'चिन्तन या दर्शन कविताका निम्ति आवश्यक शर्त हैनन्'
२०५४ सालको मदन पुरस्कार र जगदम्बा–श्री पुरस्कार वितरण समारोहमा राष्ट्रकवि माधवप्रसाद घिमिरेबाट व्यक्त विद्वत प्रवचन।
समारोहका श्रद्धेय सभापति एवम् गुठीका अध्यक्ष महोदय, पुरस्कृत प्रतिभाद्वय, उपस्थित विद्वान, विदुषी भद्र महिला र सज्जनवृन्द !
सर्वप्रथम आज पुरस्कार ‘जगदम्बा–श्री’ बाट र ‘मदन पुरस्कार’ बाट सम्मान वीणा–पुस्तकधारिणीका वरदपुत्र अम्बर गुरुङप्रति र लोकेन्द्रबहादुर चन्दप्रति हार्दिक बधाई ज्ञापन गर्न चाहन्छु।
चन्दजी हामा साहित्यकार राजनेतामध्ये एक हुनुहुन्छ। यो कागको बथानमा कोइली कसरी आयो, म छक्कै परेको छु। रुमानी भाषाका गीति–प्रधान कविताका कवि चन्दलाई मैले उहाँको कविता सङ्ग्रहको भूमिकामा ‘चौलानी नदी किनारको गायक’ भनिसकेको छु।
नेपाली भाषा र संस्कृतिको प्रथम थलो सुदूरपश्चिमाञ्चल, वर्तमान समयमा, पछाडि परिरहेका बेला त्यहाँको एक साहित्यकारलाई पुरस्कृत गर्न पाउनु यसै पनि हर्षको विषय हो। त्यसमाथि पनि, त्यस अञ्चलको पृष्ठभूमिमा चल्मलाउने र त्यहींको जनजीवनको स्पर्शले जीवन्त जस्ता लाग्ने पात्रहरूले परिपूर्ण कथाहरूको सङ्ग्रह ‘विसर्जन’लाई पुरस्कृत गर्न पाउनु झन् हर्षको विषय हो। यस कृतिले के पनि संकेत गरिरहेको छ भने – नेपालका लेक बेंसी र पाखा पर्वतमा छरिएको र विविधताले परिपूर्ण नेपाली समाजकै भित्रबाट हामी हाम्रै जस्ता लाग्ने पात्रको सिर्जना गर्न सक्छौं, यसो गर्नु अब हाम्रो कथा–उपन्यास साहित्यको प्रथम कर्तव्य पनि हो।
अम्बर गुरुङजी आधुनिक नेपाली सङ्गीतका पिता मानिनुहुन्छ। ‘नौ लाख तारा उदाए’ गीत गाउँदै पूर्वबाट उदाएको यो तारालाई एक दिन कान्तिपुरमा नागरिक अभिनन्दन गरेका थियौं, आज धेरै वर्षपछि बल्ल पुरस्कार ‘जगदम्बा–श्री’ द्वारा अभिनन्दन गरिरहेछौं। अम्बरजी स्वयम् गीतकार पनि हुनुहुन्छ र गीतको मर्म बुझेर संगीत रचना गर्नुहुन्छ। मेरो मालती मङ्गले गीति नाटकलाई कति लोकप्रिय बनाउनुभयो – यो कुरा यहाँ भनिरहनुपर्दैन। नेपाली सङ्गीतलाई विश्वसङ्गीतको हाराहारीमा पु¥याउनु छ भने, हामीले अम्बर गुरुङलाई सधैं अगाडि सार्नुपर्छ – यसरी नै अझै पुरस्कृत गर्नुपर्छ।
जुनवेला भाषा साहित्यको निम्ति कुनै पुरस्कारको स्थापना भएको थिएन, त्यसवेला नै मदन पुरस्कार गुठीको स्थापना भएको हो। ‘मदन पुरस्कार’ को आफ्नै लामो इतिहास छ र यस पुरस्कारबाट पुरस्कृत हुने कवि, लेखक र कलाकारको लामो श्रृङ्खला छ। यो पुरस्कारबाट पुरस्कृत हुनुमा स्रष्टा र अनुसन्धाताहरू आफ्नो सम्मान सम्झन्छन्।
अब त यो गुठीले ‘पुरस्कार जगदम्बा–श्री’ को पनि प्रवर्तन गरेको छ र यसको पनि ‘मदन पुरस्कार’ सरहकै प्रतिष्ठा बढ्दै आइरहेछ। मदन पुरस्कार पुस्तकालय नेपाली भाषा साहित्यको अध्ययन र अनुसन्धानको निम्ति विशिष्ट थलोको रूपमा विकसित भइरहेछ। पुरस्कारद्वारा साहित्यको अर्चाको समारोहमा साहित्यको चर्चा पनि गराउने यो गुठीको चलन छ। अर्चा र चर्चाको मिलनको यो चलनलाई म मनैदेखि प्रशंसा गर्दछु। यो चर्चाको निम्ति कुनै विषय तोकिंदैन – चर्चाकार देवमूर्तिको पूजा भइरहेको मन्दिरमा परेवा झैं उड्न पाउँछ।
