टिप्पणीबुधवार, आश्विन ३१, २०७५

दशैंको राजनीति

हिमालखबर

राई–लिम्बूहरूले ‘बहिष्कार’ नभनिकन पनि दशैं नमनाउन सक्छन्।

-आनन्द पी राई
२०३७/३८ सालतिर काठमाडौंमा केही किरात राई युवक ‘नेपाल उत्पीडित जाति युवा समिति’ मा संगठित थिए । घल राई, टंकबहादुर राई आदि अगुवा रहेको समिति पञ्चायती व्यवस्था विरोधी गतिविधिसँगै किरातहरूको भाषिक–सांस्कृतिक उत्थानमा सक्रिय थियो ।

हाम्रा भान्जेदाइ तिलक राई सोही समूहका प्रतिबद्ध कार्यकर्ता हुनुहुन्थ्यो । उहाँ ‘कोङपि’, ‘पारुहाङ’ लगायत पत्रिका र पर्चाका स–साना पोका बोकेर मोरङको रमाइलो झेडास्थित हाम्रो घरमा आइरहनुहुन्थ्यो । पक्राउ पर्ने खतरा बढेको बेला हामीकहाँ उहाँको भूमिगत बसाइ महीना–डेढ महीनासम्म लम्बिन्थ्यो ।

उहाँ हिन्दू राज्य–सत्ताले लादेको दशैं किरातीहरूले ‘परित्याग’ गरेर आफ्नै चाडपर्व मनाउनुपर्छ भन्नुहुन्थ्यो । उहाँको तर्क हुन्थ्यो– संसारका कुनै पनि जातिले दोहोरो–तेहरो धर्मको चाडबाड मनाउँदैनन्, राईले मात्र किन मनाउने ?

उहाँकै प्रभावबाट हाम्रो परिवार २०४३ सालबाट दशैं नमान्ने टुंगोमा पुग्यो । धरान, दमक र बोराबाँधबाट आउनुभएका फुपूहरू ठूलो विस्मात्‌का साथ खाली निधार फर्कनुभयो । तिहारमा भेट्ने कुराले विस्मात् कम गर्‍यो ।

२०४७ सालपछि गोरेबहादुर खपाङ्गीले जोडतोडले ‘दशैं बहिष्कार’ अभियान चलाए । दशैंको रातो टीका र क्षत्री–बाहुनबारे उनको व्याख्या निकै विषाक्त थियो । नभन्दै, २०४८ को अष्टमीमा मारको निहुँमा हाम्रा छिमेकी मानबहादुर गुरुङ र हरि खड्काको झगडा पर्‍यो ।

धन्न टोलका बूढापाकाले त्यो झगडालाई साम्प्रदायिक वितण्डामा परिणत हुनबाट रोके । जे होस्, पञ्चायती हिन्दू सत्ताको उकुसमुकुस हटेको परिवेशमा खपाङ्गीको चर्को आह्वानले जोडदार काम गर्‍यो, आदिवासी जनजातिहरूले धमाधम दशैं ‘बहिष्कार’ गर्न थाले ।

कतिपय गाउँमा कांग्रेसका जतिले दशैं माने, कम्युनिष्टहरूले ‘बहिष्कार’ गरे । तिहारलाई चाहिं सबैले निरन्तरता दिए ।

२०४८ सालको आम निर्वाचनमा जनजातिहरूले भोट त कांग्रेस र कम्युनिष्टलाई नै दिए, तर खपाङ्गीको ‘दशैं बहिष्कार’ अभियान यति असरदार भयो कि कतिले बुइँगलमा जमरा राखेर, राति झ्यालढोका थुनेर छोराछोरीलाई टीका लगाइदिए ।

कतिले परिवारका वृद्धवृद्धा संरक्षकको शेषपछि बहिष्कार गर्ने भन्दै जमरा राखे । २०५९ भदौमा तत्कालीन राजा ज्ञानेन्द्रले मन्त्री बनाएपछि खपाङ्गीले पनि दशैं मनाए । त्यसपछि त दशैंको टीका लगाउन कसैले लुकिरहनै परेन ।

दशैंको भारी
नेपालका प्राचीनतम बासिन्दा किरात समुदाय प्रकृतिपूजक हुन् । उनीहरूको जीवनदर्शन मुन्धुममा आधारित छ । जन्मदेखि मृत्युसम्म आफ्नै संस्कार, संस्कृति र चाडपर्व भएका किरातीहरूलाई रणबहादुर शाहको शासनकालपछि दशैं मनाउन बाध्य पार्न थालिएको ऐतिहासिक प्रमाणहरू पाइन्छन् ।

