स्वादिला परदेशी निबन्धको भोक
'पूर्णता हासिल गर्न कोशिशै नगर्नुभन्दा कोशिश गरेर असफल हुनु' अनुवादका लागि पनि त उत्तमै हुँदो हो!
केही वर्षपहिले मेरा मनमा एउटा लहड चल्योः अंग्रेजी भाषामा लेखिएका स्वादिला र गुनिला केही निबन्ध नेपालीमा अनुवाद गर्ने। यो लहड चल्न थालेको केही दिन उत्साहित भएँ। धेरैवटा लहड चलेका केही दिनसम्म म उत्साहित हुन्छु। केही दिनमा त्यो लहड बिस्तारै धमिलिँदै जान्छ। त्यो लहड खासै काम लाग्ने होइन जस्तो लाग्छ। त्यसपछि त्यो काम गर्नु पर्दैन। यस्ता लहड ओइलाउँदा मलाई हानि हुँदैन। त्यसैले ढुक्कै हुन्छ, हाइसन्चो हुन्छ।
तर, यो लहड धमिलिएन, ओइलाएन। यसले मलाई खेदिरह्यो।
साहित्यका विभिन्न विधामध्ये सबैभन्दा रूखो मानिने निबन्धको लहड मलाई किन चलेको होला? यसको जवाफ पाउन निबन्धका विशेषता र यसको महत्त्वबारे बुझ्न कोशिश गरेँ। यी कुरा दार्शनिक, उपन्यासकार, कवि तथा निबन्धकार अल्दस हक्स्लेले बुझाउन सक्छन् जस्तो लाग्यो। उनको निबन्धसंग्रह 'कलेक्टेड एस्सेज' को भूमिका पढेँ। त्यसको शुरूआतमा उनले डी.एच. लरेन्सका यी कुरा राखेका छन्-
“म मानिस हुँ, जीवित छु। त्यसैले, म उपन्यासकार हुँ। उपन्यासकार भएका नाताले म आफूलाई सन्त, वैज्ञानिक, दार्शनिक र कविभन्दा उत्तम ठान्छु, किनभने उनीहरू जीवन्त मानवका निश्चित पक्षलाई दर्शाउने कामका उस्ताद त हुन्, तर उनीहरूले मानव जीवनका समग्र पक्ष देखाउन सक्दैनन्। उपन्यासमा मात्रै यी सबै पक्षलाई पूर्ण रूपले देखाउन सकिन्छ।”
त्यसपछि हक्स्लेले निबन्धबारे आफ्ना कुरा लेखेका छन्।
"उपन्यास जस्तै निबन्ध पनि साहित्यको त्यस्तो औजार हो जसका सहायताले सबै विषयबारे सबै कुरा बताउन सकिन्छ … एउटा निबन्धमा सबै पक्ष व्यक्त गर्न असम्भव हुन्छ। तर, धेरैवटा निबन्धको संग्रहले लामो उपन्यासले जति नै विषय समेट्न सक्छ, त्यति नै विस्तारमा कुरा बताउन सक्छ।"
निबन्ध यत्ति महत्त्वपूर्ण कुरा रहेछ र पो यसले मेरो मनमा गहिरो प्रभाव पारेको रहेछ!
