बहुमूल्य पर्वतराज कञ्चनजंघा
२०४२ सालतिर नेपालका कलेजमा इतिहासको पाठ्यक्रममा 'योङहस्बेन्ड मिसन' बारे पढ्नुपर्थ्यो। खासमा यो मिसन नभएर तिब्बतमाथि बेलायतीहरूको आक्रमण थियो, जसको नेतृत्व सर फ्रान्सिस एडवार्ड योङहस्बेन्ड (सन् १८६३ - १९४२) ले गरेका थिए। त्यो आक्रमणको फलस्वरूप अंग्रेजले तिब्बतका शासक दलाइ लामालाई अंग्रेज सामु घुँडा टेक्न र आफू अनुकूलको वाणिज्य सन्धि गर्न बाध्य पार्यो। योङहस्बेन्ड सैनिक मात्र होइन, अन्वेषक पनि थिए। उनले उत्तर भारत र तिब्बतलगायतका ठाउँको अन्वेषण गरेका थिए। यी सबैभन्दा महत्त्वपूर्ण कुरा उनी लेखक थिए। उनले 'द हार्ट अफ नेचर, अर द क्वेस्ट फर नेचरल ब्युटी' (सन् १९२१) सहित धेरै किताब लेखेका थिए। उनको तारिफयोग्य लेखनको स्वाद यस निबन्धमा पनि पाइन्छ। - अनुवादक।
हामी अहिले वन्यजीवनलाई जति ध्यान दिनुपर्ने हो त्यति दिन पाउँदैनौं, किनभने हामीले हेर्न चाहेको सबैभन्दा महत्त्वपूर्ण कुरा यो बाहिरी डाँडाभन्दा धेरै पर उभिएको हिमाल हो। उष्णप्रदेशीय जंगल त संसारका अरू धेरै ठाउँमा पनि देख्न पाइहालिन्छ। हिमाललाई यति भव्य रूपमा देख्न पाइने ठाउँ पृथ्वीतलभरिमा यही एउटा मात्र हो। त्यसैले हामी रोकिँदैनौं, डाँडा पार गर्छाैं र मैदानभन्दा टाढा, हिमालयको मुख्य शृंखलाको पाटोको उत्तर फर्किएको भिरालोमा, पर्वतको काँधमा पुग्छौं।
दार्जीलिङ यही ठाउँमा अवस्थित छ, जसलाई विश्वभरका मानिसले तीर्थयात्रा गर्ने पवित्र स्थलका रूपमा आरक्षण गर्नुपर्छ। अंगुरका जस्ता लहरा र फूल फुल्ने कुरिलोले जेलिएर, उन्यु र सुनाखरीले ढाकिएर अनि प्याजी फूल, चुत्रो र हाँस फूलजस्ता अनेक वनस्पति फेदमा उमारेर हिमाच्छादित शृंखलाको सामुन्ने ठिंग उभिएका फलाँट, असना (लौरेल), चाँप र क्यामेलियाको अति घना जंगलका बीचमा रहेको यो ठाउँ (संसारका अरू थोरै ठाउँजस्तै) प्राकृतिक सुन्दरताको भव्यतम स्वरूपको आनन्द उठाउनका लागि उपयुक्त छ।
यसको एउटै नराम्रो पक्ष के हो भने यसलाई सधैंभरि हुस्सुले ढाकेको हुन्छ। दार्जीलिङ जुन पर्वत शृंखलामा बसेको छ त्यो बंगालको खाडीबाट पानीका कण बोकेर आएको हावा ठोकिने पहिलो पर्वत शृंखला भएकाले यहाँ पानी धेरै पर्छ। यहाँ एक वर्षमा १४० देखि १६० इन्चसम्म वर्षा हुन्छ। पानी नपरेका वेला पनि हिमाललाई बाक्लो बादलले ढाकेको हुन्छ। त्यसैले यात्रीले हिमाल देख्न पाउँछ नै भन्ने छैन। पहाडको टुप्पामा पुग्दा अथवा कुइनेटोमा पुग्दा उसले पूर्ण वैभवमा चम्किइरहेको कञ्चनजंघा देख्न पाउला भनी यकिनसाथ भन्न सकिँँदैन।
ग्यालरी प्रवेश गर्ने मानिस जसरी चित्र देख्न पाउँछु भनेर ढुक्क हुन्छ, कञ्चनजंघा हेर्न गएको मानिस त्यसरी ढुक्क हुन पाउँदैन। कात्तिकको आधाउधिदेखि मंसीरको आधाउधिको एक महीनामा मात्र कञ्चनजंघा देख्न पाइएला भनी अलि बढी यकिन गर्न सकिन्छ। बाँकी ११ महिनामा मौका परेमा मात्र कञ्चनजंघा देख्न पाइन्छ। हिमाल कृपापूर्वक आफ्नो घुम्टो खोलिदिन प्रसन्न नभएसम्म मानिसले आफ्नो आत्मालाई धैर्यधारण गर्न लगाउनुपर्छ।