आजको समारोहमा बोल्न मलाई आमन्त्रित गरेकोमा म गुठीप्रति कृतज्ञता प्रकट गर्छु। आज मैले बोल्ने विषयको शीर्षक हो – कविताको आफ्नै रूप र आफ्नै प्राप्ति। एक कवि कथाकार र अर्का गीतसङ्गीतकारलाई पुरस्कार प्रदान गर्ने समारोहमा गीत र कविताको विषयमा बोल्नुमा एकप्रकारको तुक मिलेजस्तै लाग्छ ।
कविताको आफ्नै रूप र आफ्नै प्राप्ति
आजको युग बौद्धिकताको युग हो— नयाँ–नयाँ ज्ञान र विज्ञानको युग हो। तर्क र युक्ति, प्रयोग र परीक्षणद्वारा जे सिद्ध हुन्छ, आज त्यही स्वीकारिन्छ। परन्तु यो अर्धसत्य हो। विनाकारण पनि त्यसै हाम्रो चित्त बुझाउने तत्वहरू यहाँ प्रशस्तै छन् र परीक्षण विना पनि तिनलाई हामी आत्मसात् गरिरहन्छौं। तिनको उपेक्षा गरूँ भनेर पनि गर्न सक्तैनौं। सूर्य अचल छ भन्ने कुरा आज विज्ञानले सिद्ध गरेको छ। तैपनि हाम्रा क्षितिजमा सूर्य उदाउँछ र अस्ताउँछ पनि र ‘नवोनवोजायमानः पुराणः’ उही पुरातन सूर्य नयाँ–नयाँ भएर प्रकट हुन्छ भनेर ऋषि गाउँछन् ।
आज चन्द्रतलमा मानिसले पाइला राखिसक्यो र त्यो शुष्क, नीरस ग्रहपिण्ड हो भन्ने ज्ञान भइसक्यो। तैपनि हामी त्यसलाई चकोरले किन चकित भएर हेर्छौं ? महाकवि कालिदास भन्छन् – लहरका लहर निर्निमेष नजर उठाएर मानिसहरू नवीन चन्द्ररेखालाई किन हेर्छन् –
निवारित निमेषाभिर्नेत्रपंक्तिमिरुन्मुखः
नवा विन्दकलां लोकः केन भावेन पश्यति ?
त्यो कुन तत्व हो ? जुन पाउनासाथ हाम्रा चित्त त्यसै बुझ्छ। हामी हिंड्दा हिंड्दै कतै इन्द्रेनी देख्नासाथ टक्क अडिन्छौं र आफैंलाई पनि बिर्सेर त्यसलाई हेरिरहेन्छौं। गीतको कुनै मीठो पंक्ति सुन्दा हामीलाई केही पाए झैं प्राप्ति भए झैं लाग्छ। त्यो त हाम्रो मनमा आइरहेका तर मुखमा नआएको कुरालाई बोलिदिए जस्तो लाग्छ।
हामी हाम्रो मनलाई छुने कुरा नै बिर्सिरहेका हुन्छौं। शायद यो मनको गुप्त पत्रमा छिपिरहेको हुन्छ।
सङ्गीत सुन्दा त्यसैको टाटो लाग्छ। सौन्दर्य हेदो त्यसैको झल्को लाग्छ र हामी त्यसको निम्ति व्याकुल बन्छौं। हामी अरू सबै पाए पनि सुखी हुन्नौं र त्यो पाउन पर्ने नपाउँदा व्याकुल हुन्छौं – गहना लुगा जति राम्रा लाए पनि र माइतीको माया जति पाए पनि अनागत प्रियको प्रीतिको निम्ति विरहिणी बाला जस्तै।
कालिदास भन्छन् –
रम्याणि वीक्ष्य मधुरांश्च निशम्य शब्दान्
पर्युत्सुको भवति यत् सुखितोऽपि जन्तुः
तच्चेतसा स्मरति नूनमबोधपूर्वम्
भावस्थिराणि जननान्तर सौह्रदानि
कसैलाई पाउनासाथ कतै पहिले देखिसके जस्तो लाग्छ र जन्मजन्मातरको साथी भेटेजस्तो लाग्छ; अनि देशकाल पनि मेटिन्छन् र संसारै सुन्दर र जीवनै शाश्वत जस्तो लाग्छ।
सङ्गीत सुन्नासाथ, सौन्दर्य देख्नासाथ र कविता पढ्नासाथ किन चित्त बुझ्छ ? यसको कुनै उत्तर छैन, चित्त बुझ्छ र बुझ्छ। यी सबको हाम्रो स्वभावसँग सम्बन्ध छ। यी जन्मान्तरदेखि हाम्रो वासनामा सञ्चित रहेका छन् र संस्कारले झन्झन् बढ्दै आइरहेका छन्। यी तीन तत्वमध्ये कुनै एकलाई पाउनासाथ अर्को तत्वको वासना जागृत हुन्छ र त्यही वासनाले संवेदनाको रूप लिन्छ। संवेदना पनि स्वयं संवेद्य हुन्छ, जस्तो ज्ञान स्वयम् ज्ञेय हुन्छ।
