मृत्यु नचिनी जीवन चिनिन्छ र?
यौटा फूल सधैं वसन्त ऋतुको वैली यहाँ झर्छ रे
रोई आउँछ रे असार महिना आँसू यहाँ पर्छ रे
रो रो बादल हे ! डुलेर दुनियाँ एक्लै निरुद्देश्यमा
भोली जानुछ शुभ्र शान्त हलुका भै शून्यको देशमा !
(गौरी)
मङ्गलबार साँझपख राष्ट्रकविको निधनको खबर सुनेपछि मनमा अनौठो हलचल भयो । बिहान साढे एघारतिरै आएको साथी गिरीश गिरीको मेसेजले उहाँ सिकिस्त भएको अलिकति सङ्केत गरेको थियो । उहाँका छोरा राजीव घिमिरेलाई मैले पठाएको र जवाफ नआएको एसएमएसले पनि स्थितिको गम्भीरताको आभास दिएको थियो ।
उमेर र स्वास्थ्यस्थितिका कारण पनि उहाँको निधन चिताउँदै नचिताएको कुरा थिएन । त्यसैले जीवनसित सबै हिसाबले सन्तुष्ट शतायु स्रष्टाको निधनको कुरा सुनेर म उस्तो स्तब्ध र दुःखी भएको त थिइनँ । तर मनको अनौठो हलचल भने थामिएन । अनि मैले अनुभव गरें, मेरा मनमा अरू केही नभएर दिवङ्गत कविका कविताहरूको मुस्लो उठेको थियो ।
विभिन्न प्रसङ्गमा मैले भनेको र लेखेको पनि छु, म माधव घिमिरेका कविताको अम्मली हुँ । उहाँको कुनै न कुनै कविताले मेरो मनमा प्रायः कावा खाइरहेको हुन्छ । तर हिजो साँझ, उहाँको निधनको खबर सुनेपछि उहाँका सयौं श्लोकहरू तँछाडमछाड गर्दै मनमा घुम्न थाले ।
खबर सुन्दा म एक्लै थिइनँ, दुई तीन जनाका बीचमा गफगाफकै क्रममा थिएँ । अनि फोनमाथि फोन आउन थाले । फोनमा पनि बोली नै रहें । तर सँगसँगै मनमा उहाँका कविता पनि आइरहे, कुनै क्रमविना –
मै मिरिमिच्चे म्याँ म्याँ, प्रारम्भ हो खालि, धर्तीमाता, ध्रुबको कथा, गौरी, कालीगण्डकी, आजै र राति के देखें सपना, गौरी, यात्री, गौरी, राजेश्वरी, अश्वत्थामा, धर्तीमाता– जानेसम्मका आउन बाँकी रहेनन्, दोहोरिन बाँकी रहेनन् ।
‘आँधी जस्तो केही’ बाट शुरू भएको त्यो भावातिरेक विस्तारै सेलायो र उहाँकै शब्दमा ‘सल्लाको वनभित्रको कुहिरो’ जस्तो भयो –
सल्लाका वनभित्र उड्छ कुहिरो अल्झेसरी लर्बर
छिर्छन् मिर्मिर रश्मिजाल जसमा सङ्गीतले सुन्दर
(राजेश्वरी)
अनि विस्तारै शीतल, आद्र्र, मृदुल उज्यालोका पत्रहरू छोइएजस्तो भयो । कविताको पातलो खास्टो ओढेजस्तो भयो ।
कविताले गराउने नै यस्तै केही त हो !
एउटा पुरानो गीत सम्झिएँ . . .
त्यसरी होओस् मरण
जसरी सुत्छन् तारमा गीतका चारु चरण
(२०१६)
यो गीतमा कविवरले मरण यस्तो होस् भन्नुभएको हो कि जीवन ?
कि ती दुई बीच खासै अन्तर नै छैन ?
हिजोदेखि म कविवर घिमिरेका कवितामा यति धेरै मृत्युचेत देखिरहेको छु कि आफैंलाई अनौठो लागिरहेको छ । मृत्यु बारे त उहाँले जीवन जति नै पो लेख्नुभएको रहेछ कि क्या हो !
हुन त मृत्युको अस्तित्व, आभास, भय या पहिचान विनाको जीवन के जीवन ? यिन–याङ !
