समाचारमंगलबार, ३० आश्विन , २०७५

खुलेको फैलिएको दशैं

केदार शर्मा

पूर्वाधार विकास तथा समाजिक र अार्थिक परिवर्तनका कारण दशैंको स्वरुप फेरिंदा यसको मूल्य कम भए जस्तो देखिए पनि मोल भने बढिरहेको छ ।

दशैं फेरियो, धेरै नै फेरियो !

सबै भन्छन्, दशैं पहिले जस्तो छैन ।

सबै कुरामा व्यापक परिवर्तन भएको छ भने दशैं मात्र कसरी उस्तै रहन्छ र? दिन, समाज, संसार कहिल्यै पनि उस्तै रहँदैन भन्ने कुरा बुझ्दा बुझ्दै पनि हामी कहिलेकाहीं भनिहाल्छौं, “कठै ती दिन गैगए !”

तर दशैं मात्र होइन, अरू र अन्तका चाडबाड पनि फेरिएका छन् । संसारभरमा सबै कुराको परिवर्तनको गति बढेको छ । हामी पहिले कहिल्यै कल्पना समेत नगरिएका अनेक कुरा आत्मसात् गर्दैछौं र आफूलाई सजिला, रमाइला र महत्वपूर्ण नलागेका कुरा छाड्दै जाँदैछौं ।

आउँदा दिनहरूमा यो परिवर्तनको गति अझ बढ्नेछ ।

दशैंका पनि धेरै कुरा हामीले छाडेका छौं र कतिपय नयाँ कुरा ल्याएर दशैंमा टाँसेका छौं । त्यसैले दशैं पुरानो गोरेटो छाडेर सडकको बाटो हिंड्न थालेको छ । गोरेटोबाट सडकतिर लाग्नासाथ साधन फेरिन्छ र फेरिन्छ, गति पनि ।

दशैंको पनि गति फेरिएको छ । पहिले दशैं पैदल आउँथ्यो, अहिले नानाथरी साधन चढेर आउँछ ।

यो दशैंका मौकामा हिमाल ले तपाईं हामी सबैले सम्झेसम्मका विभिन्न ठाउँका र विभिन्न समयका दशैं सम्झउने जमर्को गरेको छ, जसबाट देश, काल र परिस्थितिमा आएको परिवर्तनको टड्कारो अनुभूति हुन्छ ।

दशैंले अब परम्परागत हिसाबले दशैं नमनाउने क्षेत्र र समुदायहरूलाई पनि समेट्न थालेको छ । अब यो हिन्दूहरूको मात्र चाड रहेन, होइन । मुख्य रूपमा यो धार्मिक भन्दा बढी सांस्कृतिक चाड हुँदै गएको छ ।

दोस्रो, सञ्चारमाध्यमहरूको विस्तार र प्रभावका कारण ‘सांस्कृतिक मूलप्रवाहीकरण’ पनि बढ्दो छ । तेस्रो, यो नेपालको सबभन्दा ठूलो आर्थिक गतिविधि हुने अवसर भएकाले यसले उद्यमी र व्यापारीहरूलाई सम्भवतः सबभन्दा धेरै छुन्छ । र, व्यापारीहरू सबै धर्म र समुदायका हुन्छन् ।

मान्छेहरूको आवतजावत, आवधिक बसाइँसराइ र सञ्चारमाध्यमहरूका कारण हुने सांस्कृतिक मूलप्रवाहीकरणले दशैंमा आएको हेरफेर सम्बन्धित विषयका अध्येताहरूका लागि एकदमै चाखलाग्दो विषय हुनसक्छ । यसका अनेक मध्ये एउटा उदाहरण हुम्लाको दशैं पनि हो ।

परिवर्तनको पारा हेर्ने हो भने सम्भवतः सबभन्दा फेरिएको दशैं हुम्लाकै हो, जहाँ केही वर्ष अघिसम्म, अरूतिर दशैंको मुख्य विशेषता मानिने टीका लगाउने चलन थिएन । त्यहाँ टीकाका दिन सानाले ठूलालाई र ठूलाले सानालाई जमरा लगाइदिएर आसिक दिन्छन् ।

