‘बधाई, हरि बुढामगर, अविश्वसनीय!’
दुवै खुट्टा नहुँदा पनि सगरमाथा चढेको विश्वकीर्ति बनाएर हरिले अपाङ्गता भएका अन्य थुप्रै व्यक्तिलाई साहसिक काम गर्ने मनोबल बढाइदिएका छन्।
२०८० जेठ ५, दिउँसो ३ बजे
ठीक यही साइतमा हरि बूढा मगर उत्साहले चिच्याए– ‘वी मेड इट।’ उनी थिए, विश्वकै सबैभन्दा उँचो पर्वत सगरमाथाको टुप्पोमा। तस्वीरमा हरि हिउँमा थचक्क बसेका छन् जहाँ प्रस्ट देखिन्छन्, उनका दुई कृत्रिम खुट्टा। र, यिनै खुट्टाले आज उनलाई विश्व परिचित बनाएका छन्। शारीरिक रूपमा दुवै खुट्टा नहुँदा पनि सगरमाथा विजय गर्न सकेको विश्वकीर्ति उनकै नाममा लेखिएको छ।
हातखुट्टा सद्दे रहेकाहरूलाई अनुकूल मौसममा समेत चढ्न हम्मे पर्ने सगरमाथा हरिले प्रतिकूल मौसमका बावजूद चढे। पूर्व बेलायती गोर्खा सैनिक उनको यही साहसको अहिले विश्वभरका सर्वसाधारण, सामाजिक अभियन्ता, राजनेता र प्रतिष्ठित व्यक्तिसम्मले प्रशंसा गरिरहेछन्।
‘बधाई, हरि बुढामगर। अविश्वसनीय।’ –विश्वविख्यात बेलायती अभिनेता टम हार्डीले आफ्नो इन्स्टाग्राम पेजमा लेखेका छन्। दुर्गम गाउँबाट संघर्ष गर्दै बेलायती सेनामा भर्ती, त्यहाँ उनले भोगेको भयानक दुर्घटना अनि त्यसपछि पनि नओइलाएको साहसप्रतिको स्वस्फूर्त सम्मान हो यो।
हरिका दुवै घुँडामाथिका भाग छैनन्। कृत्रिम खुट्टाकै भरमा उनले शुरूमा प्याराग्लाइडिङ गरे। साना हिमाल चढे। अनि यसपालि सगरमाथा नै चढ्ने ध्येयले आधारशिविरबाट आइसफलको कठिन बाटो पार गरे। भर्याङ चढे। ‘जुमर’ लगाएर भीर उक्लिए। अन्त्यमा सफलता पाइछाडे।
शारीरिक तन्दुरुस्ती भएका र तयारीमै ठूलो धनराशि खर्चन सक्नेहरूले समेत हम्मेसि नपाउने यो उपलब्धि अहिले अपाङ्गता भएका हरेक व्यक्तिका लागि अभूतपूर्व प्रेरणा बनेको छ। हरिले भन्दै आएका पनि हुन्, ‘अपाङ्गता भएकाहरूले सबलाङ्ग सरह नै काम गर्न सक्छन् भन्ने प्रेरणा जगाउनकै लागि म सगरमाथा आरोहणमा लागेको हुँ।’
तेन्जिङ नोर्गे शेर्पा र एडमन्ड हिलरीले सन् १९५३ मा पहिलो पटक सफल आरोहण गरेयता सन् २०२२ सम्म जम्मा ६ हजार ३८३ जना सगरमाथा चुचुरोमा पुगेका छन्। तिनमा पनि शारीरिक अपाङ्गता भएकाको संख्या त निकै कम छ।
हिमालयन डेटा बेसका अनुसार हरिभन्दा अघि अपाङ्गता भएका २० जना (एक महिला, १९ पुरुष)ले मात्र सगरमाथा चढेका छन् जसमा दुई नेपाली छन्। अमेरिकी नागरिक थोमस ग्रान्भिल्ले (टम) ह्वीटकरले २७ मे १९९८ मा नेपाली मोहडाबाट सफल आरोहण गरेका थिए। कार दुर्घटनामा एउटा खुट्टा गुमाएका उनी नै शिखरमा पुग्ने पहिलो अपाङ्गता भएका व्यक्ति हुन्।
नेपालीका हकमा भने एउटा खुट्टा नरहेका नवाङ शेर्पाले कृत्रिम खुट्टाका भरमा १६ मे २००४ मा सगरमाथा चढेको कीर्ति बनाएका छन्। उनीपछि २० मे २०१३ मा दुवै हात नभएका सुदर्शन गौतमले सफल आरोहण गरे।
०००
रोल्पाको विकट गाउँ मिरुलमा जन्मिएका हरिको बाल्यकाल कहिले घर, कहिले लेकको गोठमा बित्यो। सानैदेखि सिस्ने र धौलागिरिका चुचुरा हेरेर हुर्किए। तिनका टुप्पामा पुग्न पाए कस्तो होला भन्ने खुल्दुली उति वेलैदेखि थियो। तर, आर्थिक अभावसँगै खेतीपातीको नियमित काममा खटिनुपर्ने र विद्यालय जानुपर्ने बाध्यताले तत्काल यो रहर पूरा भएन।
बरु गाउँले चलन अनुसार बाबुआमाले ११ वर्षकै उमेरमा विवाह गरिदिए। माओवादी द्वन्द्वको उद्गम थलो रोल्पामा यसको प्रभाव शुरू भइसकेको थियो। स्थानीय युवासामु दुई बाटा थिए, माओवादीे लडाकू बन्ने वा सरकारी फौजमा भर्ती हुने।
