सगरमाथा आरोहणका सात दशक
७० वर्षअघि पहिलो पटक मानव पाइला परेको सर्वोच्च शिखर अहिले आरोहीको थेगिनसक्नु भीड, सस्ता कीर्तिमानको होडबाजी र मानवीय अतिक्रमणले अस्तित्वकै जोखिममा छ।
सर्वोच्च शिखर सगरमाथाको पहिलो पटक सफल आरोहण भएको ७० वर्ष पुगेको छ। २०१० जेठ १६ गते तेन्जिङ नोर्गे र एडमन्ड हिलरीले यो कीर्ति रच्नुअघि पनि आरोहण प्रयास भने चलिरहेकै थियो। अल्पाइन क्लबका अध्यक्ष एवं डा. क्लिन्टन थोमस डेन्टले आफ्नो किताब अबभ द स्नो लाइन (वि.सं. १९४२) मा लेखेका छन्- ‘के सगरमाथा आरोहण सम्भव छ?’ यद्यपि क्लबमा यसबारेका छलफल १९४० सालदेखि नै चलेको पाइन्छ।
यसै क्रममा १९६४ सालमा ब्रिटिश पर्वतारोही टम जर्ज लङस्टाफको नेतृत्वमा गोर्खा सैनिक करवीर बुढाथोकी सहित तीन जनाले पहिलो पटक भारतको उत्तराखण्डस्थित त्रिशूल हिमाल आरोहण गरे जुन सात हजार मिटरभन्दा अग्लो हिमालको पहिलो सफल आरोहण थियो। सगरमाथाका हकमा भने सफल आरोहणको ३३ वर्षअघिदेखि ब्रिटिशकै अगुवाइमा प्रयास थालिएको थियो। विसं १९७८, १९७९ र १९८१ गरी तीन पटकको प्रयासमा निकै पैसा खर्च हुनुका साथै आरोहीहरूको ज्यान समेत गएपछि ब्रिटिशहरूले यसलाई ‘दुष्प्रयास’ को संज्ञा दिए।
१९७९ सालमा सात हजार मिटरको उचाइ नजिक सात जना शेर्पाको हिमपहिरोमा परी मृत्यु भएको थियो। १९८१ सालमा सगरमाथा आरोहणकै क्रममा जर्ज मेलोरी र एन्ड्रियू इरविन हराए। उच्च हिमालमा धेरै खटिँदा लेस-नायक शमशेर पुन मस्तिष्कघातले पीडित भए। हिउँले खुट्टा खाएकाले सिपाही मानबहादुरको मृत्यु भयो। मेलोरी र इरविन हराएको समाचार निकै महत्त्व दिएर संसारभर छापिए, तर गोर्खाहरूको प्राणपखेरु उडेको चर्चा कतै भएन। अन्ततः सर्वोच्च चुली चुमेर भारतीय उपमहाद्वीपमा आफ्नो औपनिवेशिकताको सर्वोच्चता पुष्टि गर्ने इच्छा अधूरै राखी ब्रिटिशहरूले आरोहण स्थगन गरे।
यसैबीच जर्मन आरोहीहरूले १९८६ सालमा कञ्चनजंघाको आरोहण प्रयास गरे। यसबाट संसारका हिमालमाथि रहिआएको आफ्नो सम्प्रभुता तोडिन सक्ने आकलन गर्दै ब्रिटिशहरू ‘प्रोजेक्ट एभरेस्ट’ पुनः सञ्चालन गर्ने निधोमा पुगे। तर, लगभग आठ वर्षपछि विसं १९८९/९० मा ठूलो धनराशि खर्चेर तयार पारिएको ह्यु रटलेजको नेतृत्वको टोलीले पनि ‘मिशन’ सफल पार्न सकेन। ब्रिटिशका विसं १९९१, १९९२ र १९९४ का प्रयास पनि विफलै रहे। १९९५ सालमा दोस्रो विश्वयुद्ध शुरू भएपछि आरोहण अभियान पुनःस्थगन भयो।
पहिलो पाइला
