योगेश भट्टराई भन्छन् - 'दुर्घटना नजिक छ, सबै रोकिऔं'
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का स्थायी कमिटी सदस्य एवं पर्यटनमन्त्री योगेश भट्टराईले नेकपामा दुर्घटना नजिकिएको भन्दै थप कदम चाल्नबाट रोकिन आग्रह गरेका छन्।
गएको १० असारबाट शुरू भएर पटकपटक स्थगित हुँदै आएको पार्टीको स्थायी समिति बैठकमा सहमति हुन नसकेपछि भट्टराईले मंगलबार हतारमा कुनै कदम नचाल्न आग्रह गरेका छन्।
मंगलबार बस्ने भनिएको स्थायी समिति बैठक पूर्वनिर्धारित समयमा नै बस्न नसके पनि केही समय अघिदेखि शुरु भएको छ। बैठकमा प्रधानमन्त्री एवम् अध्यक्ष केपी शर्मा ओली भने अनुपस्थित छन्।
प्रधानमन्त्री ओलीले आज बोलाइएको स्थायी कमिटी बैठक एकतर्फी निर्णय लिएर स्थगित गरेका थिए। तर, कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता माधवकुमार नेपाल समूहले भने बैठक नरोक्ने निर्णय लिएको छ।
ओलीले बैठक स्थगित गर्ने निर्णय गरे पनि दाहाल–समूहका नेताहरु बालुवाटार पुगिसकेका थिए। “अहिले बैठक शुरु हुँदैछ”, स्थायी कमिटी सदस्य गोकर्ण बिष्टले भने।
स्रोतका अनुसार, बैठकमा नियमित अजेण्डामा छलफल हुने भएकाे छ। यसअगाडि प्रधानमन्त्री र अध्यक्षबाट ओलीले राजीनामा दिनुपर्ने माग उठेको थियो। बैठकमा प्रधानमन्त्री ओली निकट नेताहरु समेत सामेल छन्।