महिलालाई नहोच्याई पुरुष अग्ला हुन सक्दैनन्?
हिमालखबरले गत साताबाट परदेशी निबन्धको शृङ्खला शुरू गरेको छ। यसमा हामीले विदेशका विभिन्न भाषामा लेखिएका, पाठकको मन उद्वेलित गराउने र आनन्दित पार्ने निबन्धको नेपाली अनुवाद प्रस्तुत गर्नेछौँ। गत शनिबार पत्रकार तथा लेखक
मोहन मैनालीको छनोट र अनुवादमा नारीवादी लेखक
भर्जिनिया ऊल्फ (सन् १८८२-१९४१) को लामो निबन्ध ‘अ रुम अफ वान्स ओन’ का दुईवटा खण्डमध्ये
पहिलो भाग प्रकाशन गरेका थियौं। यस पटक त्यसैको दोस्रो भाग प्रस्तुत छ। यो निबन्ध ऊल्फले क्याम्ब्रिज विश्वविद्यालयका महिला कलेजमा दिएका दुईवटा भाषणमा आधारित छ।
अब अक्सब्रिज छाडेर लन्डन जाऔं। पात अहिले पनि झरिरहेका थिए। हजारौं अरू कोठा जस्तै कुनै एउटा कोठाको कल्पना गरौं। झ्यालबाट मानिसका ह्याट, भ्यान, मोटर, कार हेर्दै अर्काे झ्यालसम्म पुगौं। त्यस कोठाको टेबलमा एउटा खाली कागज छ, त्यसमा ठूला अक्षरमा महिला र आख्यान मात्र लेखिएको छ। अरू केही छैन। अक्सब्रिजमा लन्च र डिनर खाएपछि दुर्भाग्यवश यस शृंखलामा तेस्रो ठाउँ ब्रिटिश म्युजियमको भ्रमण नगरी भएन। मलाई जे लाग्यो त्यसमध्येबाट व्यक्तिगत र संयोगवश भएका कुरा फालेर सत्यको सुगन्धित तेल निकाल्नुपरेको छ।
पढ्नुहोस् ‘अ रुम अफ वान्स ओन’ निबन्धको पहिलो खण्ड -
अक्सब्रिजको त्यो भ्रमण, लन्च र डिनरले मेरा दिमागमा झुन्डका झुन्ड प्रश्न खडा गरे। पुरुषले वाइन खाँदा महिलाका भागमा पानी मात्र किन परेको होला? एउटा लिंगका मानिस त्यति समृद्ध छन् भने अर्काे लिंगका मानिस किन गरीब? आख्यानमा गरीबीको कस्तो प्रभाव पर्छ? सिर्जनात्मक कृति तयार गर्न कुन कुन अवस्था नभई हुँदैन? एकै पटक हजारौँ प्रश्न मेरा दिमागमा आए। तर, प्रश्नको के काम? उत्तर पो चाहिएको छ। उत्तर पाउनका लागि जानकार र पूर्वाग्रह नभएका त्यस्ता मानिससँग परामर्श गर्नुपर्छ जसले आफ्नो वचन जथाभावी चलाउँदैनन्, आफ्नो शरीरको भ्रान्ति देखाउँदैनन् र आफ्नो विवेक र अनुसन्धानले जे देख्छ सो कुरा किताबमा लेखेका हुन्छन्। यस्ता किताब ब्रिटिश म्युजियममा भेटिन्छन्। सत्य ब्रिटिश म्युजियमका किताबका चाङमा भेटिँदैन भने कहाँ भेटिएला त? नोटबुक र पेन्सिल उठाउँदै मैले आफैंलाई सोधेँ।
यति गरिसकेर, यसरी दृढ विश्वस्त भएर र तम्तयार भएर म सत्यको खोजीमा निस्किएँ। त्यो दिन खासै ओसिलो नभए पनि अँध्यारो थियो। म्युजियम वरपरका फुटपाथमा कोइला खन्याउने प्वाल खुला थिए। त्यहाँभित्र कोइलाका बोरा खन्याइँदै थिए। फोरह्विल्ड गाडी रोकिएका थिए। तिनबाट राम्ररी बाँधिएका बाकस बाहिर झिकिँदै थिए, जसमा आफ्नो भविष्य बनाउन अथवा केही समय बस्न यस शहरमा आएका कोही स्वीस अथवा इटालियन परिवारका पूरै आलमारी अथवा हिउँदमा ब्लुम्सबेरीका बोर्डिङ हाउसमा पाइने हाम्रा रुचिका सामान थिए होलान्।
अरू वेलाका जस्तै कर्कश बोली भएका लोग्नेमान्छे ठेलामा बिरुवा राखेर हिँडिरहेका थिए। कोही कराउँथे, कोही गाउँथे। लन्डन कारखाना जस्तै भएको थियो। लन्डन मशीन जस्तै भएको थियो। हामी सबै सादा भुइँमा कोही अगाडि कोही पछाडि तानिँदै थियौं— केही बुट्टा बनाउन। ब्रिटिश म्युजियम यस कारखानाको अर्काे एउटा विभाग थियो। त्यसको घुम्ने ढोका घुमेर उघ्रियो। गुम्बज आकारको छानो भएको त्यस भवनको विशाल कोठामा एउटा मान्छे उभिएको थियो। अर्काे एकजना काउन्टरमा गयो, अर्काेले कागजको एउटा टुक्रा हातमा लियो, एउटाले क्याटलगको ठेली उठायो। यहाँका पाँचवटा थोप्लाले पाँचवटा बेग्लाबेग्लै मिनेटका जडता, आश्चर्य, घबराहटलाई इंगित गर्छन्।
एउटा लिंगका मानिस त्यति समृद्ध छन् भने अर्काे लिंगका मानिस किन गरीब? आख्यानमा गरीबीको कस्तो प्रभाव पर्छ? सिर्जनात्मक कृति तयार गर्न कुन कुन अवस्था नभई हुँदैन? एकै पटक हजारौँ प्रश्न मेरा दिमागमा आए। तर, प्रश्नको के काम? उत्तर पो चाहिएको छ।
गएको एक सय वर्षमा महिलाबारे कतिवटा किताब लेखिए होलान्, अन्दाज गर्न सक्नुहुन्छ? तीमध्ये कति पुरुषले लेखेका होलान्, अनुमान गर्नुभएको छ? महिला यस जगत्मा सबैभन्दा बढी चर्चा गरिएका प्राणी हुनसक्छन् भन्ने कुरा तपाईंलाई थाहा छ? म आज बिहानभर पढ्न भनेर नोटबुक र पेन्सिल लिएर यहाँ आएकी छु। यो बिहानीको अन्त्यमा मैले सत्यलाई किताबबाट मेरो नोटबुकमा सारिसकेको हुनुपर्छ। तर, मलाई लाग्यो, त्यसो गर्नलाई म हात्तीहरूको बथान हुनुपर्छ, माकुराहरूको झुन्ड हुनुपर्छ। यहाँ मैले निराश भएर ती प्राणीको प्रसंग ल्याएकी हुँ जसको आयु सबैभन्दा लामो हुन्छ र जसका आँखा धेरै हुन्छन् भनी ख्याति फैलिएको छ। मसँग स्टिलका नंग्रा र काँसोको ठुँडो हुनुपर्छ। कागजको यो डंगुरभित्र रहेको सत्यको दानाबाहिरको भुस उधार्न म कसरी सकुँली र? मैले आफैंलाई सोधेँ।