कविताको मूल संवेदना हो र त्यो हृदयको तत्व हो। त्यसैले कवितालाई ‘सहृदयहृदयसंवेद्य’ भनिन्छ। मनुष्य भन्नु हृदय हो, हृदय झिकिएदिएपछि त नर नै बानर बन्छ।
कवि संवेदनशील हुन्छ। त्यसैले कविको तरलित भावलाई कविता भनिन्छ। ऋग्वेदका कवि भन्छन् – “कवी कवित्वा दिवि रूपमासजतः।” मित्र र वरुण दुई कविले कवि बनेर– अर्थात् व्यक्तित्वलाई पार गरेर रूपलाई दिव्य बनाए। यसरी नै कविले आफ्ना संवेदनालाई दिव्य बनाउँछ; तिनलाई लोकोत्तर रस बनाउँछ, अमृत बनाउँछ। यो अमृत जति खायो, त्यति नै ताजा र त्यति नै मीठो बनिरहन्छ ।
परन्तु एकबार खानासाथ आफैं जुठो हुने तत्वहरूको सम्मिश्रणले कवितालाई पनि जुठो बनाउँछन् र एकबार स्थापित भएपछि फेरि नयाँ नबन्ने सिद्धान्त र वादले कवितालाई पनि जडवत् बनाउँछन्। कविता वादको विज्ञापनको सुन्दर शैली मात्र हैन; त्यो त सरसतासाथ जिउने कला हो र लयवद्ध जीवन हो। म कवितालाई सङ्गीत, सौन्दर्य र रसको सम्मिश्रण हो भन्छु।
वास्तवमा सङ्गीत र सौन्दर्य पनि कविताकै स्वरूप हुन्। तिनको जन्म पनि त्यही संवेदनाको मूलबाट भएको हो, जहाँबाट कविताको मूल फुट्दछ। कुनै सङ्गीत सुन्दा अव्यक्त वाचामा कविता उच्चरित भए जस्तो लाग्छ र कुनै चित्र पनि बोलूँ–बोलूँ भन्दा भाषा नपाएर मुस्कुराए जस्तो लाग्छ। सौन्दर्यको कुनै आयाम हुन्न – त्यो त प्रकाशजस्तो हुन्छ र जताबाट हेरे पनि त्यो उस्तै देखिन्छ। सङ्गीतको कुनै आयाम हुन्न – त्यो त लय हो र जताबाट सुने पनि उस्तै लाग्छ।
कविताको पनि कुनै आयाम हुन्न – त्यो त अमृत हो, जताबाट चाखे पनि त्यो मीठै हुन्छ। आयाम त हाम्रो कल्पना हो। जब रङ्ग रेखाले आफैंलाई पार गर्छ, अनि चित्रबाट परिपूर्ण सौन्दर्य प्रकट हुन्छ जब स्वर र मात्राले तिनलाई पार गर्छन्, अनि परिपूर्ण सङ्गीत सुनिन्छ। जब शब्दले शब्दलाई पार गर्छ, अनि त्यहाँ परिपूर्ण कविताको अनुभूति हुन्छ। एक विभु अर्कोमा मिसिए जस्तै सङ्गीत र सौन्दर्य कवितामा मिसिएर एकाकार हुन्छन्। त्यसैले मैले कवितालाई यस्तो भनिठानेको छु:
कविता लय, सौन्दर्य, हृदयैको समष्टि हो
कविता कविको आफ्नै रहस्यमय दृष्टि हो।
कविता यही हो भनेर मैले कविता रच्न थालेको हैन। कविता रच्दै जाँदा कविताको स्वरूप पत्ता लागेको हो। आखिर म पनि काव्यका तिनै सिद्धान्तमा पुगेछु, जुन सिद्धान्त प्राचीन ऋषिका ऋचाभित्रबाट, महान् कविका कविताभित्रबाट र पूर्वाचार्यका काव्य शास्त्रबाट सिद्ध भइसकेका छन्। यात्रा नौलो भएपछि मञ्जिचल पनि आफूलाई नौलै लाग्दो रहेछ।
छन्द या लय
प्रारम्भमा मैले कवितालाई छन्दको रूपमा लिएँ। त्यसबेला छन्दमा ढाल्नासाथ जे पनि कविता हुन्थ्यो, म आँशुकवि जस्तै बन्थें र अरूका नाममा पनि कविता लेखिदिने गर्थे र बिस्तारै मैले के थाहा पाएँ भने – भाका र भाषाको परस्पर प्रगाढ सम्बन्ध रहेछ। नाटकको संवाद बोलिने भाषामा भावावेगको कम्पन भएजस्तै कवितामा गाइने भाषामा पनि भावावेगको कम्पन हुँदोरहेछ र त्यसबाट लय सिर्जिदो रहेछ। अनि कोश, व्याकरण र दर्शन आदिको भाषा कविताको भाषाभन्दा भिन्न हुँदो रहेछ।
