आलम प्रकरणः ‘घाइतेलाई जिउँदै जलाउन र प्रमाण नष्ट गर्न दुई एसपीकै संलग्नता’
चुनावको मौन अवधि सुरु भइसकेकाले तत्कालीन माओवादीका सक्रिय कार्यकर्ता किरण साह घरमै बसिरहेका थिए । २७ चैत २०६४ साँझ करीब ६ः१५ तिर घरै भत्काउँला जस्तो गरी आवाज आयो ।
बिस्तारै धुँवाको मुस्लो फैलियो । साहको घरबाट तीन सय मिटर पनि टाढा नरहेको पूर्व मन्त्री शेख इद्रिसको घरबाट धुँवा फैलिइरहेकाे थियो । त्यस बेलाका घटना सम्झदै साह भन्छन्, “छिमेकका हामी आगलागी भएछ भनेर बाल्टीमा पानी बोकेर गयौं । तर, त्यहाँ पुग्दा अर्कै दृष्य देखियो ।”
साहसँगै, रामबहादुर साह, धरिक्षण साह र प्यूसाह कानु पनि इद्रिसको घर पुगेका थिए । “त्यहाँ पुग्दा त आगलागी नभएर बम बिस्फोट भएको रहेँछ । कसैका शरीरबाट अंग छुटेका थिए भने धेरै रगताम्मे थिए”, साह भन्छन् ।
पानी बोकेर घटनास्थल पुगेकाहरुलाई इद्रिसका भतिजा मोहम्मद अफताब आलमका कार्यकर्ताले थर्काए । तत्काल आ–आफ्नो घर फर्कन भन्दै धम्काए ।
“घरघरमा गएर बस्ने भनेर थर्काएपछि घरमा फक्र्यौ, आधा घण्टासम्म गुहार मागेको आवाज आइरहेको थियो”, घटनास्थलबाट फर्किएका रामबहादुर साह भन्छन् । उनका अनुसार, लगभग आधा घण्टापछि घाइतेहरुको चित्कार बन्द भयो ।
स्थानीयको अनुमानमा चित्कार रोक्न घाइतेलाई बेहोस बनाउने सुई दिइएको हुन सक्छ । आलमका कार्यकर्ताले थर्काएपछि घर पुगेका साह फेरि झण्डै ३० जनाको गाउँलेकाे समूह बनाएर फेरि घटनास्थल जाने प्रयास गरेका थिए ।
तर, आलमको घर वरपर सशस्त्र र नेपाल प्रहरी तैनाथ थिए । प्रहरीले अगाडि बढ्न दिएनन् ।
“घटनाबारे तत्कालीन एसपी लक्ष्मण न्यौपाने र प्रमुख जिल्ला अधिकारी दुर्गा भण्डारीलाई मैले नै जानकारी गराएको हुँ”, साह भन्छन् ।
त्यस बेला एसपी न्यौपाने र प्रजिअ भण्डारीले अपराधी समात्ने बताएको हाल समाजबादी पार्टीका नेता रहेका साह बताउँछन् ।
तत्कालीन प्रजिअ भण्डारी, नेपाल प्रहरीका एसपी न्यौपाने र सशस्त्रका एसपी रामकृष्ण लामाले नै प्रमाण नष्ट गर्न मुख्य भूमिका निर्वाह गरेको स्थानीयकाे आरोप छ ।
त्यसबेला आलमका कार्यकर्ताले घरघर पुगेर मुचुल्कामा हस्ताक्षर गर्नेलाई जिउँदो नछोड्ने धम्की दिएका थिए । धम्कीपछि सबै चुप बसे ।
एक स्थानीयका अनुसार, बिस्फोटमा घाइते भएकालाई जलाएर मार्न तत्कालीन एसपी लामाकाे खास सक्रियता थियो ।
आलमका प्रतिद्वन्द्वी तत्कालीन एमालेका उम्मेद्वार शैलेन्द्र साह बम बिस्फोट भएको झण्डै दुई घण्टापछि घटनास्थल नजिक पुगेका थिए । तर, साहलाई पनि प्रहरीले अगाडि बढ्न दिएनन् ।
साहले २५ चैत २०६४ मै जिल्ला प्रशासन कार्यालयमा आलम बिरुद्ध उजुरी दर्ता गराएका थिए । उजुरीमा आलमले भारतबाट गुण्डा ल्याएको, घरमा राखेर बिस्फोटक पदार्थ र हतियार भण्डारण गरेको उल्लेख गरिएको थियो । तर, यसबारे केही सुनुवाई भएन ।
आलमका प्रतिद्वन्द्वी साहलाई समेत फर्काइएपछि सशस्त्र र नेपाल प्रहरीकै स्कर्टिङमा मृतक र घाइतेहरुलाई ट्याक्टरमा हालेर नजिकैको ईटाभट्टीमा लगियो । स्थानीयका अनुसार, राति दुई बजेसम्म ईटाभट्टीबाट धुवाँको मुस्लो आइरहेको थियो ।