उष्णप्रदेशीय जंगल त संसारका अरू धेरै ठाउँमा पनि देख्न पाइहालिन्छ। हिमाललाई यति भव्य रूपमा देख्न पाइने ठाउँ पृथ्वीतलभरिमा यही एउटा मात्र हो। यसको मध्य भागका होचा पर्वत शृंखला यहाँको सर्वाेच्च चुचुरो कञ्चनजंघातिर अभिमुख भएको हामी देख्छौं।
कञ्चनजंघा देखिएला कि नदेखिएला भन्ने यकिन नभएर होला यो जतिवेला देखिन्छ त्यतिवेला अझ बढी भव्य हुन्छ। यसको एक झलक हेर्नका लागि पनि यात्री घण्टौं र दिनहुँ पर्खन्छ। कञ्चनजंघा एक मिनेट मात्र देख्न पाउँदा पनि ऊ सन्तुष्ट हुन्छ। अहिलेसम्म त ऊनका लहर जस्ता बादल घुमिरहेका छन् कञ्चनजंघालाई गम्लङ्ग ढाकेर। पर्वतभन्दा ६ हजार फिट तल रंगिट नदीको सेतो रेखा र नदीपारि जंगलले ढाकेका डाँडा आक्कलझुक्कल देखिन्छन्। यात्रीका वरपर रूखका पातबाट पानीका थोपा चुहिइरहेका छन्। जंगलका सबै पात ताजाभन्दा ताजा हरियालीले चम्किएका छन्।
रूखका डालाबाट झ्याउका लामालामा लहरा झुन्डिएका छन्। रूख र हाँगामा कोमलतम उन्यु र सुन्दरतम सुनाखरी हुर्किएका छन्। यहाँ जता हेरे पनि सुन्दरता नै सुन्दरता छ। तर, यात्रीले हेर्न चाहेका कुुरा यी होइनन्, कञ्चनजंघा हिमाल हो। बादलका लहर अझै पनि भेला हुँदै छरिँदै गर्दै छन्। तिनले रोशनी प्रवाहित गरिरहेका छन्। हामीलाई लोभ्याइरहेका छन्। ती एक छिनमा हराउँदै, भेला हुँदै गर्दै छन्। तिनले यात्री र कञ्चनजंघाका बीचमा हरदम पर्दा हालिरहेका छन्।
त्यसपछि, पर्दा अचानक अलिकति खुल्छ। हुस्सु कति वेला हट्छ अथवा हुस्सु हटेका वेला कस्तो दृश्य देख्न पाइन्छ भन्ने कुराको अलिकति पनि छनक नदिईकन, अत्यन्तै नरम हुस्सु फाट्छ। यात्रीलाई यहाँबाट देखिने दृश्य हेर्नुपर्छ भन्ने लाग्छ। उसले आँखा च्यातेर हेर्छ, तर केही पनि देख्दैन। अझ माथि हेर्न उसले टाउको तन्काउँछ। हो, उसले देख्छ। देख्नेबित्तिकै ऊ चकित पर्छ।
एकैछिनका लागि उसले आफूलाई बिर्सन्छ। लगत्तै उसको होस खुशीको उत्तेजनाका रूपमा फर्कन्छ। कञ्चनजंघाबारे उसले पहिले नै धेरै कुरा सुनेको हुनसक्छ। कञ्चनजंघालाई यसअघि नै देखिसकेको भए उसले धेरै कुरा सम्झन्छ। तर, न त आशा न त सम्झना वास्तविकतामा परिणत हुन्छन्। यो क्षणपछि, तत्पश्चात् र सदाका लागि, उसको सम्पूर्ण जीवन माथिल्लो तहमा उक्लन्छ।
यहाँ रात पर्दा निराशा र अँध्यारोपनको आभास हुँदैन, मृत्युको डर लाग्ने त कुरै आउँदैन। यसको उल्टो, अहिले यस्तो लाग्छ, हामीले हाम्रो अत्यन्त तेज र बृहत् भविष्यको शुरूआत मात्र गरेका छौं।
ऊनीको पर्दामा परेको प्वालबाट हेर्दा गाढा नीलो अकाशको पृष्ठभूमिमा हिउँले ढाकिएको कञ्चनजंघाको चुचरो अनि कञ्चनजंघा र अलौकिक आत्मालाई भेटौंला झैं गरेर अकाशिएका अरू होचा चुचुरा देखिए। घामको प्रकाशमा ती सबै सेता र निर्मल, तर नीलो, हल्का बैजनी र हल्का गुलाबी रङको कोमलतम छायामा पोतिएका थिए। यो रङ, न्यानो र प्रकाशको दृश्य थियो— सुन्दरता, प्रेम र सत्यको स्वर्ग।
