सद्भाव दूत: शान्ता चौधरी
कम्लहरी पृष्ठभूमिबाट राजनीतिमा आएकी शान्ता चौधरी जातिय द्वेष होइन समभावले तराई/मधेशको हित हुनेमा दृढ छिन्।
८ भदौ २०७२ मा कैलालीको टीकापुरमा थरूहट संघर्ष समितिको नाममा भएको विरोध प्रदर्शनमा आठ सुरक्षाकर्मी र दुईवर्षे बालकको हत्या भयो। उक्त घटनालाई 'पहाडे भर्सेस मधेशी' को रंग दिएर थप हिंसा भड्काउनेतर्फ केही व्यक्ति र समूह सक्रिय थिए। तर, थारू समुदायमा केही अगुवाले यो घटनाको सहारामा देशभर जातीय हिंसा फैलाउन खोज्ने दुष्प्रयासलाई निस्तेज पारिदिए। तिनैमध्ये एक थिइन्– पूर्व सभासद् शान्ता चौधरी।
टीकापुर घटनालगत्तै सामाजिक सञ्जालमार्फत उनले सुनियोजित रूपमा हिंसा फैलाउन खोजिएको भन्दै हिंसाको डढेलो सल्काउँदा सल्काउनेलाई पनि डढाउने भएकाले त्यसबाट जोगिन अपील गरिन्। फेसबूक र ट्वीटरमा उनले लेखिन्– 'नयाँ संविधानमा आफ्ना माग राख्न सबै स्वतन्त्र छन् र हामी थारू समुदायलाई पनि त्यो अधिकार छ। तर, हिंसा मच्चाउनेबाट सजग रहनुपर्छ।'
शान्ता सामाजिक सञ्जाल र सञ्चारमाध्यममा मात्र सीमित रहिनन्। कैलाली घटनापछि हिंसाविरुद्ध खबरदारी गर्दै सद्भावका लागि गृहजिल्ला दाङको घोराहीमा शान्ति र्याली निकालिन्। समाजलाई जातीय द्वन्द्वबाट रोक्ने र संकटका बेला सत्य बोल्ने साहस देखाउने शान्ताको यो कदमले चौतर्फी प्रशंसा पायो।
नेकपा एमालेको तर्फबाट पहिलो संविधानसभामा समानुपातिक सभासद् बनेकी शान्ता दोस्रो निर्वाचनमा भने पराजित भइन्। तर, उनको काम र कुराको चर्चा सेलाएको छैन। समसामयिक राजनीतिक विषयमा उनले गरेको अर्थपूर्ण टिप्पणी सामाजिक सञ्जालहरूमा अधिक रुचाइएको छ।
संविधान जारी भएलगत्तै शान्ताले 'जनताको संविधान जनताले पढ्न पाउनुपर्छ' भन्ने अभियान चलाइन्। त्यसको तीन महीनापछि मात्रै सरकारले 'जनताको संविधान जनताबीच पुर्याउने' कार्यक्रम सञ्चालन गर्यो। भारतको नाकाबन्दीविरुद्ध सडकमा उत्रने कतिपय युवाको प्रेरणास्रोत उनै शान्ता थिइन्। नाकाबन्दीविरुद्ध उनको अभियानले राष्ट्रव्यापी माहोल बनाउन सहयोग गर्यो।
पहिलो संविधानसभा अवधिको व्यवस्थापिका–संसद्मा प्राकृतिक स्रोत साधन समितिको सभापतिको हैसियतले ढुंगा, गिट्टी र बालुवा भारत निकासी रोक्न शान्ताले दिएको निर्देशनले राष्ट्रिय रूपमै हलचल ल्यायो। समितिको निर्देशनपछि व्यवसायी आन्दोलनमा ओर्लिए पनि उनी आफ्नो निर्णयमा टसमस भइनन्। त्यसयता नदीजन्य वस्तुको भारत निकासी रोकिएको छ।
कम्लहरी पृष्ठभूमिकी शान्ताको स्कूल भर्ना र क्यान्सरको उपचारबाट बचेको रकम सरकारलाई नै फिर्ता गर्ने कदमका लागि चानचुने हिम्मतले पुग्दैन। यस्ता गतिविधिले उनलाई सामान्य राजनीतिज्ञबाट माथि उठाएको छ। “शान्ताजीको संघर्ष, सेवाप्रतिको समर्पण र सद्भावको सन्देश उदाहरणीय छ, उहाँबाट सबैले सिक्नुपर्छ”, शान्तासँगै संसद्को प्राकृतिक स्रोतसाधन समितिमा काम गरेका पूर्व सांसद् नेत्र पन्थी भन्छन्।
मुकेश पोखरेल
सन्तुलनका पर्याय: विपिन अधिकारी
स्वतन्त्रताका सारथि: राधेश्याम अधिकारी
समाजका पूँजी: चैतन्य मिश्र
लोकतन्त्र खातिर: शम्भु थापा
बेथितिका शल्यचिकित्सक: रामेश
संकटका स्वर: केदारभक्त माथेमा
अद्भुत अन्तर्राष्ट्रिय नागरिकः कुलचन्द्र गौतम
बेलाको बोली: प्रत्यूष वन्त
सीमाञ्चलका सेतु: चन्द्रकिशोर
सुशासनका योद्धा: जीवन क्षेत्री
आमवृत्तका अभि
विकास विचारक: सूर्यराज आचार्य
विधिका वाहक: नीलाम्बर आचार्य
बहुआयामिक बौद्धिक: पीताम्बर शर्मा
हाम्रा बौद्धिक