यहाँ सम्मका सगरमाथा आरोहणका सबै प्रयास उत्तरी मोहडाबाट गरिएका थिए। किनभने विशेष प्रवेशाज्ञाप्राप्त सीमित विदेशीले मात्र नेपाल प्रवेश पाउँथे। अन्य मुलुकका नागरिक ब्रिटिश दूतावासका अतिथि भनी सिफारिश भएको खण्डमा मात्र नेपाल छिर्न पाउँथे।
२००७ सालको राजनीतिक परिवर्तनपछि भने यस्तो प्रतिबन्ध हटाएर सबै विदेशीका लागि खुला गरियो। यससँगै स्वीस, फ्रेन्च तथा जर्मन आरोहीहरू पनि सगरमाथा आरोहणको अनुमति माग्न थाले। अन्नपूर्ण आरोहण गरी पहिलो पटक आठ हजार मिटरभन्दा अग्लो हिमाल चढेको कीर्तिमान बनाएका फ्रेन्च आरोही मौरिस हर्जोगले एक अन्तर्वार्तामा भनेका छन्, “हामीले पनि सन् १९४९/५० (विसं २००६/०७)मै सगरमाथा आरोहण गर्ने विचार गरेका थियौं, तर ब्रिटिशले ‘माउन्ट एभरेस्ट’ मा आफ्नो धेरै लगानी भइसकेकाले यसमा प्रयास नगरिदिन अनुरोध गरेकाले हामी अन्नपूर्णतिर लागेका हौंं।”
२००७ सालमा ब्रिटिश अभियान पुनः शुरू भयो। न्यूजिल्यान्डका एडमन्ड हिलरी ब्रिटिश दलमा सामेल भए। त्यसअघि नै उनले भारतको उत्तराखण्डतिरका धेरै हिमाल चढ्न शुरू गरिसकेका थिए। २००९ सालमा ब्रिटिश आरोहण अभियान चोयु हिमालतिर सोझियो। त्यही वेला स्वीस आरोहण अभियानले पनि नेपाल सरकारबाट सगरमाथाको अनुमति पायो। आरोही एडवार्ड विस डवेन्ट नेतृत्वको पाँच सदस्यीय टोलीले लगभग आठ हजार ६०० मिटरसम्मको यात्रा गर्यो। २००९ सालमै दशैंपछि पुनःप्रयास गरेको स्वीस टोली साउथकोलभन्दा माथि उक्लनै सकेन। रेमन्ड लाम्बार्ट पनि आरोही रहेको उक्त दलमा तेन्जिङ नोर्गे शेर्पा सरदार थिए।
अन्य देशले पनि पहुँच बढाएपछि ब्रिटेनलाई सगरमाथामा वर्षाैंदेखिको आफ्नो प्रभुत्व जोखिममा परेको अनुभूति हुन थाल्यो। अल्पाइन क्लब तथा रोयल जियोग्राफिक सोसाइटीमा ‘एभरेस्ट मिशन’ को बहस पुनः चर्कियो। सगरमाथा आरोहण जसरी पनि सफल बनाइछाड्ने ध्याउन्नमा उसले यसपालि चर्चित पर्वतारोही एरिक सिप्टनलाई पन्छाउँदै लेफ्टिनेन्ट कर्णेल जोन हन्टलाई टोली नेताको जिम्मेवारी दियो। १४ जनाको टोलीमा नेपालका तेन्जिङ नोर्गे र न्यूजिल्यान्डका हिलरी पनि थिए।
टोलीनेता हन्टले तीन वटा ‘एसल्ट ग्रूप’ तयार गरेका थिए। एउटा टोलीले आरोहण गर्न नसकेको खण्डमा अर्को तयारी अवस्थामा हुन्थ्यो। उक्त टोली साउथकोल पुगेर आठौं क्याम्प राख्न सफल भयो। त्यहाँबाट हालको बाल्कोनी भन्ने स्थान (आठ हजार ४५० मिटर) मा नवौं क्याम्प राख्ने तयारी थियो। हन्टले पहिलो खेपमा रहेका आफ्नो देशका चाल्र्स इभन्स र टम बर्डिलनलाई शेर्पा सहयोगी सहित साउथकोलबाट पठाए। २५ मे १९५३ मा बाल्कोनीमा नवौं क्याम्प राखेर भोलिपल्ट बिहानै चुचुरो छुन उक्लिएका उनीहरू साउथ समिटभन्दा माथि जान सकेनन्।
