रिपोर्टबुधवार, आश्विन ३१, २०७५

माओवादी हिंसाले बिथोलेको आञ्चलिकता

मस्त केसी

माओवादीको दशक लामो हिंसात्मक विद्रोहका क्रममा सांस्कृतिक र धार्मिक गतिविधिमाथि भएको प्रहारले मध्यपश्चिमका जिल्लाहरूमा मनाइने दशैंको परम्परागत स्वरूप नै बिथोलिएको छ।

सल्यानको सिद्धकुमाख र कुमाख गाउँपालिकाको सिमानामा कोजाग्रत पूर्णिमाका दिन लाग्ने मेला । तस्वीर: सल्यान दृष्टिकोण

सल्यानका नागरिक अगुवा हरिशरण आचार्य (७०) को स्मृतिमा तीन दशकअघिको दशैंको सांस्कृतिक पाटो र आम उत्साह अहिले पनि ताजै छ ।

केटाकेटीहरू दशैंको नयाँ लुगा पाएर फुरुङ्ग हुन्थे । जताततै लिंगे र रोटे पीङ हुन्थ्यो । दशैंलाई चाहिने चिउरा गाउँमै कुटिन्थ्यो भने दही, केराको जोहो पनि आफैं गरिन्थ्यो । गाउँगाउँमा मेला लाग्थे, रातबिरात नभनी नाचगान चल्थ्यो । टीकाको दिनपछि कोजाग्रत पूर्णिमासम्म मान्यजनको घरघर गएर टीका थाप्न रात–बिहान नभनी दौडधूप हुन्थ्यो ।

अहिले समय बदलिएको छ र दशैं पनि । शिक्षा, सञ्चार, चेतनाको विकास र आर्थिक सबलतासँगै दशैंको संस्कृति पनि फेरिएको छ । बजारको विस्तार र सहज पहुँचले दशैंमा नयाँ लुगाको चासो धेरैलाई छैन । चिउरा, केरा लगायतका आवश्यक वस्तु घरमा तयार पार्ने झञ्झट छैन, किनेरै चलाउन थालिएको छ ।

टीका र जमराले गराउने पारिवारिक सद्भाव र अन्तरक्रिया समेत पातलिंदै गएको छ । सबभन्दा देखिने पाटो, दशैंका बेला स्थानीयस्तरमा खूब उत्साहसाथ हुने मेला र अन्य सामूहिक जमघटको परम्परा लगभग हराएको छ ।

नागरिक अगुवा आचार्य २०५४ को स्थानीय निर्वाचनपछि सांस्कृतिक र धार्मिक गतिविधिमाथि तत्कालीन विद्रोही नेकपा माओवादीको प्रहार तीव्र हुँदा चाडबाडको रौनक फिक्का बनेको बताउँछन् ।

“सांस्कृतिक क्रान्ति र सामन्तीले मनाउने चाड भन्दै दशैं लगायतका चाडबाडमा माओवादीले आक्रमण गरे” आचार्य भन्छन्, “त्रासका कारण सामूहिक भेला हुने क्रम रोकियो । रातरातभर हिंडेर भए पनि आफन्तकोमा टीका थाप्न जाने चलन ठप्प भयो ।”

त्यसबेला सरकारले पनि संकटकाल लगाएर ठूलो समूहमा हुने भेला र जमघटलाई रोक लगायो । जसका कारण दशैंको अवसरमा आयोजना हुने मेला, नाटक, खेलकुद तथा विभिन्न प्रतियोगितात्मक कार्यक्रम क्रमशः बन्द हुँदै गए ।

फलस्वरूप दशैंको बेला रातबिरात नभनी आयोजना हुने नाचगान र मेला दिउँसोको समयमा सीमित भए । मानिसहरूले खुम्चिएर दशैं मनाउन थाल्दा खर्च कटौती गरे । त्यससँगै चाडको रौनक नै सेलाउँदै गयो ।