तर, हामीलाई वास्तवमै रोमाञ्चित बनाउने क्षण त्यतिवेला आउँछ जतिवेला यो तथ्य हामीले सम्झन्छौं– पत्यार नलाग्दो गरी अग्लो भए पनि यो स्वर्ग पृथ्वीकै एउटा अंश हो र त्यहाँ मान्छे पुग्न सक्छन् भन्ने अड्कल काट्न सकिन्छ (यो निबन्ध भएको किताब 'द हार्ट अफ नेचर, अर द क्वेस्ट फर नेचरल ब्युटी' छापिएको ३३ वर्षसम्म कोही पनि मानिस कञ्चनजंघाको चुचुरोमा पुगेका थिएनन्ः अनुवादक)। यो मो ब्लाँभन्दा दुई गुणा र बेन नेभिसभन्दा ६ गुणाभन्दा बढी अग्लो छ, तर यसको जरा पृथ्वीमा गाडिएको छ र यो हाम्रो धरतीको एउटा भाग हो। यस कुराले हामीभित्र हलचल पैदा गर्छ।
यसको निर्मलता र स्वच्छता यसको उचाइभन्दा कम चामत्कारिक छैन। रङको हल्का आभा र देदीप्यमान सूर्यको प्रकाशले हामीले अनुभव गर्नसक्ने चिसोपना भगाइदिन्छ, तर यसको पवित्रता भने अझै पनि कायमै रहन्छ। हामीले जुन लहरे बादलका चेपबाट यो दृश्य देख्छौं त्यसको अन्त्यहीन हिँडाइले हिमालको निस्तब्धतामा गुरुत्व थप्छ। आश्चर्यजनक उचाइ सफलतापूर्वक हासिल गरेपछिको विश्राम र निश्चलता कञ्चनजंघामा भेटिन्छ।
यो हिमाल देख्दा हामीले विधिविधानसम्मत ढंगले महानता हासिल गरेको मनोभाव उत्पन्न हुन्छ। हामी अझ माथि उठ्छौं। हाम्रो अस्तित्व माथि उठ्छ। जीवनप्रतिको हाम्रो दृष्टिकोण अचानक अग्लिए जस्तो लाग्छ। हामीमा माथि उठेको भाव पलाउने मात्र होइन, हामी पवित्र पनि हुन्छौं। त्यो उज्ज्वल निर्मलता देख्दा हामीमा भएको दरिद्रता, संकीर्णता र बेकम्मापन शर्माएर भाग्छन्।
यो हिमाल देख्दा हामीले विधिविधानसम्मत ढंगले महानता हासिल गरेको मनोभाव उत्पन्न हुन्छ। हामी अझ माथि उठ्छौं। हाम्रो अस्तित्व माथि उठ्छ। जीवनप्रतिको हाम्रो दृष्टिकोण अचानक अग्लिए जस्तो लाग्छ।
हिमालले हामीभित्र रहेको सबैभन्दा पवित्र र सबैभन्दा उत्कृष्ट तत्त्वलाई आह्वान गर्छ, जगाउँछ र हाम्रो उच्चतम अभिलाषालाई जागृत गराउँछ। त्यसले गर्दा हाम्रो हृदय प्रेमपूर्वक हिमालतिर तानिन्छ। यसलाई बारम्बार हेर्न हामी लालायित हुन्छौं। हामी यसका लागि उपयुक्त मनोभाव सिर्जना गर्न सधैं लालायित हुन्छौं। अनि हामी हाम्रो आत्मालाई यसरी तन्दुरुस्त बनाउन लालायित हुन्छौं जसले गर्दा हामी यस हिमालको अझै बढी पूर्ण रूपमा तारिफ गर्न सक्छौं।
यस हिमालको हृदयमा अविचलित अभिलाषाको पवित्र ज्वाला ज्वलन्त भइरहेको छ र यसले हाम्रो हृदयमा पनि यस्तै देदीप्यमान केही कुरा रोपिदिन्छ जुन हाम्रो बाँकी जीवनभर बलिरहन्छ, कहिल्यै ननिभीकन। हामी आफ्नो शारीरिक आवरणमा उच्चतम सिद्धि प्राप्त भएको देख्छौं, यसले हामीलाई मानसिक सिद्धि हासिल गर्न उद्विग्न बनाउँछ। हामी र यस हिमालका बीचमा उच्च फल हासिल गर्नका लागि साझा प्रयास गर्ने दुई जना बीचको नाता कायम हुन्छ। र, यही नाताले गर्दा हामी यस हिमालमा यस्तो शानदार सुन्दरता देख्न सक्षम हुन्छौं।
यो स्वर्गीय दृश्य हेर्ने स्वीकृति हामीलाई केही मिनेटका लागि मात्र मिल्छ। तत्पश्चात्, फेरि पर्दा लाग्छ। तर, त्यो स्वर्गीय दृश्य हेर्न पाएका केही मिनेटमा हामीमा यस्तो गहिरो प्रभाव पर्छ जुन सोझै हाम्रो आत्माको गहिराइमा पुग्छ र त्यहाँ हामी बाँचुन्जेल बसिरहन्छ।