हरिका बुबाले भने तेस्रो बाटो पहिल्याए। छोराले कम्तीमा विद्यालय स्तरको शिक्षा पूरा गरोस् भनेर सदरमुकाम लिवाङ पठाइदिए। त्यहाँ सेना र प्रहरीको पहरामै भए पनि पढाइ नियमित थियो। गाउँका विद्यालय त माओवादीले कब्जा गरिसकेका थिए।
लिवाङबाट एलएलसी दिएपछि १९ वर्षको उमेरमा हरि बेलायती सेनामा भर्ती भए। सयौं प्रतिस्पर्धीलाई उछिनेर यो जागीर पक्का गर्नु कम गौरवको कुरा थिएन। यसले परिवारमा अथाह खुशी ल्याइदियो, तर त्यो गर्ल्यामगुर्लुम ढली पनि हाल्यो।
सन् २०१० अप्रिलमा हरि अफगानिस्तानको हेलमन्ड प्रान्तमा नियमित गस्तीमा थिए, बेलायती सेनाका तर्फबाट नेटो सैनिकलाई सघाउन। दिउँसो चार बजेतिर उनको टोली बम विस्फोटमा पर्यो। होश खुल्दा हरिले आफूलाई अस्पतालको शय्यामा पाए। उपचारका लागि तत्काल अमेरिकी सेनाको बेस रहेको इराक पुर्याइएको थियो। आफ्नो शरीर नियाले, दुवै खुट्टा काटिइसकेका थिए।
हरिका अनुसार विस्फोट यति ठूलो थियो कि धेरैले त बाँच्ने आश नै गरेका थिएनन्। तर, समयमै अस्पताल पुगेको र सोही अनुसार उपचार पाएकाले ज्यान जोगियो। “यो सब तुरुन्तातुरुन्तै भयो। उत्कृष्ट सेवा पाएकै कारण अहिले जीवित छु,” केही वर्ष पहिले उनले एक अन्तर्वार्तामा भनेका थिए।
शारीरिक घाउ चाँडै निको भए पनि मानसिक पीडाबाट निस्कन हरिलाई निकै कठिन भयो। अपाङ्गतामा बाँच्नु सहज थिएन। खान, सुत्न, शौचालय जान, लुगा लगाउन र वरपर गर्न समेत अरूको सहारा चाहिने भयो। जीवन नै बर्बाद भएको ठानेर जाँडरक्सीको कुलतमा फसे।
तर, सधैं यसरी नचल्ने बोध भएपछि बाहिरी संसार नियाल्न थाले। रक्षा चिकित्सा पुनःस्थापना केन्द्रमा गए जहाँ उनलाई केही नयाँ काम गर्ने हौसला मिल्यो। त्यही क्रममा जीवनमै पहिलो पटक १५ हजार फिटको उचाइबाट प्यारासुटको सहायतामा जहाजबाट हाम फालेको हरि सुनाउँछन्। “त्यसले दुवै खुट्टा नभएको मानिसले पनि यत्तिको काम गर्न सक्दो रहेछ भन्ने आत्मबल बढाइदियो,” उनी भन्छन्।
साहसिक खेलमै केही गर्ने आँट पलाएपछि उनी पर्वतारोहणतिर मोडिए। संसारभर डुलेर दुवै खुट्टा नभएकाहरूले कसरी हिमाल चढ्दा रहेछन् भन्ने खोजखबर गरे। यसका लागि आवश्यक सामग्री र विकसित प्रविधिबारे जानकारी बटुले। अनि माउन्ट ब्लोंक (४,८१० मिटर), किलिमन्जारो (५,८९५ मिटर), चुलु फार वेस्ट (६,०५९ मिटर) र मेरा पिक (६,४७६ मिटर)को सफल आरोहण गरे।
यी हिमाल चढ्नुको ध्येय आफूलाई सगरमाथा आरोहणका लागि तयार बनाउनु थियो। अपाङ्गता भएका व्यक्तिहरू हेय र दयाका पात्र होइनन् भन्ने सन्देश दिन पनि साहसिक खेलमा लागेदेखि नै आफूले सगरमाथा आरोहणलाई लक्ष्य बनाएको उनी बताउँछन्। हरिले सन् २०१८ मै सगरमाथा चढ्ने योजना बनाइसकेका थिए, तयारीमा लाखौं रकम खर्च भइसकेको थियो। तर, त्यही वेला पर्यटन मन्त्रालयले असुरक्षाको कारण देखाएर अपाङ्गता भएका व्यक्तिलाई आरोहणमा प्रतिबन्ध लगायो। यस्तो निर्णयप्रति असन्तुष्ट उनले सर्वोच्च अदालतमा रिट दायर गरे। सर्वोच्चले उनकै पक्षमा फैसला गरिदियो।
अब हरिलाई आरोहण सफल पारेरै छाड्नुपर्ने दबाब महसूस भयो। त्यसैले तत्काललाई योजना केही समय थाती राखेर तयारी थप बलियो बनाउने सोचे। तर, लगत्तै कोरोना महामारी आएकाले लक्ष्य अझ धकेलियो जुन यसपालि बल्ल पूरा भएको छ। “सपना र चुनौती जति ठूलो भए पनि सोच सही भए सब थोक सम्भव छ,” हरिले आरोहणपछि भनेका छन्।