मनमनमा बसेका कविवरलाई सदा सम्झन्छ नेपाली...
धेरैको कवि जीवन अल्पायुको हुन्छ । तर, यसमै दीर्घ जीवन बाँच्नुभएका कविवर यो देशको अस्तित्व रहेसम्मै कवि भनेर चिनिनुहुनेछ । ज्योतिको पङ्ख उचाल्न सिकेका नेपालीले उहाँलाई सदा सम्झिरहनेछन् ।
गाउँछ गीत नेपाली
ज्योतिको पंख उचाली
जय जय जय नेपाल
सुन्दर शान्त विशाल
देशलाई सम्झने कसरी ? माया गर्ने कसरी ? अनि देश भनेकै चाहिं बुझ्ने कसरी ? कलिलो दिमागले यस्तो कुरा बुझ्न सजिलो कहाँ थियो र ! कविवर माधव घिमिरे यी कुरा सिकाउन छडी बोकेर कक्षाकोठामा पस्नुभएन । बरु मायालु शब्द बोकेर पस्नुभयो । पाठ्यपुस्तकको बाहिरी गाथामा राखिने कक्षागत गीतमार्फत ज्योतिको पंख उचाल्नु भन्दै सम्झाउन आउनुभयो ।
माथि उल्लेख यी हरफ कसका हुन् ? हामीलाई मेसो थिएन । भाका फिराईफिराई गाउनुपर्छ भन्ने मेसो मात्र थियो । यसको अर्थ पनि थाहा थिएन । उहाँले देश खोज्न मात्र होइन, सियो खोज्नसमेत सिकाउनुभयो । सियो खोज्न सिकाउने कवि नेपाली साहित्यकै मियो होलान् भनेर कल्पना गरिएको थिएन, त्यतिबेला । मियो बनेर साहित्य सेवामार्फत नेपाली समाजलाई ठूलो गुन लगाउनुभएका स्रष्टाले जीवन बिसाउनुभएको अप्रिय खबर २ भदौ, मंगलबार साँझ गोरखापत्रको अनलाइन संस्करणमा देखियो । लगत्तै सबै डिजिटल पत्रिका र सामाजिक सञ्जाल उहाँको भौतिक अवसानको खबरले भरिए ।
कोरोना कहरमा अर्को नमीठो खबर थियो, यो । कविवर गम्भीर रुपले विरामी पर्नुभएको खबर कतै आएको थिएन । अचानक निधनकै खबर आयो । १०१ वर्ष बाँचेर संसार ठप्प बनेको समयको एउटा साक्षीसमेत बनेर उहाँले जीवन बिसाउनुभयो ।
कविवर घिमिरेले असाध्यै लोभलाग्दो जीवन बाँच्नुभो । उहाँको सृजनात्मक जीवन पनि उस्तै रह्यो । सृजना यात्रा अविरल चलिरह्यो । ऋतम्भरा महाकाव्य नसिध्याई जान्न भन्नुभएका महाकविले त्यो काम पनि सम्पन्न गर्नुभएको रहेछ । हाम्रा लागि अब त्यही नै उहाँको अन्तिम नासो हो ।
कविवरले प्रकृति र राष्ट्रप्रेमको धार समातेर कैयौं अमर सृजना देशलाई दिनुभयो । बालबालिकाका लागि कैयौं मीठा सृजनाहरु उपहार दिनुभो । कस्तो अविरल र अविचलित यात्रा ! जीवनको एउटा क्षणमा धेरै मानिस कवि बन्छन् । धेरैको कवि जीवन अल्पायुको हुन्छ । अझ भनौं, उनीहरुभित्रै हराएर जान्छ त्यो जीवन । कविको रुपमा सामाजिक पहिचान भएका धेरैका झोलामा पुराना सृजना र ती सृजनाप्रतिको गौरव मात्र बाँकी रहन्छ ।
कविवरको झोला त्यस्तो थिएन । उहाँका झोला नयाँ—नयाँ सृजनाले भरिभराउ भैराख्यो । पुराना सिर्जनाको ब्याज खाने रहर उहाँले गर्नु भएन । यसकारण पनि कविवर नेपालको अस्तित्व रहेसम्मै कवि बनेर बाँच्नुहुनेछ ।
हरेक कवि÷लेखकका सबै सृजना जीवन्त हुँदैनन् । सबै रचनाले धेरैका मन छुँदैनन् । मन न हो, लेखक वा सर्जकलाई मात्र मन परेर हुँदैन । ‘गाउँछ गीत नेपाली’ सम्भवत सबैभन्दा धेरैलाई मन छोएको सृजना हुनुपर्छ । पुरानो राष्ट्रिय गानको औचित्य सकिएर नयाँ राष्ट्रिय गान नआएसम्म अनौपचारिक रुपमा कैयौं विद्यालयमा यो गीत गाउने गरिएको पनि थियो । गौरी, मालती मंगले, राष्ट्र निर्माता, किन्नर किन्नरी, चारु चर्चा र कैयन जीवन्त सृजनाहरु मार्फत कविवर नेपाली मनमनमा बस्नुभएको छ ।
