अन्तर्वार्ता/विचारबुधवार, आश्विन ३१, २०७५

दशैंको रङ बदलौं

डा. तीर्थबहादुर श्रेष्ठ

बदलिंदो समयले आजको दुनियाँ सुहाउँदो दशैं खोजी गरिरहेछ, जहाँ पशुपक्षीको बलि र वधमा रमाउने प्रचलन नहोस्।

पशुको साटो कुभिण्डो बलि दिइदैं । तस्वीर: हिमाल अर्काइभ

भदौरे तातो घाम सेलाएर नीलो आकाशमा कपासे बादलहरूले आफ्नो रङ र रूप बदल्न थालेपछि दशैं आएको आभास हुन्छ । दुई–तीन दशक पहिलेका दशैंमा काठमाडौंको आकाशमा चङ्गाले रजाइँ गरेको हुन्थ्यो । चङ्गा उडेपछि मात्र दशैं आए जस्तो लाग्थ्यो ।

भाइबहिनीहरू क्रमशः हातका औंला भाँच्थे र कान्छी औंलाले भन्थ्यो– ‘दशैं आयो !’ साहिंली औंलाले ‘खाउँला पिउँला’ भन्थ्यो, अनि माझ्ी औैंलाले सोध्थ्यो ‘कहाँबाट ल्याउँला ?’ चोरऔंलाले उत्तर दिन्थ्यो– ‘चोरी ल्याउँला !’ त्यो सुनेर बूढीऔंलो झ्र्कन्थ्यो– ‘धत् पाजी म त छुट्टै बसौंला !’

दशैं आएको र बूढीऔंला छुट्टिएको कथा रमाइलो लाग्थ्यो । मीठो खानपिनका लागि मानिसहरू चोर्न पनि तम्सिने सन्देश त्यसभित्र निहित छ । हुन पनि, दशैं आएपछि चोरी बढ्ने प्रवृत्ति अझैं कायम छ ।

दशैंको बेलामा मानिसहरू खानपिन, त्यसमा पनि मासुप्रति लालायित हुन्छन् । पशुपक्षीका लागि भने दशैं सबभन्दा ठूलो दशा हो । काठमाडौंमा यसबारे पनि कथा हालिन्थ्यो ।

कुखुराको भाले उच्च स्वरमा सबैलाई भन्छ रे– ‘मोहनी व...ल...’ अर्थात् ‘दशैं आयो !’ नीलटाउके हाँसहरू अत्तालिंदै कराउँछन्– ‘कन्हे... कन्हे’ अर्थात् ‘भोलि नै हो भोलि ।’ भेडाहरू लामो स्वरमा विलाप गर्छन्– ‘आ गठेय् याय्’ अथवा ‘अब के गरौं !’ बोकाहरू आमा गुहार्छन्– ‘म्याँ म्याँ’ भन्दै । लाचार राँगोहरू ईश्वर पुकार्छन्– ‘नारा...यण, नारा...यण ।’

मानिसका लालसा र पशुपक्षीका दुर्दशा कुरा र कथामा भन्दा प्रत्यक्ष देख्न पाइन्छ, देवदेवीका मन्दिरमा । काली भगवतीका मन्दिरमा रगतको आहाल जम्छ ।

सडकमा सवारी साधन बलि दिइएका बोका, हाँस, कुखुराको रगतले सिंगारिएको देखिन्छ । हुँदाहुँदा हामीकहाँ हवाईजहाजलाई पनि बलि चढाउने काम भयो । अमेरिका पुगेका नेपालीले सवारी साधनमा पशुबलि चढाएका समाचार पनि सुनिए । आलो रगतसँग खेल्ने कतिपय नेपालीका रुचि जगजाहेर नै छन् ।

नेपाली सेना र अन्य सुरक्षा अंगमा मौलाएको कोत–संस्कृतिले दशैंलाई अझ् बढी पशु वध र आलो रगतको चाडका रूपमा चित्रण गर्छ । सैनिक ब्यारेक र प्रहरी पोष्टहरूमा पशुबलिलाई उत्सवकै रूपमा मनाइन्छ ।

बन्दूक पड्काएर बढाइँ गरिन्छ । पशुका शिर चटक्क छिनालेर आहाल बन्ने आलो रगतमा अभ्यस्त गोर्खाली सेना लडाइँ र संग्राममा शत्रुका शिर पनि त्यसैगरी छिनाल्न सिपालु साबित भइसकेको छ ।

दशैंको संस्कृतिसँग संग्रामको तालिम कति सम्बन्धित छ भन्ने बुझ्न गाह्रो छ, तर नेपाली खुकुरी र गोर्खालीको वीरता विश्वले बिर्सने कुरा भएन ।

अर्जेन्टिनाको फोकल्याण्ड लडाइँ (सन् १९८२) मा गोर्खा रेजिमेन्टले देखाएको भिडन्त कौशललाई प्रचारप्रसार गरेर ब्रिटिशहरूले विपक्षलाई तर्साएका थिए ।