निबन्ध विधा जता जन्मियो, हुर्कियो र प्रगतिको शिखरमा पुग्यो, त्यताका मानिसले लेखेका निबन्धका विषयवस्तु, स्वाद र बान्कीसँग परिचित हुँदा हामीलाई फाइदै पुग्छ।
निबन्ध यति महत्त्वपूर्ण विधा हो भन्ने बुझेर तिनको अनुवाद गर्न खोजेको थिइनँ। निबन्ध अनुवाद गर्न खोज्नुको कारण अर्कै थियो। कुनै पनि मानिस होस् अथवा समाज अथवा देशलाई आफ्ना मात्र आविष्कार, सिर्जना, कला, अभिव्यक्तिका शैली र विचारले पुग्दैन। अरूका आविष्कार, सिर्जना, कला, शैली र विचार बुझेर तिनमा भएका राम्रा कुरा ग्रहण गरे मात्र उन्नति गर्न सकिन्छ। त्यसैले मैले अर्कै खालको संस्कार, विचार, परम्परा र भाषा भएका मानिसले लेखेका निबन्ध पढ्दा हामीलाई फाइदा पुग्छ भनेर केही निबन्धको अनुवाद गर्ने विचार गरेको थिएँ। निबन्ध विधा जता जन्मियो, हुर्कियो र प्रगतिको शिखरमा पुग्यो, त्यताका मानिसले लेखेका निबन्धका विषयवस्तु, स्वाद र बान्कीसँग परिचित हुँदा हामीलाई फाइदै पुग्छ।
यस्ता निबन्ध कहाँ खोज्ने? यस प्रश्नको जवाफ सजिलो थिएन। आफूले बी.ए. पढ्दाका अनिवार्य अंग्रेजी विषयका दुईवटा किताब 'द इंग्लिश वि युज' र 'एस्सेज, सर्ट स्टोरिज एन्ड वान एक्ट प्लेज' पल्टाएँ। अगाडि र पछाडिबाट पेज झर्दै जाँदै गरेका यी किताब यस काममा उपयोगी भए। यी पुस्तकका केही निबन्ध पढ्दा मलाई लाग्यो- मैले छान्न चाहेजस्ता केही निबन्ध त्यतिबेलै पढेको रहेछु। राम्रा निबन्धको स्वाद त्यतिबेलै लिएको रहेछु। त्यही स्वादले गर्दा ममा राम्रा निबन्ध छान्ने र अनुवाद गर्ने लहड चलेको हुनुपर्छ।
त्यसैले तिनबाट केही निबन्ध छानेँ।
सर रिचर्ड लिभिङस्टोनको 'इसेन्सियल्स अफ एजुकेशन' दोहोर्याएर पढेँ। उनले भनेका कुरा र उनको भन्ने तरिका दुवै मन परे। मन नपरून् पनि कसरी ! उनले भनेका छन्, "मानवको प्रकृति र हाम्रो जीवनमा के कुरा अत्युत्तम हो भन्ने ज्ञान हामीलाई थाहा छैन भने, हामी यस क्षेत्रका कमसल र रद्दी कुरालाई सर्वोत्तम ठानेर झुक्किन्छौं भने हाम्रो शिक्षा अपूर्ण भएको ठहरिँदैन र?"
सर रिचर्ड लिभिङस्टोनको निबन्ध पढ्नुस् -
वास्तवमा यो निबन्ध हाम्रा शिशु कक्षादेखि उच्च शिक्षासम्मका विद्यार्थीलाई सहयोग गर्ने र लेखाइ पढाइ गराउने काममा लागेका सबै मानिसले पढ्नुपर्ने हो। यो निबन्ध अहिलेसम्म नपढेका डाक्टर, इन्जिनियर, व्यवस्थापक, व्यापारी, सबै सेवाका कर्मचारी, पत्रकार तथा आफूलाई नागरिक समाजको एउटा हिस्सा ठान्नेले पढ्नुपर्ने हो। किनभने, रिचर्डका विचारमा जुन पेशामा लागे पनि मानिसले राम्रो जीवन जिउने सीप सिकेको हुनुपर्छ।
