कस्ता कवि थिए माधव घिमिरे ?
राष्ट्रकवि माधवप्रसाद घिमिरेसँग सबैभन्दा लामो संगत गर्ने व्यक्ति हुन्, सत्यमोहन जोशी। पहिलो भेट हुँदा दुवै २३ वर्षे लक्का जवान थिए। ७८ वर्षको संगत हिजो, २ भदौदेखि टुटेको छ।
घिमिरेको निधनको खबर सुनेपछि जोशीले भने, “उहाँ मभन्दा ६ महीना जेठो हो। १०० वर्षभन्दा माथिका साहित्यकार दुई जना थियौं। अब एक्लो भएँ।”
जोशी घिमिरेको हाँसेर मात्र बोल्ने बानी र सहयोगी व्यवहार सबैभन्दा बढी सम्झन्छन्। १९९८ सालतिर भाषानुवाद परिषद्को कार्यालयमा दैनिकजसो भेट हुन्थ्यो। घिमिरे परिषद्का सदस्य थिए। जोशी त्रिचन्द्र कलेज पढ्थे। परिषद्को कार्यालय त्रिचन्द्रमै थियो।
पुष्करशमशेर अध्यक्ष रहेको परिषद्मा पण्डित बद्रीनाथ भट्टराई, लक्ष्मीप्रसाद देवकोटा र माधवप्रसाद घिमिरे सदस्य थिए।
जोशी २००० सालमा उद्योगसम्बन्धी सर्भे गर्न घिमिरेकै जिल्ला लमजुङ खटिएका थिए। त्यतिवेलादेखि नै लोक गीत संकलन र अध्ययन थालेका थिए। लोक गीत भन्ने चलन थिएन। ‘ग्रामीण गीत’ भनेर शारदा पत्रिकामा २००३ सालमा छापिएका थिए। घिमिरेले ती गीतमा खूब चासो दिएको जोशी बताउँछन्।
शास्त्रीय छन्दका सिद्धहस्त कवि घिमिरेको रुचि गीतमा पनि थियो। बैरागी काइँला अहिले पनि उनको ‘आजै र राति के देखें सपना मै मरी गएको’ गीत सम्झन्छन्, जुन २०१३ सालतिरै इन्द्रेनी पत्रिकामा छापिएको थियो। पत्रिकाका सम्पादक घिमिरे स्वयं थिए।
उबेला काइँला अध्ययनका लागि दार्जीलिङ बस्थे। उक्त पत्रिका पनि दार्जीलिङ नै पुगेको थियो। त्यसमा छापिएका घिमिरेका झ्याउरे भाकाका दुई कवितामध्ये एउटा त्यही गीत थियो। पछि नारायणगोपालले गाएपछि अझ चर्चित भयो।
घिमिरेको ‘गौरी’ शोककाव्य २०१५ सालमा प्रकाशित भएपछि दार्जीलिङमा खूब मन पराइयो। काइँला पहिलोपटक २०२० सालमा काठमाडौं आएपछि घिमिरेलाई भेट्न गए। “नाम चलेका कविले के वास्ता गर्लान् भन्ने लागेको थियो। तर, उहाँको सरलता देखेर प्रभावित भएँ।”
कवि श्रवण मुकारुङ पनि घिमिरेको सरलताबाट प्रभावित छन्। उनी २०४४ सालमा घिमिरेलाई पहिलोपटक भेट्न उनकै घर गएका थिए। घिमिरेलाई मुकारुङका गीत मन पथ्र्यो। उनका अनुसार, एउटा गीतको चार लाइन त कण्ठै थियो। मुकारुङ भन्छन्, “उहाँलाई गद्य कवितामा खासै रुचि थिएन। ‘तपाईंका कविता त त्यस्तै हो, गीत लेख्न चाहिं नछाड्नुहोला’ भन्नुहुन्थ्यो।”
घिमिरेले आफ्ना अनुजहरूलाई माया गर्ने लेखक केदार शर्मा बताउँछन्। शर्मा २०४२ सालको कविता महोत्सवमा पुरस्कृत भएका थिए। पछि त्रिचन्द्र कलेजमा घिमिरे आउँदा उनले भेटे । ‘तपाईंको नाम थाहा पाएको थिएँ, कविता पढेर पाको मान्छे हुनुहुन्छ होला भनेको त फुच्चे पो हुनुहुँदोरहेछ’ भनेर घिमिरेले आफूलाई हौसला दिएको शर्मा सम्झन्छन् ।
मानवतावादी कवि
कवि विप्लव ढकाल घिमिरे तीव्र सौन्दर्य चेत भएका कवि भएको बताउँछन्। संक्षिप्त कवितामा विस्तृत आयाम दिनसक्ने उनीसँग विशिष्ट क्षमता थियो। “उहाँ शास्त्रीय लेखनमा अन्तिम मानक कवि हुनुहुन्छ। फुटकर कविता र खण्डकाव्यमा महाकाव्यकै विषय समेट्न सक्ने क्षमता थियो”, ढकाल भन्छन् । जनजीवनलाई नजिकबाट बुझेर कविता लेख्ने सामथ्र्य भएका कविको रूपमा उनलाई नयाँ पुस्ताले बुझ्नुपर्ने ढकालको भनाइ छ ।
घिमिरेलाई पनि महाकाव्य लेख्ने रहर नभएको भने होइन। उनी जीवनको उत्तराद्र्धमा महाकाव्य लेखिरहेका थिए। त्यहीकारण २०६३ सालमा बाल कविता संग्रह ‘बिजुला बिजुली’ प्रकाशन भएपछि उनको अर्को कृति आएन।