नैराश्यबीच मेरा आँखा किताबको सूचीको तलमाथि दौडाउन थालेँ। किताबका नामले पनि सोच्नका लागि मलाई केही कुरा दिए। सेक्स र यसको प्रकृतिले डाक्टर र जीववैज्ञानिकलाई आकर्षित गर्नु ठीकै होला, तर अचम्मलाग्दो र व्याख्या गर्न कठिन कुरा के छ भने सेक्स–त्यो भनेको महिला–ले प्रीतिकर निबन्धकार, हात लामो गर्ने उपन्यासकार, एम.ए. डिग्री लिएका युवा पुरुष, कुनै पनि डिग्री नलिएका पुरुष, महिला नहुनुबाहेक अरू कुनै योग्यता नभएका पुरुष सबै—लाई आकर्षित गर्दाे रहेछ। यीमध्ये केही किताब झट्ट हेर्दैमा, हल्का र हास्यप्रधान जस्ता लाग्थे भने अर्कातिर धेरै किताब गम्भीर र भविष्यसूचक, नैतिक र उपदेशकारी जस्ता लाग्थे।
किताबका नामले मात्रै पनि के बताउँथ्यो भने असंख्य स्कूलमास्टर र असंख्य पादरीले यो विषयमा आफ्नो समय खर्च गरेका रहेछन्। पुलिंग जनाउने शब्दको खोजी गर्दा अनौठो चलन स्पष्टसँग देखियो। महिलाले पुरुषबारे किताब लेख्दा रहेनछन्। यस तथ्यले मेरो चिन्ता अलिकति घटायो। महिलाले पुरुषबारे लेखेका भए मैले पुरुषले महिलाबारे लेखेका सबै किताब पढिसक्दा पनि धर पाउँदैनथेँ, पुरुषबारे महिलाले लेखेका किताब पनि पढ्नुपर्थ्यो। त्यति गरिसकेर केही लेख्न बस्नुअघि सय वर्षमा एक पटक फुल्ने एलोभेरा दुई पटक फुलिसकेको हुन्थ्यो। त्यसैले मैले आफूखुशी तरिकाले एक दर्जन जति किताब छानेँ, त्यसको सूची लाइब्रेरियनलाई दिएँ र सत्यको सुगन्धित तेलको खोजीमा ब्रिटिश म्युजियम आएर किताब पढिरहेका अरू मानिसका छेउमा एउटा स्टलमा बसेँ।
यस्तो अचम्मलाग्दो भेदभाव किन भएको होला भनेर मैले सोचेँ। पुरुष महिलाका लागि जति आकर्षक छन्, महिला पुरुषका लागि किन त्योभन्दा बढी आकर्षक भएका होलान् (क्याटलग हेर्दा त्यस्तै देखिन्छ)? यो अजीव तथ्य हो जस्तो देखिन्छ। त्यसपछि महिलाका बारेमा किताब लेख्न समय खर्च गर्ने पुरुषको जीवन कस्तो हाेला भनी मेरो दिमाग घोत्लियो। उनीहरू बूढा होलान् कि युवा? विवाहित होलान् कि अविवाहित? राता नाके होलान् कि ढाड भुक्क उठेका?
गएको एक सय वर्षमा महिलाबारे कतिवटा किताब लेखिए होलान्, अन्दाज गर्न सक्नुहुन्छ? तीमध्ये कति पुरुषले लेखेका होलान्, अनुमान गर्नुभएको छ? महिला यस जगत्मा सबैभन्दा बढी चर्चा गरिएका प्राणी हुनसक्छन् भन्ने कुरा तपाईंलाई थाहा छ?
जे होस्, अरूको ध्यान तान्न सक्ने वस्तुका रूपमा आफूलाई पाउँदा घुइरोघुइरो पाराले मेरो नाक फुल्यो। मेरो डेस्कमा मैले छानेका किताबको पहिरो नझरेसम्म म यस्तै हल्काफुल्का कुरा सोचेर बसेँ। अब समस्या आइलाग्यो। अक्सब्रिजमा अनुसन्धान विषयको तालिम पाएका विद्यार्थीहरूले उत्तर नभेटुन्जेल आफ्ना प्रश्नलाई तमाम रुमल्याइबाट जोगाउने कुनै न कुनै तरिका अवश्यै जानेका हुन्छन्। उदाहरणका लागि, मेरो छेउमा बसेका विद्यार्थी वैज्ञानिक म्यानुअलबाट बडो मिहिनेतपूर्वक सारिहेका थिए। मलाई लाग्छ, उनी १०/१० मिनेट जस्तोमा शुद्ध धाउका टुक्रा झिकिरहेका थिए। उनको कण्ठबाट निस्केको सन्तुष्टिको आवाजले यस्तै संकेत गर्थ्यो। तर, दुर्भाग्यवश जसले विश्वविद्यालयमा तालिम पाएको छैन, उसका प्रश्न भेडा जसरी सरासर खोरमा पस्नुका सट्टा शिकारी कुकुरले लखेट्दा आत्तिएका बथानका भेडा झैं घरी यता घरी उता दौडिन्छन्।
प्रोफेसर, स्कूलमास्टर, समाजशास्त्री, पादरी, उपन्यासकार, निबन्धकार, पत्रकार र महिला नहुनुबाहेक अरू कुनै पनि योग्यता नभएका सबका सबले मेरो एउटै प्रश्न – केही महिला किन गरीब भएका हुन्?– लाई त्यो प्रश्न ५० वटा नबनुन्जेल खेदिरहे। ती ५० वटा प्रश्नले खोलाको मूलधारमा व्यग्रतापूर्वक हाम नफालेसम्म र तिनलाई खोलाले नबगाएसम्म खेदिरहे। मेरो नोटबुकका सबै पेजमा मेरा टिपोट किरिङमिरिङ अक्षरमा कोरिएका छन्। त्यतिबेला म कुन मनोवेगमा थिएँ भन्ने कुरा देखाउन मैले टिपेका केही नोट पढेर सुनाउँछु। त्यसभन्दा अघि एउटा कुरा भनौं, त्यस पेजको सिरानमा सामान्य तवरले ब्लक लेटरमा महिला र गरीबी लेखिएको थियो। त्यसपछि यस्तै यस्तै लेखिएको थियोः
मध्ययुगका महिलाको अवस्था, फिजी टापुका महिलाको आनीबानी, महिला देवताका रूपमा पुजिन्छन्, नैतिक मामलामा महिला कमजोर हुन्छन्, महिलाको आदर्शवाद, महिलाको महान् कर्तव्यनिष्ठा, साउथ सी टापुका महिला, महिला यौवनावस्थामा प्रवेश गर्ने उमेर, महिलाको आकर्षण, महिलाको बलि, महिलाको दिमाग सानो हुन्छ, महिलाको अवचेतनाको प्रचुरता, महिलाको शरीरमा रौं कम, महिलाको मानसिक, नैतिक र शारीरिक दुर्बलता, महिलाको केटाकेटीप्रतिको माया, महिलाको आयु बढी, महिलाका कमजोर मांसपेशी, महिलाको प्यारको शक्ति, महिलाको घमण्ड, महिलाको उच्च शिक्षा, महिलाबारे शेक्सपियरका विचार, महिलाबारे लर्ड बिर्केन्हेडका विचार, महिलाबारे डिन इंगेका विचार, महिलाबारे ला ब्रुयेरेका विचार, महिलाबारे डा. जोहन्सनका विचार, महिलाबारे मिस्टर ओस्कार ब्राउन्निङका विचार आदि आदि।
