व्यक्तित्वबिहिवार, आश्विन २०, २०७३

सीमाञ्चलका सेतु: चन्द्रकिशोर

हिमालखबर

”विज्ञानले नै प्रमाणित गरेको सत्य मान्ने हो भने पहाडी समुदाय विना तराईका जनताको पनि हित हुन सक्तैन।“

तपाईं एकै प्रजातिका बिरुवालाई जति धेरै श्रम लगाएर रोप्नुस्, ती पटक्कै फस्टाउँदैनन्, मासिन्छन्। वनस्पतिशास्त्रको सामान्य सिद्धान्त हो यो। यही सिद्धान्त लत्याउँदै २०४० को दशकमा तराईका नहरको डिलैडिलमा यसैगरी सिसौ रोपियो। जे हुनु थियो, त्यही भयो; सबै सिसौ मरे। 

पत्रकार चन्द्रकिशोर मधेशमा मधेशीमात्रको स्वार्थलाई सर्वोपरि मान्नुलाई यस्तै अवैज्ञानिक वृक्षरोपणसँग तुलना गर्छन्। भन्छन्, “विज्ञानले नै प्रमाणित गरेको सत्य मान्ने हो भने पहाडी समुदाय विना तराईका जनताको पनि हित हुन सक्तैन।”

बलरा ९, जब्दी टोल, सर्लाहीमा ५० वर्षअघि जन्मिएका चन्द्रकिशोरको समन्वयकारी ज्ञान निर्माण प्रक्रिया १४ वर्षकै हुँदा शुरू भएको हो। स्कूल पढ्दाताका नै उनी प्रजातन्त्रको पक्षमा नारा लगाउँथे। २०३६ सालको जनमतसंग्रहमा बहुदल पक्षलाई विजयी गराउन हूल बाँधेर हिंड्थे।

२०३७ सालमा विज्ञान विषय लिएर कलेज पढ्न उनी विहारको सीतामढीमा पर्ने मावली पुगे। २०४२ सालमा उनले गाउँका साथीसँगी भेला गरेर आफ्नै नेतृत्वमा ग्राम उत्थान परिषद् गठन गरे, जसले सरसफाइ, सांस्कृतिक कार्यक्रम र जनचेतनामूलक कामहरू गर्थ्यो।

यो परिषद्को अर्को महत्ववपूर्ण काम ग्राम पत्रिका प्रकाशन थियो। बसन्त र विजय अंक गरी वर्षमा दुई पटक निस्कने यो हस्तलिखित पत्रिकाका सम्पादक चन्द्रकिशोर नै थिए। नेपाली, बज्जिका र हिन्दी भाषाको यो पत्रिकालाई उनीहरू गाउँगाउँमा वितरण गर्थे। यसैले उनलाई पत्रकारितातर्फ उन्मुख गरायो।

२०४५ सालमा चन्द्रकिशोर वीरगञ्ज बसाइँ सरे। वीरगञ्ज चिनी कारखानामा प्राविधिक पदमा जागीर पनि पाए, तर 'काङ प्लस बाम' राजनीतिमा सक्रिय हुने गरेकोले स्थायी हुन सकेनन्। अनि उनी बेरोजगार बने। त्यहीबेला उनले स्थानीय पत्रपत्रिकामा साहित्य लेख्न र गोरखापत्रमा चिठी पठाउन थाले।

२०४९ सालमा वीरगञ्जमै मेघा ऊलन मिल्स प्रालिमा जनसम्पर्क अधिकृत नियुक्त भएपछि पनि लेख्न छाडेनन्। देशान्तर, राष्ट्रपुकार, पुनर्जागरण साप्ताहिक र हिमाल पाक्षिकमा उनका रिपोर्टिङ र विचारहरू बाक्लिन थाले। तरुण, विप्लव र युगसम्भव चन्द्रकिशोरकै छद्म नाम थिए।

अब चाहिं लेखेरै बाँच्छु भन्ने आत्मविश्वास पलाएपछि २०५७ सालमा जागीर छाडिदिएको उनी बताउँछन्। त्यसयता उनी पत्रकारितामै रमेका छन्।

चन्द्रकिशोर कहाँ उभिएर के लेखिरहेका छन्, त्यो महत्वपूर्ण छ। कहिले 'तराई चिनौं' त कहिले 'डेटलाइन तराई' मार्फत समथरका नेपालीको दुःखसुख कसैले बुझाइरहेको छ भने उनी चन्द्रकिशोर नै हुन्। वीरगञ्जमा बसेर निरन्तर काठमाडौंलाई हस्तक्षेप गरिरहेका कोही लेखक छन् भने ती चन्द्रकिशोर नै हुन्। आफूलाई सीमाञ्चलवासी भन्ने उनी सीमानाबाट उत्तर फर्केर लेखिरहेका छन्।