***
हिमालय शृंखलाको मध्य भागको वरको क्षितिजदेखि परको क्षितिजसम्मका हिमाल हाम्रा सामु पूर्णतः शोभायमान भएर प्रदर्शित हुन्छन्, कहीँकतै हिमालको एउटा सानो अंशलाई पनि बादलले ढाकेको हुँदैन।
कुनै वेलामा हिमाल मानिससामु देखिन त्यति संकोच मान्दैन, शोभायमान भएर आफूलाई दिनभर देखाइरहन्छ। हिमालय शृंखलाको मध्य भागको वरको क्षितिजदेखि परको क्षितिजसम्मका हिमाल हाम्रा सामु पूर्णतः शोभायमान भएर प्रदर्शित हुन्छन्, कहीँकतै हिमालको एउटा सानो अंशलाई पनि बादलले ढाकेको हुँदैन। होचा हिमशृंखलाका तरेली एकपछि अर्काे गरेर माथि उठेका छन्, अकाशिएका चुचुराका लामलाई छुन उच्च, अझ उच्च प्रयास स्वरूप।
यसको मध्य भागका होचा पर्वत शृंखला यहाँको सर्वाेच्च चुचुरो कञ्चनजंघातिर अभिमुख भएको हामी देख्छौं। यो सूर्यका शानदार प्रकाशमा बहुतै चम्किएको हुन्छ र बैजनी–नीलो स्वच्छ वातावरणले लुथ्रुक्क भएर भिजेको हुन्छ जसले यहाँको समग्र वातावरणलाई अप्सराको जस्तो अलौकिक स्वरूपमा ढालेको हुन्छ।
यस्ता वेलामा हामीले हिमाललाई झल्याकझुलक मात्र हेरेर चित्त बुझाउनु पर्दैन। यसलाई ध्यानपूर्वक हेर्न हामीसँग प्रशस्त समय हुन्छ। यसलाई हेर्न, अति गहन मनोभावमा डुबेको हाम्रो आत्मालाई विश्राम दिन हिमालबाट ध्यान अन्यत्र मोड्न, यसलाई फेरि हेर्न, हामी यसको आत्मामा प्रवेश नगरेसम्म र यो हाम्रो आत्मामा प्रवेश नगरेसम्म घरीघरी यो क्रम दोहोर्याउन हामीले प्रशस्त समय पाउँछौं। हाम्रा आँखा सधैं लठ्ठ परेर घरीघरी कञ्चनजंघाको गगनचुम्बी चुचुरामा टाँसिन्छन्।
हामीले यस चुचुराको अग्रभागमा रहेको घना वन, हामीभन्दा तल रहेका गहिरा खोँच, हरियालीले ढाकिएको पहाडी शृंखला र अग्ला चुचुराको बलियो भित्तो देख्छौं। तर, हाम्रा आँखा ती ठाउँमा अडिँदैनन्। हाम्रा आँखा अचेतन अवस्थामै माथि उठ्छन् र यी ठाउँभन्दा माथि चुचुरातिर जान्छन्। कञ्चनजंघाका दायाँबायाँका अरू चुचुरामा पनि हाम्रो दृष्टि धेरै बेर अडिँदैन।
कञ्चनजंघाका दायाँबायाँका चुचुरा पनि २४ हजार फिटभन्दा अग्ला छन्, तर ती यहाँका सर्वाेच्च शिखर होइनन्। त्यसैले हाम्रा आँखा यी विलक्षण —एक्कासि उठेका, होचाअग्ला र मोहक— चुचुरालाई पार गर्छन् र सबैभन्दा अग्लो चुचुराको खोजीमा लाग्छन्। कञ्चनजंघा बहुमूल्य पर्वतराज हो। यो सजिलै भत्काउन सकिने, सियोको टुप्पो जस्तो सानो चुच्चो होइन। यो विशाल, भीमकाय र विस्तीर्ण मुद्राको, स्थूल र सुदृढ चुचुरो हो। यति हुँदाहुँदै पनि यो स्पष्ट र निर्दिष्ट बिन्दुमा अकाशिएको पनि छ। विशालता र उचाइमा यो आफू वरिपरिका चुचुरामध्ये सबैभन्दा विशिष्ट छ भन्नेमा द्विविधा छैन।
जब हिमालको पूर्ण रूप देखिन्छ हामीलाई यसले चौडाइ र विशालताका साथै उचाइको अनुभूति पनि दिन्छ। हाम्रो जीवनका सबै दिशाका आयाम ठूला भए जस्तो लाग्छ। हामी कुनै पनि कुरालाई बृहत्तर, विशालतर र उच्चतर दृष्टिकोणले हेर्न सफल भए जस्तो लाग्छ।
