खुम्बुका तीन हाँगा
प्राकृतिक र सामाजिक सम्पदामा उत्कृष्ट खुम्बु क्षेत्रको पर्यटकीय मूल्य धेरै सस्तो बनाइएको छ। यहाँ कैयौं गुणा बढी लाभ लिन सकिने सम्भावना छ।
सोलुखुम्बको लुक्लाभन्दा माथि दूधकोशीको धार तीन उपत्यकामा बाँडिएको छ। जसमध्ये इम्जा खोला हुँदै सगरमाथा (चोमोलोङ्मा) आधार शिविर पुगिने उपत्यका एक हो, जो विश्वविख्यात छ। थेङबुछे गुम्बा भएर फेरिचे, लोबुचे, गोरकशेपका बस्ती हुँदै जाने यो बाटो सगरमाथा पर्वतारोहण तथा कालापत्थरको पाखोबाट देखिने सगरमाथा चुचुरोको दृश्यका कारण चलनचल्तीमा आएको हो।
‘इम्जा हाँगो’ नाम दिन मिल्ने यस बाटोमा देखिने हिमाली चुचुरामध्ये आमाडब्लाम नै सबैभन्दा राम्रो भन्नुपर्छ। खुम्जुङ र थेङबुछेसामु उभिएको आमाडब्लामको पाटो यस लेखकको ठम्याइमा विश्वकै मोहक दृश्यमध्ये पर्छ। माथि लोबुचेसम्म पुग्दा यस पर्वतको आकार अर्कै भइसकेको हुन्छ भने अगाडि ल्होत्से (विश्वकै तेस्रो अग्लो चुचुरो)को हजारौं फिटको पहराले आँखा तान्छ, अनि सीधै अगाडि पुमोरीको ‘पर्फेक्ट पिरामिड’।
खुम्बु हिमनदीले छेडेर गएको मरुभूमितुल्य उबडखाबड बगरलाई दाहिने पार्दै पदयात्रा गोरकशेपको बलौटे फाँट पुग्छ, जहाँ पहिले केही नभएको ठाउँमा अहिले आँखा बिझाउने वास्तु सहितको बस्ती बनेको छ। गोरकशेपबाट अलि अगाडि आधार शिविर पुगिन्छ। त्यता नगई पुमोरीबाट आएको चट्टानी पाखो (कालापत्थर) जानु नै उपयुक्त हुन्छ।
कालापत्थर
खुम्बुको यो इम्जा हाँगोको पदयात्रामा एउटा समस्या छ- जे हेर्न आयो त्यही नदेखिने! अर्थात्, सगरमाथाको कारण यो पदयात्रा आकर्षक हुँदाहुँदै पनि भूगोलका कारण यहाँबाट सर्वोच्च चुचुरो प्राय: देखिंदैन। थेङबुछेबाट ल्होत्से-नुप्से धारको पछाडिबाट चियाएको देखिन्छ, तर नजिकै जाँदा उक्त पर्खालले छेकिहाल्छ।
यसै कारण सगरमाथा चुचुरोको दर्शन गर्न कालापत्थर उकालो लाग्नुपर्ने हो। तर, यहाँबाट पनि देखिने सगरमाथाको टुप्पो मात्रै हो। पर्यटन पोस्टरहरूले देखाउने सगरमाथाका तस्वीरहरू यहीं कालापत्थरबाट लिइएका हुन्। सबैभन्दा फुच्चे हिमाल नुप्से चाहिं अजङ्गको देखिन्छ, वास्तविक हिरो सगरमाथालाई नै ओझेल पर्ने गरी।
कालापत्थरबाट विरक्तलाग्दो दृश्य देखिन्छ, खुम्बु हिमनदीको विनाश। जलवायु परिवर्तन तथा दक्षिणएशियाबाट उत्पादित धूवाँधूलो हिउँमा बस्नाले बढी पग्लिएको कारण पूरै मध्य हिमालको बरफ र हिउँ गायब जस्तै छ, र खुम्बु हिमनदीमा बालुवा, चट्टान र पोखरीले हिउँ र बरफको ठाउँ लिएको देखिन्छ। कालापत्थरबाट फेरिचेसम्मको चार मिनेटको हेलिकप्टर यात्राले यो परिवर्तन प्रस्ट पार्छ।