सेक्स र यसको प्रकृतिले डाक्टर र जीववैज्ञानिकलाई आकर्षित गर्नु ठीकै होला, तर अचम्मलाग्दो र व्याख्या गर्न कठिन कुरा के छ भने सेक्स–त्यो भनेको महिला–ले प्रीतिकर निबन्धकार, हात लामो गर्ने उपन्यासकार, एम.ए. डिग्री लिएका युवा पुरुष, कुनै पनि डिग्री नलिएका पुरुष, महिला नहुनुबाहेक अरू कुनै योग्यता नभएका पुरुष सबै—लाई आकर्षित गर्दाेरहेछ।
यति बेला मैले लामो सास फेरेँ र अँ साँच्चै, नोटबुकको छेउमा आफ्ना विचार लेखेँ। स्यामुअल बट्लरले ‘ज्ञानी पुरुषले महिलाका बारेमा आफूलाई लागेका कुरा कहिल्यै भन्दैनन्’ भनेर किन भनेका होलान्? ज्ञानी मान्छेले कुनै पनि कुरा स्पष्टसँग कहिल्यै भन्दैनन्। म कुर्सीमा पछाडि ढल्केँ र मैले त्यस विशाल गुम्बजतिर हेरेँ जहाँ अहिले म एक्लै थिएँ। मेरो दिमागमा कसो कसो चिन्तित विचार आएको थियो। दुर्भाग्यको कुरा के छ भने ज्ञानी मानिसले महिलाबारे बट्लरले जस्तै गरी सोच्दैनन्। जस्तै, पोपले भनेका छन्ः
अधिकांश महिलाको चरित्र अलिकति पनि हुँदैन।
अनि ला ब्रुयेरेले चाहिँ यसो भनेका छन्ः
महिला यति चरम हुन्छन्, उनीहरू पुरुषभन्दा कि उत्कृष्ट हुन्छन् कि निकृष्ट।
समकालीनहरूकै विचारमा यत्रो ठूलो अन्तर ! महिला शिक्षा लिन सक्षम छन् कि छैनन्? नेपोलियनले उनीहरू सक्षम छैनन् भन्ने ठानेका थिए। डा. जोहन्सनले सक्षम छन् भनेका थिए।(१) महिलाको आत्मा हुन्छ कि हुँदैन? केही गँवारहरूले हुँदैन भनेका छन्। यसको विपरीत, कसैले महिलालाई अर्धदेवता मान्छन् र त्यस विश्वासमा महिलाको पूजा गर्छन्।(२) केही सन्तहरूले महिलाको दिमाग सतही हुन्छ भने, केहीले उनीहरूको चेतना गहिरो हुन्छ भने। गायथेले महिलालाई सम्मान गरे, मुसोलिनीले महिलाको निन्दा गरे। जुन जुन पुरुषले महिला बारेमा विचार गरे उनीहरूले भिन्न भिन्न प्रकारका विचार गरे। म अलमलिएँ, निश्चित गरेर भन्न सकिने केही पनि कुरा भेटिनँ मैले।
मैले आरिस गरेर छेउको पाठकलाई हेरेँ। उसले आफूले पढेका कुराको निष्कर्ष सफासँग टिपेको थियो। त्यो नोटका बुँदामा उसले क, ख अथवा ग शीर्षक दिएको थियो। मेरो नोटबुकमा भने आपसमा बाझिएका कुरा किरिङमिरिङ पाराले भरिएका थिए। म दुःखी थिएँ, म विस्मित थिएँ, म अपमानित थिएँ। मेरा औंलाबाट सत्य भाग्यो। एक थोपा पनि सत्य बाँकी बसेन।
महिलाका बारेमा किताब लेख्न समय खर्च गर्ने पुरुषको जीवन कस्तो होला भनी मेरो दिमाग घोत्लियो। उनीहरू बूढा होलान् कि युवा? विवाहित होलान् कि अविवाहित? राता नाके होलान् कि ढाड भुक्क उठेका?
मलाई म घर जान सक्दिनँ होला जस्तो लाग्यो। महिलाका शरीरमा पुरुषका शरीरमा भन्दा कम रौं हुन्छन् अथवा साउथ सी टापुका बासिन्दा नौ वर्षमा यौवनकालमा प्रवेश गर्छन् जस्ता विषयका किताब पढेर महिला र आख्यानको अध्ययनमा गम्भीर योगदान दिन सकुँली जस्तो लागेन। मैले नौ लेख्न खोजेकी थिएँ कि नब्बे? के पो टिपेकी हुँ मैले? मन अन्तै बहकिएपछि मेरा अक्षर पनि नबुझिने भएछन्। बिहानभर यत्रो मेहनत गर्दा पनि वजनदार अथवा इज्जतदार सामग्री तयार गर्न नसक्नु लज्जाजनक कुरा हो।
मैले विगतमा म. (महिलालाई छोटकरीमा यसो भनेकी हुँ) कस्ता थिए भन्ने कुराको भेउ पाउन सकिनँ भने मैले म.को भविष्यबारे सोच्ने झन्झट किन गर्ने? महिला र उनीहरूले राजनीति, बालबालिका, ज्याला, नैतिकता आदि विषयमा पारेको प्रभावबारे विशेषज्ञता हासिल गरेका असंख्य विद्वान् भद्रजनसँग परामर्श गर्नु भनेको समय बर्बाद गर्नु हो जस्तो मात्र देखिन्छ। उनीहरूले लेखेका किताब पल्टाउँदै नपल्टाउँदा बेस होला।
यस्तै कुरामा घोत्लिएका वेलामा, मेरो छेउमा बस्नेले जसरी आफ्नो पढाइको निष्कर्ष टिपिरहेका थिए त्यसै गर्नुपर्नेमा मैले मेरो उदासीमा, नैराश्यमा, छटपटीमा एउटा चित्र पो कोरेछु। म मानिसको अनुहारको चित्र बनाउँदै थिएँ। त्यो चित्र स्त्रीलिंगको मानसिक, नैतिक र शारीरिक हीनता शीर्षकको आफ्नो महानतम कीर्ति लेखिरहेका प्रोफेसर भोन कखगको थियो। त्यस चित्रमा ऊ महिलाका लागि आकर्षक देखिँदैनथ्यो। ऊ ठूलो दारको थियो, उसको थुतुनो ठूलो थियो, उसका आँखा भने साना थिए, उसको अनुहार अत्यन्त रातो थियो। उसको मुखाकृतिले ऊ अलिकति उत्तेजित भएर मिहिनेत गरिरहेको देखाउँथ्यो जसले गर्दा उसको कलम कागजमा अड्कियो।
लेख्दै गर्दा ऊ विषालु कीरा मार्न लागेजस्तो देखिन्थ्यो। त्यस कीरालाई मारिसक्दा पनि उसको चित्त बुझेको थिएन। उसलाई त्यस कीरालाई मारेको मार्यै गरौं जस्तो लागेको थियो। त्यति गर्दा पनि उसको रिस र आक्रोश शान्त भइसकेको थिएन। त्यो उसकी जहान होली? चित्रमा हेरेर मैले आफैंलाई सोधेँ। उसले घोडचढीको सिपाहीसँग प्रेम गर्न थालिछे कि? त्यो सिपाही सुरिलो र सुडौल थियो कि? उसले भेडाको ऊनको मिहिन कपडा लगाउँथ्यो कि? अथवा फ्रायडको सिद्धान्त अनुसार, त्यो प्रोफेसर कोक्रामा हुँदा सुन्दरी केटी उसको उपहास गर्दै हाँसेकी थिई कि?