कोइली पनि मीठो पाराले बोल्छ, तापनि त्यसको स्वरमा स्थिरता रहन्न, परन्तु सङ्गीतकारले गाउँदा स्वर स्थिर गर्न सक्छ। यसबाट मलाई अझ के थाहा भयो भने, छन्दको र सङ्गीतको परस्पर प्रगाढ सम्बन्ध रहेछ। गीताका लामा पंक्तिको साथमा छोटा पंक्ति त्यही सङ्गीतको अवसरको निम्ति रहेछन् र कविताको दुई पंक्तिको बीचमा अकथनीय भावलाई लयले कहँदो रहेछ।
सङ्गीत पनि कविताजत्तिकै प्रभावशाली हुन्छ र तिनको बीचमा सन्तुलन कायम गर्नुपर्छ। छन्दको मुख्य उद्देश्य त कविताको भावलाई संवेद्य बनाउनु हो। भाव त फु¥यो, तर त्यसलाई स्पष्ट गर्न र विस्तारित गर्न म शब्दैविना पनि छन्दमा बग्छु। कहिलेकाहीं यसरी छन्दमा बग्दा कसैले कानमा मन्त्र सुनाए झैं अनायास कविता सुन्छु।
एक छन्दमा कविता रचिन्जेल कैयौं दिनसम्म त्यसैको लयमा संसार पनि घुम्छ, नीदमा पनि त्यही लयमा मुटु हल्लिरहे जस्तो लाग्छ र निःशब्द कविता रचिरहेको हुन्छु। कविता रचिसकेपछि मलाई यस्तो लाग्छ – यतिन्जेल त म एकप्रकारको प्राणायामको स्थितिमा रहेछु। कविता रचिसकेर लयमा गाउँदा मलाई अपार आनन्द लाग्छ।
यही छन्दले गर्दा मेरा निम्ति कविता रचना त प्रार्थनाजस्तो बनेको छ। म भावशून्य बनेको बेला छन्दद्वारा नै भावलाई पुकार्छु। कविता पूरा गरेर गाइसकेपछि त्यसको भाका त्यसरी लागिरहन्छ, जसरी तीजका गीत गाइसकेर दिदीबहिनी घर गइसकेपछि पनि त्यो गीतको भाका भदौरे नदीको सुसाइमा बगिरहन्छ।
सौन्दर्य
कविता यात्राको द्वितीय चरणमा मैले सौन्दर्य नै कविता हो भन्ने जानें। यो सौन्दर्य रूपगत पनि हो र नामगत पनि हो। रूपगत सौन्दर्यको निम्ति मैले साधना गर्न परेन। म उच्च लेकमा गाई चराउँदै हुर्किएँ। आमा स्वर्गे भइसक्नुभएको थियो, खेल्ने साथी बेंसीमै छुटेका थिए। हिमाली दृश्य र पशुपन्छी नै मेरा साथी थिए।
पहाडी सौन्दर्य मलाई अत्यन्त मन पर्छ। यति मन पर्छ कि, म अर्को जुनी पनि यहीं जन्मन पाए हुन्थ्यो भन्ने लाग्छ। मैले हिमालसँग मौन संवाद गरेको छु र प्रायः मेरा कविताको आरम्भ हिमालबाट भएका छन् – विभिन्न विम्ब र प्रतीकको रूपमा। म कुनै चित्र हेर्दा पनि त्यसको पृष्ठभूमिमा नील आकाश, शुभ्र हिमाल र सुनौला गजुर खोज्छु। निर्मल आकाशमुनि निर्धूलि धूपमा वनफूल हेर्दा त्यसको गहिराइमा म डुबेको हुन्छु र त्यसको प्रभामण्डलमा म उडेको। मलाई सम्पूर्ण छायाछवि परमेश्वरका वरदान जस्ता लाग्छन् र तिनलाई म सम्पूर्ण हृदयले आत्मसात् गर्छु।
मैले नामगत सौन्दर्यमा शैलीलाई लिएँ र त्यसको साधना गरें। शैलीसाधना फूलको शिल्पसाधना जस्तै हुन्छ – जब त्यो पूर्ण हुन्छ अनि मात्र त्यहाँ पूर्ण रूपले सौन्दर्य खिल्छ। शैली साधनाको प्रारम्भिककालमा शैलीले जता लान्थ्यो म मूल भावलाई पनि भुलेर त्यतै बरालिन्थें। बिस्तारै मैले शैलीलाई केन्द्रीय भावका प्रस्फुटनको शिल्पको रूपमा विकसित गरें र त्यसपछि भावको प्रस्फुटनका साथै शैलीको पनि प्रस्फुटन हुन थाल्यो।
कविता यात्राको द्वितीय चरणमा मैले सौन्दर्य नै कविता हो भन्ने जानें। यो सौन्दर्य रूपगत पनि हो र नामगत पनि हो। रूपगत सौन्दर्यको निम्ति मैले साधना गर्न परेन। म उच्च लेकमा गाई चराउँदै हुर्किएँ। आमा स्वर्गे भइसक्नुभएको थियो, खेल्ने साथी बेंसीमै छुटेका थिए। हिमाली दृश्य र पशुपन्छी नै मेरा साथी थिए।