तब हन्टले दोस्रो टोलीका तेन्जिङ र हिलरीलाई पठाए। उनीहरू पनि २८ मेमा बाल्कोनी पुगेर नवौं क्याम्प राखे। अनि भोलिपल्ट बिहानै ६ बजे साउथसमिटतर्फ उक्लिए। त्यहाँबाट १५ मिटर जति ओरालो पाइला चालेपछि उनीहरू कठिन धारमा फसे। हिमधारको दक्षिणतिर ठूल्ठूला ढुङ्गा र बरफयुक्त भिरालो थियो भने उत्तरतिर काङसुङ फेसको ठाडो हिमपाखो। त्यहाँ केही गडबडी हुनु जीवनलीला सकिनु बराबर थियो।
२०१० जेठ १६ को बिहान ११ः३० मा सगरमाथा शिखरमा पहिलो पटक मानव पाइलाले स्पर्श गर्यो। कठिन धार पार गरिसकेपछि तेन्जिङ र हिलारी एउटा यस्तो बिन्दुमा पुगे जहाँबाट माथि उक्लने ठाउँ थिएन। त्यही बिन्दु नै यस भूगोलको सर्वोच्च स्थान अर्थात् सपनाको चुली थियो।
१७० वर्ष अगाडि पत्ता लागिसकेको सर्वोच्च चुलीको सफल आरोहण त्यसको सय वर्षपछि मात्र सम्भव भयो। १९९२ सालमा छनोट प्रक्रियामा अयोग्य ठहरिएका जोन हन्टकै नेतृत्वको टोलीले आखिरमा इतिहास रच्यो। भनिन्छ- तर, हन्ट खुशी थिएनन्। किनकि आफ्नो नेतृत्वको अभियान सफल भए पनि आफ्नै देशका नागरिकले आरोहण गर्न नसक्नु ब्रिटिशका लागि दुःखद पक्ष थियो। ब्रिटिशले आफ्नै नागरिक सर्वोच्च चुलीमा पुर्याउन त्यसपछि पनि २२ वर्ष (२०३२ असोज ८) पर्खनुपर्यो।
सफलतापछिका सात दशक
सगरमाथाको पहिलो सफल आरोहणले संसारभरका सञ्चारमाध्यममा प्रमुख स्थान पायो। त्यसपछि आरोहणको लहर तीव्र हुन पुग्यो। २०१३ सालमा स्वीस आरोहण दलका चार जना चुचुरो चुम्न सफल भए।
२०१४ देखि ०१६ सालसम्म कसैले आरोहण गर्न सकेनन्। २०१७ जेठ १२ गते चिनियाँ टोलीले उत्तरी मोहडाबाट सफल आरोहण गर्यो। भलै चुचुरोको फोटो नभएका कारण विवादमा तानिएको त्यो आरोहणलाई पछि मात्र मान्यता दिइयो। २०२० सालमा अमेरिकी टोली पहिलो पटक वसन्त ऋतुमा चुचुरो पुग्न सक्यो। उनीहरूले चलनचल्तीको भन्दा भिन्न रूट (पश्चिमी धार) प्रयोग गरी पहिलो प्रयासमै नयाँ कीर्तिमान कायम गरे।
२०१३ सालको स्वीस आरोहण अभियानसम्म कुनै सम्पर्क अधिकृत तोकिएको पाइँदैन। तर, पछि २०१७ सालको पहिलो भारतीय सगरमाथा आरोहण अभियानमा धनवीर राईलाई सम्पर्क अधिकृत तोकिएको अभिलेख छ। सम्भवतः यिनी नेपाली सेनामा कार्यरत थिए। भारतीय सेनाको आरोहण दल लगभग आठ हजार ६२५ मिटरसम्म मात्र पुगेको थियो।
