‘१०० वर्षमाथिका साहित्यकार दुई जना थियौं, अब एक्लो भएँ’
कोरोनाबाट जोगिन अहिले घरभित्रै बस्नु परेको अवस्था छ। यस्तो वेला राष्ट्रकवि माधवप्रसाद घिमिरेको निधन भएको खबर पाउँदा ज्यादै दुखी छु।
उहाँ र मेरो पहिलो भेट उहिले राणाकालमै भएको हो, १९९८/९९ सालतिर। म त्रिचन्द्र कलेजमा पढ्थेँ। घन्टाघरमा भएको त्रिचन्द्र कलेजको साइन्स ब्लकको भवन नयाँ थियो। त्यही भवनमा भाषानुवाद परिषद्को कार्यालय थियो। त्यसले पाठ्यक्रम बनाउँथ्यो।
भाषानुवाद परिषद्को अध्यक्ष पुष्करशमशेर हुनुहुन्थ्यो। पण्डित बद्रीनाथ भट्टराई, लक्ष्मीप्रसाद देवकोटा र माधवप्रसाद घिमिरे सदस्य हुनुहुन्थ्यो । यी तीन जना त्यति वेलाका हस्ती ।
म कक्षामा शिक्षक नआउँदाको खाली समय भाषानुवाद परिषद् जान्थेँ। त्यति वेला कवितामा लागिसकेको थिएँ। फाट्टफुट्ट लेख्थेँ। लेखिसकेपछि उहाँहरुलाई देखाउँथेँ। भाषा मिलाइदिने र प्रेरणा दिने गर्नुहुन्थ्यो। यसरी माधवप्रसाद घिमिरेसँग सम्बन्ध बन्यो।
पछि २००० सालमा जागिरे भएर जिल्लामा खटिँदा उहाँको जिल्ला लमजुङ नै गएँ। त्यहाँका लोक गीत, लोक कविता संकलन गरेँ। उहाँले त्यो थाहा पाएपछि चासो राख्नुभयो। अनि झनै नजिक भइयो।
पछि उहाँ प्राज्ञ मनोनीत हुनुभयो। म बाहिर जागिरमै थिएँ। केही समयपछि काठमाडौँ आएँ। मलाई पनि सहप्राज्ञमा मनोनीत गरियो। उहाँहरुकै अन्तर्गत काम गर्थेँ। म संस्कृतिमा काम गर्ने र उहाँलाई पनि त्यसमा चासो भएकाले हामी घनिष्ठ भयौँ। मेरो किताब ‘नेपाली चाडबाड’ को उहाँले भूमिका पनि लेखिदिनुभयो। ज्यादै तारिफ गर्नुभएको थियो।
उहाँका फुटकर कविता मलाई ज्यादै मन पर्छन्। उहाँ लोक लय र लोक भाका टिपेर लेख्नुहुन्थ्यो। गाउँघरका कुरा गाउँघरकै भाषामा लेख्ने, कृषि जीवनबारे लेख्ने उहाँको कविताको विशेषता हो। अरुका कृतिमा गाउँका कुरा खालि कृत्रिमताका रुपमा आउँछ। उहाँका कवितामा ठेट छ।
उहाँ जहिले पनि हँसिलो मुखले कुरा गर्ने मान्छे। साह्रै मिलनसार। उहाँ बित्नुभयो भनेको सुन्दा ज्यादै दुख लागेको छ। आउनु र जानु प्रकृतिको नियम हो। उहाँप्रति हार्दिक श्रद्धाञ्जली र परिवारमा समवेदना छ।
१०० वर्षभन्दा माथिका साहित्यकार हामी दुई जना थियौं। उहाँ मभन्दा ६ महीनाले जेठो हुनुहुन्थ्यो। अब एक्लो भएँ।
म उहाँको शतवार्षिकी सम्मानमा पनि पुगेको थिएँ। जन्मनु र मर्नु प्रकृतिको नियमै हो। अब मेरो पनि पालो आएको हो कि जस्तो लागेको छ। यो सबै हुने कुरा नै हो।
-कुराकानीमा आधारित
अरु पनि
'चिन्तन या दर्शन कविताका निम्ति आवश्यक शर्त हैनन्'
अरु पनि
मृत्यु नचिनी जीवन चिनिन्छ र?
अरु पनि
कस्ता कवि थिए माधव घिमिरे ?
अरु पनि
मनमनमा बसेका कविवरलाई सदा सम्झन्छ नेपाली...
अरु पनि
राष्ट्रकवि घिमिरे घरबाट भाग्दा
अरु पनि
‘ऋतम्भरा’ सिध्याएर मात्र बिते राष्ट्रकवि