रौतहटमा कडा सुरक्षा व्यवस्था, कांग्रेस कार्यकर्ताद्वारा प्रदर्शन
-सञ्जय मित्र, रौतहट
रौतहट–२, बाट निर्वाचित प्रतिनिधिसभा सदस्य महम्मद आफताव आलमको गिरफ्तारी पछि नेपाली कांग्रेसका कार्यकर्ताले रौतहटका विभिन्न स्थानमा प्रदर्शन गरिरहेका छन् ।
बिहानैबाट कांग्रेस कार्यकर्ताले ठाउँठाउँमा टायर बालेर प्रदर्शन गरेका छन् । तर, सुरक्षाकर्मीले प्रदर्शन रोक्ने प्रयास गरिरहेको छ । जिउँदै इटाभट्टामा जलाएर मान्छे मारेको आरोपमा २६ असोजमा आलम पक्राउ परेपछि प्रहरीले पनि रौतहटको सुरक्षा व्यवस्था कडा बनाएको छ ।
आलमको निर्वाचन क्षेत्रका दुई दर्जन बढी प्रहरी कार्यालयमा थप प्रहरी पठाइएको छ । सदरमुकाम गौरको सुरक्षा सुरक्षा व्यवस्था पनि कडा बनाइएको छ ।
सांसदको हैसियत गुम्यो
१२ वर्ष अघिको हत्या आरोपमा पक्राउ परेपछि आलमको सांसदको हैसियत गुमेको छ । प्रतिनिधिसभा नियमावलीको दफा २४४ (३) अनुसार, आलमले सांसदको हैसियतमा कुनै अधिकार, सेवासुविधा पाउदैनन् ।
प्रहरीले आलम पक्राउ परेको जानकारी उपसभामुख शिवमाया तुम्बाहाङ्फेको सचिवालयमा पठाएको छ ।
आलम अब अभियोगबाट मुक्त नभएसम्म सांसदको हैसियतमा रहदैनन् ।
रौतहटमा बलियो प्रभाव राख्ने आलमलाई प्रहरी प्रधान कार्यालयबाट खटिएका सादा पोशाकका प्रहरीले पक्राउ गरेको हो ।
रौतहट कांग्रेसले गरेको चियापानमा जाँदै गर्दा गौर–चन्द्रपुर सडक खण्डको शेख इद्रिसगेट नजिकबाट आलमलाई प्रहरीले पक्राउ गरेको थियो ।
पूर्व मन्त्री समेत रहेका आलम पक्राउको विरोधमा कांग्रेस कार्यकर्ताले तत्काल निशर्त रिहाइको माग गरिरहेका छन् ।
आलमलाई बम विस्फोटमा परी घाइते भएकाहरुलाई जिउँदै इटाभट्टामा जलाएको आरोप लागेको छ । १२ वर्ष अगाडि २७ चैत २०६४ मा पूर्व मन्त्री शेख इद्रिसको घरमा बम बनाउने क्रममा बिस्फोट भएको थियो ।
बिस्फोटमा परी दुई जनाको घटनास्थलमै मृत्यु भएको थियो भने घाइते आठ जनालाई ईटाभट्टाको आगोमा झोसेर हत्या गरिएको थियो ।
मृत्यु हुनेमा तत्कालीन सरुअठा गाविस ४ हाल यमुनामाई गाउँपालिका सरुअठाका २४ वर्षीय ओसी त्रिलोकप्रताप सिंह र ओसी अख्तर थिए ।
घटना बारे जानकारी पाउनासाथ परिचालित प्रहरी टोलीलाई स्थानीयले ईटाभट्टा प्रवेश गर्न दिएका थिएनन् ।
नारायणसिंह राजपुत तथा रुखसाना खातुनले आफ्नो छोरा हत्या भएको भन्दै आलम विरुद्ध किटानी जाहेरी दिएका थिए । ६ वर्षपछि आलम विरुद्ध जाहेरी दिने सुखसाना खातुनको पनि गोली हत्या भएको थियो ।
तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालासँग आलम परिवारको नजिकको सम्बन्ध रहेकै कारण प्रहरीले अनुसन्धान प्रक्रिया अगाडि बढाउन नसकेको अनुमान गरिदै आएको थियो ।
तर, सर्वोच्च अदालतको फैसला कार्यान्वयन एकाई तथा महान्याधिवक्ताको कार्यालयले बारम्बार ताकेता गरेपछि आलमलाई पक्राउ गरी अनुसन्धान अगाडि बढाइएको छ ।