म त अलंकार, वक्रोक्ति र ध्वनिलाई पनि शैली नै मान्दछु। शब्दालंकार कविताको सङ्गीतपक्षमा पर्छ। अर्थालंकारहरूले विम्ब प्रस्तुत गर्छन् र भावलाई उज्ज्वल बनाउँछन्। यसको साथै तिनले प्रतीक पनि प्रस्तुत गर्छन् र काव्य–भाषालाई स्वप्नभाषा जस्तो बनाउँछन्। वक्रोक्ति काव्यभाषा भिन्नै हुनुपर्छ भन्ने धारणाबाट जन्मेको हो जस्तो लाग्छ। ध्वनि पनि शब्दातीतलाई पनि शब्दले नै प्रकट गर्छ भन्ने धारणाको उपज हो जस्तो लाग्दछ। कविताको निम्ति चाहिने शब्दभन्दा बढी शब्द राख्नु शैलीको चमत्कार मात्र हो। त्यसको भावबाट हाम्रो ध्यान अन्तै पु¥याउँछ।
धेरै शब्द बोल्ने कवि पुरुरवा हुन् र तिनको शैली उर्वशी हो। भावशून्य शैली हृदयहीन उर्वशी हो। आखिर त्यसले पुरुरवालाई (धेरै बोल्ने कविलाई) छोडेर जान्छ। रूपको सार्थकता शील बन्नुमा नै छ र पार्वती शिवलाई शीलद्वारा नै प्राप्त गर्छिन्। प्रत्येक वस्तुभित्र आन्तरिकता हुन्छ र त्यसलाई प्रभामण्डलले घेरेको हुन्छ। जब आन्तरिकता सरस बन्छ, अनि मात्र समस्त हृदयमा स्निग्धता आउँछ। मौरीहरू जति सुन्दर भए पनि कागतका फूलतिर आकर्षित हुन्नन् र वनकुसुमको सुकोमल स्निग्धताले चाहिं तिनलाई लोभ्याउँछ।
रस
कवितायात्राका तृतीय चरणमा मैले रस (हृदयको तरलित भाव) लाई नै कविता हो भनेर जानें र रस नै कविताको आत्मा हो भन्ने सिद्धान्तलाई मानें। म प्रायजसो मनमा नलागिकन लेख्तैनथें र जे जति लेख्थें आफैंलाई परे जस्तो गरी लेख्थें। परन्तु जीवनमा आफूलाई जे नपरोस् भनेको थिएँ, अकस्मात् त्यही पर्न आयो र बाइस वर्षकै उमरेमा पत्नी गौरीको निधन भयो। मेरो आत्मा रोयो र आँसु आँसु भएर गौरी शोककाव्यमा पोखियो। अनि रस नै कविताको आत्मा हो, चित्तद्रुत्तिमै कविता तप्कन्छ भन्ने कुरा झन् दृढ भयो।
जसरी नारी माता बनेपछि त्यसभित्र वात्सल्यभावको प्रादुर्भाव हुन्छ र दशधारा दूध बहन थाल्छन्, त्यसरी नै कुनै व्यक्ति निर्माता बनेपछि त्यसभित्र विभिन्न भाव तरलित हुन थाल्छन् – रसका सहस्र धारा बहन थाल्छन्। व्यक्ति जब कवि बन्छ, अनि ऊ आफ्ना जीवन मात्र जिउँदैन, कल्पना गर्न सक्छ र योगीले योगदानद्वारा परकायामा प्रवेश गर्न सकेजस्तै कल्पनाद्वारा परमायामा प्रवेश गर्न सक्छ। ऊ कल्पनाशक्तिले गर्दा स्वतन्त्र बन्छ र वैयक्तिकताबाटै वैयक्तिकतालाई पार गर्छ। अनि उसका संवेदनाहरू स्वयं निर्मल बन्छन् र लोकोत्तर बन्छन् र दिव्य बन्छन्।
महाकवि कालिदास अभिज्ञान शाकुन्तलमा प्रेमलाई पर्वतमा, वर्तमान मरीचि–आश्रममा पु¥याउँछन् र कुमारसंभवमा त्यही प्रेमलाई कैलाशको उँचाइमा उचाल्दछन्। दुश्यन्तको प्रेम सौन्दर्यप्रतिको क्षणिक आवेश मात्र हो र छली बन्न खोज्छ, तर शकुन्तलाको निर्मल निश्छल प्रेमले आखिर त्यसलाई पनि निश्छल र निर्मल बनाइदिन्छ। पार्वतीको प्रेमले त प्रेमातीत परमेश्वरलाई पनि प्रेमाशक्त बनाउन सक्छ। यी युगल दम्पती कामवासनाभन्दा परको प्रेमको प्रतीक बन्छन्।