जसले मृत्यु चिनेको हुँदैन, त्यसले जीवन कसरी चिन्छ र ? जसलाई मृत्युसित डर लाग्दैन, त्यसले जीवनलाई माया कसरी गर्छ र ? जसले मृत्युको अपरिहार्यतालाई हृदयदेखि स्वागत गर्न सक्दैन त्यसले मोहान्धकारबाट कसरी मुक्ति पाउँछ र ?
अहिले कविवरको निधनसँगै सार्वजनिक भएको गीत आजभन्दा ६१ वर्ष अघि लेखिएको थियो ।
बिहानीपख रातको कुसुम पारिजातको
जसरी जान्छ झरेर भुइँमा बिना पवन
त्यसरी होओस् मरण
त्यसबेला केले लेखायो होला उहाँलाई यो गीत ?
पहिले धेरै पटक पढेको हुँ यो गीत । साह्रै मन परेको पनि हो । तर यो गीतलाई यति गम्भीरतापूर्वक लिने बुद्धि पुगेको भए म उहाँलाई पक्कै सोध्ने थिएँ, “यो गीत तपाईंलाई महाकविको कष्टप्रद मृत्युले लेखाएको हो ?”
सम्भवतः उहाँले सधैं जसरी नै हाँसेर भन्नुहुन्थ्यो, “तपाईंले ट्याक्क यसरी नै समाउनुहुन्छ र मलाई मन पर्छ ।”
उहाँ जीवित हुँदा उहाँका कविताका बारे म खुलेर सोध्थें । उहाँ अत्यन्त प्रेम र उत्साहका साथ जवाफ दिनुहुन्थ्यो । अब सोध्नलाई उहाँ हुनुहुन्न । अब मैले आफैं अनुमान गर्नुपर्छ ।
अब मेरा सयौं प्रश्नहरू टुहुरा भए !
इमानदारीपूर्वक अनुमान गर्नु सजिलो काम होइन ।
एउटा इमानदार अनुमानः
यो गीतको पुछारमा मुद्रित मिति (२०१६ असोज २१ गते) भन्दा ठ्याक्क दुई साता अघि (असोज ७ गते) उहाँ ४० पुगेर ४१ लाग्नुभएको थियो । हुन त नेपालीको औसत आयु त्यसबेला ३६ वर्ष पनि थिएन तर स–साना छोराछोरीका सङ्घर्षशील कवि पितालाई आफ्नो मृत्यु बारे कल्पना गरेर डराउनेसम्म पुगिसरी पनि थिएन । त्यति हुँदाहुँदै पनि केही दिनअघि मात्र, अर्थात् २९ भदौमा महाकवि देवकोटाको निधनले उहाँभित्रको मृत्युचेत जगाएको थियो । आफूभन्दा १० वर्ष मात्र जेठा र साह्रै मानेका महाकविले दुखाइ सहन नसकेर सायोनाइड मागेको सुनेर नै उहाँले “मुटुमा चोट नपरी टुटेर जाओस् बन्धन” भन्नुभएको हुनुपर्छ ।
मलाई त कतिसम्म लाग्छ भने यो गीत उहाँले देवकोटाको निधनकै दिन थालेर, आफ्नो बानी अनुसार केही पछि पूरा गर्नुभएको थियो । तर अब यी सबै अनुमानका कुरा मात्र भए !
कठोर भोगाइहरू र प्रबल दार्शनिक चेतका कारण कविवर घिमिरेलाई मृत्यु (मन पथ्र्यो, नै त नभनौं) रोचक लाग्थ्यो वा भनौं, मृत्यु बुझ्न मन लाग्थ्यो । त्यसैले त श्रीमतीले “आज राति मैले आफैं मरेको सपना देखें” भनेर सुनाउँदा यो प्रसिद्ध गीत जन्मेको हो नि !
आजै र राती के देखें सपना,
बतासबिनु हाँगाको फूल भईं झरिगएको
•••
वरि र परि घाम र छाया माझैमा पियार
संसारमा जन्म दिएर ईश्वर बैंसैमा नमार
(२०११)
यो बतासबिना फूल झैं झर्ने कुरा कविलाई कति प्यारो लाग्यो भने २०१६ सालमा त्यही आफ्नै भाव अर्को गीतमा आफैं ‘चोरियो’-
कुसुम पारिजातको
जसरी जान्छ झरेर भुइँमा बिनापवन
* * *
गएको कात्तिकमा उहाँसित मैले तासकन्द सम्मेलन र महाकवि देवकोटा बारे कुरा गरेको थिएँ । मङ्सीरको एउटा अपराह्न हामी गौरीकै बारे गफ गर्दै थियौं, मैले एउटा अनपेक्षित प्रश्न फ्याँकें, “२००४ सालमा गौरीको देहावसान भयो । २००५ मा नै तपाईंको अर्को विवाह भयो । घरमा नवविवाहित श्रीमती हुनुहुन्थ्यो । उहाँको उपस्थितिमा जेठी श्रीमतीको शोकमा त्यस्तरी डुब्न गाह्रो, अप्ठ्यारो भएन ?”