यो लामो शृंखला एकदमै अग्लो र अनन्त हिउँबाट अथाह मात्रामा आच्छादित भए पनि त्यहाँको हिउँको कौतुकमय दृश्यले हामीलाई जाडोमा कठिंग्य्राउँदैन। किनभने हामी इटली र ग्रीसभन्दा दक्षिणी र कायरोभन्दा अझ दक्षिणी अक्षांशमा उभिएका छौं। सम्पूर्ण दृश्य न्यानो र दीप्तिमान सूर्यप्रकाशबाट नुहाइएको छ। हिउँ चम्किलो शुभ्र छ, तर यो शुभ्रताले हामीलाई जाडोमा चोबल्दैन किनभने यो नीलो र हल्का गुलाबी रङको कोमलतम आभाले मुलायम ढंगले रंगिएको छ।
साँच्चै भन्ने हो भने त्यो विशुद्ध सेतो छैन, त्यसमा गुलाब, बैजनी र नीर फूलको एकदमै हल्का सम्मिश्रण भएको छ। टाढाको हिमाललाई हामीले यस्तो वायुमण्डलीय पर्दा वारिबाट हेर्छाैं जुन पर्दामा आफूले छेकेका वस्तुको वास्तविक स्वरूप ढाक्ने होइन, देखाउने गुण रहेको हुन्छ। यसले तिनलाई वास्तविक स्वरूप, आध्यात्मिक स्वरूपमा देखाउँछ।
हरेक देशको आफ्नैै खालको वायुमण्डल हुन्छ। आल्प्स्को आफ्नै नीलोपन हुन्छ, इटलीको आफ्नैै नीलोपन अनि कश्मिरको आफ्नैै नीलोपन। हावामा अत्यधिक पानीका कण भएकाले हो कि जस्तो लाग्छ, सिक्किम हिमालयको नीलोपन आफ्नैै विशेष गुणको छ। मलाई के लाग्छ भने यहाँको वायुमण्डलमा ती अरू देशका वायुमण्डलमा भन्दा बढी रङ–चम्किलो, नीलोभन्दा नीलो र बैजनीभन्दा बैजनी रङ– पाइन्छ। यसले गर्दा र सूर्यको अति प्रकाशले गर्दा हिउँमा पनि अझ बढी सन्तोषदायक न्यानोपन रहेको छ।
यहाँ हिमालको सुन्दरता मात्र होइन, रङको उत्कृष्ट मनमोहकता पनि छ। हिमालको ठ्याक्कै अग्रभाग हरियो, ताजा र चम्किलो छ। त्यसमा सबै रङ हल्का चढेका छन्। यिनको सम्मिश्रणले यो हिमाल बोकेर बसेको पर्वत शृंखलालाई गाढा प्याजी र बैजनी बनाएको छ। यी सबै मिलेर हिउँको सबैभन्दा कोमल आभाको रङ निर्धारण गर्छन्, जुन समय अनुसार फरक फरक हुन्छ। बिहान र बेलुका यो स्पष्ट रूपमा गुलाबी हुन्छ भने दिनभर हल्का नीलो अथवा बैजनी हुन्छ।
समस्त रूपमा यसको पृष्ठभूमिमा प्रचण्ड नीलो रङको आकाश देखिन्छ। यी रङको भव्यतालाई शब्दमा वर्णन गर्न असम्भव छ किनभने बैजनी, गुलाब र नीर फूलमा पनि त्यस्तो कोमलता पाइँदैन जुन कोमलता यहाँको वायुमण्डलको रङले बोकेको छ। निश्चय नै कुनै कलाकारले पनि यस्तो रङ उतार्न सक्दैन। यसको सरल कारण के हो भने कलाकारका रङ र क्यानभास अति नै खस्रा माध्यम हुन्, यिनमा पातलो हावाले बनाए जस्तो नरम माध्यममा प्रकाशको दीप्तिले बनाए झैं चित्र बनाउन सम्भव हुँदैन।
महान् रसियन चित्रकार भेरेस्शागिन् कुनै वेला दार्जीलिङ आएर यो दृश्य उतार्न आसन जमाएर बसेका थिए। उनले यो दृश्य हेरी मात्र राखे, हेरी मात्र राखे, चित्र बनाएनन्। उनकी जहानले उनलाई ब्रस र रङ दिएको दियै गरिरहिन्। तर, उनले बारम्बार भनिरहे, ‘अहिले होइन, अहिले होइन, अहिले दृश्य अति नै भव्य छ।’ रात पर्यो, यो दृश्य चित्रमा उतारिएन। र, कहिल्यै पनि उतारिँदैन, यद्यपि महान् चित्रकारले निश्चय नै पनि आफ्नो चित्रमा त्यो कोमल सुन्दरताको कम्तीमा पनि संकेत गर्न सक्छन् जुन आँखाले देख्न सकिन्छ, त्यो मनोभावको संकेत दिन सक्छन् जुन मनोभाव हामीमा ती दृश्य देख्दा उत्पन्न हुन्छ।