भाव भगवान् हो, जब त्यो रसमय हुन्छ, अनि कृष्णको जस्तै त्यसको बाँसुरी बज्न थाल्दछ। अनि भावनाका गोपिनीहरू जीवनको वृन्दावनमा आउँछन् र उनको वरिपरि नाच्दछन्। कृष्ण भगवान् केन्द्रमा पनि नाच्दछन् र प्रत्येक गोपिनीको साथमा पनि नाच्दछन्, यसरी नै काव्यको केन्द्रीय भाव प्रत्येक काव्यविषय र शैलीसँग पनि नाच्छ। यही रासलीला हो, यही रसको खेल हो। उपनिषद्का ‘एकोऽहम् बहुस्याम्’ र ‘एकाकी नरमते’को भावलाई वैष्णव कविहरूले आफ्नो युगको रासलीलाको रूप दिए।
म शृङ्गार, करुण र वीर रसहरू प्रधान हुन् भन्ने भनाइसँग सहमत छु। तर अद्भुत रसलाई पनि म प्रधान रस नै मान्दछु। यो वैचित्यपूर्ण र रहस्यमय जगत्जीवनलाई आश्चर्यचकित भएर हेर्छ। रौद्ररस, भयानकरस र बीभत्सरस निषेध भावपरक हुन्। आज तनावग्रस्त, विकृति र विडम्बनाले परिपूर्ण र अणु–युद्धको आशंकाले संत्रस्त विश्वको मनबाट तनाव, विकृति र सन्त्रासलाई निकाल्नको निम्ति यी रसको पनि उपयोग हुन सक्छ। तर यिनको मुख्य लक्ष्यचाहिं शान्तरस नै हुनुपर्छ। शान्त रसलाई भावावेगको उपशमनपछि प्राप्त हुने रसभन्दा पनि परको परम रसको रूपमा मान्दछु।
अन्तर्दृष्टि
कवितायात्राको चतुर्थ चरणमा मलाई के लाग्यो भने – कविको अन्तर्दृष्टि पनि कविता हो। त्यो दृष्टि कविताकै अनभूतिभित्रबाट प्रादुर्भूत हुन्छ र कवितालाई अतिभावुक हुनबाट रोक्छ। अतिभावुकताले पनि हामीलाई रसातलमा पु¥याउँछ र अतिदृष्टिले पनि रसशून्य बनाउँछ।
चिन्तन या दर्शन कविताको निम्ति आवश्यक शर्त हैनन्। कैयौं लोकगीत कुनै चिन्तनविना पनि मर्मस्पर्शी हुन्छन्। प्रज्ञावान् हुँदैमा पनि कवि होइन्छ भन्ने छैन – सबै दार्शनिक र वैज्ञानिक कवि हुन्छन् भन्ने छैन – र सबै कवि दार्शनिक र वैज्ञानिक जस्तो चिन्तनशील बन्नुपर्छ भन्ने छैन। कवि पहिले संवेदनशील बन्छन् र त्यही संवेदनाभित्रबाटै प्रज्ञावान् पनि बन्छन्।
नारी पहिले माता बन्छे, अनि त्यसभित्र आमा हुनुको चेत उत्पन्न हुन्छ र गम्भीर निद्रामा पनि शिशु रोएको सुन्छे। दूरदेशमा पनि आफ्नो सन्तान प्राणसङ्कटमा परेको कसरी थाहा पाउँछ र उसको छातीबाट दूधका सिर्का निस्कन्छन् ? संवेदनाको स्रोत सुक्यो भने मातृत्वको चेत पनि विलुप्त हुन्छ।
मभित्र अन्तर्दृष्टिको प्रस्फुटन प्रकट रूपले ‘वैशाख’ कविताको रचनाकालदेखि हुन्छ, यद्यपि मभित्र त्यसको बीज पहिल्यैदेखि नै थियो। यही बीचमा मेरी पत्नीको बाइस वर्षको उमेरमा निधन भयो र मैले संसारलाई निःसार र जीवनलाई निरर्थक सम्झें। परन्तु केही समयपछि मेरो हृदय फेरि पलाएर आयो। सहयात्रीको संसार समाप्त भएको देख्ता मैले संसारलाई अलभ्य लाभ सम्झिएँ। जीवनसङ्गिनीको जीवन समाप्त भएको देख्ता जीवनलाई नै मूल्यवान् सम्झिएँ। यो समझले गर्दा मभित्र सौन्दर्यवादी र जीवनवादी दृष्टिको उदय भयो।
मेरो दृष्टि एकप्रकारको रहस्यमय छ। म सब कुरा छ्याङ्ग र छर्लङ्ग भएको मन पराउन्नँ। त्यसैले म भन्छु – रहस्य खोलेर रहस्य बाँकी ! म बिहानीपख एकपछि अर्को सुनौलो बन्दै उठेको चुलीलाई झन्झन् चकित बन्दै हेर्छु – एकपछि अर्को कति सुन्दर ! म जुनेली रातमा जुनेली आभामा डुबेका दृश्यलाई डुबेर हेर्छु – छुट्टाछट्टै भइकन पनि एकै जस्ता ! त्यहाँ जे छ आँखाको अघि नै छ, तर पनि त्यहाँ त्यो रहस्यमय छ।