कालापत्थरबाट उपत्यकातर्फ तल्लो भाग हेर्दा आमाडब्लाम होचो देखिन्छ। वरिपरिका हिमचुचुरा हेर्दा ठीक एक शताब्दीअघिको हिमाली पर्वतारोहणको थालनीतर्फ पनि ध्यान जान्छ। पश्चिमा पर्वतारोहीले यी हिमाल चढ्दा कति दुःख गरे, कति नाम कमाए। तर, चढ्न सघाउने शेर्पालाई उनीहरूले आवश्यक श्रेय दिए/दिएनन्, यो पनि मनन गर्ने ठाउँ हो कालापत्थर। पहिला त पर्वताराेही लेखनमा ‘कुल्ली’ नै भन्थे, पछि गएर मात्र ‘भरिया’ (पोर्टर), अनि ‘हाई अल्टिच्यूड पोर्टर’ जसको पर्यायवाची हुन गयो ‘शेर्पा’। हुँदाहुँदा ठूल्ठूला अन्तर्राष्ट्रिय सम्मेलन तयारी गर्ने पदाधिकारीलाई पनि ‘शेर्पा’ भन्ने गरियो।
आज आएर नेपालका हिमाल चढ्न र साहसिक पदयात्रा गर्न शेर्पा बाहेक अन्य समुदायका नागरिक पनि तम्सिएका छन्। दक्षिण र उत्तरी मोहडाबाट सगरमाथा चढ्ने ललितपुरकी कल्पना महर्जन, सात महादेशका सात अग्ला शिखर चढ्ने सात चेली, सगरमाथाको उचाइ मापन गर्न दुई-दुई पटक शिखर पुग्ने सरकारी कर्मचारी खिमलाल गौतम, आमाडब्लामको चुचुरो पुग्ने जनकपुरका रञ्जित साह भन्नै परेन, अनि सगरमाथा सहित विश्वका ८००० मिटर माथिका १४ शिखर सात महीनामा चढिसक्ने निर्मल (‘निम्स्’) पुर्जा, जसले पश्चिमा पर्वतारोही जगत्लाई नै चकित पारिदिएका छन्।
पुमोरीको फेदमा रहेको यस ठाउँको कुरा गर्दा, ‘कालो पत्थर’ नभनी किन कालापत्थर भनिएको होला? पर्वतारोहणको इतिहास उत्खनन गर्ने हो भने यो पनि रोचक विषय हुन सक्छ, यो हिन्दीको प्रयोग। इतिहासकै कुरा गर्दा पुमोरी हिमालको नामको उत्पत्तिको प्रसङ्ग पनि आउँछ।
पश्चिमाहरूले आरोहणका लागि नेपाली चुचुराहरू आँखा लगाए पनि राणा शासनका वेला नेपाल विश्वका निम्ति ‘बन्द’ थियो। जसका कारण बेलायती पर्वतारोहण टोली दार्जीलिङमा जम्मा भई त्यहाँ मजदूरी गर्ने खुम्बुका शेर्पालाई भरिया र गाइड बनाएर उत्तर लागे, तिब्बतको खम्बा जोङ्ग र टिङ्ग्री हुँदै रोङबुक हिमनदीको बाटो भएर चोमोलोङ्माको उत्तरी पाटोमा चढाइँ गरे।
पर्वतारोही दलका नामुद आरोही थिए जर्ज लेह् म्यालोरी, जसले सन् १९२१ मा पहिलो पल्ट सर्वोच्च शिखरको उत्तरी मोहडाको अनुसन्धान गरे। त्यति वेला नेपालले हिमाल आरोहण खुला गरेको थिएन। त्यसैले उनले तिब्बतबाट सगरमाथाको अनुसन्धान गरे।
यसै क्रममा उनले सगरमाथाको पश्चिम फेदमा पर्ने खुम्बुत्से चुचुरा छेउको भञ्ज्याङ (जो कालापत्थरबाट नजिकै दायाँपट्टि तल देखिन्छ) बाट उनले दक्षिणतर्फ नियाले र त्यो दिनको डायरीमा लेखे, “आज मैले दक्षिण नेपालतिर दर्जनौं हिमालहरू देखें। के यी हिमाल कुनै दिन चढिएलान्?”