यसो भन्दै गर्दा मेरा मनमा आइरहेका गौरीको श्लोक थियो –
मेरीलाई म देख्छु झल्झल, त्यही टाँसिन्न यो पत्रमा
मेरीको मनको किनार रँगिलो, गाँसिन्न यो पत्रमा
यो बायाँ मुटु चस्कँदो छ कसरी, जान्दैन कोही पनि
छाया एक मभित्र रुन्छ कसरी, सुन्दैन कोही पनि
“यिनलाई बिहे गर्दा गौरी लगभग लेखिसकेको थिएँ । साफी गर्ने, मिलाउने काम भने गरिरहें तर यिनलाई देखाइनँ ।”
आमा (उहाँकी श्रीमती महाकाली घिमिरे) ले भन्नुभयो, “अरू सबै कुरा सुनाउनुहुन्थ्यो, तर गौरी सुनाउनुभएको थिएन । प्रकाशित भएपछि मात्र थाहा पाएँ । तर मलाई नराम्रो लागेन । पढेर खूब रोइयो । त्यस्तो बेलामा कसरी लेख्न सक्नुभयो होला जस्तो लाग्यो । बरु माया पो लाग्यो ।”
“मैले मायालाग्दै परिस्थितिमा लेखेको हुँ नि त !” राष्ट्रकविले थप्नुभयो । अनि मलाई सोध्नुभयो, “तपाईंले गौरीमा रातका बिम्बहरू याद गर्नुभएको छ ?”
मैले जवाफको साटो तीनवटा श्लोक भनें
कस्तो शान्ति छ – रातको पहरमा रातै घुसेको सरि
रोकि श्वास मसानमा छ शिवको छाया बसेको सरि
(यो आधा श्लोक मात्र)
र
सेलायो उनको चिता र दिनको ज्वाला निभ्यो पश्चिम
यो छाया–छविको डुब्यो दिन, डुब्यो रङ्गीन त्यो जीवन
थोत्रो देवल, शून्यसान दुनियाँ, सारा अँध्यारोतिर
जाऊ हे सखि ! साँझको शिखरको पारी उज्यालोतिर
र
राती शीतल मेघको मनि महानिद्रा सजीलै लियौ
हेरी आखिर घाटबाट रसिला आँखा ममा चिम्लियौ
उहाँ दङ्ग पर्नुभयो ।
गौरी पढ्ने सबैलाई थाहा छ, त्यो सिङ्गो खण्डकाव्य रात, तारा, छाया, जून, अन्धकार, बत्ती, जूनकिरी जस्ता विम्बहरूले भरिएको छ । म कलाकार भएको भए मैले ‘गौरी’ शीर्षकमा बनाउने चित्र पनि अँध्यारै हुनेथियो ।
“शोकको रङ पनि कालै हो । तर यसमा यति धेरै रात हुनुको अर्को व्यावहारिक कारण पनि छ । म दिनभर जीविकोपार्जनका लागि काम गर्थें र राति कविता लेख्थें । शोकका कारण मात्र होइन, लेख्दाको परिवेशका कारण पनि गौरी रातमय भएको हो ।”
कठै ! मलाई पनि माया लाग्यो ।
अनि उहाँकै कविता सम्झिएँ-
ढुङ्गाको काप फोरेर पनि उम्रन्छ पिपल
सिर्जनाशक्ति धर्तीमा कैल्यै हुँदैन विफल
मलाई थाहा छैन यो कुरा उहाँले अरूसित भन्नुभएको थियो कि थिएन । तर मलाई लाग्छ, गौरी लेखिएको ७० वर्ष पुगिसकेपछि आएको यो कुरा कविताको मर्म बुझ्न खोज्नेहरू र साहित्यका विश्लेषकहरूका लागि अत्यन्त महत्वपूर्ण छ ।
उहाँ आफ्ना रचनाहरूको व्याख्या गर्न औधी चाख राख्नुहुन्थ्यो । किन्नर किन्नरीमा सङ्कलित कतिपय, प्रेमगीतहरूको ‘सूफियाना शैली’ हाम्रा प्रायः कुराकानीको एउटा प्रिय उपशीर्षक हुनेगथ्र्यो । त्यस्ता धेरै गीतहरूमध्ये उहाँ यो गीत खूब दोहो¥याउनुहुन्थ्यो –
आजभोलि देख्तिनँ म तिनी कता गइन्
राति त्यतै सिरानी होस् तिनी जता गइन्