म दुःखी थिएँ, म विस्मित थिएँ, म अपमानित थिएँ। मेरा औंलाबाट सत्य भाग्यो। एक थोपा पनि सत्य बाँकी बसेन।
मलाई लाग्छ, कोक्रामा हुँदा पनि त्यो प्रोफेसर आकर्षक थिएन होला। जेसुकै कारणले होस्, उसले स्त्रीलिंगको मानसिक, नैतिक र शारीरिक हीनता शीर्षकको आफ्नो महान् किताब लेख्दै गरेका वेला मैले बनाएको उसको चित्रमा ऊ रिसाहा र कुरूप देखिनुपर्थ्यो। चित्र बनाउनु बिहानभरको बेकारको काम टुंग्याउने व्यर्थको काम हो। तर, यस्तै व्यर्थपनमा, हाम्रो सपनामा भित्र दबिएर बसेको सत्य कहिलेकाहीँ सतहमा प्रकट हुन्छ।
मनोविज्ञानको प्रारम्भिक– यसलाई मनोवैज्ञानिक विश्लेषण भनेर गौरवपूर्ण नाम नदिऊँ– अभ्यास गर्दा, मेरो नोटबुकमा हेर्दा मैले के देखेँ भने त्यो रिसाहा प्रोफेसरको चित्र मैले रिसाएर बनाएकी रहेछु। म तन्द्रामा भएका वेला रिसले मेरो पेन्सिल खोसेर लगेछ। रिस त्यतिवेला, त्यहाँ के गर्दै थियो? पूरै बिहानभर, मैले जानेका र नाम थाहा पाएका सबै मनोवेग– रुचि, अलमल, उत्साह, विरक्ति– एकअर्कालाई उछिनपाछिन गरिरहेका थिए। रिसरूपी कालो सर्पले अरू सबै मनोवेगलाई दमन गरिरहेको थियो? हो, चित्रले त्यसै भन्छ, रिसले अरू मनोवेगलाई दबाएको थियो।
म निर्धक्क भएर भन्नसक्छु, एउटा किताबको, एउटा वाक्यांश– महिलाहरू मानसिक, नैतिक र शारीरिक रूपले हीन हुन्छन् भनी प्रोफेसरले गरेको टिप्पणी– ले ममा राक्षस जगाएको थियो। मेरो मुटु दौडिएको थियो। मेरा गाला राता न पिरा भएका थिए। रिसले गर्दा म आवेगमा आएकी थिएँ। त्यस वाक्यांशमा सम्झनुपर्ने कुरा त केही थिएन, तर त्यसमा मूर्खता झल्किएको थियो। तँ एउटा फुच्चे पुरुषभन्दा स्वाभाविक रूपले हीन छस् भनेको कसैलाई पनि मन पर्दैन।
मैले म छेउको विद्यार्थीतिर हेरेँ। ऊ साह्रो साह्रो सास फेर्दै थियो, उसले रेडिमेड टाई लगाएको थियो, पन्ध्रबीस दिनयता उसले दाह्री काटेको थिएन। मानिसमा निश्चित खालका मूर्खतापूर्ण दम्भ हुन्छन्। यो मानिसको स्वभाव हो, मैले यस्तै सम्झिएँ र रिसाहा प्रोफेसरको अनुहार डढेलो लागिरहेको झाडी वा ज्वाला बोकेको धूम्रकेतु जस्तो नभएसम्म, त्यो मानव आकृति हो भनी ठम्याउन नसकिने भइन्जेलसम्म त्यस अनुहारमा गोरुगाडीका चक्का र गोला घेरा कोरेँ। यति गर्दा प्रोफेसरको अस्तित्व मेटिएको थियो। उसको चित्र ह्याम्पस्डेट हिथको टाकुरामा बल्दै गरेको दाउराको थुप्रो जस्तो भएको थियो।
कोही मान्छे जब निष्पक्ष रूपले तर्क गर्न थाल्छ, उसले तर्क मात्रै सोच्छ र पाठकले पनि तर्क मात्रै सोच्छ। उसले महिलाबारे निष्पक्ष रूपले लेखेको छ भने, त्यसो गर्दा उसले आफ्ना तर्क सही साबित गर्ने निर्विवाद तथ्य दिएको छ भने र उसले यसको परिणाम यस्तो हुनुपर्छ भनेर थोरै पनि जिद्दी गर्ने चाहना गरेको छैन भने पाठक रिसाउँदैन। उसले प्रस्तुत गरेको तथ्यलाई पाठकले यसरी स्वीकार गर्छ।
छिटै मेरो रिस शान्त भयो, तर कौतूहल भने कायमै रह्यो। प्रोफेसरहरूको रिसलाई कसरी व्याख्या गर्ने? उनीहरू किन रिसाहा हुन्छन्? यी किताबले मानिसमा कस्तो प्रभाव छाड्छन्? यी किताबका आधारमा विश्लेषण गर्दा के देखिन्छ भने उनीहरू जहिल्यै पनि झोक्किएका हुन्छन्। उनीहरूको झोकका भिन्न भिन्न स्वरूप हुन्छन्। उनीहरूले गरेका व्यंग्यमा, उनीहरूका मनोभावमा, उनीहरूका कौतूहलमा र उनीहरूका नीचतामा यस्तो झोक झल्किएको हुन्छ। उनीहरूमा अर्काे तत्त्व पनि सदैव रहेको हुन्छ जसलाई झलक्क हेर्दा चिन्न सकिँदैन। त्यसलाई मैले रिस भनेकी छु। तर, यो रिस अरू किसिमका मनोवेगसँग मिसिएर तल लुकेर बसेको हुन्छ। यसको अनौठो प्रभावका आधारमा मूल्यांकन गर्ने हो, यसलाई भेष बदलेर बसेको भन्न मिल्छ र यो जटिल छ। यो सामान्य खालको र सजिलै देखिने रिस होइन।
मेरो डेस्कमा थुप्रिएको किताबको डंगुरलाई हेर्दै मैले के सोचेँ भने जेसुकै कारणले गर्दा होस्, यी कुनै पनि किताब मेरो उद्देश्य पूरा गर्ने काममा उपयोगी छैनन्। भनौँ न, वैज्ञानिक दृष्टिले हेर्दा ती किताब अनुपयोगी थिए, मानवीय दृष्टिले हेर्दा चाहिँ ती निर्देशन, स्वार्थ, नीरसता र फिजी टापुका बासिन्दाका स्वभाव सम्बन्धी विचित्र तथ्यले भरिपूर्ण थिए। ती आवेगको राता प्रकाशमा लेखिएका थिए, सत्यको सेतो प्रकाशमा होइन। त्यसो हुनाले यी सबै किताब लाइब्रेरियनलाई फर्काउनुपर्छ जसले तिनलाई ती पहिले जहाँ थिए त्यहीँ राख्छ।
आज बिहानभरको मिहिनेतको फलस्वरूप रिसको एउटा तथ्य मात्र फेला पारेँ। मैले के निष्कर्ष निकालेँ भने प्रोफेसरहरू रिसाएका थिए। उनीहरू रिसाएका चाहिँ किन? किताब फर्काएपछि मैले बारम्बार यो प्रश्न आफैंलाई सोधेँ। यो प्रश्न सोध्दै म लन्च खाने ठाउँ खोज्न हिँडेँ। मैले तत्कालका लागि जेलाई रिस भनेकी छु त्यसको वास्तविक स्वभाव कस्तो हुन्छ? मैले सोचेँ। ब्रिटिश म्युजियमको छेउछाउको एउटा सानो रेस्टुरेन्टमा बसेर त्यहाँ पाइने खानासँग यस रहस्यलाई मिसाएर नखाएसम्म यो प्रश्न मेरो दिमागबाट नहट्ने भयो।
मभन्दा पहिले लन्च खान आएको कसैले अपराह्न निस्कने पत्रिकाको लन्च संस्करण रेस्टुरेन्टको कुर्सीमा छाडेर गएको रहेछ। म काम न काजसँग त्यसका शीर्षक पढ्न थालेँ। ठूला अक्षरको एउटा शीर्षक थियो। कोही एकजनाले साउथ अफ्रिकामा राम्रो स्कोर गर्यो रे। अलि सानो शीर्षकमा सर अस्टिन च्याम्बरलिन जेनेभा आइपुगेको कुरा लेखिएको थियो। एउटा गोदाममा मानिसको रौं भएको मासु काट्ने बन्चरो फेला पर्यो। मिस्टर फलाना न्यायमूर्तिले महिलाको निर्लज्जताबारे टिप्पणी गर्यो। त्यस पत्रिकामा अरू ससाना समाचार पनि यत्रतत्र छरिएका थिए। क्यालिफोर्नियामा एउटी फिल्म अभिनेत्रीलाई टाकुराबाट तल झार्दा बीचैमा हावामा झुलाइयो। भरेभोलि कुहरो लाग्छ।