रिचर्डले भनेका छन्, "राम्रो जीवन कस्तो हुन्छ भनी हेर्न मन लाग्यो भने त्यस्तो जीवन बिताएका मानिससँग परिचय गर्नुपर्छ। सम्भव हुन्छ भने राम्रो जीवन के हो भन्ने कुरा थाहा भएका अथवा अझ राम्रो त त्यस्तो जीवन बिताएका मानिससँग संगत गर्नुपर्छ।"
त्यस्ता मानिस को होलान्? उनीहरूलाई कहाँ भेट्न सकिएला? पढ्दै जाँदा थाहा पाएँ- बुकर टी. वाशिङ्टनले यस्ता मान्छे भेटेका रहेछन् र ती मानिसबारे आफ्नो किताब 'अप फ्रम स्लेभरी' मा लेखेका रहेछन्।
"ह्याम्प्टन इन्स्टिच्यूटका भवन हटाइदिएर, कक्षाकोठा हटाइदिएर, शिक्षक हटाइदिएर, अरू उद्यम हटाइदिएर र त्यहाँ आउने विद्यार्थीलाई जेनरल आर्मस्ट्रोङसँग संगत गर्ने मौका मात्र दिएको भए पनि उनीहरूले सर्वोपरि शिक्षा पाउँथे। मेरो उमेर जति बढ्दै गयो, मलाई के कुरामा त्यति नै बढी मात्रामा विश्वास लाग्दै गयो भने, महान् पुरुष तथा महिलाको संगतबाट जुन शिक्षा हासिल गर्न सकिन्छ, त्यस्तो शिक्षा कुनै किताब अथवा महँगा शैक्षिक सामग्रीबाट हासिल गर्न सकिँदैन।"
भनिन्छ- हरेक कुरामा प्रश्न गर्ने स्वतन्त्रता हामीसँग छ। हामी साँच्चै स्वतन्त्र छौं त? अर्थात्, जे उपलब्धि पायौं भनेर हामी मख्ख परेका छौं, त्यो उपलब्धि हामीले पाएका छौँ त? प्रख्यात निबन्धकार जर्ज बर्नाड शअले यस्तो प्रश्न धेरैअघि गरिसकेका रहेछन् र स्वतन्त्रताबारे हाम्रो भ्रम निवारण हुने गरी निबन्ध लेखिसकेका रहेछन्।
जेनरल आर्मस्ट्रोङ र अरू महान् मानिसबारे वाशिङ्टनले लेखेको आत्मकथामा रहेको 'शिक्षाका लागि संघर्ष' शीर्षकको खण्ड पनि मैले अनुवादका लागि छानेँ।
मानिसले अहिलेसम्म हासिल गरेका उपलब्धिमा स्वतन्त्रतालाई मुख्यमध्येको एक मानिन्छ। भनिन्छ- हरेक कुरामा प्रश्न गर्ने स्वतन्त्रता हामीसँग छ। हामी साँच्चै स्वतन्त्र छौं त? अर्थात्, जे उपलब्धि पायौं भनेर हामी मख्ख परेका छौं, त्यो उपलब्धि हामीले पाएका छौँ त? प्रख्यात निबन्धकार जर्ज बर्नाड शअले यस्तो प्रश्न धेरै अघि गरिसकेका रहेछन् र स्वतन्त्रताबारे हाम्रो भ्रम निवारण हुने गरी निबन्ध लेखिसकेका रहेछन्।
त्यसमा उनले लेखेका रहेछन्, "जति स्वतन्त्र भए पनि कामदार त बेघरबार नै हुन्छन्। यसो भयो भनेर गुनासो गर्यो भने उनीहरूले सपना देखाउँछन्– तिमीले भोलि यो देश हाँक्न सक्छौ। यस्तो सपना देखाएको प्रायश्चित्त गर्न उनीहरू कामदारलाई चुनावमा भोट हाल्ने अधिकार दिन्छन्, हरेक पाँच वर्ष जस्तोमा आमचुनाव हुने व्यवस्था मिलाउँछन्। चुनावमा दुईजना धनी उम्मेदवारले तपाईँसँग भोट माग्छन्। तपाईंले यी दुई धनीमध्ये जुनलाई पनि छान्ने स्वतन्त्रता पाउनुभएको हुन्छ। हो, तपाईंले यस्तो कुराको छनोट गर्न पाउनुहुन्छ, जसले तपाईंलाई पहिलेभन्दा अलिकति पनि बढी स्वतन्त्र बनाउँदैन, किनभने यसो गर्दा तपाईंको कामको बोझ कत्ति पनि घट्दैन। अनि समाचारपत्रले तपाईंलाई के कुरामा विश्वास दिलाउँछन् भने तपाईंको मतले निर्वाचनको परिणाम निर्धारण गर्यो। यति हुने बित्तिकै तपाईं प्रजातान्त्रिक मुलुकको स्वतन्त्र नागरिक हुनुभयो। छक्क लाग्छ, तपाईं कति मूर्ख हुनुहुन्छ भने यस्तो कुरा पत्याइहाल्नुहुन्छ।"