हुम्लाको सर्केगाड गाउँपालिका जैरका नरबहादुर सुनुवार बताउँछन्, “पढ्न र काम गर्न गएका मान्छेले जहाँ जे देखे त्यहाँबाट त्यही चलन ल्याए ।

अहिले हामी टीका पनि लगाउन थालेका छौं ।” सुनुवारका अनुसार, बरु जुटेन भने मासु नखाँदा पनि ठूलो गुनासो हुन्न, दशैंमा भात भने चामलकै खानुपर्छ भन्ने सबैको चाहना हुन्छ । उनी भन्छन्, “हामीकहाँ दशैंको मिष्ठान्न भनेको चिउला (पुरी जस्तो परिकार) थियो, अब सेलरोटीको प्रवेश हुँदैछ ।”

अदानचुली गाउँपालिका, श्रीनगरका देउलु रोकाया हुम्लाको दशैंको चलनलाई अलि विस्तार गर्दै भन्छन्, “दलितहरूले चोखा भनिएकाहरूलाई आफूले बनाएका कुराको जमरा लगाइदिन्छन् । जस्तो, सुनारहरूले आफूले बनाएको सियो वा सार्कीहरूले छालाको फिर्का (चर्खा चलाउँदा काममा आउने सामान) को ‘जमरा’ अर्थात् कोसेली दिन्छन् ।

दमाईहरू भने घटस्थापनाका दिनदेखि अष्टमीसम्म ‘चोखा’ हरूकहाँ गएर बाजा बजाउँछन् । त्यसबेला उनीहरूको खानपिनको व्यवस्था ‘चोखा’ हरूले नै मिलाउँछन् ।”

तर दशैं यसरी फैलिएको मात्र होइन, खुम्चिएको पनि छ ।

परम्परागत हिसाबले दशैं मानिआएका समुदायहरूबाट दशैं बाहिरिएका उदाहरण पनि छन् । “हामी साह्रै राम्ररी पो दशैं तिहार मनाउँथ्यौं त ! हामी दशैंको टीका औंसी (गाईतिहारे औंसी) सम्म र तिहारको टीका पञ्चमीसम्म लगाउँथ्यौं ।

दशैं आउनुभन्दा दुई–तीन महीना अघिदेखि नयाँ लुगा जुटाउने र सिलाउने चटारो हुन्थ्यो”, पाँचथर जोरपोखरीका कर्णश्याम लावती (४४) भन्छन् । उनी आफू सानो छँदा खुङपाङ, चुकफारा तिरबाट कपास ल्याई घरमै धागो कातेर आमाले खाँडीको कपडा बनाइदिएको सम्झ्न्छिन् ।

सडक नआउँदासम्म यहाँका बासिन्दा लुगाफाटो किन्न पाँचथरबाट तीन दिन हिंडेर दार्जीलिङको पुलबजार वा तमोर गढतिरको बाटो धरान वा इलाम जान्थे । २०४४ सालदेखि मात्र यहाँ गाडी चल्न थालेको हो ।

“अहिले जति लाए पनि लुगा छ, रोजीछाडी खानेकुरा छ, तर दशैं छैन”, लावती थप्छन्, “२०४७ पछि यसमा राजनीति छि¥यो । दशैं हाम्रो होइन भनेर नमनाउने सल्लाह भयो । अनि मनाउन छाडियो ।

अरू कुरा त त्यस्तै हो, बाउबाजेले दिने आसिक चाहिं साह्रै मनपर्थ्यो, त्यो सम्झिंदा चाहिं मनै कटक्क खान्छ । ठूलाबडाको आशीर्वाद लिने–दिने चलन नै हरायो, हितेरी मितेरी पनि हरायो ।”

तस्वीर: आइएमनेपाल डट कमबाट

उनलाई असाध्य मन पर्ने आसिक यस्तो हुन्थ्यो –

नुहाउँदा केश नझरोस्, हिंड्दा ठेस नलागोस्
दुबोजस्तो मौलाउनू,
सन्तानले डाँडाकाँडा ढाकून्
मागिखाने नभएस्, दिइखाने भएस्
सय हजारमा मान्छेले चिन्ने हुनू
राजा काजी दाहिना हुन्
देउता दाहिना हुन्

दशैं कतै फेरियो, कतै हराएर गयो !