म ‘अद्वैतमेव’ अद्वैत मात्र सुन्दा निःसासिन्छु र ‘अद्वैतमिव’ द्वैत नै अद्वैत जस्तो सुन्दा पखेटा फुकाएर उडिरहन्छु। मेरो विचारमा रहस्य बन्नु भनेको अज्ञेय बन्नु हैन, अनिर्वचनीय बन्नु हो। त्यस्तो अनिर्वचनीयलाई कविले कल्पनाशक्तिद्वारा निर्वचनीय बनाउँछ। दार्शनिक र वैज्ञानिकले उघारिसकेको क्षितिजभन्दा पनि पर अर्को क्षितिजले उघार्न शेष रहन्छ, त्यसलाई कविहरू नै उघार्दै जान्छन्, प्रत्येक युगको शून्यलाई कविहरू नै भर्दै जान्छन्।
मलाई पलपल जे नयाँ लाग्छ, त्यही सुन्दर लाग्छ र ‘क्षणे क्षणे यन्नवतामुपैति, तदेव रूप रमणीयतायाः’ यो सूक्ति मन पर्छ। म पलपल सुन्दर लाग्नुमा एक शाश्वततत्वको साक्षात्कार गर्छु। यो पुरातन सूर्य नयाँनयाँ भएर प्रकट हुन्छ; ‘नवो नवो जायमानः पुराणः’ यो मन्त्र झन् मन पर्छ।
चिन्तन या दर्शन कविताको निम्ति आवश्यक शर्त हैनन्। कैयौं लोकगीत कुनै चिन्तनविना पनि मर्मस्पर्शी हुन्छन्। प्रज्ञावान् हुँदैमा पनि कवि होइन्छ भन्ने छैन – सबै दार्शनिक र वैज्ञानिक कवि हुन्छन् भन्ने छैन – र सबै कवि दार्शनिक र वैज्ञानिक जस्तो चिन्तनशील बन्नुपर्छ भन्ने छैन। कवि पहिले संवेदनशील बन्छन् र त्यही संवेदनाभित्रबाटै प्रज्ञावान् पनि बन्छन्।
मलाई सबभन्दा मन पर्ने कविता ऋग्वेदका ऋषिले उषाको निम्ति गाएका मन्त्र हुन्। हामी फूललाई अन्तर्मनले हेर्दै हेर्दैनौं र यो के रहेछ भनेर पत्रै पत्र भत्काउन थाल्छौं भने सौन्दर्य पनि भत्कन्छ। कवि भएर हे¥यो भने मात्र विश्व सौन्दर्यमय देखिन्छ, यही संसार दिव्य देखिन्छ। आत्मीयतासाथ जो हेरिन्छ, त्यही सुन्दर देखिन्छ र रसले नमुछिकन सुन्दर पनि सजीव देखिन्न।
सारांशमा
यो जगत् र यो जीवन उसको रूपमा कस्तो छ ? यस्तै छ भनेर कोही भन्न सक्तैन। वैज्ञानिक र दार्शनिक आफ्नै रूपले हेर्छन् – कोही सत् भन्छन्, कोही असत् भन्छन् र कोही यसलाई अज्ञेय भन्छन्। कविलाई यो निष्कर्षसँग कुनै समर्थन या विरोध छैन। कवि त एक मौलिक कविताजस्तै यसलाई स्वतस्फूर्त मान्छ। सौन्दर्यमय र रसमय मान्दछ।
तैत्तिरियोपनिषद्का कवि भन्छन् – त्यसले आफूलाई आफैं बनायो। त्यसै हुनाले त्यो ‘सुकृत’ भनिन्छ। जो सुकृत हुन्छ त्यही नै रस हो: ‘तत् आत्मान स्वयम् अकुरुत। तस्मात् तत् सुकृतम् उच्यते, यद्वै तत् सुकृतम्। रसो वै सः’ एक वाक्यमा भन्ने हो भने, कविताको स्वरूप नै यही हो। ऋग्वेदका ऋषि यही रसलाई, सोमरसको रूप दिन्छन्, त्यसलाई पनि विश्वकविको रूप दिन्छन् र यसरी गाउँछन्:
‘परिप्रासिष्यदत् कविः सिन्धोरुमौ अधिक्षितः
कारुं विभ्रत् पुरुस्मृहम्’
सबैतिर बहिरहेछ कवि सिन्धुका लहरी चढेर
विश्वप्रेमको वीणा बजाउँदै।
यसरी आनन्दले आफ्ना हृदय विश्वभरि विछ्याउँदै विश्वबन्धुत्वले गद्गद् बन्नु र त्यसको गीत गाउनु नै कविताको प्राप्ति हो।
यो भन्दा पनि पर कविताको स्वरूप र प्राप्तितिर सङ्केत गर्दै उपनिषदका ऋषि फेरि अगाडि के भन्छन् भने, ‘यही रस नै आनन्द हो। यही नै आकाश हो। यो आकाश नभएको भए जीवन पनि हुने थिएन, श्वास पनि कसरी फेर्न सकिन्थ्यो र ?’
