टिप्पणीबुधवार, आश्विन ३१, २०७५

अन्यत्र बलि, रसुवामा क्षमापूजा

हिमालखबर

दशैंकै बेला रसुवाका तामाङ बस्तीमा भने पशु वध गर्नेहरूको पापमोचनका लागि भन्दै ‘क्षमापूजा’ गरिन्छ।

-फुर्पा तामाङ

पारिवारिक पुनर्मिलनको चाड दशैंमा मीठो खाने, राम्रो लाउने, टीका र आशीर्वाद थाप्ने लगायत राम्रा पक्ष धेरै छन् । तर, नरमाइलो पक्ष पनि छ, निहत्था पशुपन्छीको बलि चढाइनु ।

पछिल्लो समय विश्वव्यापी रूपमै पशु अधिकारकर्मीहरूले धर्मका नाममा चढाइने बलि रोक्नुपर्ने आवाज उठाउँदै आएका छन् । हामीकहाँ यस्तो आवाज प्रत्यक्ष नउठाइए पनि परोक्ष रूपमा बौद्ध धर्मका लामा गुरु तथा अनुयायीहरूले व्यवहारमा अभ्यास गर्दै आएका छन् ।

दशैंमा विभिन्न समुदायले राँगा, बोका, खसी, भेडा, हाँस, कुखुरालाई बलि चढाएर वा मार हानेर धूमधामसँग उत्सव मनाइरहँदा रसुवा जिल्लाको उत्तरी भेगका गाउँहरूमा भने फरक किसिमको धार्मिक विधि शुरू हुन्छ ।

ती गाउँका लामा र अनुयायी गाउँलेहरू गुम्बामा गएर मारिएका प्राणीहरूको आत्मशान्ति, वध गर्ने व्यक्तिहरूको पापमोचनका लागि व्रत बस्छन्, जसलाई ‘क्षमापूजा’ भनिन्छ ।

यस्तो व्रतलाई तामाङ भाषामा ‘ङ्युङ्ने छम् टिबा’ वा ‘ङ्युङ्ने देन्क्षाबा’ भनिन्छ । लामा र अनुयायीहरू दशैंको बेला पारेर ङ्युङ्ने मुख्य गरी तीन कारणले बस्छन्ः पहिलो, दशैंमा देशभरका अधिकांश ठाउँहरूमा पशुपन्छी मारिने भएकाले तिनको आत्मालाई शान्ति मिलोस् । दोस्रो, पापजन्य कार्य गर्नेहरूलाई शुद्धि प्राप्त होेस् । तेस्रो, अज्ञानतावश अबोध प्राणीको हत्या गर्नेहरूको आत्माले मृत्युपछि मुक्ति पाओस् ।

ङ्युङ्ने बस्नेहरू यी कुरालाई ध्यानमा राखेर मन्त्र/श्लोक/मोलम् उच्चारण गर्छन् । धार्मिक पुस्तक पढ्छन् । व्रत अवधिभरि खानेकुरा र पानी त परको कुरा, थुक समेत निल्दैनन् । अरूसित कुराकानी पनि गर्दैनन् ।

यस्तो अवधिलाई कुक्प टिबा अर्थात् ‘मौन अवधि’ भनिन्छ । लामाहरू गुम्बामा नौनीको बत्ती ‘क्षेमी’ बाल्छन् । फलफूल तथा शुद्ध परिकारको प्रसाद ‘छो’ चढाउँछन् ।

ङ्युङ्ने तीन दिनसम्म बसिन्छ । त्यस क्रममा मन्त्र/श्लोक/मोलम् जप्दै सकेसम्म लाख (बुम्) पटक, नसके हजार (तोङ्रा) र त्यति पनि नसके एक सय आठ (ग्यादङ् गे) पटक उठेर नमस्कार गर्दै घोप्टो परेर जीउ तनक्क तन्केर ढोग्नु (छ्याछल्) पर्छ । छ्याछल् असाध्यै कठिन मानिन्छ ।

“प्राण र आत्माको दृष्टिले मान्छे र अन्य प्राणीमा केही फरक छैन । अबोध प्राणीको आत्मा बचाउने काम पनि लामाहरूको हो । त्यसैले हामीले अरूको लागि पनि पापबाट मुक्ति दिलाउने विधिहरू गरिदिनुपर्छ”, ङ्युङ्ने बारे रसुवाको भार्खु गाउँका सिंगी नुर्प लामा (६९) भन्छन् ।

कालिका गाउँपालिकाको गोम्बो डाँडादेखि माथिका गाउँहरूमा रहेका गुम्बामा दशैंको बेला ङ्युङ्ने बस्ने गरिन्छ । कतिपय गाउँहरूमा भने दशैं लगत्तै ङ्युङ्ने बस्छन् । लामाहरू गाउँमा दशैं बाहेक अरू बेला पनि ङ्युङ्ने अर्थात् व्रत बस्छन्, पूजा गर्छन् ।

तर, दशैंको बेला र अरू बेला बस्ने ङ्युङ्ने फरक हुन्छ । अरू बेलाका ङ्युङ्ने बौद्ध संस्कृति अनुसार हुन् भने दशैंमा बस्ने ङ्युङ्ने खास गरी हिन्दूहरूको दशैंमा हुने मार, पापमोचन र प्राणीहरूको आत्मशान्तिका लागि हो ।

रसुवामा भौगोलिक सीमाका आधारमा पशु बधको नियम प्रचलित छ । स्याफ्रुबेसीमा सानो भार्खुको ‘क्वी छ्याङ्छ्याङ’ र लेकमा ब्राबल गाउँ नजिकको ‘नाज्युङ ल्वुङ्’ खोलालाई साँध मानेर उक्त स्थानदेखि माथि दशैंमा पशु वध गरिंदैन ।

यस्तै, लाङटाङ जाने बाटोमा पर्ने घोडा तबेला मुनिको ‘गेमो तोङ्तोङ्’ लाई साँध मानेर त्योभन्दा माथि काटमार गरिन्न ।

त्यसो त जिल्लाका कतिपय तामाङ गाउँहरूमा दशैं मनाउने चलन पनि छ । उनीहरूले धर्मका भन्दा पनि परम्पराको रूपमा दशैं मनाउँदै आएका छन् । धेरैजसो लामाहरू मासु रुचाउँछन् । तर आफैं काटमार भने गर्दैनन् ।

यी तामाङ गाउँहरूलाई मासु धेरै उपभोग गर्ने र प्राचीन किंवदन्ती अनुसार राक्षसहरूले धेरै दुःख दिने ठाउँ मानिन्छ । सातौं शताब्दीमा गुरु पद्मसम्भव अर्थात् गुरु रिम्पोछेले यी गाउँहरूमा रहेका राक्षसहरूलाई मारेको किंवदन्ती पनि सुन्न पाइन्छ । 

प्रतिकृया दिनुहोस