समाचारबुधबार, ३१ आश्विन , २०७५

दशैंका महिला: खुशी पस्किनमै सीमित

सविना देवकोटा

दशैं लगायत चाडबाडमा अधिकांश नेपाली महिलाको भूमिका आफूलाई बिर्सेर परिवारका सदस्य र पाहुनापाछालाई खुशी पार्न सीमित हुने गर्छ।

ओखलमा धान कुट्दै ड८ेलधुराको अजयमेरु कानाकाे६का महिला । तस्वीर: रासस

झापा बिर्तामोडकी ४० वर्षीया निर्मला भेटवाल दशैं आउँदै गर्दा सबभन्दा पहिले क्यालेण्डर हेर्ने गर्छिन् । ‘कतै महीनावारी हुने बेलामै त परेन दशैं ?’ उनको चासोको विषय यही हुन्छ ।

दशैंको बेला महीनावारी भएर घरको एउटा कुनामा बस्नुपरे सम्पूर्ण परिवारको चाड खल्लो बन्ला भनेर उनी चिन्तित बन्छिन् । दशैंमा पालो परेको थाहा पाउनेबित्तिकै महीनावारी पर सार्ने औषधि खाइहाल्छिन् ।

उनी भन्छिन्, “धन्न महीनावारीको समय सार्ने औषधि बनेको छ । होइन भने सिङ्गो परिवारलाई दशैं–तिहारमा कति खल्लो हुन्थ्यो !” शरीरको जैविक पक्रिया नै रोकेर उनले दशैं लगायत चाडबाड मनाउन थालेको २३ वर्ष भइसकेको छ ।

उनको लागि चाडबाड भन्नु आफू पनि रमाइलोमा सहभागी हुने समय होइन, परिवार र पाहुनापाछालाई खुशी बनाउने जिम्मेवारी हो ।

महिला विना घरमा चाडपर्व आउँदैन भन्ने सोच्ने उनी एक्लो पात्र भने होइनन् । भक्तपुर, पातलेटारका ४८ वर्षीय अच्युतप्रसाद न्यौपानेलाई पनि यस्तै लाग्छ ।

एक वर्षअघि श्रीमती बुहारी भेट्न अष्ट्रेलिया गएपछि बाबु–छोरा मात्र घरमा छन् । “श्रीमती विनाको दशैं साह्रै असहज हुँदोरहेछ”, अच्युत भन्छन् ।

सोह्रश्राद्ध लागेसँगै दशैंको लागि सरसफाइ, मरमसलाको बन्दोबस्त र किनमेलले घरमा रौनक छाइसक्ने बेलासम्म गत वर्षझैं यस वर्ष पनि केही तयारी नगरेको उनी बताउँछन् । उनी निष्कर्ष निकाल्छन्, “घरमा महिला नभए चाडपर्व आएजस्तो नहुँदो रहेछ ।”

यस विपरीत घरमा पुरुष नभएकै कारण चाडपर्वको रौनक नभित्रिने अवस्था नरहने अधिकांश महिलाको अनुभव छ । कञ्चनपुरकी २५ वर्षीया गीता अवस्थी तिनैमध्ये पर्छिन् । तीन वर्षदेखि कमाइ गर्न भारत गएका श्रीमान् प्रत्येक दशैंमा घर फर्किन्छन् ।

श्रीमान् घर आएपछि आर्थिक बोझ कम भए पनि घरधन्दा र चाडपर्वको चटारो झन बढ्ने उनको अनुभव छ । श्रीमान् घर आएपछि गाउँमा जुवातास र मेलामै भुल्ने भएकाले आफ्नो बोझ हल्का नहुने गीता बताउँछिन् । उनी भन्छिन्, “श्रीमान् गाउँ आए जस्तो लाग्छ, घर आए जस्तो लाग्दैन ।”

तेह्रथुम, खाम्लालुङकी ४९ वर्षीया सरस्वती निरौला माइत नगएको १० वर्ष भइसकेको छ । दशैं लगायत चाडपर्वका बेला हुने कामको धपेडीमा परिवारका अन्य सदस्यको ‘खुशी’ को ख्याल राख्दाराख्दै आफूलाई समय दिन नभ्याएको उनको भनाइ छ ।

दशैं मनाउने परिवारका अधिकांश महिलाको जस्तो निरौलालाई पनि दशैंको चटारो एक महीनादेखि नै शुरू हुन्छ । घर लिपपोत गर्न उनी गाउँका अन्य महिलाहरूसँगै सात घण्टा हिंडेर कमेरो माटो ल्याउँछिन् ।

तेल पेल्न जानेदेखि मिलमा चिउरा तथा धान कुटाउने, पीठो पिसाउने जस्ता सबै काम महिलाले नै गर्छन् । दशैंमा आफैंले पकाई–तुल्याई गर्नुपर्ने भएपछि यी सबै काम खुरुखुरु गर्नुको विकल्प नभएको उनी बताउँछिन् ।