यो निबन्धलाई मैले थपक्क टिपेँ र अनुवाद गर्ने निबन्धको सूचीमा राखेँ।
स्वतन्त्रताबारे जर्ज बर्नार्ड शअको निबन्ध पढ्नुस् -
बेलायती आनुवंशिकीविद्, बायोमेट्रिशियन, मनोवैज्ञानिक, लेखक अनि सही अर्थमा मार्क्सवादी जे. बी. एस. हल्देनको एउटा निबन्ध पढेपछि नेपाली 'मार्क्सवादी' नेताहरूको विलासी जीवन मेरा आँखामा झल्झली आयो। उनले लेखेका यी वाक्य पढ्नुभयो भने तपाईंलाई पनि मलाई जस्तै हुँदो हो। 'जीवनमा यत्ति भए पुग्छ' शीर्षकको निबन्धमा उनले लेखेका छन्, "मलाई अरू केही कुरा पनि भए हुन्थ्यो जस्तो लाग्छ, तर ती कुराको माग म गर्दिनँ। एउटा आफ्नै राम्रो कोठा होस्, त्यहाँ केही किताब होऊन्, खानका लागि राम्रो खालको सुर्ती राखिएको होओस्, एउटा मोटरकार र दिनैपिच्छे नुहाउन पाइने सुविधा होओस्। आफ्नै बगैँचा र नुहाउने पोखरी भए हुन्थ्यो। मेरो बसाइ समुद्र किनार अथवा नदी पायकमा भए हुन्थ्यो। तर, यस्तो सुविधा मैले पाएको छैन, ती नहुँदा पनि म खुशी नै छु।"
निबन्ध पनि हेर्नका हुन्छन्। कोही छोटा, कोही लामा। यो कुरा अलि पहिल्यै थाहा थियो, तर बेलायती साहित्यकार भर्जिनिया ऊल्फको 'अ रूम अफ वान्स ओन' नपढ्दासम्म निबन्ध ३६ हजार शब्द लामो हुन्छ भन्ने थाहा थिएन। निबन्ध यति लामो हुनसक्छ भन्ने कल्पना थिएन।
यो निबन्ध नेपाली भाषामा अनुवाद गर्नसके नेपाली मार्क्सवादी नेताहरूले बेलायती मार्क्सवादीका चाहना के रहेछन् भन्ने थाहा पाउँथे भन्ने लागेर यसलाई पनि अनुवाद गर्ने निबन्धमा दरेँ।
निबन्ध पनि हेर्नका हुन्छन्। कोही छोटा, कोही लामा। यो कुरा अलि पहिल्यै थाहा थियो, तर बेलायती साहित्यकार भर्जिनिया ऊल्फको 'अ रूम अफ वान्स ओन' नपढ्दासम्म निबन्ध ३६ हजार शब्द लामो हुन्छ भन्ने थाहा थिएन। निबन्ध यति लामो हुनसक्छ भन्ने कल्पना थिएन।
चकित परेँ।
एक पटक होइन, दुई पटक पढिसक्दा लाग्यो- निबन्ध यति स्वादिलो विधा रहेछ। 'जेन्डर' विषयमा लेखिएको यस निबन्धले मलाई अरू पनि कुरा सिकायोः निबन्धमा अभिव्यक्तिका कस्ता कस्ता उत्तम शैली अपनाउन मिल्दो रहेछ? निबन्धले रूखा नारा नलगाईकन समाजका गम्भीर विषयलाई कसरी उठाउन सक्दो रहेछ ? निबन्धले पाठकका मनमा कति प्रश्न उठाउन सक्दो रहेछ? पाठकलाई कति कुरा सोच्न लगाउँदो रहेछ?