धर्मको आँगन बाहिर
पर्सा विश्रामपुरका मुसलमान समुदायका इब्राहिम देवान भने आफू सधैं ‘दशैं भित्रै’ रहेको अनुभव गर्छन् । “हामी साना छँदा नवरात्रिमा बोक्सी र भूतप्रेतको गतिविधि बढ्छ भन्ने विश्वास गरिन्थ्यो र हामीलाई बुवाआमाहरूले शिरमा कुनै कपडा बाँधेर मात्र निस्कन दिनुहुन्थ्यो ।

हामी हिन्दूहरूकहाँ जाने, नाचगानमा भाग लिने, रमाउने सबै गथ्र्यौं । तर, त्यसबेला समाजमा अलि भेदभाव थियो, अहिले मेटिंदै गएको छ । हामी हिन्दू परिवारहरूमा निम्त्याइन्छौं । खानपान गर्ने मात्र होइन, टीका पनि लगाउँछौं ।”

पर्साबाट अति टाढा गोरखाका मुसलमानहरू भने टीका लगाउँदैनन् । पत्रकार अब्दुल्लाह मियाँ भन्छन्, “म सानो छँदा समाजमा कुनै भेदभाव थिएन । हामी फरक समुदायका हौं भन्ने एकदमै कम मात्र अनुभव हुन्थ्यो । दशैंमा जति पनि किसिमका पीङ हालिन्थे, सबै मुसलमानहरूको अग्रसरतामा, मुसलमान गाउँतिरै हालिन्थे । किनभने त्यसबेला हाम्रा बुवा दाजुहरू अरू भन्दा अलि बढी फुर्सदमा हुनुहुन्थ्यो । हामी हिन्दूहरूकहाँ जान्थ्यौं र घरभित्रै बसेर खानपिन गर्थ्यौं । उनीहरूकहाँ पाकेको मासु खाने र टीका लगाउने बाहेक उनीहरू जसरी नै दशैंमा रमाउँथ्यौं ।”

मियाँका अनुसार अहिले युवाहरू गाउँमा नभएका कारण दशैंको रौनक घटेको छ । पीङको संख्या घटेको छ । तर, सद्भाव र पारस्परिकता उस्तै छ ।

दोलखा जिरीका पूर्व शिक्षक टेकबहादुर जिरेल (६३) लाई दशैं हिन्दूको चाड भनेकै मन पर्दैन । जिरेलहरू लामो समयदेखि बौद्धधर्म मान्छन् । तर, आफ्नो बाल्यकालदेखि अहिलेसम्म दशैं उनका लागि उत्तिकै प्रिय छ । (हेर्नुहोस् टिप्पणी- हाम्रो दशैं)

पहिले–पहिले उनीहरू पनि रातो रङमा मुछेको दही अक्षताको टीका लगाउँथे । त्यसबेला ‘दशैं अर्काबाट सिकेको, परधर्मी चाड’ भन्ने कुरा निकै उठ्यो ।

अहिले उनी दशैंको आफ्नो मौलिकतामा फर्केर, पितापुर्खाले जस्तै रङ नहालेको, दही चामलको टीका लगाउँछन् । उनलाई दशैं आदर प्रकट गर्ने, आशीर्वाद थाप्ने र शुभकामना आदानप्रदान गर्ने सबभन्दा उम्दा उत्सव लाग्छ । 

केही वर्ष यता टीका लगाउन छाडेका इलाम आइतबारेका मार्कुस राई टीका नलगाए पनि दशैंभर दशैंमय दिन बिताउँछन् । छरछिमेकमा खसी, सुँगुर ‘बनाइदिने’ काममा उनकै सीपको खोजी हुन्छ ।

मार्कुस र मनुले छोरी करुणालाई नयाँ लुगा किनिदिइसकेका छन् । करुणा जस्तै नयाँ लुगा लगाएका धेरै बालबालिका बाबुआमा सहित आफन्तहरूलाई भेट्न र रमाइलो गर्न जान्छन् । कतिपय चर्चहरूमा जुनसुकै बार परे पनि टीकाकै दिन भेटघाट, प्रार्थना र सहभोज हुन्छ ।

