछन्। “अरू लडेनन् भनेर आफू पनि हात बाँधेर बस्नु भएन”, उनी भन्छन्, “बुढेसकालमा सम्झ्ँदा विगतप्रति ग्लानि नहोस् भनेर पनि यता लागेको हुँ।”

विशेषज्ञ तहको अध्ययनमा अभिन्न मित्र बन्न पुगेका डा. सन्तोष पोखरेल डा. क्षेत्रीलाई मृदुभाषी, फेसनमा सोख नभएको, सरल, अध्ययनशील र एकदमै व्यापक ज्ञान राख्ने व्यक्तिको रूपमा लिन्छन्।

डा. क्षेत्रीले 'साउथ एशिया एण्ड बियोन्ड' नामक आफ्नो ब्लगको बायोमा आफूलाई 'हाफ इन्टलेक्चुअल' भनेका छन्। बौद्धिक बन्नुपर्छ भन्ने लाग्दालाग्दै पनि कहिलेकाहीं बौद्धिक भइनसकेको लाग्ने हुँदा त्यस्तो लेखेको उनी बताउँछन्।

सार्वजनिक मञ्चमा सक्रिय हुनेहरूबारे विभिन्न अड्कलबाजी हुन्छन् नै। क्षेत्रीलाई पनि कतिपयले बाबुराम भट्टराईको नयाँ शक्ति पार्टी पक्षधर भन्ने गरेका छन्। यसबारे डा. क्षेत्री भन्छन्, “म कुनै पार्टीविशेषको नभई समग्र नेपाली समाजको पक्षधर हुँ।”

हाम्रा बौद्धिक

बहुआयामिक बौद्धिक: पीताम्बर शर्मा

संकटका स्वर: केदारभक्त माथेमा

अद्भुत अन्तर्राष्ट्रिय नागरिकः कुलचन्द्र गौतम

सीमाञ्चलका सेतु: चन्द्रकिशोर

आमवृत्तका अभि

बेथितिका शल्यचिकित्सक: रामेश

विकास विचारक: सूर्यराज आचार्य

प्रतिकृया दिनुहोस