व्यक्तित्वशुक्रवार, आश्विन २१, २०७३

लोकतन्त्र खातिर

हिमालखबर

लोकतान्त्रिक मूल्यका खातिर आवाज उँचो गरेकै कारण पटकपटक दण्डित हुनुपरे पनि शम्भु थापाको स्वर दबेको छैन।

संविधानको धारा १२७ को गलत व्याख्या गर्दै १९ वैशाख २०६१ मा 'कु' गरेका राजा ज्ञानेन्द्रको कदमविरुद्ध सडकमा उत्रिएका वरिष्ठ अधिवक्ता शम्भु थापाले सार्वजनिक ठाउँमै भाषण गरे– “संविधानको धाराले नचिन्ने राजा म पनि चिन्दिनँ।” 

संवैधानिक कानूनको गहिरो ज्ञान र वकालतको लामो अनुभव भएका नेपाल बार एशोसिएसनका अध्यक्ष थापाको राजाविरुद्ध बोल्ने आँटले पटकपटक हिरासतमा पुर्‍यायो। ज्यान मार्ने धम्की आयो। तर, अग्लो कद र 'गर्जन' जस्तो आवाजले राजालाई असंवैधानिक भन्न छाडेन।

अपहरित लोकतन्त्र फर्काउन राजनीतिक दलहरूले भन्दैमा जनताले पत्याउनेवाला थिएनन्। राजा संविधानकै दुहाई दिइरहेका थिए। नागरिक समाजका सदस्य, कानूनका ज्ञाता थापाको भूमिका त्यसबेला अहम् थियो। थुप्रै विज्ञ अनेक वहानामा कुनाकाप्चामा लुक्न थालेका बेला सचेत नागरिक धर्म निभाउन थापा चुकेनन्। “त्यसबेला बारमा अरूको नेतृत्व हुन्थ्यो भने परिस्थिति बेग्लै हुन्थ्यो”, पूर्व महान्यायाधिवक्ता हरि फुँयाल भन्छन्, “थापामा अप्ठेरो परिस्थितिमा नेतृत्व दिने खुबी र निडर स्वभाव छ।”

लोकतन्त्र र गणतन्त्रपछि पनि शासन व्यवस्थामा अपेक्षाकृत सूधार भएन। दलहरुप्रतिको आम अपेक्षामा निराशा मात्र हात लाग्यो। कतिसम्म भने, तिनै दलहरूले शाही कालमा आन्दोलन दबाउन मुख्य भूमिका खेलेका र कार्बाहीका लागि आफैंद्वारा सिफारिश गरिएका व्यक्तिहरूलाई पुरस्कृत गर्दै गए। तिनैमध्ये एक थियो, अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्तमा लोकमानसिंह कार्कीको नियुक्ति। “लोकमानको नियुक्ति लोकतन्त्रको हत्या गर्नु सरह हो, पुरस्कृत गर्नुपर्ने गरी कार्कीले के काम गरे?” कार्कीको नियुक्ति गर्ने सरकारको निर्णयलगत्तै थापाले भनेका थिए। कार्कीको नियुक्तिको सार्वजनिक विरोध गरेवापत उनी स्वयं अख्तियारको निशानामा परे। तर, सर्वोच्च अदालतले अख्तियारकै बदनियत पुष्टि गर्‍यो।

२०६९ सालमै तत्कालीन प्रधानन्यायाधीश खिलराज रेग्मीको नेतृत्वमा चुनावी सरकार गठन गर्ने दलहरूको निर्णयको पनि थापाले जमेर विरोध गरे। अदालती रिपोर्टिङ पुस्तकका लेखक शिव गाउँले संवैधानिक कानून, अदालतका नजिर, फौजदारी र देवानी कानूनमा थापाको अध्ययन र बहस उच्चस्तरको भएको बताउँछन्। “अदालती बहसमार्फत विधि शास्त्र निर्माणमा थापाको ठूलो योगदान छ। बहसमा प्रस्तुत उनको तर्क र दृष्टिकोणलाई बेञ्चले पनि 'नोटिस' मा राख्ने गरेको छ”, गाउँले भन्छन्।

पहिलो संविधानसभा निर्वाचनमा एमालेको तर्फबाट चुनाव लड्नुलाई थापाको गलत कदम मानिन्छ। तर, थापा स्वयंलाई भने यसप्रति पछुतो छैन। “राजनीति गर्ने हो भने जनताबाट चुनिएर आउनुपर्छ भन्ने मेरो तर्क हो”, थापा भन्छन्, “मलाई समानुपातिकबाट राजनीति गर्नु छैन।” उनीमाथिको अर्को आरोप चाहिं जस्तो पायो त्यस्तै मुद्दा लिने र तयारी नगरी इजलासमा जानन्छन् हो। त्यसलाई अस्वीकार नगर्ने थापा भन्छन्, “अनुभवले पनि पटक–पटक मुद्दाको फाइल पढ्नुपर्दैन, जो पहिला आउँछ उसैको मुद्दा लिन्छु।”

सत्य बोल्दा उनले थुप्रै 'शत्रु' कमाए। त्यो आजपर्यन्त जारी छ। कहाँबाट आउँछ त यस्तो शक्ति? थापा भन्छन्, “डर र लोभ नभएपछि ऊर्जा स्वतस्फूर्र्त आउने रहेछ।”
मुकेश पोखरेल

 

आमवृत्तका अभि

बहुआयामिक बौद्धिक: पीताम्बर शर्मा

संकटका स्वर: केदारभक्त माथेमा

अद्भुत अन्तर्राष्ट्रिय नागरिकः कुलचन्द्र गौतम

सीमाञ्चलका सेतु: चन्द्रकिशोर

हाम्रा बौद्धिक

नोटः हिमाल खबरपत्रिकाको दशैं अंकमा 'हाम्रा बौद्धिक' शिर्षकमा प्रकाशित सबै व्यक्तित्वबारेको सामाग्री हिमालखबरमा क्रमशः प्रकाशित गरिनेछ ।

प्रतिकृया दिनुहोस