गैरहिन्दू दशैंको एउटा विशिष्ट परम्परा रसुवा, नुवाकोट र सिन्धुपाल्चोक जिल्लाका उत्तरी गाउँहरूमा पाइन्छ । “दशैंका बेला देशभर हुने गरेको काटमारमा संलग्न व्यक्तिहरूलाई पाप नलागोस् भनेर हामी दशैंको फूलपातीदेखि दशमीसम्म गुम्बामा गएर ङ्युङ्ने अर्थात् उपवास बस्ने, पूजा गर्ने र प्रसाद बाँड्ने काम गर्छौं”, पाँचपोखरी क्षेत्रको रिपार गाउँका तासी लामा (५०) भन्छन् ।

सेर्माथाङ, गोरखनाथ गुठी गुम्बाका छेसाङ लामा (५३) का अनुसार, घरघरबाट एक दुई जना गुम्बामा आएर संलग्न हुने यस अनुष्ठानमा फूलपातीका दिनदेखि नवमीसम्म मौनब्रत र निराहारब्रत हुन्छ । दशमीका दिन मनिबुम पूजा गरेर प्रसाद बाँडेपछि ङ्यूङ्ने सकिन्छ । त्यसैदिन गुम्बामा अर्को दशमीसम्मका लागि ‘मार्खु घ्याम्झे’ (घ्यूको दियोको समुद्र) प्रज्वलन गरिन्छ । 

मौलिकता र विविधताको पर्व
नवरात्रिमा हिन्दूहरूले गर्ने दुर्गा भवानीको पूजा आराधनाको निश्चित विधिविधान हुन्छ, तर दशैंको कुनै विधान छैन । टीका लगाउनेले दशमीका दिन जसरी टीका लगाइदिए पनि हुन्छ । एकदिनदेखि जति दिन पनि टीका लगाए हुन्छ । टीका नै नलगाए पनि हुन्छ ।

दशैं पारिवारिकता, मित्रता, उमङ्ग र लचिलोपनको पर्व हो, टीका, जमरा, नयाँ लुगा, मासु, केरा वा अन्य सबै कुरा तपसिलका हुन् ।

कहिलेकाहीं लाग्छ, दशमीका दिन मुख्य दिन भएकाले यो चाडलाई दशैं भनिएको हो कि दशौं किसिमले मनाइने भएकाले ?

म पूर्वी पहाडको मान्छे । १५ वर्षको भएपछि मात्र घरबाट निस्केको हुँ । त्यसैले मैले बयान गर्न जान्ने दशैं पूर्वी पहाडकै हो । तर मलाई लाग्छ, दशैं अन्य पहाडी भेकमा पनि मोटामोटी उस्तै हुँदो हो । उकाला–ओराला बाटा, ठाडा खोलानाला उस्तै हुन् । भूबनोट जस्तै होची–अर्घेलीले भरिएको समाज पनि देशभर उस्तै हो ।

केही दिनअघि मैले फेसबूकमा एउटा रोचक सामग्री फेला पारें, जहाँ अज्ञात लेखकले पुरानो दशैंका विशेषता झ्ल्काउने केही कुरा बुँदागत रूपमा लेखेका रहेछन् । ‘र पो दशैं आएझैं लाग्थ्यो’ शीर्षकमा सँगैको बक्समा दिइएको त्यो सामग्री अतीत मोह (नोस्टाल्जिया) को राम्रो उदाहरण हो । त्यहाँ चर्चा गरिएका सबै कुराले दशैं आएको अनुभूति गराउँथे ।

तर यहाँ लेखिएका मध्ये अधिकांश कुरा अब कहिल्यै नफर्किने बाटो लागे । गाउँका घरहरूको ढाँचाकाँचामा आएको परिवर्तन, शिक्षा, बसाइँसराइ, संयुक्त परिवारहरूको विघटन, यातायात, सञ्चार, बजार – हामीले रोजेकै कुराले ती पुराना कुरा लिएर गए ।

हो, दशैं फेरियो, तर के दुःख मान्नुपर्ने गरी फेरियो र ?