९ असोज २०६० मा उहाँलाई सरकारले राष्ट्रकविको पदवी दियो । उहाँलाई राष्ट्रकवि बनाइएको समय देश अनेक अप्ठेरोसँग जुध्दै थियो । कविवरका हिसाबले पाठकको मनमा बसिसक्नुभएकोले मलाई चाहिं त्यो राजकीय पदभन्दा कविवरको कद नै धेरै उँचो लाग्छ । राज्यले उहाँप्रति दिएको सम्मान र सुविधाको आफ्नै महत्व छ । चोला विसाएपछि बल्ल पाठकसम्म पुग्ने, सिंगो जीवन गुमनाम भएर बित्ने, गुजारा चलाउन, उपचार पाउन नसकेर कष्टकर जीवन झेल्नुपर्ने अवस्था उहाँलाई परेन । यो कुरामा कविवर भाग्यमानी हुनुहुन्थ्यो ।
राष्ट्रप्रेमलाई केन्द्रमा राखेर साहित्य सेवा गर्नुभएकाले जति व्यवस्था फेरिए पनि उहाँ सबैको प्रिय हुनुभयो । उहाँको कलमले कहिल्यै कसैप्रति घृणा रोपेन । उहाँले मानव, राष्ट्र र प्रकृतिप्रेमको बाटो अँगाल्नुभयो । यो बाटोमा अनवरत हिंडिरहनुभयो । त्यसैले त उहाँका हरेक शब्द मोतीका दानाजस्ता छन् ।
उहाँ धेरै विधामा फिजिनु पनि भएन । धेरैथरी विचार बोकेर पनि हिंड्नु भएन । त्यसकारण उहाँ छरिनु भएन । सग्लो र अग्लो कविको छवि बनाइरहनुभयो ।
नेपाली साहित्यमा महाकवि लक्ष्मीप्रसाद देवकोटा र लेखनाथ पौडेलको स्थान निकै उँचो छ । उहाँहरु कस्ता हुनुहुन्थ्यो होला भनेर म बेलाबेलामा कल्पिन्छु पनि । हामीपछिको पुस्ताले माधव घिमिरे कस्ता थिए होला भनेर कल्पना गर्नेछन् ।
देवकोटाबारे धेरै भ्रम फिजिए । अनेक मिथक बने । सधैं उहाँलाई कठैबरा बनाइयो । प्रविधिको यो युगले घिमिरेलाई चाहिं मिथक बनाउने छैन । अनेक भ्रमका कथा बुन्ने छैन । देवकोटा र पौडेल अँध्यारो युगमा बत्ती बनेर जन्मिनुभयो । उहाँहरु बितेपछि फेरि अँध्यारोले अनेक कथा बनायो र हामीले अनेक मिथक सुन्नुप¥यो । घिमिरे उज्यालो युगमा लामो समयसम्म जिउन पाउनुभयो । आफैंले प्रशस्त उज्यालो पनि बाँड्नुभयो । उहाँले नेपाली साहित्यमा छर्नुभएको उज्यालो नेपालको अस्तित्व रहेसम्म मेटिने छैन ।
कोरोना कहरले आज जिन्दगी घरभित्रै खुम्चिएको छ । कविवरले खुम्चिएको र थुनिएको संसार पनि महसूस गर्नुभयो । कमजोर स्वास्थ्यका कारण थुनिएको संसारबारे केही रचना लेख्न चाहिं शायद सक्नुभएन कि ? संसार थुनिएको समयमा उहाँले चोला बिसाउनु भएकाले अन्तिम दर्शन गर्न त सम्भव भएन । कविवरलाई मनमनै हार्दिक प्रणाम ।
उहाँले चोला बिसाउनुभएको घर नेपाली साहित्यको तीर्थस्थल हो । साहित्यप्रेमीका लागि त्यो दैलो सधैं खुल्ला छँदै थियो । हामीलाई आशा छ, नेपाली साहित्यको भर बनेको त्यो तीर्थस्थललाई उहाँको परिवारले दीर्घकालसम्म जोगाएर जीवन्त राखिदिनेछ । उहाँका प्रकाशित र अप्रकाशित कृति मात्र होइन, उहाँसँग सम्झना जोडिएका अरु सामान पनि परिवारले पक्कै सुरक्षित राख्नेछ । राज्यले उहाँको परिवारसँग हातेमालो गरेर कविवरको सम्झनालाई चिरस्थायी बनाउनेछ भन्ने कामना गरौं ।
शब्दको सिर्जनात्मक शक्ति के हो, कविवरले राम्ररी बुझाइदिनुभएको छ । शब्दलाई मोती बनाएर उन्न सिकाउनुभएको छ । धरतीलाई माया गर्न सिकाउनुभएको छ। आफ्ना जीवन्त रचनामार्फत कहिल्यै नमर्ने गरी यो धरतीबाट विदा हुनुभएका कविवरको आत्मा सधैं सुखी रहोस् । ज्योतिको पङ्ख उचाल्न सिकेको नेपाली कविवरलाई सदा सम्झिरहनेछ ।
अरु पनि
'चिन्तन या दर्शन कविताका निम्ति आवश्यक शर्त हैनन्'
अरु पनि
मृत्यु नचिनी जीवन चिनिन्छ र?
अरु पनि
कस्ता कवि थिए माधव घिमिरे ?
अरु पनि
मनमनमा बसेका कविवरलाई सदा सम्झन्छ नेपाली...
अरु पनि
राष्ट्रकवि घिमिरे घरबाट भाग्दा
अरु पनि
‘१०० वर्षमाथिका साहित्यकार दुई जना थियौं, अब एक्लो भएँ’
अरु पनि
‘ऋतम्भरा’ सिध्याएर मात्र बिते राष्ट्रकवि