यो असफलताबाट रन्थनिएको भारतीय टोलीको २०२० सालको प्रयास समेत विफल भएकोमा तेस्रो पटकमा मात्र चुचुरो टेक्न सक्यो। २०२२ जेठ ७ गते नौ भारतीय सैनिकले इतिहास कायम गरे। यसअघि आफ्नो टोलीलाई हौसला दिन पुगेका नेपालका लागि तत्कालीन भारतीय राजदूत हरीश्वर दयालको २०२१ जेठ ६ गते आधारशिविर नजिकै गोरकसेपमा मृत्यु भएको थियो।
सगरमाथामा क्रमशः सानाठूला कम्पनी मार्फत आरोहीको ओइरो लाग्न थाल्यो। वैज्ञानिकदेखि अनुसन्धानकर्मी समेत खोज-अनुसन्धानको ‘मिशन’ बोकेर आउन थाले। अहिले पनि नेपालबारे विदेशीले सबैभन्दा बढी खोज्ने विषय सगरमाथा नै हो।
२०२२/२०२३ देखि २०२६ सालसम्म नेपाल सरकारले विदेशी आरोहीलाई प्रतिबन्ध लगायो। यसको अन्तर्य भूराजनीतिक कारण रहेको समाचार आएका थिए। त्यही वेला चीनले तिब्बततिरबाट सर्वेक्षण लगायत काम तीव्र पारेको थियो। २०२६ सालमा सरकारले प्रतिबन्ध फुकुवा गरेपछि जापानीहरूले सगरमाथा आरोहणका लागि पूर्वेक्षण गरेका थिए। २०२६/२७ सालमा ७० वर्षीय जापानी आरोही सबुरो मत्सुकता नेतृत्वको टोलीले दक्षिण-पश्चिम मोहडाबाट आरोहण प्रयास गरेको थियो।
त्यति वेला विफल भएका उनीहरू २०२७ वैशाख २८ मा सफल भए। शेर्पा सहित जापानी आरोही दलका चार सदस्यले चुचुरो चुमेका थिए। सोही टोलीकी सेतुको वातानावे चुचुरो पुग्न नसके पनि आठ हजार मिटरभन्दा माथि पुग्ने पहिलो महिला बनिन्। त्यसैपालि जापानीहरूले सगरमाथामा ‘स्की एक्स्पिडिशन’ सञ्चालन गरे। क्यामेरापर्सन सहित ३४ सदस्य रहेको उक्त अभियानमा दुई जना स्कीयर थिए। सोही अभियानका क्रममा ‘आइसफल’ मा गएको हिमपहिरोमा परी ६ शेर्पाको ज्यान गएको थियो।
२०२७/२८ सालमा ब्रिटिश, २०२८ सालमा अर्जेन्टिनी, २०२९ मा यूरोपका विभिन्न देशको संयुक्त टोलीले आरोहण प्रयास गरे पनि सफल भएनन्। २०२९ सालमै ‘पोस्ट-मनसुन’ मा प्रसिद्ध ब्रिटिश आरोही क्रिस बोनिङटन नेतृत्वको टोलीले दक्षिण-पश्चिम मोहडाबाट थालेको अभियान पनि मौसमी गडबडीले बिथोलियो।
२०३० सालमा इटालियन अभियानका तर्फबाट नेपाली सरदार लाक्पा तेन्जिङ शेर्पा र शम्भु तामाङ सहित ६ जना इटालियनले चुचुरो चुमे। त्यही वर्ष जापानीहरूले पनि मनसुन सकिएपछिको शरद् ऋतुमा पुनः आरोहण गरे। २०३१ सालमा स्पेनी र २०३१/३२ सालमा ब्रिटिश टोलीका प्रयास भने सफल हुन सकेनन्।