महिलाको आलोचना सहनुपर्दा पुरुष कति बेचैन हुन्छन् भन्ने कुरा पनि यसले देखाउँछ। यो किताब नराम्रो छ, यो चित्र अथवा कुनै सिर्जना बोधो छ भनेर महिलाले पुरुषलाई भन्दा पुरुषले त्यस्तै आलोचना गर्दा भन्दा कता हो बढी चोट उनीहरूलाई किन लाग्छ।
यस धर्तीमा एकै छिनका लागि मात्र आएको पाहुनाले पनि यो पत्रिकाका शीर्षक पढ्यो भने इंग्ल्यान्ड पितृसत्ताबाट शासित रहेको सजिलै थाहा पाउँछ। प्रोफेसरको प्रभुत्व जताततै रहेछ भन्ने कुरा जसले पनि सजिलै अनुभूति गर्छ। सबैतिर उसैको शक्ति, पैसा र प्रभावको दबदबा छ। पत्रिकाको मालिक, सम्पादक र सहायक सम्पादक उही (पुरुष) छ, विदेश सचिव र न्यायाधीश उही छ। क्रिकेट खेलाडी उही छ, घोडादौडका घोडा र डुंगाको मालिक उही हो। शेयरहोल्डरलाई २०० प्रतिशत बोनस दिने कम्पनीको निर्देशक उही छ। आफूले सञ्चालन गरेको दानकोष र कलेजका लागि करोडौँ पैसा दान दिने उही हो। फिल्म अभिनेत्रीलाई हावामा झुलाउने पनि पुरुषै हो। मासु काट्ने बन्चरोमा भएको रौँ मानिसको हो कि होइन भनेर निर्णय दिने पनि उही हो। अभियुक्तलाई निर्दोष अथवा दोषी ठहर्याउने पनि उही हो। अभियुक्तलाई झुन्ड्याउने वा सफाइ दिने पनि उही हो।
कुहिरो अपवाद भयो। त्यसबाहेक सबै कुरा उसैका नियन्त्रणमा भएजस्तो देखिन्छ। तैपनि ऊ रिसाएको थियो। उसले महिलाका बारेमा लेखेका कुरा पढ्दा मैले उसले के लेखेछ भन्ने कुरा सोचिनँ, उसका बारेमा सोचेँ। कोही मान्छे जब निष्पक्ष रूपले तर्क गर्न थाल्छ उसले तर्क मात्रै सोच्छ र पाठकले पनि तर्क मात्रै सोच्छ। उसले महिलाबारे निष्पक्ष रूपले लेखेको छ भने, त्यसो गर्दा उसले आफ्ना तर्क सही साबित गर्ने निर्विवाद तथ्य दिएको छ भने, र उसले यसको परिणाम यस्तो हुनुपर्छ भनेर थोरै पनि जिद्दी गर्ने चाहना गरेको छैन भने पाठक रिसाउँदैन। उसले प्रस्तुत गरेको तथ्यलाई पाठकले यसरी स्वीकार गर्छ। मटर हरियो हुन्छ र बेसार पहेँलो हुन्छ भन्ने कुरालाई उसले स्वीकार गरे जस्तै गरी। त्यसो गरेको भए मैले ठीकै छ त भन्नेथिएँ।
ऊ रिसाएकाले मलाई रिस उठ्यो। पत्रिका पल्टाउँदै मैले सोचेँ— यहाँ त कुरा उल्टा भए झैं लाग्यो। सबै शक्ति आफ्नो हातमा भएको पुरुष जाति पो रिसाएको छ। अथवा रिस कसोकसो शक्तिसँग हेलमेल भएको, शक्तिबाट अलग गर्न नसकिने प्रेत पो हो कि ! मैले सोचेँ। उदाहरणका लागि, धनी मानिसहरू जहिल्यै पनि रिसाएका हुन्छन् किनभने उनीहरू गरीबहरूले आफ्नो धन खोस्न चाहने पो हुन् कि भनेर संशकित हुन्छन्। प्रोफेसरहरू, अथवा यिनीहरूलाई पितृसत्तावादी भन्दा पो अझ बढी उपयुक्त होला कि, पनि आंशिक रूपमा सोही कारणले रिसाएका होलान्, तर यसको आंशिक कारण सतहमा स्पष्ट रूपमा देखिँदैन। उनीहरू अलिकति पनि ‘रिसाएका’ नहुन सक्थे। हो, व्यक्तिगत जीवनमा उनीहरू कति प्रशंसायोग्य, प्रतिबद्ध र उदाहरणीय छन्।
प्रोफेसरले महिलाको हीनतामा अलि बढी स्पष्ट रूपले जोड दिनुको मतलब उसले महिलाको हीनताबारे चासो व्यक्त गरेको नभएर आफ्नो उच्चताबारेको चासो व्यक्त गरेको पनि त हुनसक्छ। आफ्नो उच्चताको बचावट गर्नका लागि पो उनीहरू यसरी उत्तेजित भएका हुन् वा उनीहरूले त्यस कुरामा अति धेरै जोड दिएका हुन् किनभने यो उच्चता ऊसँग भएको अमूल्य रत्न हो।
उनीहरूलाई हेर्दा, उनीहरूसँग काँधमा काँध जुधाएर पैदल हिँड्दा, मलाई के लाग्छ भने जीवन दुवै लिंगका मानिसका लागि दुष्कर र कठिन छ। दुवैले अनवरत संघर्ष गर्नुपर्छ। यसका लागि अत्यधिक धेरै साहस र तागत चाहिन्छ। आत्मविश्वास सबैभन्दा बढी जरुरी हुन्छ। आत्मविश्वास भएन भने हामी कोक्राको शिशु झैं हुन्छौं। सहज भईकन पनि यति मूल्यवान् गुण हामीले सबैभन्दा छिटो कसरी सिर्जना गर्न सक्छौँ? उपाय सरल छ, अरू मानिस आफूभन्दा हीन छन् भन्ने ठानेर, आफूमा जन्मजात उच्चता छ भन्ने ठानेर, धनमा अरूभन्दा उच्च छु भनेर, दर्जामा अरूभन्दा उच्च छु भनेर, आफ्नो नाक (ग्रीकको जस्तो) सीधा छ भनेर उच्चताभास गर्न सकिन्छ।
मैले पाउने पाँच सय पाउन्ड मबाट संसारका कुनै पनि तागतले खोस्न सक्दैन। खान, बस्न र लुगा लगाउन पैसा कसरी जुटाऊँ भनेर मैले कहिल्यै पनि चिन्ता गर्नु पर्दैन। यसले गर्दा मैले हातमुख जोड्नका लागि मिहिनेत र परिश्रम गर्नु परेन। त्यति मात्रै होइन, ममा भएको घृणाको भाव र तिक्तता पनि हटेर गयो।
अरूभन्दा आफू उच्च भएको ठहर्याउन असीमित उपाय मानिसले कल्पना गर्नसक्छ। संसार विजय गर्नुपर्ने, शासन गर्नुपर्ने, पितृसत्तावादीका दृष्टिमा अति धेरै मानिस, साँच्चै हो त, मानवजातिको पूरै आधा हिस्सा आफूभन्दा स्वाभाविक रूपमा तल्लो दर्जाका हुन्छन्। यो उसको शक्तिको मुख्यमध्येको एउटा स्रोत हुनसक्छ।
वास्तविक जीवनमा यस भनाइको अर्थ के हुन्छ भनेर म बताउँछु। यसले मानिसले जीवनमा भोगेका, स्मरण गरेका रहस्यको व्याख्या गर्न सघाउला? हिजो सर्वश्रेष्ठ, सर्व विनम्र फलाना मान्छेले रेबेक्का वेस्टको किताब पल्टाएर त्यसका केही अंश पढ्दै गर्दा भन्यो, ‘ओहो यो त कट्टर फेमिनिस्ट रहिछ! उसले पुरुष दम्भी हुन्छन् भनेकी रहिछ! उसका कुरा सुन्दा मलाई आश्चर्य लागेको थियो!