लगभग ५० वर्ष अघिदेखिका दशैं अलिअलि सम्झेको नाताले म भन्छु, होइन, दशैं फेरिनैपर्ने भएकाले फेरियो ।

धेरैले भनेको सुनेको छु, “दशैंको महत्व घट्यो ।”

वास्तवमा त्यसबखत हामीसित रमाउने अरू केही साधन र माध्यम नभएकाले मात्र दशैंले त्यति ठूलो महत्व पाएको थियो । अहिले दशैंको महत्व घटेको होइन, सन्तुलित भएको मात्र हो ।

मान्छे भन्छन्, “उसबेला कति सस्तो थियो !”

हो, सरसामानको मोल सस्तो त थियो, तर ती सस्ता सामान किन्ने पैसा जुटाउन भने असाध्य गाह्रो थियो ।

आजभन्दा पचास वर्ष अघिको समाज सम्झौं, र विचार गरौं, हामीसित त्यसबेला के के थिए –

त्यसबेलासम्म मान्छेका सन्तान धेरै हुन्थे । झैझगडा नपरुञ्जेल परिवार संयुक्त रहन्थे । धेरथोर खेतीपाती प्रायः सबैको हुन्थ्यो र त्यो पनि नहुनेहरू अर्काका घरमा सस्तोमा श्रम बेच्थे ।

घरका सदस्यहरूको अथक् र मूल्याङ्कन नगरिने श्रम र सस्ता खेतालाका भरमा धेरैका भकारीमा अन्न भरिन्थ्यो र त्यसलाई आत्मनिर्भरता भनिन्थ्यो । वास्तवमा जो श्रम गर्न सक्थे, तीमध्ये धेरैसित गरिखाने जमीन हुँदैनथ्यो र जोसित प्रशस्त जमीन हुन्थ्यो, प्रायः ती श्रम गर्दैनथे ।

महिलाको दुःख र सुख
उसबेला हरेक मान्छेको दशैं फरक–फरक किसिमले आउँथ्यो । बा–काका, दाजुहरूको दशैं रामरउस गर्ने, फुर्सदमा दुईचार हात तास पनि खेल्न भ्याउने खालको हुन्थ्यो भने आमा, काकी, भाउजूहरूको दशैं भने मड्केनाबाट माटाको भारीसहित निस्केर घरमा पस्थ्यो ।

रातोमाटो, कमेरो, गोबर र मोसो – घर पोत्ने काम मूलतः आमाहरूकै हुन्थ्यो । आमाहरू थाकेको हामी थाहा पाउँदैनथ्यौं । सम्भवतः उहाँहरूसित पनि आफू थाकेको कुरा थाहा पाउने पुगिसरी थिएन ।

ढिकीको काममा पुच्छ्रामा लाग्ने लाठेहरू त हुन्थे, तर आफैं समेत लागेर कहिले ओख्लामा, कहिले पुच्छ्रा मा नाचीनाची काम गर्नुहुन्थ्यो । एक मुरी, पच्चीस पाथीसम्म चिउरा कुट्न बिहान ३–४ बजेदेखि नै ढिकीमा खट्नुहुन्थ्यो ।

सबै कामबाट फुर्सद निकाल्न सके दशैंको हाट भर्न बजार जाने छूट र टीकाका भोलि–पर्सिपल्ट माइत जाने छुट्टी मिल्थ्यो, त्यो पनि सासूले तोकेका दिनसम्मका लागि मात्र ।

घरहरूको ढाँचा पुरानो थियो । धेरै सन्तान पाएर बैंसमै बुढिएका महिलाहरू दिनको १४ देखि १८ घन्टा अथक् श्रम गर्थे । आज उहिलेको घरमा भर्खर पोतेको रातोमाटो र कमेरोको सुगन्ध खोज्ने नाकहरूले आफ्ना आमा हजुरआमालाई सोधे हुन्छ, दशैं त्यसबेला कति कठिन थियो ।