२०३२ जेठ २ मा जापानकी जुन्को ताबेईले यसअघि आफ्नै देशकी आरोहीले बनाएको आठ हजार मिटरभन्दा माथि पुग्ने महिलाको रेकर्ड तोड्दै सगरमाथाको चुचुरोमै पुग्ने पहिलो महिलाका रूपमा आफ्नो नाम लेखाइन्। २०३३ सालमा नेपाल-ब्रिटिश संयुक्त सगरमाथा सैन्य आरोहण अभियान सञ्चालन भयो। २०३४ सालमा न्यूजिल्यान्ड र दक्षिण कोरियाका टोलीले सगरमाथा चढे।
२०३५ मा अस्ट्रियन आरोहण अभियानमा सहभागी चर्चित आरोही रेनहोल्ड मेसनर र पिटर ह्याबलरले तिब्बती मोहडाबाट वैशाख २५ गते कृत्रिम अक्सिजन विनै सगरमाथा चढेको कीर्तिमान बनाए। २०३५ असोज २९ गते फ्रान्सका युवा तथा खेलकूद मन्त्री पियर माजो लगायत विभिन्न देशका ३१ जना आरोही सहभागी दलले सगरमाथाको सफल आरोहण गर्यो। २०११ सालमै सर्वोच्च चुली नजिकैको मकालु हिमाल आरोहण गरेर फर्किएको फ्रान्सलाई सगरमाथामा आफ्नो देशको झण्डा फहराउन २५ वर्ष कुर्नुपर्यो। त्यसको भोलिपल्टै चर्चित पोलिस आरोही वान्डा रूट्किविज सगरमाथाको सफल आरोहण गर्ने पहिलो यूरोपियन महिला बनिन्।
चुलिँदो आरोहण आकांक्षा
२०२० सालसम्म खुला गरिएका नेपालका आठ हजार मिटरभन्दा अग्ला सबै हिमालको आरोहण सम्पन्न भइसकेको थियो। त्यसपछिको २० वर्ष अर्थात् २०४० सालसम्म खास गरी पहिलेकाले चुचुरो पुग्न तय गरेकाभन्दा फरक बाटोबाट गएर कीर्तिमान बनाउने प्रतिस्पर्धा चुलियो। यस क्रममा कतिपय आरोही नयाँ रूट खोज्दाखोज्दै सकिए।
सन् १९९० अक्टोबरका चार दिनमा आरोहण शुरू भएको १५ वर्षमा भन्दा बढी आरोही एकै पटक सगरमाथा चुचुरो पुग्न सके। सगरमाथा आरोहण आरम्भपछिको ३० वर्षमा १५७ जनाले मात्र सफलता पाएको देखिन्छ। त्यसपछिको २० वर्ष (२०४१ देखि २०६०) मा एक हजार ५१ जना सगरमाथा चुचुरामा पुगेका छन्। २०६१ देखि २०७० सम्मको तथ्याङ्क हेर्दा पनि आरोहीको भीड थामिनसक्नु छ। यसले खुम्बु क्षेत्रको पर्यटन विकासमा महत्त्वपूर्ण योगदान गरे पनि त्यस क्षेत्रको पर्यावरण र वातावरण जोगाउन चुनौती थपिदिएको छ।
२०७१ सालमा खुम्बु आइसफलमा हिमपहिरोमा पुरिएर १६ जना शेर्पाको ज्यान जानु सगरमाथा आरोहण इतिहासमा बेहोर्नुपरेको सबैभन्दा ठूलो मानवीय क्षति हो।
२०७३ देखि २०७६ सम्म सगरमाथामा थुप्रिएको भीड अझ विकराल छ। २०७६ मा मात्र ६४४ जना चुचुरो पुगे। यो तीन वर्षमा दक्षिणी भागबाट मात्रै दुई हजार ७० जनाले सफल आरोहण गरे। २०७८ सालमा ४५९ र २०७९ मा ६५८ जना चुचुरो पुग्न सफल भए। यो आँकडाले आरोहणमा सफल हुनेको संख्यासँगै आरोहणको आकांक्षा झन् झन् बढिरहेको देखाउँछ। २०७९ सालसम्म लगभग ६ हजार ३३८ जना आरोहीले ११ हजार ३४१ पटक सगरमाथा आरोहण गरेको हिमालयन डेटाबेसको तथ्याङ्क छ।