मलाई उहाँले यो गीत बारे बोलेको सुनिरहन मन लाग्ने भएकाले पनि यसको प्रसङ्ग कोट्याइरहन्थें –
वैशाखको पैलो फूल अचम्म ही खलि
मेरो कहीं अन्त्य छैन – प्रारम्भ ही खालि
जति हे¥यो उति राम्रो यही झाँकी कस्तो
हेरिसकेपछि फेरि हेर्न बाँकी जस्तो
दृष्टि हैन, सृष्टि हैन – अचम्म हो खालि
मेरो कहीं अन्त्य छैन – प्रारम्भ हो खालि
* * *
मेरा मनमा हिजो चलेको कविताको हुरी अझै थामिएको छैन । तर बेलाबेलामा सामाजिक सञ्जाल चिहाउन पनि भ्याउँदैछु । कविवर घिमिरेलाई उधिन्ढुङ्गो बनाएर आफ्नो क्रान्तिकारिताको छुरी उध्याउनेहरूको जाँगर देखेर छक्क पनि पर्दैछु ।
कविताले समाजलाई के दिन्छ, दिनसक्छ, दिनुपथ्र्यो भन्ने लामो विवादको न कहिल्यै बिट मर्छ, न यहाँ त्यसका लागि प्रयास गर्न आवश्यक नै छ । माधव घिमिरेले यो यो लेखेनन्, यस्तो यस्तो लेख्नुपथ्र्यो भन्नेहरूका रचनासित उहाँका रचनालाई तुलना गरेर उहाँलाई गरेको सम्मान र श्रद्धा आफैं कम पार्न चाहन्न ।
मलाई मान्छेको मन माटो जस्तो लाग्छ र कला–साहित्य चाहिं त्यसमा गरिने कृषिकर्म जस्तो । मनको माटोलाई खुकुलो, मलिलो र रसिलो बनाउने काम नै कला साहित्यबाट हामीले पाउने सबभन्दा ठूलो कुरा हो । बारीमा के लगाउने भन्ने कुरा पनि माटोको प्रकृति, त्यसको ‘मालिक’ को रुचि, चाहना र मूल्यप्रणालीमा भर पर्ने कुरा हो । कसैलाई आफ्नो बारीमा फूल रोप्न मनपर्छ । कसैलाई तरकारी । कसैलाई फूल देख्दा झनक्क रिस उठ्छ, भन्छन्, “देशमा यति मान्छे भोका छन्, ऊ भने फूल रोपेर बसिरहेको छ ।”
अन्न खेती त उनीहरूले पनि गरेका हुँदैनन् । देखिएकै हो, महान् क्रान्तिको गह्रौं भारवहन गर्ने हातहरूलाई सृजनाको कोदालो समाउन गाह्रै हुन्छ ।
भइहाल्यो, “गाली गरूँ आफ्नै बोली अपवित्र हुन्छ ।”
माधव घिमिरेका कविताहरूले के दिए ?
उहाँका कविता (र सीमित लेखहरूले) मेरो र धेरैको मनलाई कमलो बनाइदिए । आफ्नो भाषाप्रतिको आत्मविश्वास बढाइदिए । अरूलाई नहोच्याइकन आफ्नो देशलाई माया गर्न सिकाए । भाषा र संस्कृतिको मन्दिरमा इँटा मात्र होइन, तला नै थपे ।
मुनामदनले सतहमा ल्याएको झ्याउरे र अरू लोक छन्दहरूलाई मूलधारमा जमाउने कामको अगुवाइ माधव घिमिरेले नै गर्नुभएको हो ।
भाषाको शक्ति बारे उहाँ थोरै बोल्नुभयो, तर भाषाको त्यो सामथ्र्य उहाँले कविता र गीत लेखेरै देखाइदिनुभयो । विक्रम संवत् २००० मा प्रकाशित उहाँको दुर्गा सप्तशतीको अनुवाद कमल दीक्षितको कुर्सीबाट तन्केर भेट्न सकिने ठाउँमा राखिएका सीमित किताबमध्येको एउटा थियो । कमल दीक्षित भन्नुहुन्थ्यो, “यो एउटा किताबले धर्मलाई सजिलो र भाषालाई उज्यालो पार्दै शक्तिको राजनीतिलाई बुझ्न सजिलो पारेको छ ।”
याे पनि पढ्नुहाेस्– कस्ता कवि थिए माधव घिमिरे ?