विस्मयलाग्दो, मलाई चकित बनाउने कुरा के भने पुरुषका बारेमा अपमानजनक जस्तो देखिए पनि सम्भवतः सत्य वचन बोल्दा मिस वेस्ट कसरी कट्टर फेमिनिस्टमा दरिइन्? त्यो घाइते भएको दम्भको विशुद्ध चित्कार मात्र होइन, आफूमा विश्वास गर्ने उसको शक्तिलाई कसैले अतिक्रमण गरेकोमा त्यसको विरोध हो। शताब्दीयौंदेखि महिलाले त्यस्तो ऐनाले जस्तो सेवा दिएका छन् जसमा पुरुषलाई उनीहरूको वास्तविक स्वरूपलाई दुईगुणा ठूलो बनाइदिने जादूमयी र आनन्ददायक तागत रहेको हुन्छ।
यस्तो तागत नभएको भए संसार अझसम्म पनि सम्भवतः दलदल र जंगल हुन्थ्यो। युद्धका वीरगाथा गाइँदैनथे। हामी अझैसम्म पनि भेडाको छालासँग चकमक अथवा हाम्रो अपरिष्कृत छनोटमा पर्ने गहना साटिरहेका हुन्थ्यौं। महामानव र साहसिक कथा बुनिएका हुँदैनथे। जार र कैजरले श्रीपेच लगाएका हुँदैनथे, गुमाएका पनि हुँदैनथे।
सभ्य समाजमा ऐना अरू काममा पनि उपयोग गरिन्छ। हिंसात्मक र वीरोचित कर्मका लागि ऐना जरुरी हुन्छ। त्यसैले नेपोलियन र मुसोलिनी दुवैले महिलाको हीनतामा अत्यधिक जोड दिएका थिए, मानौं महिला हीन नभएका भए उनीहरू ठूला देखिँदैनथे। यसबाट पुरुषका लागि महिला कति जरुरी छन् भन्ने कुरा आंशिक रूपमा प्रष्ट हुन्छ। महिलाको आलोचना सहनुपर्दा पुरुष कति बेचैन हुन्छन् भन्ने कुरा पनि यसले देखाउँछ।
यो किताब नराम्रो छ, यो चित्र अथवा कुनै सिर्जना बोधो छ भनेर महिलाले पुरुषलाई भन्दा पुरुषले त्यस्तै आलोचना गर्दा भन्दा कता हो बढी चोट उनीहरूलाई किन लाग्छ। उनीहरूमा रिस किन बढी उठ्छ भन्ने कुराको व्याख्या पनि यसले गरेको छ। यसो किन हुन्छ भने महिलाले सत्य कुरा बोल्न थाले भने (महिलारूपी) ऐनामा देखिने उनीहरूको आकार खस्कन्छ। जीवनमा उनीहरूको महत्त्व घट्छ। ब्रेकफास्ट र डिनरका वेला गरेर दिनको कम्तीमा दुई पटक आफ्नो वास्तविकभन्दा दुईगुणा ठूलो तस्वीर देख्न पाएन भने पुरुषले अरूको मूल्यांकन गरिरहन, आदिवासीलाई सभ्य बनाइरहन, कानून निर्माण गरिरहन, किताब लेखिरहन, पोशाक लगाइरहन र भोजमा भाषण छाँटिरहन कसरी सक्ला?
शताब्दीयौँदेखि महिलाले त्यस्तो ऐनाले जस्तो सेवा दिएका छन् जसमा पुरुषलाई उनीहरूको वास्तविक स्वरूपलाई दुईगुणा ठूलो बनाइदिने जादूमयी र आनन्ददायक तागत रहेको हुन्छ।
ब्रेड टुक्रा पारेका वेला र कफी घोलेका वेला, छिनछिनमा बाटोमा हिँडेका मानिसलाई हेर्दै गर्दा मैले यस्तै सोचेँ। ऐनामा देखिने दृश्य सबैभन्दा महत्त्वपूर्ण वस्तु हो किनभने यसले पुरुषमा प्राण भरिदिन्छ। यसले स्नायुप्रणालीलाई पुनःजागृत गर्छ। यो ऐना नदिऊँ त पुरुष मर्न सक्छ। लागूपदार्थ खाने मान्छेले कोकिन नपाउँदा जस्तै गरी।
झ्यालबाट बाहिर हेर्दे मैले सोचेँ, त्यही भ्रमको नशामा परेर बाटोमा भएका आधा मानिस काम गर्न दौडिरहेका छन्। बिहानै उनीहरू आफूलाई अनुकूल वातावरणमा आफ्ना ह्याट र कोट लगाउँछन्। उनीहरूको दिन आत्मविश्वास र दृढताका साथ शुरू हुन्छ। उनीहरूले मिस स्मिथको चिया पार्टीमा आफूलाई महत्त्वपूर्ण ठानिएको महसूस गर्छन्। पार्टी हुने कोठामा पस्दा उनीहरू आफू त्यहाँ उपस्थित आधा मानिसभन्दा श्रेष्ठ हुँ भनी मनमनै आफैंलाई भन्छन्। यसरी उनीहरू आत्मविश्वास, आत्मढाढसका साथ बोल्छन्। सार्वजनिक जीवनमा यसको अत्यधिक असर पर्छ र उसको दिमागमा आफू श्रेष्ठ हुँ भन्ने सन्देश कोरिन्छ।
अर्काे लिंगका मानिसको मनोविज्ञानबारे यो खतरनाक र चित्ताकर्षक योगदान आफ्नो ठाउँमा छ। मलाई आशा छ, वर्षको पाँच सय पाउन्ड आफ्नै आम्दानी भएका बेला तपाईंले यसबारे खोजतलास गर्नुहुनेछ। लन्चको बिल तिर्नुपर्ने भएकाले मेरो यस्तो विचारमा विश्राम लाग्यो। पाँच सिलिङ नौ पेन्स तिर्नुपर्ने भएछ। मैले वेटरलाई दश सिलिङको नोट दिएँ। मलाई फिर्ता दिनुपर्ने पैसा ल्याउन ऊ हिँड्यो। मेरो पर्समा १० सिलिङको अर्काे एउटा नोट थियो। मैले यो कुरा ख्याल गरेँ, मेरो पर्समा अझै पनि १० सिलिङ छ भन्ने कुरा सम्झँदा पनि मेरो मनमा असाध्यै धेरै उमंग छायो। मैले पर्स खोलेँ। हो, त्यति पैसा मेरो पर्समा थियो। मलाई मेरी आन्टले छाडेर गएकामध्ये अलिकति पैसा दिँदा समाजले मलाई चिकेन र कफी खान दिन्छ, वास बस्ने ठाउँ दिन्छ।
मैले यहाँ तपाईंहरूलाई मेरी आन्ट म्यारी बेटनबारे बताउनैपर्ने भयो। म्यारी बम्बईमा हावा खान भनेर घोडचढी जाँदै गर्दा घोडाबाट लडेर बितिन्। उनले केही सम्पत्ति आफ्नो सेखपछि मेरा लागि बकस दिएको र महिलालाई मतदानको अधिकार दिने कानून पास भएको समाचार मैले एकैसाथ जस्तो पाएँ। मेरो पोस्टबक्समा खसालिएको वकीलको पत्र खोलेर हेर्दा मैले के थाहा पाएँ भने मेरी आन्टले मलाई सधैँभरि वर्षेनी पाँच सय पाउन्ड दिने इच्छापत्र छाडेकी रहिछन्।