कीर्तिमानको होड
सगरमाथा अब साहस र प्रतिष्ठाको मात्र विषय मात्र रहेन, यसैलाई जोडेर अनेक कीर्तिमान बनाउने होडबाजी समेत चुलिएको छ। कीर्ति राख्नेमा नेपाली पनि उल्लेख्य छन्। जबकि झन्डै ५० वर्षसम्म नेपालीहरूको पहिचान ‘गर्जो टार्न विदेशी आरोहीको पछि लाग्ने’ मा सीमित पारिएको थियो। नेपालको शान सगरमाथामा विदेशीको शासन थियो। शेर्पाहरू उत्तिकै दुःख गर्थे, तर नाम विदेशीहरूको मात्र आउँथ्यो। अहिले स्थिति धेरै फेरिइसकेको छ।
२०४० वैशाख २४ मा पहिलो पटक अक्सिजनको बोतल विनै सगरमाथा चढेको विश्वकीर्तिमान बनाएका आङरिता शेर्पा २०४४ पुस ७ गते जाडो सिजनमा समेत त्यसै गरी आरोहण गर्न सफल भए। अक्सिजनको सहायता विना १० पटक सगरमाथा आरोहण गरेका उनी ‘हिमचितुवा’ उपनामले प्रख्यात छन्। बाबुछिरी शेर्पाले कृत्रिम अक्सिजन नलगाई लगातार २१ घण्टा चुचुरोमा बसी विश्वकीर्तिमान कायम गरे।
सोलुखुम्बु, खरिखोलाका ल्हाक्पा गेलु शेर्पाले २०६० जेठ १२ मा आधारशिविरबाट १० घन्टा ५७ मिनेटमै चुलीमा पुगेर सबैभन्दो छोटो अवधिमा सगरमाथा चढेको कीर्तिमान बनाए। २०६० सालअघिसम्म एकाध बाहेक विदेशीको भरियामै सीमित रहेका शेर्पाहरू पनि त्यसपछि आफैं आरोहण व्यवस्थापक कम्पनी चलाउन थाले जसले अहिले विश्वकै विश्वासिला कम्पनीको पहिचान बनाइसकेका छन्।
कुनै वेला आपा शेर्पाले सबैभन्दा धेरै पटक (२१ पटक) सगरमाथा आरोहणको कीर्ति बनाएकोमा त्यसलाई नेपालकै कामिरिता शेर्पाले २८ पटक चुचुरोमा पुगी भङ्ग गरिदिएका छन्। ज्यान जोखिममा राखेर यस्ता कीर्तिमान बनाउने होडबाजी निरन्तर छ। अहिलेसम्मको तथ्याङ्क हेर्दा नेपाली आरोहीले राखेका कीर्तिमानहरू विदेशीले नभएर नेपालीले नै तोड्ने सम्भावना ज्यादा छ।
सानो उमेरमा आरोहण अनि चिसो चुचुरोमा लुगा खोलेर बसेकोदेखि पुरुष-महिला सँगै पुगेर सिन्दूर हाल्नेसम्मका ‘सस्ता’ कीर्तिमान समेत छन्। तर, कीर्तिमानका लागि मात्र आरोहणमा जाने लहडले हामीलाई कहाँ पुर्याउँछ, यसले सगरमाथाको गरिमा झन् झन् खस्कँदै त जाँदैन? यतातर्फ पनि ध्यान दिनुपर्छ।
आरोहणको सफलतासँगै दुर्घटनाका दुःखान्त घटना पनि थुप्रै छन्। सन् १९२२ को ‘रङबुक ग्लेसियर’ मा सात जना शेर्पा हिमपहिरोमा परे। तीमध्ये ६ जनाको मात्र शव पाइयो। २०७२ सालको भूकम्पका कारण आधारशिविरमा चारैतिरबाट आएका हिमपहिरोमा परी करीब १९ आरोहीले ज्यान गुमाए।