तर जब अब यस्ता कुराको स्रोत सकियो भन्ने बोध हुन्छ, उहाँको एउटा श्लोक हावाको झोंका जसरी ठोक्किन्छ –
छैनन् आज उनी म रुन्छु, नहुँला भोली म, मेरा रुनन्
पृथ्वी मर्दछ पर्सि यो, पिलपिले ताराहरू ती रुनन्
सारा निष्ठुर नाशको पछि यहाँ आएर को रुन्छ हे
नाशैलाई छ सिर्जना सब भने रोएर के हुन्छ हे
(गौरी)
* * *
कविवर जानुभयो । एउटा सरल, सफल र असल जीवन बाँचेर जानुभयो । जीवनका बारेमा उहाँका सबै इच्छा पुगे । अचम्मसित पुगे ।
क्यै काम नौलो नगरी नजाऊँ
अकालमै हे, म मरी नजाऊँ
आयुष्य देऊ र भविष्य देऊ
मभित्र जीवन्त मनुष्य देऊ
बुढेससम्मन् पनि ज्यून जानूँ
यो जीवनीको रस प्यून जानूँ
खाई पिई आखिर तृप्ति शेष
हेरी उज्यालो, चिर दीप्ति शेष
हे धर्ति ! जीवन्त बनेर बाँचूँ
परन्तु जीवन्मृत भै नबाँचूँ
हामीलाई घुम्न खूब मनपर्छ । कतैकतै उहाँकै प्रेरणा छ ।
हेलम्बू गिरिशृङ्ग विश्वभरको सौन्दर्यको देशमा . . .
(राजेश्वरी)
वा
मेरा यात्री उठ अब तिमी क्वै पँधेर्नी नउठ्दै . . .
(यात्री)
मेरै धौलागिरि उपरमा छैन मैले चढेको
नेपालीको दिल छुन अझै छैन मैले सकेको ।
अब बन्दाबन्दी खुलेपछि फेरि हामी पहाड–मधेश र हिमालतिर जानेछौं । कुनै नदीकिनारमा हिंड्दै गर्दा मेरा मनमा गुञ्जिइरहने कवितामा म उहाँलाई नै भेट्नेछु –
गर्दागर्दै परिश्रम जसै देह यो लस्त होला
हेर्दाहेर्दै चरमचुलीमा सूर्य त्यो अस्त होला
त्यै लालिमासित पलक यो ढालूँला शान्तिसाथ
काली तिम्रो बगर बगरै आउँला मुक्तिनाथ
र माथि हिमालमा पुगेपछि मेरा आँखा पर्वत शिखरमा टाँसिएर बसेका राम्रा शिलाहरू खोज्न व्यस्त होलान् । किनभने उहाँले लेख्नुभएको छ –
हिमालैको क्या राम्रो शिला
मरेपछि शिला भै बसुँला
राक्षसले छुन खोज्दा सुन्केसरा रानी
छाया भई बसेजस्तै कालो घुम्टो तानी
शिला भई बसुँला मै पनि
मरनले छोला कि भनी
कविवर भन्नुहुन्थ्यो, “मैले लेखेका हरफहरू पढेर कसैलाई त्यो मेरो आफ्नै भावना हो जस्तो लाग्यो भने पुग्यो !”
त्यस्तो त कति भयो कति !
यो पनि त त्यस्तो हो नि !
फर्की क्वै पनि आउँदैन र सधैं पर्खन्न कोही पनि
कालो आदि र अन्त ! खालि बिचमा झिल्का लिने जीवनी
एक्लै क्वै दिन निस्किएँ म त भने कोही नखोजून् यहाँ
एक्लै अल्पिनु सृष्टिको चलन रे, कोही नरोऊन् यहाँ