आलम प्रकरणः मृतक र घाइतेहरुलाई इँटाभट्टासम्म लैजान प्रहरीकै स्कर्टिङ
१२ वर्षअघि भएको हत्या अभियोगमा प्रहरी हिरासतमा रहेका निलम्बित सांसद मोहम्मद आफताब आलमलाई प्रहरीकै सहयोग रहेको खुलेको छ ।
प्रहरीकै सहयोगमा आलमले २७ चैत २०६४ मा बम बिस्फोटमा परी मृत्यु भएका र घाइतेहरुलाई इँटाभट्टाको आगोमा झोसेर हत्या गरेको तथ्य खुलेको हो । घटनापछि अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को टोली घटनास्थल पुगेको थियो ।
आलमले बम विस्फोटको प्रमाण नष्ट गर्न मृतक र घाइतेहरुलाई जलाएर मारेको त्यसबेला प्रत्यक्षदर्शीहरुले इन्सेकको टोलीलाई बताएका थिए ।
बम विस्फोट भएको राजपुर फरहदवा गाउँबाट इँटाभट्टासम्म मृतक र घाइतेहरुलाई लैजान ट्याक्टरको अघि–पछि प्रहरीले स्कटिङ गरेको इन्सेकको रिपोर्टमा उल्लेख छ । अध्ययनका क्रममा प्राप्त प्रत्यक्षदर्शीको बयानअनुसार, मृतक र घाइतेहरु बोकेको ट्याक्टर पछाडिको गाडीमा भने कांग्रेस उम्मेदवार आलम समेत थिए ।
ती प्रत्यक्षदर्शीले भनेका छन्, “ट्याक्टरमा घाइतेहरुलाई राखी चिम्नीमा लगे, घाइतेहरू रुँदै थिए । त्यो देखेपछि म त्यहाँबाट भागें।”
२०६४ संविधानसभा निर्वाचनमा रौतहट–२ बाट उम्मेदवार बनेका आलमले बुथ कब्जा गर्न बम बनाउन टोली नै परिचालन गरेका थिए । तर, बम बनाउने क्रममै विस्फोट हुन पुग्यो ।
दुई जनाको घटनास्थलमै मृत्यु भयो । यसपछि मृतक र घाइतेहरुलाई आलमकै आफन्तको इँटाभट्टामा लगेर जलाइएको आरोप आलमलाई लगाइएको छ ।
स्थलगत अध्ययनमा घटनास्थल पुगेका इन्सेकका मध्यमाञ्चल क्षेत्रीय संयोजक कृष्ण गौतम प्रहरीकै सहयोग लिएर आलमले प्रमाण नष्ट गरेको बताउँछन् ।
“हामी स्थलगत अध्ययनमा जाँदा हामीमाथि समेत आक्रमणको प्रयास भयो, घटनाको प्रकृति र प्रहरीले तत्कालीन समयमा व्यक्त गरेका भनाइले समेत आलम र प्रहरी बीच मिलेमतो देखिन्छ”, गौतम भन्छन् ।
एक उच्च प्रहरी अधिकारी पनि प्रमाण नष्ट गर्न प्रहरी नै सहयोगी बनेको बताउँछन् । “त्यतिवेला कोही बोल्न सक्ने अवस्था थिएन, तत्कालीन स्थानीय प्रहरी नेतृत्व सहयोगी बनेको देखिन्छ”, उनी भन्छन् ।