अनि म्यालोरीकोे आँखा छेवैमा रहेको एकदमै बान्की परेको मझौला हिमालमा पर्यो, र जसको तत्काल नामकरण पनि गरे- ‘क्लेर पिक’। क्लेर म्यालोरीकी छोरी थिइन्। साथमा रहेका शेर्पाले यो थाहा पाएपछि चुचुरोलाई आफ्नो भाषामा ‘फुमोरी’ अर्थात् ‘छोरी चुचुरा’ नाम दिए।
म्यालोरी सन् १९२१, १९२२ र १९२४ मा तीन वटा पर्वतारोहण दलमा सगरमाथा आए। सन् १९२४ को चढाइका क्रममा उनी र एन्ड्रियू अर्भाइन सगरमाथाको माथिल्लो भेगमा हराए, उनीहरू शिखर पुगे/पुगेनन् आजसम्म रहस्यमै छ। म्यालोरीको शव १ मे १९९९ मा शिखरको केही सय फिट तल फेला पर्यो।
म्यालोरीको गाथा मुख्यतः सगरमाथाको उत्तरी मोहडासँग सम्बन्धित छ, तर उनीबारे हामी दक्षिणकालाई पनि चासो हुनु स्वाभाविक हो। किनभने, उनी हिमाली पर्वतारोहणको पहिलो अध्यायमै त्यो उच्च भञ्ज्याङबाट यतातिर नियालेर लालायित भए। अन्ततः पछिल्ला दशकहरूमा अधिकांश हिमाली पर्वतारोहणको कार्य तिब्बतमा नभई नेपालमै भयो। म्यालोरीले खुम्बुको यस क्षेत्रमा खुट्टा नहाले पनि, माथि उच्च भञ्ज्याङबाट नियालेर मात्र गए पनि उपत्यकाको सिरानमा पर्ने पुमोरीलाई ठीक एक सय वर्षअघि न्वारन नै गरिदिए।
ङोजुम्बा
खुम्बु क्षेत्रको तीनमध्ये बीचको उपत्यका ङोजुम्बा हिमनदीको क्षेत्र पर्छ। नेपालको सबैभन्दा लामो यो हिमनदी छो-ओयु, घ्याचुङकाङ र पुमोरीको पश्चिमी फेरबाट झर्दै धनुष आकार गरी मछेर्मो गाउँसम्म लम्बिएको छ। इम्जा-कालापत्थरभन्दा कम परिचित यो उपत्यका अझै रमणीय छ।
खुम्जुङ गाउँबाट सीधा तेङबुछेतर्फ नलागी फोर्से गाउँ पारिपट्टि पारेर पदमार्ग उत्तर लाग्छ। जसरी जोमसोमबाट उत्तर लोमान्थाङ लाग्दासम्म दक्षिणबाट नीलगिरि हिमालले यात्रुलाई छोड्दैन, यहाँ काङ्टेगा हिमालले त्यस्तै साथ दिन्छ, पछिसम्म।
इम्जा खोलाबाट माथि लाग्दा सगरमाथा देखिंदैन भने ङोजुम्बा उपत्यकाको सिरानमा रहेको छो-ओयु पदयात्राका क्रममा निरन्तर देखिन्छ। सगरमाथा, पाकिस्तानको केटू, ल्होत्से, कञ्चनजंघा र मकालुपछिको छो-ओयु विश्वको छैटौं अग्लो शिखर भए पनि नजिकैको सगरमाथाका कारण अति नै अपहेलित छ।
पारि पूर्वतर्फको खुम्बु हिमनदीबाट आउने सानो धाराभन्दा ङोजुम्बा खोला जोशिलो छ। फोर्सेतर्फको तल्लो भेगमा हरियाली प्रचुर छ र वरिपरि ठूला हिमाल हुँदाहुँदै स्थानीय शेर्पाले पुज्ने साना पर्वत यस उपत्यकाका दुईतिर छन्, खुम्बिला, आर्काम्से आदि। नामुद आकर्षण भने गोक्यो सहितका लस्करै ६ वटा ताल नै हुन्।