मध्यपश्चिममा विशेषगरी दशैंमा नाचिने परम्परागत मयूर नाच, टप्पा, ठाडी भाका, हुट्की, मारुनी, लहरे नाच नाच्न छाडियो । पहाडमा गुरुङ, मगरहरू मौलिक लोकसंस्कृति झल्काउने नाचगान गर्थे । दाङमा थारूहरूको नाच त्यत्तिकै आकर्षक थियो ।

सामाजिक जीवनका साथै परम्परासँग जोडिएका यी सबै सांस्कृतिक गतिविधि हिंसात्मक विद्रोहको प्रभावले प्रतिबन्धित जस्तै भए । त्यससँगै दशैंको परम्परागत रौनक पारिवारिक टीका र खानपानमै सीमित हुन पुग्यो ।

दैलेखका सामाजिक अभियन्ता चक्रबहादुर चन्द माओवादीले दशैंलाई रूढिवादी परम्परा र धर्मसँग जोडेर नमनाउन उर्दी जारी गरेको सम्झ्न्छन् ।

“शहरबाट दशैं मनाउन जन्मथलो फर्कंदा डराउनुपर्ने अवस्था थियो” उनी भन्छन्, “टीका र जमरा कोठाभित्र खुम्चिएर लगाउनुपर्ने अवस्था थियो ।” २०५४/५५ सालसम्म आँगनमा सपरिवार बसेर दशैंको टीका थापेको क्षण चन्दले बिर्सेका छैनन् ।

समयक्रमसँगै दशैं मनाउने चलन फेरिंदै जानु स्वाभाविक भए पनि माओवादीले एक दशकसम्म चलाएको हिंसात्मक विद्रोहको प्रभाव प्रमुख कारण भएको उनको बुझाइ छ ।

माओवादी विद्रोहको उद्गम थलो रोल्पाका साथै रुकुम, सल्यान, प्यूठान, दाङ, जाजरकोट, दैलेख लगायत मध्यपश्चिमका जिल्लाहरूमा अहिले दशैंको परम्परागत स्वरूप नै बिथोलिएको छ ।

नागरिक अगुवा आचार्य त्यतिबेलाको त्रास र धम्कीका कारण खुम्चिएको दशैं अझै पुरानो स्वरूपमा फर्किन नसकेको बताउँछन् ।

दशैंको सार एउटै भए पनि समाज र परिवेश अनुसार मनाउने तरिका फरक हुने समाजशास्त्री प्रा.डा. तुल्सीराम पाण्डे बताउँछन् । स्थानीयस्तरमा लाग्ने मेला, नाचगान, टीकाको रङ आदिले दशैंको आञ्चलिकता झल्काउने र समयक्रमसँगै यस्ता विशेषता हराउँदा मौलिकता गुम्ने उनको भनाइ छ ।

सल्यानको जनकल्याण नमूना माध्यमिक विद्यालयका प्राचार्य पूर्ण भण्डारी पंकज पनि मध्यपश्चिममा दशैं मनाउने चलन फेरिएको महसूस गर्छन् ।

“हिजोको दशैंमा मीठो खाने र राम्रो लाउने कुरा मात्रै नभएर नाटक, क्लबका कार्यक्रम, झाँकी लगायत सामूहिक र सांस्कृतिक प्रस्तुति पनि थुप्रै हुन्थे”, उनी भन्छन्, “द्वन्द्वको समयमा प्रभावित त्यस्ता परम्परा अहिले लगभग हराइसकेका छन् ।” ती परम्परा अझै ब्युँतिन सकेका छैनन् ।

पुरानो संस्कृति र परम्पराका जानकार पुस्ता कति बितेर गए, कति तिनलाई निरन्तरता दिन नसक्ने उमेरमा पुगेका छन् । नयाँ पुस्तालाई त्यस्ता नाचगान र मेलाको महत्व र जानकारी छैन ।

