व्यक्तित्वबिहिवार, आश्विन २०, २०७३

बहुआयामिक बौद्धिक: पीताम्बर शर्मा

हिमालखबर

योजनाविद् प्रा.डा. पीताम्बर शर्माले अधिकार, विकास, शहरीकरण, पर्वतीय पर्यटन, बसाइँसराइ र वातावरणदेखि राज्यपुनर्संरचनासम्मका विषयमा महत्वपूर्ण विचार दिइरहेका छन्।

११असोजमा बसेको मन्त्रिपरिषद् बैठकले 'गाउँपालिका, नगरपालिका तथा विशेष, संरक्षित वा स्वायत्त क्षेत्रको संख्या तथा सीमाना निर्धारण आयोग' लाई पुरानै इलाका अनुसारको स्थानीय तह बनाउन निर्देशन दिने निर्णय गर्‍यो। त्यसको दुई दिनपछि १३ असोजमा योजनाविद् पीताम्बर शर्माको विचारोत्तेजक लेख आयो, 'इलाकालाई स्थानीय तहमा रूपान्तरित गर्ने मजाक' शीर्षकमा। 

१ चैत २०७२ मा गठित आयोगका लागि निर्धारित मापदण्डको चिरफार गर्ने लेख पनि शर्माले लेखेका थिए। संविधानको धारा ५६ अनुसार पुनर्संरचना हुन लागेको स्थानीय तहको विषयमा समाजलाई स्पष्ट धारणा दिने ज्यादै कम बौद्धिकमध्ये एक हुन्, शर्मा। स्थानीय तहको पुनर्संरचना जस्तो गम्भीर विषयमा अझै पनि ध्यान नपुगेको ठान्छन्, उनी।

संविधान निर्माणको क्रममा राज्यपुनर्संरचना, संघीयता, समावेशिता जस्ता विषयमा शर्माले धेरै दिमाग खियाए। सांसद् तथा विश्लेषक श्याम श्रेष्ठको बुझाइमा, राज्यपुनर्संरचना र संघीयताको विषयमा आधिकारिक ज्ञान राख्ने विद्वान हुन्, शर्मा।

यो विषयलाई उनले २०५८ सालतिरै मसिनो गरी केलाएर आफ्नो धारणा सार्वजनिक गरेका थिए। यो विषयमा उनी किन यति मरिहत्ते गरेर लाग्छन् त? “मेरो अध्ययन र रुचिको विषय यही हो” ६९ वर्षअघि पर्वतको फलेबासमा जन्मेका शर्मा भन्छन्, “फेरि, पुनर्संरचनामा जाँदा विचार नपुर्‍याए शासनव्यवस्था सञ्चालन नै कठिन हुन्छ।”

अमेरिकाको कर्नेल युनिभर्सिटीबाट 'अर्बनाइजेसन एण्ड रिजनल प्लानिङ' मा विद्यावारिधि शर्माको दक्खल शहरीकरण र बसाइँसराइमा मात्र सीमित छैन। अनरिभलिङ द मोज्याकः स्पाटियल एस्पेक्टस् अफ इथ्निसिटी इन नेपाल (२००८), मार्केट टाउन्स इन द हिन्दू कुश–हिमालयज (२००१), टुरिज्म एज डेभलपमेन्ट (२०००), अर्बनाइजेसन इन नेपाल (१९८९) जस्ता पुस्तक उनको बहुआयामिक व्यक्तित्व दर्शाउन पर्याप्त छन्। प्रोफेसर शर्माले विकास, पर्वतीय पर्यटन, आर्थिक तथा वातावरणीय योजनालगायतका क्षेत्रमा सम्झ्नलायक काम गरेका छन्।

भूगोलविद् प्रा.डा. नरेन्द्रराज खनालको बुझाइमा प्रोफेसर शर्मा नीतिनिर्माण तहलाई प्रभावित पार्न सक्ने बौद्धिक हुन् भने सांसद् श्रेष्ठको नजरमा विश्वका विभिन्न देशमा भइरहेका घटनाक्रमको विश्लेषण गरेर नेपाली सन्दर्भमा जोड्न सक्ने थोरै विद्वानमध्येका एक बौद्धिक र खुला समाजको प्रखर प्रवक्ता। शर्माले गएको ७ भदौमा मार्टिन चौतारीमा दिएको 'लोकतान्त्रिक नेपालमा खुल्ला समाजका चुनौती' विषयक प्रवचनमा नेपाल खुल्लाको नाममा बन्द समाजतिर गइरहेको विश्लेषण सुनाए।

शर्माले चीनको 'वान वेल्ट, वान रोड' अभियानको विषयमा पनि आफ्नो धारणा राख्दै आएका छन्। उनको विश्लेषणमा, 'वान बेल्ट, वान रोड' ले लगानी आकर्षित गर्ने, नेपालभित्र खासगरी पहाडी अर्थतन्त्रमा रोजगारी सिर्जना गर्ने, पहाडबाट तराईतिरको बसाइँसराइलाई कम गर्ने र वैदेशिक रोजगारीमा जाने लर्को पनि घटाउनेछ।

२०५८ को जनगणनामा आधारित पुस्तक 'नेपाली क्यानभासका रंगहरू, जातीयताको भौगोलिक पक्ष' मा उनले नेपालका कुन जाति कहाँ बस्छन् भन्ने तथ्यांक प्रस्तुत गरेका छन्, जुन सन्दर्भ सामग्रीको रूपमा धेरै प्रयोग हुने पुस्तकमा पर्छ।

२०६८ को जनगणना अनुसार अर्को पुस्तक निकाल्न लागेका प्रोफेसर शर्मा भने नेपालको जातीय विविधताबारे आफैंलाई बुझाउन किताब लेखेको बताउँछन्। यस्तो पुस्तकले वास्तविकतामा आधारित बहस गर्न र छिटो निचोड निकाल्न मद्दत पुग्ने उनको विश्वास छ। “यस्तो काम पहिला डा. हर्क गुरुङ गर्नुहुन्थ्यो, अहिले मैले उहाँलाई सम्झेर गर्न थालेको हुँ”, शर्मा भन्छन्।

प्रोफेसर शर्माको कुनै अम्मल छैन, धेरै चिन्ता पनि गर्दैनन्, बरु नियमित व्यायाम र खान्कीमा ध्यान दिन्छन्। त्यसैले ६९ वर्षमा पनि फूर्तिला छन्। त्यो स्फूर्तिलाई उनले देशमा उठिरहेका जातीय, क्षेत्रीय, वर्गीयलगायतका मुद्दाको बुद्धिमत्तापूर्ण समाधानको प्रयासमा लगाएका छन्। उनी ठान्छन्– नकार्नै नसकिने गरी आएका मुद्दालाई दरकिनार गर्न सकिन्न, हुँदैन। “आज सानो लागेको विषय भोलि देशको समस्या बन्न सक्छ”, शर्मा भन्छन्।सन्त गाहा मगर

संकटका स्वर: केदारभक्त माथेमा

अद्भुत अन्तर्राष्ट्रिय नागरिकः कुलचन्द्र गौतम

सीमाञ्चलका सेतु: चन्द्रकिशोर

हाम्रा बौद्धिक

नोटः हिमाल खबरपत्रिकाको दशैं अंकमा 'हाम्रा बौद्धिक' शिर्षकमा प्रकाशित सबै व्यक्तित्वबारेको सामाग्री हिमालखबरमा क्रमशः प्रकाशित गरिनेछ ।

प्रतिकृया दिनुहोस