आलम प्रकरणः दर्जन बढी प्रत्यक्षदर्शीसँग सम्पर्क स्थापित
फरहदवा नरसंहार अभियोगमा पक्राउ परेका मोहमम्द आफताव आलम माथिको अनुसन्धानमा प्रहरीले दर्जन बढी प्रत्यक्षदर्शीसँग सम्पर्क स्थापित गरिसकेका छन् ।
उच्च प्रहरी स्रोतका अनुसार, २७ चैत २०६४ राति भएको बम बिस्फोटबाट घाइते भएकादेखि नरसंहारमा प्रयोग गरिएको भनिएको ट्याक्टर खरीदकर्तासम्म प्रहरी पुगिसकेको छ । “बिस्फोटबाट घाइते भएका, उक्त घटना देखेका र घटनासँग जोडिएकाहरुसम्म प्रहरी पुगिसकेको छ”, ती स्रोतले भने ।
प्रहरीले अनुसन्धानका लागि सम्पर्क स्थापित भइसकेका प्रत्यक्षदर्शीहरुलाई सुरक्षा निगरानीमा राखेको छ । ती स्रोत भन्छन्, “त्यस बेलाका प्रत्यक्षदर्शीहरुको वयान सँगै उनीहरुलाई सुरक्षा निगरानीमा समेत राखिएको छ ।”
बम बिस्फोटबाट घाइते भएको आशंका गरिएकाको प्रहरीले शिक्षण अस्पतालमा चोट परीक्षण समेत गरेको छ ।
रौतहट–२, बाट संविधानसभा निर्वाचनमा उम्मेद्वार रहेका आलमले बम बनाउने क्रममा मृत्यु भएका र घाइतेहरुलाई ईटाभट्टाको आगोमा हालेर नरसंहार गरेको आरोप लागेको छ ।
बुथ कब्जाका लागि बम बनाउने क्रममा बिस्फोट हुँदा घाइते भएकाहरुलाई जिउँदै जलाएको आरोपमा आलमलाई २६ असोजमा प्रहरीले पक्राउ गरेको छ । काका शेख इद्रिसको घरमा बम बिस्फोट हुँदा घाइते भएकाहरुलाई ट्याक्टरमा हालेर ईटाभट्टामा लगी नरसंहार गरेको प्रत्यक्षदर्शीहरुले बताएका छन् ।
आलमलाई हिरासतमा लिएर अनुसन्धान गर्ने क्रममा घाइतेलाई ईटाभट्टासम्म लैजान प्रयोग गरिएको ट्याक्टर समेत प्रहरीले फेला पारिसकेको छ । आलमको भाइको उक्त ट्याक्टर खरीदकर्तासम्म प्रहरी पुगिसकेको छ ।
२७ असोज र २ कात्तिक गरी दुई पटक म्याद थप गरेर हिरासतमा राखिएका आलमले भने उक्त घटना नै नभएको बताउँदै आएका छन् ।
घटना अस्वीकार गरिरहे पछि आलमलाई पोलिग्राफ टेष्ट गर्ने तयारी भएको थियो । तर, आलमले पोलिग्राफ टेष्ट गर्न अस्वीकार गरेका छन् ।
याे पनिः