***
यो बृहत्तर श्रेणीमा रहेका वेला हामीलाई के कुरा ज्ञात हुन्छ भने संसारका सबै कुरा माथितिर उठिरहेका हुन्छन् र शानदार तर अरूभन्दा अलग निश्चित शिखरतिर अभिमुख भइरहेका हुन्छन्।
दार्जीलिङबाट देखिने हिउँ भव्य छ र यसमा मानिसलाई झन्डै झन्डै अभिभूत पार्ने शक्ति छ, तैपनि यसमा न्यानोपन पनि छ। यसबाट हामीमा पर्ने मुख्य प्रभाव यसको गुरुत्व र विपुलताको हो, यसको विस्तीर्णता र विशालताको हो, र निर्मल आत्मसंयमको साथ हो। बादलको पर्दाबाट देखिएको हिमालको पहिलो दृश्य बढी प्रेरणादायी हुँदो हो, यद्यपि यस दृश्यले हामीमा उचाइमा पुगेको अनुभूति पनि दिन्छ किनभने हाम्रा आँखा लगातार यसको सर्वाेच्च बिन्दुतिर तानिइरहन्छन्।
तर, जब हिमालको पूर्ण रूप देखिन्छ हामीलाई यसले चौडाइ र विशालताका साथै उचाइको अनुभूति पनि दिन्छ। हाम्रो जीवनका सबै दिशाका आयाम ठूला भए जस्तो लाग्छ। हामी कुनै पनि कुरालाई बृहत्तर, विशालतर र उच्चतर दृष्टिकोणले हेर्न सफल भए जस्तो लाग्छ। हामी आफू अनि समग्र संसार हामीले अहिलेसम्म सोचेको भन्दा माथिल्लो श्रेणीमा पुग्छौं।
यो बृहत्तर श्रेणीमा रहेका वेला हामीलाई के कुरा ज्ञात हुन्छ भने संसारका सबै कुरा माथितिर उठिरहेका हुन्छन् र शानदार तर अरूभन्दा अलग निश्चित शिखरतिर अभिमुख भइरहेका हुन्छन्। त्यो दृश्य देख्दा हामीलाई के कुरा पनि ज्ञात हुन्छ भने त्यो विशालता, त्यो विस्तीर्णता र त्यो उचाइमा उच्चतम कोमलता हुन्छ। यो यस्तो स्वाद हो जसको हामीले यसअघि कहिल्यै कल्पना गरेका हुँदैनौं।
अनि जसले आफूलाई चिनेको हुन्छ, अति महान् हिमालका तुलनामा मानिसको सूक्ष्मता थाहा पाएको हुन्छ उसमाथि यस्तो अनुभूति लादिएको हुँदैन। ऊ हिमालबाट आतंकित र वशीभूत हुँदैन। उसको आत्मामा हिमालप्रति सबैभन्दा बढी प्यार जाग्छ किनभने हिमालले उसको आत्मामा महानता जगाइदिएको हुन्छ, त्यसलाई विशुद्ध बनाएको हुन्छ। अनि केही समयका लागि मात्र भए पनि उसमा भएका फोहोरमैला र निन्दनीयतालाई पखालिदिएको हुन्छ।
यसका लागि उसले हिमाललाई माया गर्छ। हिमालका तुलनामा आफूलाई गँड्यौला जस्तो ठानेर ऊ शर्मिन्दा महसूस गरिहिँड्दैन। ऊ र हिमालका बीचमा न्यानो नाता कायम भएको हुन्छ। हिमालको आत्मामा के छ भन्ने कुरा उसले थाहा पाउँछ। जे कुरा जागृत हुँदा ऊ प्रसन्न हुन्छ त्यो कुरा हिमालले उसको आत्मामा जगाइदिएको हुन्छ। हिमाल नदेखेको भए उसका लागि यो कल्पनाबाहिरको कुरा हुन सक्थ्यो। त्यसैले ऊ तिनको सुन्दरता देखेर हर्कबढाइँ गर्छ।
***
अरुणोदयमा हामी कञ्चनजंघाको अर्कै स्वरूप देख्न सक्छौँ। रात अझै बाँकी नै हुन्छ, ताराले प्रकाश फिँजाएको रात। छाया जस्तो मात्र देखिने हिमशृंखला र अप्सरा स्वरूपका पर्वत ताराहरूले निकालेको हल्का पहेँलो प्रकाशमा नुहाइरहेका हुन्छन्। तल नदीका खोँच अन्धकारभन्दा अन्धकारमयी बैजनी रङमुनि छोपिएका हुन्छन्। हिमालमाथिको आकाश गाढा पारदर्शी नीलगगनको मैदानमा सजाइएका चम्किला मणिका साथमा जगमगाइरहेको हुन्छ। रातको सन्नाटा चाँडै अन्त्य हुन लागेको छ, यो त्यस्तो सन्नाटा हो जसले महान् र भव्य महोत्सव हुन लागेको सूचना दिन्छ।