घिमिरेले महाकाव्य ‘ऋतम्भरा’ लेखिसकेको उनकी छोरी मञ्जु अधिकारीले जानकारी दिएकी छिन्। अब त्यसलाई ‘सुगठित’ गरेर प्रकाशन गर्न मात्र बाँकी भएको उनको भनाइ छ। आफूले समग्र जीवनको निचोडलाई महाकाव्यमा उल्लेख गरेको घिमिरेले बताउने गरेका थिए।
सत्यमोहन जोशी पनि उनलाई गाउँले जनजीवनलाई गाउँकै भाषामा लेख्ने कविका रूपमा बुझ्छन्। उनी भन्छन्, “उहाँ लोकलय र लोकभाकामा गाउँका कुरा लेख्ने कवि हो।”
साहित्यकार बैरागी काइँलाका अनुसार सरल कवितामा गहन विषय लेख्न सक्नु नै घिमिरेको विशेषता हो। राष्ट्रियता, राष्ट्र र देशभक्तिका कविता र गीत रचनाले उनलाई जीवित बनाएको काइँला बताउँछन्। “बालबालिकादेखि पाको व्यक्ति सबैका लागि साहित्य लेख्न सक्ने खूबी उहाँसँग थियो”, काइँला भन्छन्।
घिमिरेले ‘अश्वत्थामा’ गीति नाटकमा महाभारतको एउटा पात्रलाई लिएर अहिलेको विश्वको उहापोह, युद्ध र मानवीय मूल्यको विनाश देखाएको उनको भनाइ छ। घिमिरेलाई उनी ‘मानवतावादी कवि’ मान्दछन् ।
श्रवण मुकारुङ पनि उनलाई मानवतावादी कवि नै भन्न रुचाउँछन्। “घिमिरे जीवनलाई एक दुई लाइनमा वर्णन गर्न सक्ने खूबी भएका कवि हुनुहुन्थ्यो, खासगरी संस्कृतको शास्त्रीय छन्दलाई नेपाली भाषामा स्थापित गर्ने काममा उहाँले विशेष योगदान दिनुभयो”, मुकारुङ भन्छन्, “उहाँसँगै कविताको एउटा युगको अन्त्य भएको छ।”
घिमिरे थुप्रै लोकप्रिय गीतका रचनाकार पनि हुन्। उनका कतिपय कविता पनि गीतको रूपमा गाइएका छन्। उनले ‘नेपाली हामी रहुँला कहाँ’, ‘फूलको थुँगा, बहेर गयो’ जस्ता कालजयी गीत लेखेका छन्। ‘गाउँछ गीत नेपाली, ज्योतिको पंख उचाली’ पनि बालबालिकाले रुचिपूर्वक गाउँछन्।
ती मान, ती सम्मान
माधव घिमिरे राज्यले सबैभन्दा बढी मानसम्मान दिएका साहित्यकारका रूपमा पनि गनिन्छन् ।
घिमिरेलाई २०६० सालमा सूर्यबहादुर थापा नेतृत्वको सरकारले राष्ट्रकविको उपाधि दिएको थियो। त्यसैगरी शेरबहादुर देउवा नेतृत्वको सरकारले २६ माघ २०७४ मा नेपाली सेनाको मानार्थ सहायक रथीको पदवी दिएको थियो। सरकारको यो निर्णय र घिमिरेको स्वीकारोक्ति आलोचनाबाट बँच्न भने सकेन ।
कवि मुकारुङ सबै लेखक/कविका आफ्नो विचार र दृष्टिकोण हुने बताउँछन्। त्यस्तो विचार र दृष्टिकोण आफू बाँचेको समयले निर्धारण गर्ने उनको भनाइ छ। “बेलायतमा पनि कविहरूले राजारानीलाई कविता सुनाउने गर्थे। उनीहरू पनि देशभक्तिका कविता लेख्थे। माधव घिमिरे पनि उहाँको युगमा जे थियो, त्यसरी नै चल्नुभयो”, उनी भन्छन् ।
घिमिरेका फुटकर कविता र कृतिहरू विभिन्न समयमा प्राथमिकदेखि विश्वविद्यालय तहसम्मै राखिएका छन्। त्यहीकारण पनि उनलाई धेरै नेपालीले चिन्ने मौका पाए।
घिमिरे महाकवि लक्ष्मीप्रसाद देवकोटासँग तत्कालीन सोभियत संघको तासकन्दमा भएको अफ्रो–एशियाली साहित्य सम्मेलनमा जाँदा सरकारको कारबाहीमा पनि परेका थिए।
तत्कालीन मन्त्रिपरिषद् अध्यक्ष सुवर्णशमशेरसँग अनुमति लिएर देवकोटा र घिमिरे भारतको नयाँदिल्लीबाट भिसा लिएर त्यता गएका थिए। तर, फर्केर आएपछि राजालाई नसोधी गएर अनादर गरेको भन्दै टोली नेता देवकोटाको तीन महीना र घिमिरेको एक महीनाको तलब काटिएको थियो। उनीहरू दुवै तत्कालीन प्रज्ञा प्रतिष्ठानमा थिए।
पञ्चायतकालमा घिमिरे एक दशक प्रज्ञा प्रतिष्ठानको उपकुलपति भए। तर, २०४६ सालमा एक वर्ष कुलपति पनि भए। तर, जनआन्दोलन सफल भएलगत्तै उनले राजीनामा दिए ।
घिमिरेलाई सरकारले २०७५ सालमा महाउज्ज्वल पदकबाट सम्मानित गरेको थियो। उनले २०६७ सालमा पद्यश्री साधना सम्मान पाएका थिए। त्यस्तै ‘हिमालपारि हिमालवारि’ कृतिका लागि २०५४ सालको र ‘चारु चर्चा’ निबन्ध कृतिका लागि २०५८ सालको साझा पुरस्कार पाएका थिए।