रणबहादुरदेखि राजेन्द्रविक्रम शाहसम्मको नीति राई–लिम्बूलाई हिन्दूकरण गर्ने रहेको बुझिन्छ । त्यसबेला गोवध निषेधदेखि दशैंमा दुर्गा भवानी र हातहतियारको पूजा गर्ने, मौलो गाडेर बलि चढाउनेसम्मका आदेशहरू जारी भए ।

हिन्दू वर्णाश्रम व्यवस्थालाई कानूनी रूप दिएका जंगबहादुर राणाको शासनमा दशैं नमनाएको ‘अपराध’ मा धनकुटाका रिदमा र रम्लि हाङ राईलाई वि.सं. १९३३ मा झुन्ड्याइएको इतिहास छ ।

पूर्वी नेपालमा गोर्खाली आधिपत्य स्वीकारिसकेपछि राई–लिम्बूले दशैंको भारी बोक्नुपर्ने अर्को बाध्यता आइलाग्यो । आँगनमा मौलो गाडेर, मार हानेर, सिकुवाको भित्तामा रगतको पञ्जाछाप लगाए राई, सुब्बा, जिम्मावाल, अमाली आदिको रूपमा स्थानीय शासक हुन पाइने भयो ।

दशैं नमनाए छाला काढिने, धुमधामले मनाउँदा क्षत्री, बाहुन समेत आफ्नो रैती हुने र सिसार–दस्तुर बोकेर राई/सुब्बाकहाँ आउने भए ।

ज्यान सजाय तोकेर हिन्दूकरणको नीति लागू गरेको राज्य सत्ता पनि जाँडरक्सी, सुँगुरको मासु जस्तो घोर अभक्ष सिसार बाँड्दै राई–लिम्बूहरूले दशैं मनाउँदा खुशी भयो !

आम रूपमा दशैं पूजा–उपासना भन्दा बढी भेटघाट, खानपान र आमोद–प्रमोदको अवसर हो । हिन्दू सत्ताले राजनीतिक रूपमा लादेकै भए पनि दशैंको यस्तो सामाजिक–संस्कृतिक पक्ष ग्रहण गर्न रामरमाइलो मनपराउने किरातीको ठूलो हिस्सालाई धेरै गाह्रो भएन होला ।

समय क्रममा यसले सामाजिक सद्भावलाई पनि बलियो बनायो । त्यसो त किरातीहरूले हिन्दूको दशैं नमान्दा नेपाली सद्भाव खल्बलिने पनि होइन, तर त्यसलाई ‘बहिष्कार’ भन्दै नकारात्मक सन्देश प्रवाह गरियो ।

कुनै पनि संस्कृति दुई पुस्तामा पूरै आफ्नो हुन्छ भनिन्छ । बाध्यताले होस् या रहरले, राई–लिम्बूले हिन्दूको दशैं–तिहार मनाउन थालेको अढाइ सय वर्ष पुगेको छ । यस हिसाबले हेर्दा दशैं–तिहार अब किरातीको पनि चाड हो ।

दोहोरो भारी बोक्न नचाहनेका लागि किराती बाजेपुर्खाले हिन्दू सत्तासँग जुध्दै आफ्नो समृद्ध मुन्धुमी संस्कृति, परम्परा सग्लो राखिदिएकै छन् । त्यसलाई निरन्तरता दिंदा नेपाली विविधता बलियो हुन्छ । 

दशैंं ‘बहिष्कार’ नगर्नेले तिहार पनि मनाउनुहुँदैन भन्ने अर्को मूढाग्रह छ । कुनै चाड मनाउन चाहनेले मनाउँछन्, नचाहनेले मनाउँदैनन् ।

कसैले कसैको संस्कृति ‘बहिष्कार’ गर्नु अलोकतान्त्रिक हो । फेरि कोही कसैको संस्कृतिमा रमाउँदैमा धर्म–संस्कृति परिवर्तन भइहाल्ने पनि होइन ।

धर्मनिरपेक्ष नेपालको जय होस् । हिन्दूहरूको महान् चाड दशैंको अवसरमा शुभकामना ! 

यो पनि पढौं:

दशैंको सुवास (रुपा जोशी)

दशैंका महिला: खुशी पस्किनमै सीमित (सविना देवकोटा)

अक्षताः मौलिक प्रचलन (विनय वञ्जारा)

दशैंको रङ बदलौं (डा तीर्थबहादुर श्रेष्ठ)

खुलेको फैलिएको दशैं (केदार शर्मा)

हाम्रो दशैं (टेकबहादुर जिरेल)

दशैंको अर्थतन्त्र: उहिले र अहिले (रमेश कुमार)

अन्यत्र बलि, रसुवामा क्षमापूजा (फुर्पा तामाङ)

प्रतिकृया दिनुहोस