“दशैंमा हुने यस्तै गतिविधि मार्फत नयाँ पुस्तामा संस्कृति हस्तान्तरण हुँदै जान्थ्यो”, भण्डारी भन्छन्, “सांस्कृतिक गतिविधिमा कमी आएसँगै पुस्ता हस्तान्तरणको प्रक्रिया पनि रोकिन पुग्यो ।”

पछिल्लो दुई/तीन वर्षदेखि केही क्लब र युवाहरू मिलेर सांस्कृतिक परम्परालाई निरन्तरता दिन खोजे पनि आञ्चलिकता समेट्न सकेका छैनन् । मोबाइल र इन्टरनेटले पनि नयाँ पुस्तामा बाह्य संस्कृतिको प्रभाव बढी परेको उनको बुझाइ छ ।

एकलकाँटे दशैं
स्वतन्त्रताको खोजी र आर्थिक पीडाको कारण संयुक्त परिवार चोइटिएको छ । एकल परिवारमा पनि कामकाजी अभिभावकको व्यस्तताका कारण आफन्तसित बालबालिकाको अन्तरक्रिया घटेको छ । व्यक्ति आत्मकेन्द्रित हुँदै जाँदा यसको प्रभाव चाडबाडमा समेत परेको जानकारहरू बताउँछन्  ।

समाजशास्त्री पाण्डे दशैं जस्ता ठूला चाडबाडमा हुने भेटघाटले समाजलाई एकताबद्ध बनाए पनि पछिल्लो समय एकलकाँटेपन देखिन थालेको बताउँछन् ।

“विदेश जानेहरूको बढ्दो संख्या, महँगी, प्रविधिको विकास तथा एकल पारिवारिक जीवनले भेटघाट र पुनर्मिलनको चाड दशैंलाई पनि एकलकाँटे बनाउन थालेको छ”, उनी भन्छन् । यसले दशैंको पारिवारिक, सामाजिक सम्बन्धको मान्यतामा असर गर्दै सांस्कृतिक महत्ता नै घटाउँदै लगेको उनको बुझाइ छ ।

दशैं एकलकाँटे बन्नुमा हिंसात्मक विद्रोहको प्रभाव प्रमुख देखिन्छ । हिजो विद्रोही माओवादीका कारण विस्थापित बनेकाहरू दशैं मनाउन घर फर्कन पाएनन् । उतिबेला गाउँबाट बजार र बजारबाट शहर छिरेकाहरूमध्ये थोरै मात्र शान्ति प्रक्रियापछि थातथलो फिरे ।

परिबन्दका कारण पारिवारिक रूपमा जुट्न नसक्नु एउटा कुरा, अन्यथा घरपरिवार र आफन्तसँग परम्परागत मान्यतामै रहेर उत्सव मनाउनु दशैंको सार्थकता रहेको जानकारहरू बताउँछन् ।

“व्यक्तिगत स्वतन्त्रताको कोणबाट हेर्दा घुमघाम गर्ने वा एकल जीवन बिताउन चाहनेको रहरलाई स्वाभाविक मान्नुपर्ने हुन्छ” प्राचार्य भण्डारी भन्छन्, “तर, दशैंको मौलिकता एकलकाँटे दशैंमा नभएर पारिवारिक सद्भाव र मिलनमै छ ।”

हराए मेला र जमघट
मध्यपश्चिमका केही मन्दिर र मेलाले दशैंको संस्कार र आञ्चलिकता बोकेका छन् । जस्तैः सल्यानको खैराबाङ मन्दिर, रानीपोखरी मेला, कुमाख मेला, रुकुमको डिग्रे मेला, दाङको अम्बिकेश्वरी मन्दिर, दैलेखको वडाकाँडा, लामीडाँडा, पिलाडी लगायतमा लाग्ने मेलाको मौलिकता दशैंसँगै जोडिएको छ ।

सल्यानका नागरिक अगुवा आचार्य द्वन्द्वकाल अघि कुमाख मेला २४ घण्टा लाग्ने गरेको सम्झ्न्छन् । द्वन्द्व शुरू हुनुअघि रानीपोखरीको मेला पनि राति नै लाग्थ्यो ।

