अचानक बैठक स्थगित गरिएपछि दाहाल–नेपाल समूहका नेताहरु बालुवाटार पुगे
प्रधानमन्त्री एवम् सत्तारुढ नेकपाका अध्यक्ष केपी शर्मा ओलीले स्थायी कमिटी बैठक अचानक स्थगित गरेपछि अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता माधवकुमार नेपाल समूहका नेताहरु बालुवाटार पुगेका छन्।
दाहाल–नेपाल समूहका नेताहरु झलनाथ खनाल, प्रवक्ता नारायणकाजी श्रेष्ठ सहित स्थायी कमिटीका नेताहरु बालुवाटार पुगेका हुन्। अन्य स्थायी कमिटीका नेताहरु समेत बालुवाटार जाने क्रम चलिरहेको छ । महासचिव विष्णुप्रसाद पौडेल पनि बालुवाटारको बैठक हलमा छिरेका छन्।
११ बजे बोलाइएको स्थायी कमिटी बैठक आधा घण्टा अगाडि अनिश्चितकालका लागि स्थगित गरिएको थियो। बैठकका लागि नेताहरु बालुवाटारतर्फ प्रस्थान गरिसकेका बेला बैठक एकतर्फी स्थगित गरिए पनि दाहाल–नेपाल समूहका नेताहरु बालुवाटार पुगेका हुन्।
गएको ६ साउनमा एक साताका लागि स्थायी कमिटी स्थगित भएको थियो। तर, यो अवधिमा दुई अध्यक्षबीच समेत एक पटक मात्रै सम्वाद हुन सक्यो। आजको बैठक अगाडि छलफलका लागि भनेर ओलीले दाहाललाई नौ बजे बोलाएका थिए।
तर, दाहाल नआएपछि ओलीले एकलौटी रुपमा बैठक अनिश्चितकालका लागि स्थगित गरेका हुन्।