'पोलेको घाउ पोलेरै निको पार्नुपर्छ।' ऊल्फको निबन्ध पढेको केही सातासम्म रन्थनिएको पाठकको दिमागमा मलम लगाउने, दिमागलाई शान्त बनाउने काम निबन्धले नै गर्न सक्नुपर्छ र यस्तो निबन्ध पक्कै लेखिएको छ भन्ने लाग्यो। खोज्दै जाँदा कञ्चनजंघाबारे लेखिएको मीइइइइठो र कोमल निबन्ध फेला पारेँ, फ्रान्सिस योङहस्बेन्डले लेखेको।
यो निबन्ध अनुवाद गर्ने आँट गरेँ, तर पूरै होइन, यसका शुरूका दुईवटा खण्ड। त्यो भनेको ३६ हजार शब्दको एकतिहाइ अर्थात् १२ हजार शब्द। यो निबन्धको अनूदित अंश एकै बसाइमा पढिसक्नुस् भन्दिनँ। पढ्दापढ्दै कुनै प्याराग्राफको बीचमा पुगेका बेला पढ्न छाडेर निबन्धले तपाईंका दिमागका सिर्जना गरेका विचारबारे घोत्लिए पनि हुन्छ। तिनीबारे साथीहरूसँग छलफल गरे पनि हुन्छ। बाँकी निबन्ध पढ्ने काम पछि गरे पनि हुन्छ।
भर्जिनिया ऊल्फको 'अ रूम अफ वान्स ओन' को पहिलो र दोस्रो खण्ड -
'पोलेको घाउ पोलेरै निको पार्नुपर्छ।' शाब्दिक रूपमा यो भनाइ कसरी सही हुनसक्ला? मैले बुझेको छैन, तर लाक्षणिक रूपमा चाहिँ सही हुनसक्ला भन्ने लाग्यो। ऊल्फको निबन्ध पढेको केही सातासम्म रन्थनिएको पाठकको दिमागमा मलम लगाउने, दिमागलाई शान्त बनाउने काम निबन्धले नै गर्न सक्नुपर्छ र यस्तो निबन्ध पक्कै लेखिएको छ भन्ने लाग्यो।
खोज्दै जाँदा कञ्चनजंघाबारे लेखिएको मीइइइइठो र कोमल निबन्ध फेला पारेँ। यस्तो निबन्ध पढ्दा मलाई फेरि अचम्म लाग्यो। यो निबन्ध फ्रान्सिस योङहस्बेन्डले लेखेका रहेछन्। कलेजमा इतिहास पढ्दा मैले यी मानिसलाई बेलायती साम्राज्यका साह्रै क्रूर सिपाही-हाकिम भनेर चिनेको थिएँ। यो निबन्ध दोहोर्याई/तेहेर्याई पढ्दा, अनुवाद गर्दा अनि पुनर्लेखन गर्दा मेरो दिमागमा एउटै कुरा लागिरह्योः त्यति क्रूर सिपाहीको मनमुटुले यति कोमल, सुन्दर, मीठो आध्यात्मिक तथा भावात्मक निबन्ध कसरी लेख्न सक्यो! जीवनलाई, संसारलाई यसरी हेर्न कसरी सक्यो!