अहिले आमा वा हजुरआमा पुस्तामा रहेका ती महिलाहरूका लागि दशैं मरुञ्जेल काम गरेर डराई–डराई केही दिन माइत जान पाउने अवसर मात्र थियो ।

जब म दशैंलाई ‘र पो दशैं आएझैं लाग्थ्यो’ को अतीत मोहबाट निस्केर, मान्छेको सुखदुःखका दृष्टिबाट हेर्छु, मलाई अहिलेकै दशैं मनपर्छ ।

अहिले अनिच्छित गर्भधारणबाट मुक्तिको एउटै वरदानले महिलालाई ‘मान्छे’ हुन मद्दत गरेको छ । संयुक्त परिवारहरूको विघटनले सबैको, खासगरी महिलाहरूको इच्छा र चाहनालाई केही हदसम्म सम्बोधन गर्ने बाटो खोलेको छ । फोन, सडक र झेलुङ्गे पुलहरूले माइती–मावलीको दूरी र दुर्गमता घटाएका छन् ।

घरमा सिमेन्ट, जस्तापाता, पोलिथिन पाइप आदिको प्रयोगले महिलाको श्रम उल्लेखनीय रूपमा घटेको छ । चीनबाट आउने सस्ता तयारी लुगाले लुगा फेर्न दशैं नपर्खिनुपर्ने भएको छ । एलपी ग्यासले त दाउरा खोज्ने, बोक्ने, चुलो फुक्ने र आँसु बगाउँदै खोक्नेसम्मका काम घटाएको छ ।

बजारहरू नजिक सरेका छन्, सडकहरू तन्केका छन्, बिजुली बत्ती चम्केका छन् । चाहिए जति चिउरा र पीठो सरक्क किन्न पाइन थालेको छ । टेलिभिजनमा देखेजस्तो संसारको कल्पना गर्ने अधिकार सबैलाई प्राप्त भएको छ । हिजो ६ महीना प्रौढशिक्षा कक्षामा धाएर कखरा चिन्ने आमाका छोरीहरू कुनै तालीम विना फेसबूकमा सेल्फी अपलोड गर्न सक्ने भएका छन् ।

कसैले सोध्न सक्छ, किन महिलाका दृष्टिबाट मात्र ?

मेरो जवाफ हो, किनभने जब म उहिलेको दशैं सम्झ्न्छु, मलाई खुशी लाग्दैन, कुनै अतीत मोह हुँदैन, बरू आँसु आउन खोज्छ, त्यसैले !

उसबेला हरेक मान्छेको दशैं फरक फरक किसिमले आउँथ्यो, अहिले सबैको दशैं लगभग उस्तै किसिमले आउँछ, त्यसैले मलाई अहिलेको दशैं मनपर्छ । अहिले नेपाली मध्यमवर्गमा पनि दशैंमा घुमफिर गर्ने चलन शुरू भइसकेको छ । लोग्नेमान्छे पनि घरको काममा सघाउँछन् ।

परिवारका सबै मिलेर तास खेल्छन्, फिल्म हेर्न जान्छन् । अब सबैले खाइसकेपछिको भाँडो चाटेर मध्यरातमा घरधन्दा सक्न कुनै बुहारीलाई कर छैन ।

सानो छँदा कुनै जिम्मेवारी विना चाड मनाउँदाका मीठा स्मृतिहरू सबैलाई प्यारा हुन्छन्, तर हुर्किएपछि, विवेकका आँखाबाट हेर्दा ती सबै कुरा रमाइला नहुन सक्छन् ।

अहिलेका बालबालिका पनि बीस वर्षपछि त्यसबेलाको दशैं भनेर अहिलेको दशैंको बयान गर्दै रमाइरहेका हुनसक्छन् । त्यसैले पनि दशैं पहिले जस्तो भएन भनेर दुःखमनाउ गर्नुको कुनै अर्थ छैन ।

सबै कुरा जस्तै दशैं पनि फेरिएको छ र अझ फेरिंदै जान्छ । यसले गोरेटो छोडेर सडक जो समातेको छ ! चाँडै दशैंले रेल वा मेट्रोको लिक पनि समात्न सक्छ, हामी तयार भइरहनुपर्छ ! 

प्रतिकृया दिनुहोस