व्यक्तित्वआइतवार, आश्विन २३, २०७३

विकास विचारक: सूर्यराज आचार्य

बच्चु विक

त्रिभुवन विश्वविद्यालय इन्जिनियरिङ अध्ययन संस्थान पुल्चोक क्याम्पसमा भिजिटिङ फ्याकल्टीका रूपमा पढाउँदै आएका इन्जिनियर, योजनाकार तथा नीति विश्लेषक प्रा.डा. सूर्यराज आचार्यको परिचय यतिमै सकिंदैन। उनी सार्वजनिक बहस–छलफलमा सहभागी हुन्छन्, सञ्चारमाध्यममा आफ्ना विचार व्यक्त गर्छन् र पछिल्लो समय सामाजिक सञ्जालमार्फत सर्वसाधारणसँग जोडिन्छन्। समसामयिक विषयमा आलोचनात्मक र सृजनात्मक दृष्टिकोण दिन्छन्। 

चितवनको सरकारी स्कूलमा पढेर अमृत साइन्स क्याम्पसबाट आईएस्सी गरेका आचार्यले भारतको जमसेदपुरस्थित नेशनल स्कूल अफ टेक्नोलोजीबाट सिभिल इन्जिनियरिङ गरेका हुन्। त्यसपछि सरकारी जागीरे बनेका उनले थाइल्याण्डको एशियन इन्ष्टिच्यूट अफ टेक्नोलोजीबाट एमई र जापानको टोकियो विश्वविद्यालयबाट पूर्वाधार निर्माण तथा क्षेत्रीय विकासमा विद्यावारिधि गरेका छन्।

२०५८ देखि आचार्य जापानको भौतिक पूर्वाधार मन्त्रालयसँग सम्बद्ध इन्ष्टिच्यूट फर ट्रान्सपोर्टेसन पोलिसी स्टडिजको 'थिंक ट्यांक' समूहमा रही तीन वर्ष रिसर्च फेलो बने। त्यसपछि दश वर्ष सिनियर रिसर्च फेलो र अन्तर्राष्ट्रिय डेस्क इन्चार्ज भई काम गरेका थिए। यो पदमा रहेर उनले मलेशिया, चीन, भारत, थाइल्याण्ड, फिलिपिन्स, इन्डोनेशिया, भियतनामलगायतका एशियाका विकासशील देशहरूको पूर्वाधार विकास नीतिनिर्माणमा सहयोगी हुने रिसर्च परियोजनाहरूको नेतृत्व गरेका थिए। विभिन्न जापानी विश्वविद्यालयमा पढाए पनि।

१८ वर्ष जापानमा बसेका आचार्य २०७१ सालमा नेपाल फर्किए। त्यसयता उनी विकास बहसमा निरन्तर सक्रिय सहभागिता जनाइरहेका छन्। पूर्वपश्चिम रेलमार्ग, चीन र भारतबाट नेपाल जोडिने रेलमार्ग, फास्ट–ट्रयाकको वैकल्पिक मोडल, भूकम्पपछि पुनःनिर्माणलगायतका विषयमा आचार्यका 'एन्टी करेन्ट' विचार तर्कले भरिएका छन्। भारतीय नाकाबन्दी दुःख नभई व्यापार विविधता र आत्मनिर्भरताका लागि अवसरका रूपमा लिनुपर्ने धारणा व्यक्त गरेका उनी विकास र व्यवस्था परिवर्तनका हरेक सन्दर्भमा सुनिनुपर्ने स्वर बन्दै गएका छन्। कारण, अधिकांश निराश भएका बेला पनि सम्भावनाका कुरा गर्छन्। “सजिलो बाटो त जसले पनि हिंड्छन्। फरक बाटोमा जोखिम र अवसर दुवै बराबरी हुन्छ”, उनी भन्छन्।

भौतिक सुखभन्दा पेशागत र सामाजिक सन्तुष्टि ठूलो कुरा भएको बताउने आचार्य 'थिंक ट्यांक' समूह बनाएर सरकारी तथा निजी क्षेत्रलाई सघाउने योजना बुनिरहेका छन्। २०५३ सालमै सरकारी जागीरबाट राजीनामा दिएका उनी सरकारी संयन्त्रमा दलगत हस्तक्षेप हुनै नहुने बताउँछन्। आचार्य भन्छन्, “बिगार्ने धेरै भए पनि सुधार्ने पनि छन्। असल नियतले काम गर्ने हो भने सकारात्मक हस्तक्षेप गर्न सकिन्छ।”
 

 

हाम्रा बौद्धिक

बहुआयामिक बौद्धिक: पीताम्बर शर्मा

संकटका स्वर: केदारभक्त माथेमा

अद्भुत अन्तर्राष्ट्रिय नागरिकः कुलचन्द्र गौतम

सीमाञ्चलका सेतु: चन्द्रकिशोर

आमवृत्तका अभि

बेथितिका शल्यचिकित्सक

प्रतिकृया दिनुहोस