घामको पूर्ण प्रकाश लागेका वेला अर्थात् दिउँसो हिमाल हेर्ने सबैभन्दा उपयुक्त समय होइन। सन्ध्या हिमाल हेर्ने सबैभन्दा उपयुक्त समय हो। दार्जीलिङबाट अलि पर, सुनसान जंगली पाखामा गयौं भने हामीले जीवनमा विरलै भोग्न पाइने चरम सुख भोग्न पाउँछौं।
त्यसपछि, हामीले महसूस गर्नुभन्दा पहिल्यै, सर्वाेच्च चुचुराको पूर्वी मोहडाको भिरालोमा गुलाब र स्वर्णमिश्रित किरण खस्छ। त्यो भाग रातको निस्पट्ट अँध्यारोले निलेको पृथ्वीभन्दा माथि अवस्थित स्वर्गको टुक्रा झैं प्रज्ज्वलित हुन्छ। त्यसको सोझो तल, अझ तल तलसम्म यो लालिमा बिस्तारै फैलँदै जान्छ। आकाशको नीलोपना बिस्तारै यसको रङमा उज्यालिन्छ। ताराको उज्यालोले फैलाएको फिक्का पहेँलो रङ अरुणोदयको स्वर्ण रङमा मिसिन्छ।
नदीका खोँचमा कोमलतम नरमपना भएका हुस्सुका लहरा बिस्तारै उठ्छन् र डाँडासम्म उठेर तैरन्छन्। कीराहरूको गुनगुनाहट, चराको चिरिङबिरिङ र मानिसका आवाजले रातको सन्नाटा भंग गर्न लागेका छन्। हिउँ कोमल गुलाबी रङको हुनपुग्छ, पहाडमा बैजनी रङको बाढी बहन्छ, आकाश गाढा नीलो बन्छ र अन्त्यमा सूर्य हिमालमाथि झुल्किन्छ र दिनको व्यग्र जीवन एक पटक फेरि स्पन्दित हुन्छ।
घामको पूर्ण प्रकाश लागेका वेला अर्थात् दिउँसो हिमाल हेर्ने सबैभन्दा उपयुक्त समय होइन। सन्ध्या हिमाल हेर्ने सबैभन्दा उपयुक्त समय हो। दार्जीलिङबाट अलि पर, सुनसान जंगली पाखामा गयौं भने हामीले जीवनमा विरलै भोग्न पाइने चरम सुख भोग्न पाउँछौं। पाखाको पल्लो छेउमा जंगल अलि पातलिएको छ। यसको भुइँ घाँस, फूल र रंगीचंगी पात भएका बिरुवाले ढपक्क भएको छ। असाध्यै धेरै सुनाखरी र कोमल उन्यु तथा हाँगाबाट झुन्डिएका झ्याउले रूख ढाकेका छन्।
आकर्षक लतालहराले रूखका डाली डालीमा माला बुनेका छन्। हावामा फूलको बास्ना मगमगाइरहेको छ। चम्किला पुतली आवाज ननिकालीकन पखेटा फड्कार्दै यताउता गरिरहेका छन्। वन्यजीवनको नरम ङुरङुराहट जताततै भुनभुनाइरहको छ। अस्ताउन लागेको सूर्यका किरण छड्के परेर लागेका छन्। एकदमै निर्मल हरिया पात र छाया देदीप्यमान प्रकाशमा हरित मणि चम्किए झैं चम्किइरहेका छन्।
शानदार रूखका बीचबाट र तिनीहरूका अत्यन्त बहुमूल्य डालीमुनिबाट हामी हिमाच्छादित हिमालतिर हेर्छाैं। हामी पाखाको पल्लो छेउतिर हेर्छाैं, तल उष्णप्रदेशीय वनस्पतिले ढपक्कै ढाकिएका गहिरा खोँचतिर हेर्छाैं, हिमालको पूर्वी मोहडा अहिले गाढा बैजनी रङले ढाकिएको छ। पश्चिमी मोहडाका भीराला पाखा साँझको सूर्यका किरणले कान्तिमान बनेका छन्।
चम्किलो प्रकाशले त्यहाँका वनस्पतिको पूर्ण समृद्धि झल्काइदिएको छ। तल, धेरै तल फिँज काढेर बगेका नदीका चाँदी जस्ता रेखा देखिन्छन्। त्यहाँबाट आँखा उठाएर माथि हेर्दा एकपछि अर्काे डाँडाका लहर देखिन्छन् जुन अघिल्लो लहरभन्दा अग्लिँदै, अझ अग्लिँदै गएका छन्। तिनमा आफूभन्दा अगाडिको लहरका डाँडामा भन्दा बढी मात्रामा बैजनी छाया परेको छ।
