व्यक्तित्वशुक्रवार, आश्विन २१, २०७३

आमवृत्तका अभि

शेखर खरेल

सार्वजनिक चोक, कफी हाउस, पुस्तकालय, नाटकघर र साहित्यिक कार्यक्रमहरुमा दशकौंदेखि उपलब्ध अभि सुवेदीले नयाँ पुस्ताका लागि चेतनाको ऊर्जा भरिरहेका छन्।

त्रिभुवन विश्वविद्यालयको कीर्तिपुरे थुम्कोमा अभि सुवेदीले ३६ वर्ष ६ महीना २४ दिन चक र डस्टरले क्यानभास कोरेर अवकाश लिए। तर नोकरीबाट अवकाश लिएका उनले कर्म अर्थात् शिक्षणबाट भने अवकाश लिएनन्। करारमै सही, कक्षा लिइरहेका छन्। देश र विदेशका साहित्यिक कार्यक्रम, बौद्धिक जमघट र अन्तरक्रियामा भाग लिइरहेकै छन्, अखबारमा नियमित स्तम्भ लेखिरहेकै छन्। र, सबैभन्दा महत्वपूर्ण चाहिं नयाँ पुस्ताका बहुल जमातसँग घुलमिल भइरहेका छन्। 

प्राध्यापक सुवेदी बुद्धिविलासमा रम्ने 'आर्मचेयर' विद्वान होइनन्। विरोधका लागि सडकमा कुर्लिने अधिकारकर्मीमा त उनी झ्नै पर्दैनन्। त्यसो भए उनको असहमतिको स्वरुप कस्तो छ त? “म शान्त र चूपचाप असहमति प्रकट गर्दछु”, सुवेदी अर्थ्याउँछन्, “कुनै परिस्थितिको अस्वीकार्यता पनि असहमतिको अभिव्यक्ति हो, यो पनि एक प्रकारको विद्रोह नै हो।” अस्वीकार गर्ने वा असंलग्न हुने सुवेदीका विद्रोहका रूप र प्रकार हुन्। एकदलीय पंचायती शासनका बेला पनि आफूले यिनै अस्त्र प्रयोग गरेको उनी सम्झ्न्छन्। उनी सम्झ्न्छन्, “राष्ट्रिय पोशाक लगाएरै पठाउनुपर्ने, यति घण्टा शिक्षणमा उभिनै पर्ने जस्ता शासकका नियम मैले स्वीकारिनँ। अस्वीकार गरेर वा असंलग्न रहेर मैले आफूलाई त्यस व्यवस्थासँग निरपेक्ष राखें।”

प्राज्ञिक कर्म गर्दै आइरहेका सुवेदीको 'कन्स्टिच्यूयन्सी' चाहिं 'पब्लिक स्फेयर' अर्थात् आमवृत्त हो। जर्मन चिन्तक योर्गेन ह्यावरमासद्वारा प्रतिपादित 'पब्लिक स्फेयर' गैर–राज्य पक्ष वा बौद्धिकहरूको विमर्श र चिन्तनको महत्वपूर्ण मञ्च भएको सुवेदीको ठहर छ। ह्यावरमास झैं सुवेदी पनि शहरका कफी र पुस्तक पसल, नाट्य गृह, चोक र चमेना गृहहरू नै अहिलेका 'पब्लिक स्फेयर' जीवन्त रहेको मान्यता राख्छन्।

ह्यावरमासको 'पब्लिक स्फेयर' जस्तै सुवेदीमाथि बीपी कोइरालाको प्रभाव उत्तिकै दरियो छ। “बीपी सिर्जनशीलतालाई आम कर्मसँग जोडेर आमवृत्त फराकिलो बनाउँथे”, उनको धारणा छ। तर नेपालमा बीपीजस्ता सिर्जनामा कर्मलाई जोड्न सक्ने राजनेताको अभावले 'पब्लिक स्फेयर' खुम्चिंदै गएको उनको विश्लेषण छ। आज जुन प्रकारको अति दलीयकरण र खुल्ला राजनीतिक सिन्डिकेटको दुष्चक्रमा समाज फसेको छ, त्यसले समाज र वैधानिक संस्थाहरूको अस्तित्वमाथि प्रश्नचिह्न खडा भएको महसूस गर्ने सुवेदी थप्छन्, “मेरो चिन्ता प्राज्ञिक संस्थाहरूमा यस्तो नकारात्मक भावना नदेखियून् भन्नेमा छ। यसो हुन नदिन राजनीति गर्नेहरूले आफ्नो सीमा बुझनु जरूरी छ।”

कामभन्दा पनि 'मिलिजुली खाऔं र सिध्यायौं' भन्ने भावना दलहरूको सिन्डिकेटमा हावी देख्छन् उनी।

सुवेदीलाई 'कम्फर्ट जोन' मा बसेर मात्र आफ्नो दायित्व पूरा नहुने अनुभव पनि छ। सुराले मदहोस तल्कालीन अधिराजकुमार पारस शाहको गाडीले गायक प्रवीण गुरुङको प्राण हरण गरिदिएपछि, सुवेदी सडकमा मात्र ओर्लिएनन्, राजपरिवारका ती आततायी सदस्य उपर कुर्लिएका पनि थिए। पछिल्लो पटक सुवेदी मेडिकल माफिया र 'लोकमानतन्त्र' विरूद्ध जेहाद छेडेका डा. गोविन्द केसीको अभियानको समर्थनमा भएको जुलूसमा पनि सहभागी थिए। बेथिति विरुद्ध युवावर्गले कमान सम्हालेको त्यो जुलूस देखेपछि उनी देश कसैगरी पनि अँध्यारोमा फस्न सक्दैन भनी ढुक्क देखिए।

“चाहे साहित्यिक होस् कि रङ्गमञ्च वा जनसरोकार र राजनीति वृत्त, आमवृत्तको विस्तारले नै समाज उन्नत र गतिशील राख्दछ”, सुवेदीको विश्लेषण छ, “त्यस दिन युवाहरूको औंला ठड्याइले यो देशको भविष्य अँध्यारो हुनसक्दैन भन्नेमा म विश्वस्त भएँ।”
शेखर खरेल

 

बहुआयामिक बौद्धिक: पीताम्बर शर्मा

संकटका स्वर: केदारभक्त माथेमा

अद्भुत अन्तर्राष्ट्रिय नागरिकः कुलचन्द्र गौतम

सीमाञ्चलका सेतु: चन्द्रकिशोर

हाम्रा बौद्धिक

नोटः हिमाल खबरपत्रिकाको दशैं अंकमा 'हाम्रा बौद्धिक' शिर्षकमा प्रकाशित सबै व्यक्तित्वबारेको सामाग्री हिमालखबरमा क्रमशः प्रकाशित गरिनेछ ।

प्रतिकृया दिनुहोस