ङोजुम्बा हिमनदीले बाटो रोकिदिएर पश्चिमपट्टि बनेका यी प्रत्येक तालहरूको आकार र ‘स्वभाव’ फरक छन्। हिमनदीले बनाएको ‘मोरेन्’ पर्खाल आफैं पहाड जस्ता छन्। कहिले यो पर्खालको आड लिई, कहिले छेउको होचो भाग हुँदै बाटो उत्तरतर्फ छैटौं ताल र छो-ओयुको फेदसम्म पुगिन्छ।
पाँचौं तालसम्म पुगेको यस लेखकलाई ठाउँ र परिदृश्य अद्भुत लाग्यो, मोरेन्को माथिबाट ३६० डिग्री कोणमा देखिने हिमशिखरहरू र तल फराकिलो हिमनदी। ताजुब लाग्दो कुरा त, सगरमाथाको दक्षिण र पश्चिम मोहडाको पूर्णकद यहाँबाट देखिंदो रहेछ, जो नेपालका अन्यत्र कतैबाट देखिंदैन, र उत्तरी मोहडा पनि। यहाँबाट साउथ कोल, साउथ-वेस्ट फेस, वेस्ट रिज र पूरै नर्थ फेस देखिंदो रहेछ। यत्तिका लागि पनि खुम्बुको यो मध्य-उपत्यकालाई उत्कृष्ट भन्नुपर्छ।
सगरमाथाको पानीढलो नेपाल-चीनको सिमाना रहेकाले उसको उत्तरी पाटो (‘नर्थ फेस’) नेपालबाट नदेखिनुपर्ने हो, तर कसरी देखियो त छो-ओयुको फेद नजिकको पाँचौं तालबाट? यसको पहिलो कारण, नेपाली सिमाना सगरमाथाबाट पश्चिमतर्फ अलि उत्तर-पश्चिम गरी कोरिनुले हो। अर्को, चाहिं उत्तरी मोहडा अलि कोल्टे परेर तेर्सिएको पो रहेछ कि, ङोजुम्बा उपत्यकाबाट छर्लङ्ग देखिने गरी।
यसरी सगरमाथाको उत्तरी पाटो र अन्य भाग दृश्यावलोकन गरीवरी हामी गोक्योको बस्ती फर्कियौं। यहाँबाट बिहानै दुई-तीन घण्टा उकालो चढ्यो भने गोक्यो रीको टुप्पामा पुगेर सूर्योदयलाई स्वागत गर्न पाइन्छ, साथै विश्वका चार उच्च शिखर, छो-ओयु, सगरमाथा, ल्होत्से र मकालु नियाल्न पाइन्छ। हामी भने बिहान रेन्जोलाको भञ्ज्याङ र खुम्बुको तेस्रो हाँगातर्फ लाग्यौं।
नाङ्गपा
गोक्यो बस्तीबाट तालको उत्तरी किनार हुँदै केही घण्टाको कष्टकर उकालोपछि १७ हजार ५८५ फिटको रेन्जोला पुगिन्छ। यहाँबाट पनि उही खुम्बु हिमालको दृश्य, सगरमाथादेखि मकालुसम्म अनि, थप, तल ङोजुम्बा हिमनदी, गोक्यो ताल र छेउछाउका साना हिमशिखर देखिन्छन्। यहाँबाट छो-ओयु चाहिं नदेखिने रहेछ। नेपालका पदयात्री जाने हिमाली भञ्ज्याङमध्येकै उत्कृष्ट हुनुपर्छ रेन्जोला।
भञ्ज्याङ कटेर पश्चिमपट्टि झर्दा अर्कै संसार पुगिन्छ, नाङ्गपा उपत्यकाको। यहाँ रोल्वालिङ हिमशृङ्खलाका पूर्वी शिखरहरू देखिन्छन्, च्छोरोल्पा ताल र रोल्वालिङ क्षेत्र हुँदै टाशीलाप्चा भञ्ज्याङ कटेर आउने पदमार्ग यतै झर्छ। खोलैखोला आर्य गाउँ हुँदै ३-४ दिन उत्तर हिंड्दा १९ हजार ४९ फिटको नाङ्गपाला पुगिन्छ, तिब्बत छिर्ने भञ्ज्याङ।