शानदार रूखका बीचबाट र तिनीहरूका अत्यन्त बहुमूल्य डालीमुनिबाट हामी हिमाच्छादित हिमालतिर हेर्छाैं। हामी पाखाको पल्लो छेउतिर हेर्छाैं, तल उष्णप्रदेशीय वनस्पतिले ढपक्कै ढाकिएका गहिरा खोँचतिर हेर्छाैं, हिमालको पूर्वी मोहडा अहिले गाढा बैजनी रङले ढाकिएको छ। पश्चिमी मोहडाका भीराला पाखा साँझको सूर्यका किरणले कान्तिमान बनेका छन्।
तल्लो भेगका पहाड अझै पनि जंगलले ढाकिएका छन्, तर तिनको हरियो रङ अहिले आफू वरिपरिको गाढा बैजनी रङमा गाभिँदै गएको छ। त्यसदेखि माथि र हिउँले ढाकेका ठाउँभन्दा मुनि नांगो चट्टान देखिन्छ। त्यसको वारपार ऊन जस्तो लहरो तेर्साे परेर तैरिइरहेको छ। यहाँ पृथ्वीको सीमा टुंगिएर आकाशको सिमाना शुरू भएजस्तो लाग्छ। हामीले यतिमै चित्त बुझाए हुने हो, तर हाम्रा आँखा अझै मास्तिर तानिन्छन्। बादलभन्दा धेरै माथि, आफ्नो आकृतिले गर्दा अपत्यारिलो ढंगले अग्लिएको, निर्मल, शान्त र अस्ताउँदो सूर्यको गुलाबी प्रकाशले गर्दा लालिमायुक्त, कञ्चनजंघाको हिमाच्छादित शिखर प्रकट हुन्छ। पृष्ठभूमिमा सुस्पष्ट, नीलोभन्दा अति नीलो आकाश छ।
त्यहाँका दृश्यका मुख्य तत्त्व यिनै हुन्। यसको आकर्षण चाहिँ अनवरत, तर थाहा नपाइने किसिमले भइरहेको परिवर्तनको प्रक्रिया हो। सूर्यको प्रकाश बिस्तारै नरम हुन्छ, बैजनी रङ अझ गाढा हुन्छ, हिमालको लालिमा अझ रातिन्छ। हावा मखमल जत्तिकै नरम हुन्छ। रूखका पातसमेत हल्लन छाड्छन्। हिमालमा पवित्र शान्ति छाउँछ र यो शान्ति बिस्तारै तल उपत्यका झर्छ। हिमपर्वत चिसा देखिन छाड्छन्, कडा र रूखा लाग्न छाड्छन्। तिनको पवित्रता सदा झैं कायम रहन्छ। उनीहरूमा अझै पनि प्रेरणादायी शक्ति कायमै छ। तिनीहरूले निस्तब्धता र निश्चतला व्यक्त गरिरहेका छन्। यो आलस्यको असन्तुष्ट शान्ति होइन, उच्च सिद्धि प्राप्तिपछिको विश्रामको अभिव्यक्ति हो।
सूर्य अस्तायो। दुईतिरबाट डाँडाले घेरिएका पहाडमा रात पर्यो। दार्जीलिङका बत्ती अँध्यारोमा चम्किए। तर, कञ्चनजंघामा दीप्ति धेरैपछि सम्म रहिरह्यो। अन्त्यमा, त्यो दीप्ति पनि बिस्तारै हरायो। त्यसपछि रातले आफ्नो मजेत्रो सबैतिर फैलायो। तर, यहाँ रात पर्दा निराशा र अँध्यारोपनको आभास हुँदैन, मृत्युको डर लाग्ने त कुरै आउँदैन। यसको उल्टो, अहिले यस्तो लाग्छ हामीले हाम्रो अत्यन्त तेज र बृहत् भविष्यको शुरूवात मात्र गरेका छौं। दिनको निर्मल अन्त्यमा सामान्य मानिसको कामको धपेडी सकिएको छ।
अथाह र अर्थपूर्ण शान्तिले हाम्रो आत्मालाई थप शान्त बनाएको छ। अति संवेदनशील भएकाले दिउँसोको उज्यालो र भीडम्भीड वातावरणमा बाहिर ननिस्कने हाम्रो अन्तरात्माको जीवनका लागि अहिले सबै अवस्था अनुकूल बनेका छन्। यस पवित्र शान्तिमा, स्वर्ग समानका हिमालमा, अकाशका ताराले पथप्रदर्शन गरेका वेलामा हाम्रो अन्तरात्मा सम्पूर्ण रूपमा बाहिर निस्कन्छ र आफ्नो सबैभन्दा उच्चतम अभिलाषा प्राप्त भएकोमा पूर्ण सन्तुष्ट हुन्छ।
अनुवादः मोहन मैनाली
द हार्ट अफ नेचर, अर द क्वेस्ट फर नेचरल ब्युटी नामक पुस्तकमा यो निबन्ध कञ्चनजंघा शीर्षकमा छापिएको छ।
(अनुवादको सर्वाधिकार: मोहन मैनाली)