सर फ्रान्सिस योङहस्बेन्डको निबन्ध पढ्नुस् -
भर्जिनिया ऊल्फको निबन्धले रन्थन्याएको पाठकको दिमाग शीतल पार्ने यो निबन्ध भेट्टाएकोमा र अनुवाद गर्न सकेकोमा म सन्तुष्ट छु।
भर्जिनियाको ३६ हजार शब्दको निबन्ध पढ्नुअघि मैले सोचेको थिएँ- राम्रा निबन्धका ३६ हजार जति शब्दको अनुवाद गर्न मेरो धैर्यले धान्छ। यति शब्द भएपछि एउटा चिटिक्कको किताब बन्छ। अहिले हामीलाई सताइरहेको कोरोनाभाइरसको उत्पत्ति हुनुभन्दा पहिल्यै एकजना प्रकाशकसँग यस्तो किताब छाप्नेबारे कुरा गरेको थिएँ। उनले उत्साहित भएर यो किताब आफूले छाप्ने वचन दिएका थिए।
कोरोनाले गर्दा कत्ति नेपालीले स्वाद लिने र सुँघ्ने शक्ति केही समयका लागि गुमाएको कुरा मलाई थाहा थियो। तर, मैले अनुवाद गरेका निबन्ध हिमालखबरमा छाप्ने कुरा चलेका बेला किताबबारे बजारमा जस्ता चर्चा चले, तिनका आधारमा नेपालको किताब बजार एउटा कुरामा सहमत भएको पाएँ। त्यो हो- कोरोनाले गर्दा कोरोना लागेका/नलागेका प्रायः सबै नेपालीको किताब पढ्ने चाहना गुमेको छ।
२०७७ सालको शुरूमा लकडाउन चर्को भएका बेलामा ती प्रकाशकको किताब (मैले अनुवाद गरिरहेको सामग्रीको किताब मात्र होइन, समग्रमा किताब) छाप्ने उत्साह घटेको पाएँ। त्यसैले अर्का प्रकाशकसँग कुरा गरेँ। उनले कोरोनाकै बेलामा पनि झन् उत्साहित भएर कुरा गरे। त्यसको प्रेरणाले माथि लेखिएका र अरू केही निबन्ध गरेर २५/२६ हजार शब्द अनुवाद गरिसकेँ।
यस्तैमा हिमालखबरका कार्यकारी सम्पादक रविन गिरीसँग यसबारे कुरा हुँदा उनले भने- ती निबन्धलाई हिमालखबरमा छाप्दै जाने।
आफूलाई मन परेका, फरक फरक विषयका, फरक फरक बान्कीका विदेशी लेखकले लेखेका निबन्धलाई राम्रो साजसज्जा गरेर राम्रोसँग छापिएको किताबमा राखेर पाठकलाई पस्कन्छु भनेर गरेको मिहिनेत कहाँ टुक्रा टुक्रा छर्नु भनेर रविनको कुरा अस्वीकार गरेँ।
'किताब पछि छापे भइहाल्यो नि,' उनले मलाई मनाउन कोशिश गरे।
अहँ, हुँदैन। राम्रा लेख/निबन्धमध्ये कुनै अलि बढी पढिने, कुनै पढ्दै नपढिने प्रकाशनमा पहिले छापिएका रहेछन् र पछि तिनको संग्रह निकाल्यो भने तिनलाई जुठो मान्ने चलन नेपालमा छ। जसले ती पहिल्यै पढिसकेका थिए उनीहरूले तिनलाई ती जुठा लाग्नु त ठीकै हो, तर जसले पढेका हुँदैनन् तिनले पनि यस्तो ठान्छन् (मैले यसरी अनुवाद गरेका झन्डै सबै निबन्ध अंग्रेजीमा किताबमा छापिनुअघि कुनै न कुनै किसिमले पहिल्यै प्रकाशन भइसकेका थिए)। त्यसैले रविनको कुराले मलाई मनाउन सकेन।