गत वर्ष चैत २९ गते सगरमाथामा बाटो बनाउन दोस्रो क्याम्प पुगी फर्कंदै गरेका तीन जना शेर्पाको हिउँको ठूलो ढिस्कोले थिचिएर मृत्यु भयो। यकीन तथ्याङ्क भन्न नसकिए पनि आजसम्म सगरमाथा आरोहणमा ज्यान गुमाउनेको संख्या ३०० भन्दा बढी नै छ।
यो अवधिमा सगरमाथासँग जोडिएको अर्को महत्त्वपूर्ण परिघटना भनेको यसको उचाइमा भएको वृद्धि हो जसको मापन नेपालले आफ्नै क्षमताले गर्न सकेको थियो। २०७७ मंसीर २३ मा ८,८४८ मिटर अग्लो सगरमाथाको उचाइ ८,८४८.८६ मिटर पुगेको औपचारिक घोषणा गरियो।
अबको चुनौती
भूवैज्ञानिकका अनुसार सगरमाथा ४.५ करोड वर्ष अगाडिदेखि अस्तित्वमा रहेको पृथ्वीको युवा पहाड मानिन्छ। अहिले जारी भीडभाड र प्रतिस्पर्धालाई नियमन र नियन्त्रण नगर्ने हो भने हाम्रै कारणले यसको अस्तित्व मेटिन सक्छ। हिउँले ढाकिएको सर्वोच्च पहाड निकट भविष्यमै चिसो चट्टान मात्र बन्न बेर लाग्दैन। विदेशी विश्वविद्यालयहरूले गरेका अध्ययन प्रतिवेदनहरूले यस्तै औंल्याएका छन्।
२०४७ सालतिर कुन्द दीक्षितले हिमाल साउथएशियन पत्रिकामा बनाएको एउटा कार्टूनमा सगरमाथाको आइसफललाई ‘वाटरफल’ लेखिएको थियो। माथि हिउँका ससाना थुम्कालाई धुपी/सल्लो जस्ता सुरिला रूखका रूपमा देखाएर सगरमाथामा चलिरहेको मानवीय दोहन र भविष्यमा पर्ने प्रभावको व्यङ्ग्यात्मक आकलन गरिएको थियो त्यसमा।
आज ३३ वर्षपछि नियाल्दा स्थिति लगभग त्यही देखिँदै छ। आधारशिविरमा पहिले जस्तो पानीका लागि हिउँ फोर्नु पर्दैन। दोस्रो शिविर (६ हजार ५०० मिटर) मै ठूलो आवाजसाथ पानी बगिरहेको देखिन्छ। आरोहीका अनुसार पानीमा लेउ समेत लाग्न थालेको छ। विश्वव्यापी तापक्रम वृद्धिको दुष्प्रभाव बढ्दो छ।
सगरमाथामा पर्यावरणीय जोखिम बढ्न नदिन फोहोर व्यवस्थापन, आरोहण अनुशासन कायम, अशोभनीय मानवीय गतिविधि नियन्त्रण जस्ता काम तत्काल थाल्न जरुरी देखिएको छ। अहिले पैसा हुँदैमा जो पनि चढ्न पाउने जसरी भड्किलो प्रचार गरेर सगरमाथालाई सस्तोमा बिक्री हुने सामान जस्तो बनाइएको छ। यसलाई नीतिगत तहबाटै सच्याइहाल्नुपर्छ। कम्तीमा सात हजारभन्दा अग्लो कुनै हिमाल चढेकालाई मात्र सगरमाथा आरोहणको अनुमति दिने व्यवस्था गरिनुपर्छ।
(नेपालले पहिलो पटक गरेको सगरमाथा उचाइ मापन कार्यक्रम अन्तर्गत ‘समिट अब्जर्भेशन’ टोलीका प्रमुख गौतमको पन्ध्रौं चुली पुस्तक समेत प्रकाशित छ। हिमालको २०८० जेठ अङ्कमा ‘सगरमाथाको सन्चो-बिसन्चो’ शीर्षकमा प्रकाशित।)