“कुमाख मेला कोजाग्रत पूर्णिमाको अघिल्लो रात शुरू भएर भोलिपल्ट मध्यरातसम्म चल्थ्यो” उनी भन्छन्, “द्वन्द्वको त्रासले पूर्णिमाको दिनमा सीमित भएको मेला अहिले पनि एक दिन मात्रै लाग्छ ।” एक रात एक दिनसम्म चल्ने मेला एक दिनमा सीमित भएसँगै छिमेकी जिल्लाहरूबाट तीर्थालु आउने क्रम बन्द भएको उनको भनाइ छ ।

कुमाखकै जस्तो गरी दैलेखका मेला पनि लोप हुँदै गएको अभियन्ता चन्दको अनुभव छ । दैलेखमा लाग्ने पिलाडी, लामीडाँडा, वनकाँडा लगायत मेलाको रौनक हराएको छ ।

“हिजोका दिनमा मेला भनेको भेटघाट गर्ने, दुःख–सुख साट्ने र मनोरञ्जन गर्ने थलो थिए” चन्द भन्छन्, “तर, द्वन्द्वकालमा सेलाएको मेलाको रौनक अझै तात्न सकेको छैन ।”

हिजो बिथोल्ने, आज मनाउने
कुनै धर्म, चाडबाड वा संस्कृतिलाई मान्ने वा नमान्ने वैयक्तिक स्वतन्त्रताको कुरा हो । त्यही कारण कुनै व्यक्तिले दशैंको टीका लगाउँछ कि लगाउँदैन भन्ने बहस वा विरोधको विषय होइन ।

तर, दशैं मनाउने र टीका लगाउने वैयक्तिक स्वतन्त्रतालाई हिजो माओवादीले आफ्नो प्रभाव रहेको क्षेत्रमा बिथोलेका थिए । हिन्दू धर्म राज्यले लादेको तथा दशैंलाई पनि त्यसैगरी थोपरिएकाले राज्यको चाडबाड मनाउन नहुने उनीहरूको तर्क थियो ।

उता सरकारले संकटकालको समयमा दशैं लगायतका चाडबाडमा सीधै प्रहार नगरे पनि त्यससँग जोडिएका मेला र अन्य गतिविधिमा नियन्त्रण गरेको थियो ।

दशैंलाई कुनै समय रूढिवाद र भड्किलो चिन्तन ठान्ने माओवादीहरू अहिले दशैं धुमधामले मनाउन थालेका छन् । गएको वर्ष मात्रै नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहालले दशैंको टीका लगाएका थिए ।

अभियन्ता चन्द भन्छन्, “हिजो माओवादीहरूले सम्पन्नले मनाउने पुरातनवादी संस्कृतिको उपज भन्दै गाउँगाउँमा दशैं बिथोले, आज आफैं तामझमका साथ मनाउन थाले ।”

यसले माओवादी गतिविधि संस्कृतिमाथिको प्रहार बाहेक अरू केही नभएको उनको विश्लेषण छ । संस्कृति र मौलिकता विनाको मुलुक सम्पन्न नहुने भएकाले दशैं मनाउने सबै पक्ष मिलेर यसको परम्परागत मान्यता र मौलिकता जोगाउनुपर्ने उनी बताउँछन् । 

यो पनि पढौं:

दशैंको राजनीति (आनन्द राई)

दशैंको सुवास (रुपा जोशी)

दशैंका महिला: खुशी पस्किनमै सीमित (सविना देवकोटा)

अक्षताः मौलिक प्रचलन (विनय वञ्जारा)

दशैंको रङ बदलौं (डा तीर्थबहादुर श्रेष्ठ)

खुलेको फैलिएको दशैं (केदार शर्मा)

हाम्रो दशैं (टेकबहादुर जिरेल)

दशैंको अर्थतन्त्र: उहिले र अहिले (रमेश कुमार)

अन्यत्र बलि, रसुवामा क्षमापूजा (फुर्पा तामाङ)

प्रतिकृया दिनुहोस