त्यस रात मैले पाएका मतदानको अधिकार र पैसामध्ये पैसा मेरो आफ्नो हो। यो पैसा मतदानभन्दा कता हो कता बढी महत्त्वपूर्ण ठहरिएको थियो। त्यसअघि म बाँच्नका लागि पत्रिकामा अनेक थरी विषयमा रिपोर्टिङ गर्थें– कहिले गधा प्रदर्शनीको, कहिले बिहेको। चिठीको खाममा पाउने र पठाउने नाम तथा ठेगाना लेखेर, वृद्धालाई किताब पढेर सुनाएर, कृत्रिम फूल बनाएर र किन्डरगार्टेनमा केटाकेटीलाई अक्षर चिन्न र लेख्न सिकाएर पनि केही पैसा कमाउँथें। १९१८ अघि महिलाले गर्न पाउने मुख्य पेशा यिनै थिए।
यहाँ त कुरा उल्टा भए झैं लाग्यो। सबै शक्ति आफ्नो हातमा भएको पुरुष जाति पो रिसाएको छ। अथवा रिस कसोकसो शक्तिसँग हेलमेल भएको, शक्तिबाट अलग गर्न नसकिने प्रेत पो हो कि ! मैले सोचेँ। उदाहरणका लागि, धनी मानिसहरू जहिल्यै पनि रिसाएका हुन्छन् किनभने उनीहरू गरीबहरूले आफ्नो धन खोस्न चाहने पो हुन् कि भनेर संशकित हुन्छन्।
यस्तो काम गर्नु कति कठिन थियो भन्ने कुरा म यहाँ बताउन लाग्दिनँ किनभने तपाईं महिलाहरूमध्ये जसले यो काम गर्नुभएको तपाईंहरूलाई त्यो थाहै छ। यसरी कमाएको पैसाले जीवन धान्न कठिन छ भन्ने पनि तपाईंहरूलाई थाहै होला। काम र पैसाभन्दा पनि अर्कै कुराले मलाई सताएको थियो। त्यतिवला ममा डर र तिक्तताको विष रोपिएको थियो। आफूलाई मन नलागेको काम सधैँभरि गर्नुपर्दा, त्यसमाथि दासले जसरी काम गर्नुपर्दा, चाकडी र चाप्लुसी सधैँभरि गर्नु त जरुरी थिएन होला, तर त्यसो गर्नुपर्छ जस्तो लाग्थ्यो। त्यसो नगर्दा जे पनि हुने जोखिम हुन्थ्यो।
त्यसपछि एउटा उपहार, त्यो भनेको मृत्यको सोचाइ। सानो र जसको हो उसका लागि प्रिय लाग्ने जीवन नाश हुनु, त्योसँगै आफू, आफ्नो आत्मा नाश हुनु। यिनको चिन्ताले मलाई धमिराले वसन्तको हराभरा खाए झैं, रूखको चुरो नष्ट गरे झैं पारेको थियो, तर मेरी आन्ट बितेपछि, उनले मलाई छाडेको पैसा पाएपछि धमिरा र त्यसले गरेको क्षति अलिकति भए पनि हट्यो, डर र तिक्तता अलिकति भए पनि भाग्यो। वेटरले फिर्ता दिएको पैसा पर्समा राख्दै, पहिलेको तिक्तता सम्झँदै मैले सोचेँ, हो त, नियमित आम्दानी हुने भएपछि मानिसको स्वभाव कसरी फेरिन्छ!
मैले पाउने पाँच सय पाउन्ड मबाट संसारका कुनै पनि तागतले खोस्न सक्दैन। खान, बस्न र लुगा लगाउन पैसा कसरी जुटाऊँ भनेर मैले कहिल्यै पनि चिन्ता गर्नु पर्दैन। यसले गर्दा मैले हातमुख जोड्नका लागि मिहिनेत र परिश्रम गर्नु परेन। त्यति मात्रै होइन, ममा भएको घृणाको भाव र तिक्तता पनि हटेर गयो। मैले कुनै पुरुषलाई घृणा गर्नु परेन, उसले मलाई हानि पुर्याउन सक्दैन। मैले कुनै पुरुषको चाकरी गर्नु परेन, उसबाट मैले केही लिनु छैन। यसरी थाहै नपाईकन मैले मानव जातिको आधा आकाशप्रति नयाँ धारणा ग्रहण गरेँ।
कुनै वर्ग अथवा लिंगका सबैलाई एकै घानमा हालेर दोष लगाउनु न्यायसंगत कुरा होइन। अति धेरै पुरुषहरू उनीहरूले गरेका कामका लागि जिम्मेवार हुँदैनन्। उनीहरू आफ्नो प्रकृतिबाट निर्देशित हुन्छन् जुन उनीहरूको नियन्त्रणमा हुँदैन। पितृसत्तावादी प्रोफेसर आदिले अथाह कठिनाइ भोग्नुपरेको हुन्छ। उनीहरूले भयानक खराबीको सामना गर्नुपरेको हुन्छ। उनीहरूले पाएको शिक्षा कसो कसो पारामा मैले पाएको शिक्षा जस्तै गलत छ। त्यसले उनीहरूमा महानताको खराबी रोपेको हुन्छ। हो, उनीहरूसँग पैसा छ, शक्ति छ तर यी कुरा पाउन उनीहरूले आफ्नो मुटुमा चिल, गिद्धलाई पाल्नुपरेको छ जसले उनीहरूको कलेजो सधैँ लुछिरहेको हुन्छ, फोक्सो सधैँ चुँडिरहेको हुन्छ।
उनीहरूको मनमा अरूलाई अधीनमा राख्ने प्राकृतिक चाहना र थप कुरा हासिल गर्ने प्रबल इच्छा हुन्छ जसले उनीहरूमा अर्काको जमीन र सामान सधैँका लागि हडप्ने, सिमाना फैलाउने र आफ्नो झन्डा गाड्ने, युद्धपोत र विषालु ग्यास बनाउने, आफ्नो र आफ्ना छोराछोरीको जीवन बलिमा होम्ने चाहना जागृत गराउँछन्। वसन्त ऋतुको न्यानो घाम लागेका वेला स्टक ब्रोकर र बडे बडे वकिल न्यानो घाम ताप्न छाडेर घरभित्र पसेको दृश्य हेर्नुहोस्। उनीहरू पैसा कमाउन, अझ बढी, अझ बढी, अझ बढी पैसा कमाउन गएका हुन्।
वास्तविकता के हो भने पाँच सय पाउन्ड पैसाले एक जना मानिसलाई वर्षभर सुखसँग जीवन धान्न पुग्छ। मलाई लाग्यो, मानिसले खराब स्वभाव पालेका हुन्छन्। मानिस हुर्केबढेको वातावरणले, सभ्यता नहुनाले यस्ता कुरा हुर्केबढेका हुन्, ड्युक अफ केम्ब्रिजको शालिक, खास गरेर त्यसको प्वाँख सिउरिएको टोप हेर्दै मैले सोचेँ। पुरुषमा यी खराबी हुन्छन् भन्ने महसूस गरेपछि डर र तिक्तता बिस्तारै करुणा र सहनशीलतामा परिणत हुँदारहेछन्।