यसबाट हामीले के बुझ्छौं भने – जीवनको प्रादुर्भाव कुनै उन्मुक्त प्रदेशबाट भएको हो। कविता, सङ्गीत र सौन्दर्य पनि त्यही निरञ्जन र उन्मुक्त प्रदेशबाट स्फुरित हुन्छन्, आखिर त्यसैमा विलीन हुन्छन् र हामीलाई पनि त्यहीं पु¥याउँछन्। आकाशलाई ऋषि विष्णुको परम पद भन्छन् र त्यहींबाट मधुको मूल फुट्छ भन्छन्: ‘विष्णोः पदे परमे मध्व उत्सः।’
हामी जब कसैलाई साँच्चि नै प्रेम गर्छाैं, अनि त्यसैलाई र आफैंलाई पनि भुल्छौं। त्यसको सपना पनि देख्तैनौं। यो अमृतमय आकाशलाई ऋषि दिव्य धाम भन्छन् र हामीलाई त्यही दिव्य धामका निवासी अमृतपुत्र भनेर सम्बोधन गर्छन्: ‘श्रृण्वन्तु सर्वे अमृतस्य पुत्राः, आये धामानि दिव्यानि तस्थुः।’ हामी त्यही दिव्य धामबाट आएका हौं र सौन्दर्यको अनुभूतिद्वारा दिव्य बन्छौं, आखिर त्यसरी त्यही दिव्य धामतिर विलीन हुन्छौं – जसरी सुन्दर सुकोमल हृदय–विम्बहरू गम्भीर नीदमा विलीन हुन्छन्।
यो आकाशलाई योगीहरू लयस्थान भन्छन् र अनाहत नादको श्रवणद्वार त्यसैमा विलीन बन्छन्। सङ्गीतकार मात्राको सिर्जनाद्वारा त्यही लयको सिर्जना गर्छन्, अनि आफ्ना कुशल हातद्वारा वीणालाई छुन्छन् र मनको सुरलाई रागरागिनीमा प्रकट गर्छन्। आखिर सारा सुर जसरी त्यही वीणाका तारमा विलीन हुन्छन्, त्यसरी नै हाम्रो मनका आखिरी सुर पनि मनकै अतल गहिराइमा विलीन हुन्छन्।
चिन्तन या दर्शन कविताको निम्ति आवश्यक शर्त हैनन्। कैयौं लोकगीत कुनै चिन्तनविना पनि मर्मस्पर्शी हुन्छन्। प्रज्ञावान् हुँदैमा पनि कवि होइन्छ भन्ने छैन – सबै दार्शनिक र वैज्ञानिक कवि हुन्छन् भन्ने छैन – र सबै कवि दार्शनिक र वैज्ञानिक जस्तो चिन्तनशील बन्नुपर्छ भन्ने छैन। कवि पहिले संवेदनशील बन्छन् र त्यही संवेदनाभित्रबाटै प्रज्ञावान् पनि बन्छन्।
कविका कविताको अन्तिम प्राप्ति पनि त्यही आकाश हो, जसलाई ऋषि अक्षर परमव्योम भन्छन्। ऋचाहरूको अन्तिम प्रतिपाद्य विषय अक्षर परम व्योम हो, जसले त्यसलाई जान्दैन, त्यसले ऋचा रचेर के गर्छ:
ऋचो अक्षरे परमे व्योमन ...
यस्तन्न वेद किं ऋचा करिष्यति।
पूर्वीय सङ्गीत, कला र कविताको प्राप्ति अध्यात्म हो, हामीभित्रकै उन्मुक्त आकाश हो। हामी यही जीवनको रसात्मक अनुभूतिबाट नै प्रतिफल त्यो उन्मुक्तावस्था पुग्न सक्छौं र आखिरमा यिनै रञ्जनाबाट निरञ्जनमा, यिनै रवबाट नीरवमा र संवेदनाबाट अमृतमा पुग्न सक्छौं।