व्यक्तित्वशनिवार, आश्विन २२, २०७३

बेथितिका शल्यचिकित्सक: रामेश कोइराला

सञ्जीव शर्मा

पेशाले शल्यचिकित्सक रामेश कोइराला (४८) सार्वजनिक बहसको माध्यमबाट राजनीति–संक्रमित विकृति निको पार्न चाहन्छन्।

आमाको मुटु मा डा. रामेश कोइरालाले आमाको मुटुरोग उपचारमा स्वदेशमा पाएको दुःख लेखे। उनको दोस्रो पुस्तक कोपिला आश्रम बालगृहको शोषणमा केन्द्रित थियो। चिकित्सकका नाताले पहिलो पुस्तक लेख्न उनलाई पक्कै गाह्रो थिएन, तर बालगृहको शोषणको कथा टपक्क टिप्ने कोइरालाको क्षमता कुनै साहित्यकारको भन्दा कम थिएन। 'साहित्यकार हुनुपर्ने मान्छे, शल्यचिकित्सक भएछ', धेरैले उनलाई यसै भने। 

तर, यी शल्यचिकित्सक आम चिकित्सक भन्दा फरक देखिए। शरीर शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रमै देखिए पनि उनको चेतनाको यात्रा फराकिलो थियो। नयाँ संविधान, भारतीय नाकाबन्दी, मधेश आन्दोलन, संघीयता, एनसेल लाभकर प्रकरण, डा. गोविन्द केसीको सत्याग्रहलगायतका फरक फरक विषयमा सार्वजनिक टिप्पणीले कोइरालालाई आमवृत्तको मानिस बनाइदियो।

राज्य प्रवर्द्धित मौन संस्कृतिको जोखिम बढिरहेका बेला, अधिकांश बौद्धिक व्यक्तिहरूको स्वर नसुनिएका बेला, मुटुका शल्यचिकित्सक कोइराला नयाँ स्वर बनेर देखिए। सामाजिक सञ्जालमा छोटा र तिखा अनि पत्रपत्रिकामा लामा र गहन विचारले उनको बहुआयामिक व्यक्तित्वको परख गराइरहेको छ।

कोइराला बढी मुखर देखिन थालेको मधेश आन्दोलनदेखि हो। उनकै भनाइमा उत्पीडनमा परेको वर्ग आन्दोलित हुँदा कतिपय व्यक्ति र राजनीतिज्ञ जातीय क्षेत्रीय वैमनस्यता बढाउने गरी 'धमिलो पानीमा माछा मार्ने' प्रयासमा देखिए। “यही बेला मैले आन्दोलनको माग, त्यसको बाह्य रूप र वास्तविकताबारे चिरफार गर्ने प्रयत्न गरेको हुँ”, डा. कोइराला भन्छन्।

एनसेल लाभकर प्रकरणमा त उनले 'कर नतिर्ने एनसेल बहिष्कार' गर्ने हदसम्मको अभियान चलाए। आफ्नो अभियान निष्कर्षमा पुग्न नसके पनि प्रकरणको वास्तविकता बुझाउन आफू धेरै हदसम्म सफल भएको उनको बुझाइ छ। राजनीतिक दल, नेता र व्यापारिक संस्थाले प्रोपोगण्डाका लागि सामाजिक सञ्जालमा 'समूह' नै खटाएका बेला सत्यको वकालत र जनमत निर्माण गर्न समेत आफू सक्रिय हुनुपरेको उनको दाबी छ।

कोइरालालाई राम्रैसँग थाहा छ, यसरी नै खुल्ला रूपमा विचार प्रकट गर्दै जाने हो भने सबै राजनीतिक दल र पहुँचवालाहरूले आफूलाई विरोधी देख्नेछन्। “तर, सधैं 'कम्फर्ट जोन' मा बसेर बोल्न हच्किने हो भने लोकतन्त्र खतरामा पर्छ”, उनी भन्छन्, “लोकतन्त्रको संस्थागत विकासले अन्ततोगत्वा फाइदा हुने त हामीलाई नै हो।”

“रामेशको बहुआयामिक प्रतिभा चिकित्सा क्षेत्रमा मात्र सीमित रहन सक्दैनथ्यो भन्ने त थाहा थियो”, झापाको वीरेन्द्र माध्यमिक विद्यालयमा पढ्दादेखि नै उनलाई नजिकबाट चिनेका विश्लेषक जुगल भूर्तेल भन्छन्, “गम्भीर लेखन र सामाजिक आन्दोलनहरूमा देखिएको उनको सक्रियताले एउटा बुद्धिजीवीको समाजप्रतिको दायित्व दर्शाउँछ।”

मुलुकका हरेक क्षेत्रमा राजनीति हावी भएका बेला स्वतन्त्र बौद्धिक भेटिन गाह्रो भएको बताउने उनी बेथितिमा रमिते बन्न अन्तरात्माले नदिएको बताउँछन्। “बोल्नु/प्रश्न गर्नु जुनसुकै सचेत नागरिकको हक र कर्तव्य हो”, मुटुका शल्यचिकित्सक उनी थप्छन्, “एउटा चिकित्सकको संवेदनशीलताले मलाई यसो गर्न अझ् प्रेरित गर्छ।”


हाम्रा बौद्धिक

बहुआयामिक बौद्धिक: पीताम्बर शर्मा

संकटका स्वर: केदारभक्त माथेमा

अद्भुत अन्तर्राष्ट्रिय नागरिकः कुलचन्द्र गौतम

सीमाञ्चलका सेतु: चन्द्रकिशोर

आमवृत्तका अभि

 

प्रतिकृया दिनुहोस