मेरो घरको सँघारमा पुग्दा मैले सोचेँ, अबको एक सय वर्षमा त महिलालाई अबला ठान्न छाडिएला। तर्कसंगत हिसाबले भन्दा उनीहरूले यसअघि उनीहरूका लागि बर्जित सबै गतिविधि र काम गर्लान्। नर्समेडले कोइला खन्याउने काम गर्ली। पसलमा बसेकी महिलाले मशीन चलाउली। महिलालाई अबला ठान्ने चलन भएका बेला अवलोकन गरिएका तथ्यका आधारमा निर्माण भएका सबै मान्यता भत्किएलान्।
त्यसपछि, सबैभन्दा ठूलो कुरा हासिल हुँदोरहेछ। त्यो हो, कुनै वस्तुबारे सोच्ने स्वतन्त्रता। उदाहरणका लागि, कुनै भवनलाई लिऊँ। त्यो भवन मलाई मन पर्यो कि परेन? त्यो चित्र सुन्दर छ कि छैन? त्यो किताब राम्रो छ कि खराब? हो, मेरी आन्टले मलाई छाडेर गएको पैसाले मेरो आँखा उघारिदियो। अनि मिल्टनले मेरा लागि सधैँभरि स्नेह गर्न सिफारिश गरेको भद्रपुरुषको विशाल र भव्य आकृतिको ठाउँ खुला आकाशले लियो।
यस्तै सोच्दै, यस्तै अनुमान गर्दै म नदी छेउको मेरो घरतिर लागेँ। त्यति वेला बत्ती बालिँदै थिए, बिहान र अहिलेको लन्डनमा अवर्णनीय परिवर्तन आएको थियो। ठूलो मशीनले दिनभर परिश्रम गरेर केही यार्ड जमिनलाई रोमाञ्चक र सुन्दर बनाए झैं लाग्थ्यो। बतास घरमा ठक्कर लगाउँदै र होर्डिङ खटखट पार्दै बहेको थियो। बतास झन्डा जसरी झट्कारिए जस्तो देखिन्थ्यो।
मेरो आफ्नो टोलमा घरायसी वातावरण छाएको थियो। घर रंग्याउने मानिस भर्याङ तल झार्दै थियो। नर्समेड बच्चाको गाडीलाई होशियारीपूर्वक भित्रबाहिर गराउँदै थिई। कोइला खन्याउने मानिस कोइला खन्याइसकेर खाली भएका बोरा खात लगाउँदै थियो। हातमा रातो पन्जा लगाएकी तरकारी पसल चलाउने महिला दिनभरको कमाइको पैसा गन्दै थिइन्। म भने तपाईंहरूले मेरा काँधमा राखिदिएको समस्याबारे सोच्न यति तल्लीन थिएँ सधैंभरि देखिरहेका दृश्यलाई पनि म तपाईंहरूले दिएको कुनै एउटा बिन्दुको सन्दर्भ नलिईकन देख्न सक्दैनथेँ।
कोइला खन्याउने मानिसको काम ठूलो कि नर्समेडको। आठ जना बच्चा हुर्काउने नोकर्नी कम महत्त्वकी थिइन् कि लाखौँ पाउन्ड कमाउने बडेबडे वकील कम महत्त्वका थिए? भन्ने जस्ता प्रश्न सोध्नु निरर्थक हो किनभने यसको जबाफ कसैले दिन सक्दैन। कुन बढी जरुरी हो भनी बताउन एक शताब्दीअघि भन्दा अहिले कति कठिन होला भन्ने सोचेँ। नोकर्नी र वकीलको मूल्य हरेक वर्ष तलमाथि हुने गर्छ। तर, त्यस्तो मूल्य नाप्ने मापदण्ड अहिले पनि हामीसँग छैन।
महिला सम्बन्धमा गरिएका यो वा त्यो तर्कका ‘निर्विवाद प्रमाण’ देऊ भनेर प्रोफेसरलाई भन्नु मेरो मूर्खता हो। यीमध्ये कुनै पनि कुराको यतिवेलाको मूल्य कसैले बताउन सक्यो भने पनि त्यो मूल्य सधैँभरि एकैनास भइरहँदैन। त्यस्तो मूल्य फेरिइहाल्छ, एक शताब्दीमा त्यस्तो मूल्य पूरै बदलिने पनि हुनसक्ला। अझ अर्काे कुरा, मेरो घरको सँघारमा पुग्दा मैले सोचेँ, अबको एक सय वर्षमा त महिलालाई अबला ठान्न छाडिएला। तर्कसंगत हिसाबले भन्दा उनीहरूले यसअघि उनीहरूका लागि बर्जित सबै गतिविधि र काम गर्लान्। नर्समेडले कोइला खन्याउने काम गर्ली। पसलमा बसेकी महिलाले मशीन चलाउली। महिलालाई अबला ठान्ने चलन भएका वेला अवलोकन गरिएका तथ्यका आधारमा निर्माण भएका सबै मान्यता भत्किएलान्।
उदाहरणका लागि, (तल सडकमा सिपाही दौडिए) महिला र पादरी अनि बगैँचे अरू मानिसभन्दा बढी उमेर बाँच्लान्। महिलालाई अबला भन्न छाडियो भने र उनीहरूलाई अरूले जस्तै तनावपूर्ण गतिविधिमा लगाइयो भने, उनीहरूलाई सिपाही अथवा नाविक अथवा इन्जिनको ड्राइभर अथवा बन्दरगाहका श्रमिक बनाइयो भने महिला पनि अहिलेभन्दा कम उमेरमै नमर्लान् त? त्यतिवेला पुरुषले अलि अघि मानिसले ‘मैले हवाईजहाज देखेँ’ भनेर भने झैं ‘मैले आज महिला देखेँ’ नभन्लान् र? नारीलाई अबला सम्झन छाडेका दिन जे पनि हुनसक्छ, ढोका खोल्दै गर्दा मैले सोचेँ। तर, यी कुरा र मलाई तयार गर्न लगाइएको ‘महिला र आख्यान’ विषयक कार्यपत्रका बीचमा के सम्बन्ध छ र? भित्र पस्दै गर्दा मैले फेरि आफैंलाई सोधें।
पाद टिप्पणी:
(१) "पुरुषलाई के थाहा छ भने महिला उनीहरूभन्दा अब्बल दर्जाका हुन्छन् । त्यसैले उनीहरू सबैभन्दा कमजोर र सबैभन्दा अज्ञानीलाई छान्ने गर्छन् । पुरुषले त्यस्तो नसोच्ने भए महिलाले आफू जति नै जान्लिन् भनेर उनीहरू डराउनै पर्दैनथ्यो ।” ...सेक्सप्रति न्याय गर्न, यो कुरा स्वीकार गर्नुपर्छ । त्यसपछिको कुराकानीमा उनले मलाई आफू आफूले भनेको कुराप्रति गम्भीर रहेको बताएका थिए’ बोसवेल, द जर्नल अफ अ टुर टु द हिब्राइड्स ।
(२) प्राचीन कालमा जर्मनहरूले महिला पवित्र भएको विश्वास गर्थे र जोखाना हेराउने गर्थे, फ्रेजर, गोल्डेन बाउ ।
(नेपाली अनुवादको सर्वाधिकारः मोहन मैनाली)