पुरुषहरू भेटघाट, घुमघाम र रमाइलोमा भुल्दै गर्दा अधिकांश महिला दशैंमा जुठा भाँडा मस्काइरहेका हुन्छन् । केटाकेटीहरू नयाँ लुगा एक–अर्कालाई देखाउँदै उफ्रिरहँदा घरमा आमा, काकी, दिदीहरूलाई भने परपाहुनाको व्यवस्थापन गर्न भ्याईनभ्याई हुन्छ ।

शरद यामको अनुकूल मौसममा उमंगसाथ मनाइने दशैंमा महिलाहरू रामरमाइलोको हिस्सेदार बन्ने फुर्सद नै पाउँदैनन् । गत वर्ष मौसम अनुकूलता विचार गर्दै दशैंताका साथीभाइसँग मुस्ताङ गएका पोखराका श्याम घिमिरेकी श्रीमती भन्छिन्, “हामीले घरको काम सम्हालिहाल्यौं, त्यसैले श्रीमान्ले घुमघाम गर्दै दशैं विदा मनाउनुभयो ।”

अमेरिकी मानवशास्त्री क्लिफोर्ड गर्जका अनुसार, चाडपर्वले ‘असमानतालाई पनि मन्त्रमुग्ध’ बनाउने क्षमता राख्छन् । चाडपर्वको बेला परिवारभित्र हुने ‘अघोषित’ लैंगिक विभेदलाई महिलाहरूले आफ्नो कामका रूपमा स्वीकार्ने गरेका छन् । यसो हुनुलाई पुरुषप्रधान परम्पराको उपज मान्छन्, त्रिभुवन विश्वविद्यालय मानवशास्त्र केन्द्रीय विभागका सहप्राध्यापक जनक राई ।

“नारी शक्ति (नवदुर्गा) को उपासना गरिने दशैंमा महिलाहरूले दुःख नगरी घरघरमा खुशी नै नभित्रिने अवस्था छ” उनी भन्छन्, “अरू धेरै चाडपर्वले जस्तै दशैंले पनि पितृसत्तालाई नै वैधता दिएकाले यस्तो भएको हो ।”

अधिवक्ता एवं महिला अधिकारकर्मी मीरा ढुंगाना महिलाहरूले चाडबाडमा पनि परिवारका सदस्यसँग बसेर सुस्ताउने र रमाउनेतिर नलागी आफ्नै खुशीको बलिदान दिने गरेको देख्छिन् ।

यसले महिलाको स्वभाव भन्नु नै अरूलाई खुशी बनाएर खुशी हुने हो भनेर सोच्न बाध्य बनाउने उनको टिप्पणी छ । भन्छिन्, “परम्परागत समयदेखि महिलामा ‘गर्नुपर्ने मैले नै त हो नि’ भन्ने मानसिकता बीजारोपण गरिएको छ, यसैले घरघरमा अघोषित असमानता स्वीकारिएको देखिन्छ ।”

समाजशास्त्रीहरू भने दशैंलाई महिलाको दृष्टिकोणबाट पनि बहस र विश्लेषण गरिनुपर्ने तर्क गर्छन् । उमंग र पुनर्मिलनको चाड दशैंमा महिलाहरूलाई पनि उमंग आउँछ/आउँदैन ?

भेटघाट र रमझममा उनीहरू के कसरी संलग्न हुन्छन् ? चाडपर्वको बेला उनीहरूलाई सबैभन्दा रमाइलो र नरमाइलो के कुरामा लाग्छ ? पुरुषको कस्तो भूमिकाले उनीहरूको चटारो घटाएर खुशी बढी ल्याउँछ आदि जस्ता विषयमा बहस गर्नुपर्ने उनीहरूको धारणा छ ।

संस्कृतिविद् डा. जगमान गुरुङ महिलासँग जोडिएका कतिपय कुसंस्कार समाजबाट उखेल्नुपर्नेमा जोड दिन्छन् । परम्परागत रूपमा महीनावारीका बेला महिलाहरूलाई पूजामा बन्देज लगाइए पनि अब त्यसमा सुधार गर्नुपर्ने तर्क उनको छ ।

“समाजमा आएको जागरणलाई ध्यान दिंदै त्यस्ता गलत अभ्यास हटाउँदै जानुपर्छ”, उनी भन्छन् । 

यो पनि पढौं:

अक्षताः मौलिक प्रचलन

दशैंको रङ बदलौं

खुलेको फैलिएको दशैं

हाम्रो दशैं

दशैंको अर्थतन्त्र: उहिले र अहिले

अन्यत्र बलि, रसुवामा क्षमापूजा

प्रतिकृया दिनुहोस