२ सेप्टेम्बर २०१० मा उत्तर भारतको एउटा रेलमा धावा बोल्ने ४० जना डाँकूलाई एक जना गोर्खालीको खुकुरी करामतले पराजित गरेको समाचारले खुकुरी कौशलको महत्व स्थापित गर्दछ ।

दशैंका बेला मन्दिर, मौलो वा आ–आफ्नै दैलोमा हुने पशुपक्षी वध वा बलिप्रति वर्तमान समाज र नयाँपिंढीले केही परिवर्तनको अपेक्षा गर्दछ ।

जंगबहादुरको कोत पर्व र नारायणहिटी हत्याकाण्डका हतियार एकै खाले हैनन् । खुकुरी अब इतिहासको धारमा र सम्झौटो कोसेलीको रूपमा सीमित हुने लक्षण देखिन्छ । त्यस्तै, बलि प्रथा र पशुपक्षीको काटमारलाई पनि आधुनिक प्रविधिको घेराभित्र सीमित गर्दै लैजाने सामाजिक मनस्थिति बनाउनु परेको छ ।

नयाँ संस्कृति निर्माण गरौं
मानिस अरू पशुपक्षीको उत्पीडनमा रमाउने प्राणी हो । तर, यो सभ्य प्रवृत्ति हैन । गोरु जुधाउने, गोरुसँग मानिस जुध्ने ‘स्पेनी बुलफाइट’, भक्कुलाई राँगो दिने, माछालाई पानी बाहिर तड्पाएर मार्ने आदि पाप क्रिया हुन् ।

मुगुको गमगढीमा मैले दशैंको बेला बोको पर्साउने अचम्मको तरिका पनि देखें, जहाँ गाउँका ठालुले दलित समुदायलाई बोको उपहार दिने चलन थियो । त्यो बोकालाई जीउभरि हरियो खुर्सानीको लेप दलेर देवीको मन्दिर परिसरमा छाडिंदो रहेछ ।

दलित समुदायका लाठे केटाहरूले त्यसलाई टोकेर भुँडी फोड्नुपर्ने रहेछ । बोकालाई हातले समाउन नपाइने त्यो खेलमा खुर्सानीको पिरोले मुख स्यू–स्यू गर्दै टोकाटोक गरेपछि एक जनाले आन्द्रा वा भुँडी देखिने गरी टोक्न सफल भए मात्र बोको पर्सेको मानिंदो रहेछ । त्यसपछि बोकालाई देवीको मन्दिरभित्र काट्न लैजाने त्यो प्रथा ज्यादै बीभत्स थियो ।

चार दशक पहिले देखेको यस्तो प्रथा अहिले लोप भइसक्यो होला भन्ने मेरो आशा छ । दशैं नमनाउने ललितपुर, खोकनाको एउटा जात्रामा पनि बोकाको यस्तै बीभत्स वध हुने गरेको छ । त्यसलाई पनि खोकना समाजले बहिष्कार गर्नेछ भन्ने अपेक्षा गर्न सकिन्छ । वस्तुतः पशुपक्षीलाई उत्पीडनमा वध गर्नु वा बलि चढाउनु सभ्य मानसिकताको द्योतक हैन ।

काठमाडौंका काली मन्दिरहरूसँगै दुर्गा, भवानी तथा भैरव मन्दिरहरूमा बोका, राँगा, कुखुरा वा हाँसको बलि चढाउँदा मार हानेर गर्धन छिनाउनुको साटो घाँटी रेटेर पशुपक्षी वध गरिन्छ ।

रगतको धाराले देवदेवीका मूर्तिलाई नुहाउने यस्तो चलन स्वयंमा पाशविक लाग्छ । एकै मारमा टाउको छिनाल्ने भन्दा घाँटी रेट्ने प्रथा निकै बढी पीडादायक हुन्छ । तर, रगतले घरको दशैंकोठा रातै रङ्गिने शहरी क्षेत्रमा केही परिवर्तन पनि देखापर्न थालेको छ ।

किनभने, हिजोआज काटमार गर्ने मानिस परिवारमा हुँदैनन् । पशुपक्षीको भुत्ला वा प्वाँख खुइल्याएर सफा गरिदिने मान्छे भेटिंदैन । तथापि दशैं खड्ग, खुँडा र खुकुरी आदि हतियारलाई प्रयोग गर्ने र पूजा गर्ने दिन हो । पूजापछि तिनले बलि माग्छन् ।

तसर्थ, हिजोआज कुभिन्डोको बलि प्रचलनमा छ । त्यस्तै उखु वा मूला काट्ने चलन पनि छ । दशैंको नवरात्रिमध्ये नवौं दिनलाई काठमाडौंवासीहरू ‘स्याकुत्याकु’ भन्छन् । यो मारकाटको दिन हो । मारकाटमा पशु वा पक्षी वध अनिवार्य नबनाएर एउटा नयाँ संस्कृतिको विकास गरौं । दशैंको रङ बदलौं । 

दशैं सामाग्री: 

खुलेको फैलिएको दशैं

हाम्रो दशैं

दशैंको अर्थतन्त्र: उहिले र अहिले

अन्यत्र बलि, रसुवामा क्षमापूजा

प्रतिकृया दिनुहोस