यस्तैमा मैले नेपाली किताबको बजार ह्वात्तै घटेको कुरा बारम्बार सुनेँ। कोरोनाले गर्दा कत्ति नेपालीले स्वाद लिने र सुँघ्ने शक्ति केही समयका लागि गुमाएको कुरा मलाई थाहा थियो। तर, मैले अनुवाद गरेका निबन्ध हिमालखबरमा छाप्ने कुरा चलेका बेला किताबबारे बजारमा जस्ता चर्चा चले, तिनका आधारमा नेपालको किताब बजार एउटा कुरामा सहमत भएको पाएँ। त्यो हो- कोरोनाले गर्दा कोरोना लागेका/नलागेका प्रायः सबै नेपालीको किताब पढ्ने चाहना गुमेको छ। यो चाहना अरू केही वर्ष फर्कँदैन।
यस्ता बेलामा किताबका आवरणमा नबेरिएका टुक्राटाक्री सामग्री पढ्ने पाठक चाहिँ लोप भइसकेका छैनन् र तिनलाई एकपछि अर्को गरेर भए पनि मलाई राम्रा र गुनिला लागेका निबन्धको स्वाद चखाऊँ भन्ने लाग्यो।
यो निचोड निकाल्ने काममा मलाई अनुवाद र प्रकाशन सम्बन्धी दुई जना प्रकाशकसँगको कारोबारले पनि उत्साह दियो। चार–पाँच वर्षअघि एक जना उत्साही प्रकाशकले नेपालका ख्यातिप्राप्त र आदरणीय व्यक्तित्वले अंग्रेजीमा लेखेका छोटा छोटा, तर गहन अनि विचारोत्तेजक सामग्रीहरू अनुवाद गरिदिन मलाई भने। मैले त्यस काममा संलग्न हुन पाउनु सौभाग्य हो भन्ने ठानेँ, तर त्यो अवसर पाउनका लागि मैले पहिले एउटा सामग्री अनुवाद गरेर दिनुपर्ने भयो। मेरो अनुवाद चित्त (कस कसको चित्त हो, त्यो चाहिँ थाहा भएन) बुझेमा मैले अनुवाद गर्न पाउने भएँ।
हाम्रा अधिकांश प्रकाशकहरूको नैतिक र बौद्धिक अनि व्यावसायिक स्तर हेर्दा उनीहरूले वचन पूरा गरेनन् भन्ने कुराको गुनासो गर्न पाइँदैन जस्तो लाग्छ।
केही वर्षयता म अलिकति घमण्डी भएको थिएँ। जसले मेरो अनुवादको क्षमता जाँच्न खोज्छ, त्यसको सामग्री अनुवाद नगर्ने। तर, यस पटक मेरो घमण्ड सुतेर बस्यो, किनभने जसको सामग्री अनुवाद गर्नुपर्ने थियो उनी (खासमा उहाँ भन्नुपर्ने हो, तर समान आदरार्थी शब्द चलाउने भनी केही समययता नेपाली सञ्चारमाध्यममा चलेको ढोंगले त्यसो गर्न दिएन) र सामग्रीको गुणस्तरले गर्दा म यो जाँच दिन तयार भएँ। कति अंक आयो थाहा भएन, तर म जाँचमा पास भएँ। प्रकाशकले किस्ता–किस्तामा दिएका सामग्री अरू काम थाती राखेर तुरुन्तै सक्दै, दिँदै गरेँ।
प्रकाशक मलाई सामग्री दिने मामलामा अल्छी थिए, तर मबाट अनुवाद माग्ने बेलामा भने उनको जाँगर अचम्मसँग चुलिएको हुन्थ्यो। कतिसम्म भने चार वर्ष पहिले म ढाडको सर्जरी गरेर अफिस नगईकन सुतेका बेला पनि उनले बाँकी रहेका केही सामग्री अनुवाद गर्न ताकेता गरे। उठ्न पनि नसक्ने भएका बेलामा सुतेरै ती सामग्रीको अनुवाद गरेँ, हातले कागजमा लेखेर। छोरालाई कागजको फोटो खिचेर प्रकाशकलाई पठाउन लगाएँ।
सवा चार वर्ष भयो, किताब निस्कने चालचुल छैन। दुई वर्ष जति त प्रकाशकलाई भेटे नै पिच्छे किताबको हालखबर सोध्थेँ। चाँडै आउने आश्वासन पाउँथेँ। आश गरेर बस्थेँ। त्यसपछि चाहिँ आश मारेँ।