उनको परिभाषामा, सीमाञ्चल भनेको दशगजा वारिको त्यो क्षेत्र हो, जसको दैनिकी पारिसँग जोडिएको छ। उनी भन्छन्, “पहाडमा धेरै पानी पर्‍यो भने मेरी आमा पहिले आफ्नो घरको अनि बिहारस्थित माइतीका लागि प्रार्थना गर्नुहुन्छ, सीमाञ्चलवासीको वास्तविकता यही हो।”

सीमाञ्चलवासीका साझा स्वार्थ, सरोकार र 'कनेक्टिभिटी' को सवाललाई समयमा सम्बोधन नगरी नेपाल–भारत सम्बन्ध मधुर हुन नसक्ने उनको बुझाइ छ।

यो कुरा काठमाडौं र नयाँदिल्लीका शासकहरूले जति चाँडो बुझ्छन्, उति नै छिटो गाँठो खुल्ने उनी बताउँछन्। “किनभने, मानवीय सम्बन्ध पहिलो प्राथमिकता हो, अरू कुरा त्यसपछि आउँछन्”, उनको भनाइ छ।

सत्य के पनि हो भने, आज वीरगञ्जका चन्द्रकिशोर खुकुरीको धारमा बसेर लेखिरहेका छन्। पहाडे विरोधी, पहाडे परस्त, भारत विरोधी, भारत परस्त, परम्पर विरोधी– उनले खेप्नुपर्ने बाह्रमासे आरोपहरू हुन्। उनले ज्यान मार्ने धम्कीको हिसाबै राख्न छाडिसके। आफूलाई लागेका कुरा लेख्न/भन्न छाडेका छैनन्।

चन्द्रकिशोरले २०६४ सालमै मधेशकेन्द्रित दलहरूलाई काठमाडौंमा आन्दोलन गर्न सुझ्ाएका थिए। उनी अहिले पनि भनिरहेका छन्– तराईका कुरा गर्न मधेशलाई दिल्लीभन्दा काठमाडौं वर र काठमाडौंलाई पनि दिल्लीभन्दा मधेश वर हुनुपर्छ। काठमाडौंसँग मधेश किन जहिल्यै असन्तुष्ट छ?

“आम मधेशी नेपालको प्रधानसेवक अर्थात् प्रधानमन्त्री बन्न चाहन्छ, देशका लागि बढी योगदान दिन चाहन्छ, काठमाडौंले बुझन नसकिरहेको कुरा नै यही हो”, चन्द्रकिशोरको सहज उत्तर छ।

अनि नयाँ संविधान? उनको ठम्याइ छ, “संविधानका रचनाकारहरूले त्यसभित्र रहेका थुप्रै सामर्थ्य र शक्तिबारे मधेशवासीलाई बुझाएनन्, अहंकारले काठमाडौंलाई प्रतिरक्षात्मक बनायो।”

मधेशको 'आखोंदेखा हाल' देशका बाँकी भूगोलमा पुर्‍याउने, सार्वजनिक मञ्च र छलफलहरूमा प्रष्टसँग आफ्ना विचार राख्ने साहस बटुलेका चन्द्रकिशोर मध्यमार्ग निर्माणमा छन्। त्यो मध्यमार्ग, जसले मधेशलाई सीधा काठमाडौंसँग र काठमाडौंलाई सीधा मधेशसँग जोडोस्।

त्यसैले उनी कमला नदी बिलाउँदै गएकोमा चिन्ता जनाउँछन्। सिन्धुपाल्चोकका भूकम्पपीडित र ताप्लेजुङका पहिरोपीडितहरूमा मधेशी मल्हम लगाउन अघि सर्छन्। “मधेशमा सप्तकोशीको पानी खानेहरू विद्रोही हुन्छन् भनिन्छ”, चन्द्रकिशोर भन्छन्, “मैले चाहिं वाग्मतीको पानी खाएँ, काठमाडौंसँग जोडिने कुरा गरिरहेको छु।”
रविन गिरी

संकटका स्वर: केदारभक्त माथेमा

अद्भुत अन्तर्राष्ट्रिय नागरिकः कुलचन्द्र गौतम

हाम्रा बौद्धिक

नोटः हिमाल खबरपत्रिकाको दशैं अंकमा 'हाम्रा बौद्धिक' शिर्षकमा प्रकाशित सबै व्यक्तित्वबारेको सामाग्री हिमालखबरमा क्रमशः प्रकाशित गरिनेछ ।

प्रतिकृया दिनुहोस