आलम प्रकरणः बम बिस्फोट हुँदा नजिकै थिए सीडीओ र दुई एसपी
१२ वर्ष अगाडि फरहदवा नरसंहार हुँदा रौतहटका तत्कालीन प्रमुख जिल्ला अधिकारी र दुई एसपी सँगै रहेको खुलेको छ ।
२८ चैत २०६४ मा संविधानसभाको निर्वाचन हुन गइरहेकाले अघिल्लो दिन सीडीओ दुर्गा भण्डारी, नेपाल प्रहरीका एसपी लक्ष्मण न्यौपाने र सशस्त्र प्रहरीका एसपी रामकृष्ण लामा सँगै थिए ।
रौतहट–२, का उम्मेद्वार मोहम्मद आफताव आलमले बुथ कब्जा गर्ने मनसायले बम पड्काउने योजना बनाएर सीमा पारी र केही स्थानीय युवा परिचालन गरेका थिए । तर, बम बनाउँदै गर्दा प्राविधिक कारणले बिस्फोट भयो ।
बम बिस्फोट हुँदा दुई एसपी र सीडीओ घटनास्थल नजिकै रहेको खुलेको छ । भारतसँग सीमाना जोडिएका र संवेदनशील मानिएका मतदान केन्द्रको स्थलगत अध्ययन गर्न निस्किएको सुरक्षा निकायका प्रमुखहरु कुरिया बजारमा हुँदा सेख इद्रिसको घरमा बम बिस्फोट भएको थियो । कुरिया बजार र आलमको घर लगभग एक किलोमिटरको फरक पर्छ ।
रौटहट–२, मा एमाले तर्फका उम्मेद्वार शैलेन्द्र साहका अनुसार, कुरिया बजारबाट उनीहरु आलमकै घरतर्फ लागेका थिए । “मसँग सामान्य विवाद भए पछि तीनै जना आलमको घर तर्फ लागेका थिए”, साहले भने ।
साहले आफ्नो गाडी नचढी स्वतन्त्र उम्मेद्वारको गाडी चढेकाले दुई एसपी र सीडीओले आपत्ति जनाएका थिए । यसपछि एसपी न्यौपानेले साहलाई दिइएको ४ मध्ये तीन सुरक्षाकर्मी फिर्ता लगे ।
तर, साह र सुरक्षा निकायका प्रमुखहरु छुटेको पाँच मिनेट नहुँदै ६ः१५ बजेतिर बम बिस्फोट भएको थियो । यो घटनाबारे तत्कालीन सीडीओ भण्डारीले आफूलाई प्रहरीले जानकारी नदिएको बताएका थिए । उनले हिमालखबरसँग भनेका छन्, “घटना भए पनि प्रहरीले बिस्तृत बताएन तर, मैले अनुसन्धान गर्न निर्देशन दिएको थिएँ ।”
फरहदवा नरसंहारको आरोपमा आलमलाई २६ असोजमा प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ । तर, आलमले घटना नै नभएको बयान दिदै आएका छन् ।
याे पनिः