प्रकाशकले मलाई 'काम गर्दे' भन्दा 'पैसा दिन्छु' भनेका थिएनन्। त्यसैले पैसा नपाएकोमा मैले गुनासो गर्न मिलेन। मलाई काम लगाउँदा उनले किताब छाप्ने वचन चाहिँ दिएका थिए, तर त्यो वचन पूरा गरेनन्। हाम्रा अधिकांश प्रकाशकहरूको नैतिक र बौद्धिक अनि व्यावसायिक स्तर हेर्दा उनीहरूले वचन पूरा गरेनन् भन्ने कुराको गुनासो गर्न पाइँदैन जस्तो लाग्छ।
अर्का प्रकाशकले अर्को एउटा किताब अनुवाद गर्न लगाए। बजारभाउभन्दा आधा भए पनि अनुवाद गरेको पैसा दिन्छु पनि भने। अरू धेरै काम जस्तै यो काम पनि मन लगाएर र बेलैमा सकेर बुझाएँ। मैले पाण्डुलिपि बुझाउने बित्तिकै मैले नमागीकन उनले वाचा गरेको रकमको साठी प्रतिशत दिए। त्यसपछि प्रकाशक चुपचाप बसे। कोरोनाले बन्दाबन्दी गरेका बेलामा लामो निद्राबाट ब्युँझिएर उनले सम्पादित पाण्डुलिपि हेर्न र एकाध ठाउँमा परिमार्जन गर्न सुझाव दिए। काम धेरै थिएन। मैले उत्तिकै तत्परताका साथ यो काम सकेर पठाएँ।
त्यसपछि आठ महीना बिते। पुस्तकबारे खबर आएको छैन।
बेफुर्सदिला पाठकलाई यी निबन्ध सुन्ने व्यवस्था पनि मिलाइदिऊँ न भनेर रविन गिरीले भने। आश त हो नि, आफूले मन लगाएर तयार गरेका सामग्री 'यसो गर्दा पो धेरै मानिससम्म पुग्छ कि उसो गर्दा पो पुग्छ कि?' भन्ने। त्यसैले तिनलाई सुन्ने निबन्ध पनि बनाएका छौं। ती सामग्रीका लिंक सम्बन्धित निबन्ध प्रकाशित भएका ठाउँमा दिइएका छन्।
प्रकाशकले आफैंले चासो राखेर मबाट अनुवाद गराएका किताब त छाँपिँदैनन् भने म अनुवादकले चासो राखेका किताब कसरी छापिएलान् र!
त्यसैले मैले गरेका अनुवाद हिमालखबरमा बिस्तारै छाप्दै जाऔं भनी सम्पादकले गरेको प्रस्ताव अस्वीकार गर्न मिलेन। त्यसैले केही समययता ती 'परदेशी साहित्य' शीर्षकमा छापिँदै आएका छन्।
बेफुर्सदिला पाठकलाई यी निबन्ध सुन्ने व्यवस्था पनि मिलाइदिऊँ न भनेर रविनले भने। आश त हो नि, आफूले मन लगाएर तयार गरेका सामग्री 'यसो गर्दा पो धेरै मानिससम्म पुग्छ कि उसो गर्दा पो पुग्छ कि?' भन्ने।
त्यसैले तिनलाई सुन्ने निबन्ध पनि बनाएका छौं। ती सामग्रीका लिंक सम्बन्धित निबन्ध प्रकाशित भएका ठाउँमा दिइएका छन्।
मैले यस लेखको शुरूमा अल्दस हक्स्लेको कुरा निकालेको थिएँ। अन्त्य गर्ने वेलामा पनि उनैलाई गुहारेको छु। मैले माथि भनेकै किताबको भूमिकाको अन्त्यमा हक्स्लेले लेखेका छन्, "कहिलेकाहीँ मलाई मैले जे गर्न खोजेको थिएँ त्यो गर्नमा कतै न कतै राम्रै सफलता हासिल गरेजस्तो लाग्छ। कहिलेकाहीँ, हैन, म सफल भइनँ भन्ने पनि लाग्छ। तर, भनिन्छ नि, 'पियानोवादकको क्रूर आलोचना नगर, किनभने उसले सक्दो प्रयास गरेकै छ।'…पूर्णता हासिल गर्न कोशिशै नगर्नुभन्दा कोशिश गरेर असफल हुनु लेखकका लागि र पाठकका लागि अर्थात् लेखक–पाठक दुबैका लागि उत्तम हुँदो हो !"
'पूर्णता हासिल गर्न कोशिशै नगर्नुभन्दा कोशिश गरेर असफल हुनु' अनुवादका लागि पनि त उत्तमै हुँदो हो!