वामदेवलाई भेट्न प्रधानमन्त्री ओली भैंसेपाटीमा
प्रधानमन्त्री एवं सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा श्रीमती राधिका शाक्यसहित ओली उपाध्यक्ष वामदेव गौतमलाई भेट्न भैसेपाटीस्थित गौतमको निवासमा पुगेका छन्।
प्रधानमन्त्री ओली साँझ करिब साढे सात बजे भैसेपाटी पुगेका हुन्। प्रधानमन्त्रीका साथमा नेकपाका महासचिव विष्णुप्रसाद पौडेल पनि छन्।
गौतमका प्रेस सहयोगी विश्वमणि सुवेदीले अहिले प्रधानमन्त्री ओली, उपाध्यक्ष गौतम र महासचिव पौडेलबीच छलफल भइरहेको हिमालखबरलाई बताए।
मंगलबार बस्ने तय भएको नेकपाको स्थायी कमिटी बैठक प्रधानमन्त्री ओलीले अचानक स्थगित गरिदिएका थिए। त्यसपछि नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता माधवकुमार नेपाल समूहले स्थायी कमिटीका बहुमत सदस्यहरुको छुट्टै बैठक गरेका थिए।
गौतमले आज मात्रै ६ बुँदे प्रस्ताव अघि सार्दै प्रधानमन्त्री ओली एकताको महाधिवेशनसम्म नेकपाको अध्यक्ष र पाँच वर्ष प्रधानमन्त्री हुनपर्ने बताएका थिए।
गौतमले एकता महाधिवेशन सहमतिमा गर्नुपर्ने पनि उल्लेख गरेका थिए। पार्टीका बैठकहरु अब बालुवाटार नभइ केन्द्रीय कार्यालय धुम्बाराहीमा हुनुपर्ने उल्लेख गर्दै गौतमले मन्त्रिपरिषद पुनःगठन, संवैधानिक तथा राजनीतिक नियुक्ति पार्टी केन्द्रीय सचिवालयको सुझाव र परामर्शमा हुनुपर्ने समेत उल्लेख गरेका थिए।
यो पनि: