व्यक्तित्वआइतवार, आश्विन २३, २०७३

बेलाको बोली: प्रत्यूष वन्त

हिमालखबर

बौद्धिक कर्ममाथि नै शासनव्यवस्था खनिन थालेपछि चूपचाप प्राज्ञिक कर्म गरिरहेका प्रत्यूष वन्तलाई समेत सार्वजनिक बहसमा नओर्लिकन सुखै भएन।

अमेरिकाको युनिभर्सिटी अफ पेन्सिलभानियाबाट सन् १९९६ मा इतिहासमा विद्यावारिधि गरेर नेपाल फर्र्किएका प्रत्यूष वन्त (५१) ले नेपाली हिस्ट्री एण्ड सोसाइटी (सिन्हास) जर्नल सम्पादन गरेकै दुई दशक भयो। २००२ मा मार्टिन चौतारी स्थापना गरेर 'मिडिया अध्ययन' जर्नल सम्पादन गरेको पनि दशक नाघिसक्यो। 

आफूलाई सांस्कृतिक इतिहासकार भन्न रुचाउने वन्तले भानुभक्त आचार्य र नेपाली भाषाको सन्दर्भ, बलभद्र कुँवर कसरी वीर भनाइए? नेपाली समाजमा विद्यमान लाहुरे–गैरलाहुरेको अन्तरबारे समाजशास्त्रीय अध्ययन गरेका छन्। उनले दुई कार्यकाल नेतृत्व गरेको मार्टिन चौतारीले स्थापनाकालदेखि नै बहस, छलफल, गोष्ठी, सम्मेलन, अध्ययन अनुसन्धान, अनुसन्धान प्रवर्द्धन र प्रशिक्षण, प्रकाशन तथा सन्दर्भ पुस्तकालय सञ्चालन गर्दै आएको छ। चौतारीले गर्ने हरेक बौद्धिक काममा वन्तको योगदान जोडिएर आउँछ।

सामूहिकतामा विश्वास–वन्तको विशेषता हो। उनी आफूलाई पटक्कै मन नपरेको व्यक्तिसँग पनि बौद्धिक कर्म गर्न सक्छन्। समूहमा बसेर अध्ययन अनुसन्धान गर्नकै लागि आफू नेपाल फर्केको वन्तको भनाइ छ। उनी भन्छन्, “एक्लै गर्ने काम त अमेरिका बसेरै गर्न सकिन्थ्यो। तर सामूहिक कामको महत्व एकदमै ठूलो छ।” सोसल साइन्स बहाः, नेपाल वातावरण पत्रकार समूह (नेफेज) का सदस्य उनले लामो समय रेडियो सगरमाथामा पनि कार्यक्रम चलाए।

सन् १९९४ देखि विभिन्न पत्रपत्रिकामा लेख्न थालेपछि उनलाई लागेछ– सम्बन्धित विषयमा अध्ययन–अनुसन्धान गरेका वा अनुभव बटुलेका व्यक्तिको धारणा पो धारणा। विशेषज्ञहरु सार्वजनिक जीवनमा आफ्नो प्राज्ञिक कर्मको आधारमा उपस्थित भएका हुन् कि जे मन लाग्यो त्यही भनिरहेकामा छन्? यो प्रश्नले उनलाई सोच्न बाध्य बनायो। व्यावसायिक जीवनमा गरेको कर्मबाट आर्जित अनुभवको आधारमा सार्वजनिक धारणा राख्नु उचित हुने बताउँछन्। त्यसैको प्रतिफल हो– मार्टिन चौतारी।

अमेरिका पढेकै कारण नेपाली समाजमा 'सोसलाइज्ड' हुने अवसर गुमाएको ठान्ने वन्त पछिल्लो समय 'मौन संस्कृति' हावी हुने खतरा देखिरहेका छन्। हाम्रो जस्तो मुलुकमा स्वतन्त्र आवाजको झ्नै बढी आवश्यकता रहेको औंल्याउँदै वन्त भन्छन्, “सम्बन्धित क्षेत्रमा काम गरेकाले नबोले कसले बोल्ने?” अभिव्यक्ति स्वतन्त्रता नै हरण हुने वातावरण आएपछि भने सबैले बोल्नै पर्ने उनको धारणा छ।

“कुनै बेला मलाई पनि सबै व्यक्ति सार्वजनिक जीवनमा उपस्थित हुने हो भने आफ्नो काम कहिले गर्ने? भन्ने लाग्थ्यो” वन्त भन्छन्, “तर देशमा प्राज्ञिक कर्म गर्ने आधार नै कमजोर हुन थालेपछि चूप बस्न नहुने रहेछ।”

वन्त सबैले बोल्न, लेख्न पाउने वातावरण बनाउन पनि सामूहिक कर्म जरूरी रहेको बताउँछन्। तर, एउटै व्यक्ति सधैं सार्वजनिक बौद्धिक भइरहनुपर्छ भन्ने उनलाई लाग्दैन। उनका अनुसार, इतिहासकार महेशचन्द्र रेग्मी १९७७ तिर सार्वजनिक बौद्धिक थिए, तर त्यसपछि उनी नितान्त प्राज्ञिक कर्ममा लागिरहे। अर्थात् सार्वजनिक बौद्धिकलाई पनि 'रिटायर्ड' हुने मौका दिनुपर्ने उनको बुझाइ छ।

खरो र स्पष्टवक्ता वन्तको पछिल्लो चिन्ता 'लोकमानतन्त्र' छ। खासगरी अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख लोकमानसिंह कार्कीले आफ्नो अधिकार दुरुपयोग गरेर प्राज्ञिक कर्मको अधिकार नै खोस्न थालेपछि उनको सार्वजनिक सक्रियता बढेको छ। “अब लोकमानतन्त्रको अन्त्य नगरी आफ्नो काममा फर्किन गाह्रो छ”, वन्तको जोड छ।
सन्त गाहा मगर

हाम्रा बौद्धिक

बहुआयामिक बौद्धिक: पीताम्बर शर्मा

संकटका स्वर: केदारभक्त माथेमा

अद्भुत अन्तर्राष्ट्रिय नागरिकः कुलचन्द्र गौतम

सीमाञ्चलका सेतु: चन्द्रकिशोर

आमवृत्तका अभि

बेथितिका शल्यचिकित्सक: रामेश

विकास विचारक: सूर्यराज आचार्य

विधिका वाहक: नीलाम्बर आचार्य

प्रतिकृया दिनुहोस