नाङ्गपा उपत्यकाको ठूलो गाउँ हो थामे। खुम्बुका तीन हाँगामध्ये शेर्पाको परम्परागत रहनसहन यहीं झल्कन्छ- अनि, चौंरी गोठ, चरन, ढुङ्गा र काठबाट बनेका घर। परम्परागत शैली रहनुको कारण यहाँ पर्यटकको आउजाउ कम भएर हुनुपर्छ।
इम्जा हाँगाको सिरानमा सगरमाथा छ भने ङोजुम्बा हाँगाको उपल्लोपट्टि छो-ओयु। यहाँको उत्तरी आकर्षण नाङ्गपाला भञ्ज्याङ नै हुने गर्थ्यो, तिब्बत व्यापारका कारण। सन् २००८ सम्म यो मार्ग निकै चालू थियो, शेर्पा उता जान्थे, तिब्बती व्यापारी यता आउँथे। सस्तो/राम्रो चिनियाँ सामानले नाम्चेको हाटबजारको रौनक बढाएको थियो।
तर, सन् २००८ देखि चीनले सिमाना बन्द गरिदिएको छ। यसै त नेपाल-चीन सीमा सन्धि पश्चात् हिमालपारिका परम्परागत चरण सन् १९६० को दशकसम्ममा लोप भए। अहिले सीमाबारे बेइजिङको संशयका कारण नाङ्गपा उपत्यकाका बासिन्दालाई मर्का परेको छ भने हिमाल वारिपारिको सम्पर्क र परम्परा पनि टुटेको छ।
पर्यटकको आवतजावत बढाउन सकेमा यस उपत्यकाको मौलिकताले स्थानीय अर्थतन्त्रलाई राम्रो भरथेग गर्नेछ। एउटा उपाय हो, रेन्जोलाबाट गोक्यो पुग्ने या उताबाट यता आउने बाटोको प्रचार अलि बढी गर्ने। अर्को, रेन्जोलाबाट ठीक पश्चिम झर्ने एक घण्टाको बाटो (जो फुटेका चट्टानको पहिरोले अलि खतरापूर्ण छ) व्यवस्थित गर्ने।
खुम्जुङबाट गोक्यो जाने पदयात्री चोला भञ्ज्याङ भएर सगरमाथा आधार शिविरतर्फ लाग्ने गर्छन्। त्यसो नगरी पश्चिममा रहेको रेन्जोलाको बाटो हिंड्ने हो भने चोलापासभन्दा राम्रो (सगरमाथा लगायतको) दृश्य देखिन्छ- पाँचौं तालको जस्तै सगरमाथाको ‘पूर्ण कद’ र मकालुसम्मको हिमशृङ्खला। साथै, नाङ्गपा उपत्यकाको उत्कृष्ट परम्परामा घुलमिल हुन पाइन्छ- बसाइ, खानपिन, बस्तुभाउ, आदि।
अनि, नाम्चे र लुक्ला
खुम्बुका तीन वटै हाँगा नाम्चे बजारमा जोडिन्छन्। नाम्चे आफैंमा हिमालको काखमा रहेको तर हिमाल नदेखिने बस्ती हो, क्वाङदे नामको होचो चुचुरा मात्र यसको परिदृश्यको भागमा परेको छ। र, काठमाडौंको ठमेल जस्तै बनिरहेको छ नाम्चे, शेर्पा मौलिकता हराउँदै गएको छ। पानीघट्टले घुमाउने मानेको आधुनिकीकरण गरिंदा ‘शेर्पापन’ झल्कंदैन। बस्ती पस्दापस्दै ठड्याइएको खास्ती चैत्य (बौद्ध) शैलीको छ्योर्तेनले पनि खुम्बुभन्दा काठमाडौं वास्तुको आभास दिन्छ।
खुम्बुमा कतिपय कुरा अन्यत्र जस्तै बिग्रंदै जाला कि भन्ने डर छ। जस्तै, पुरानो वास्तु त्यागिंदै छ। कम्तीमा ढुङ्गाको प्रयोग कायम थियो २०७२ को भूकम्पपूर्व, तर अब प्लास्टिकका प्यानेल प्रयोग हुँदै छन्। जताततै नीलो जस्ताका छाना। पर्यटक बोक्न होस् वा सामानको ढुवानी, लुक्लाभन्दा माथि लाग्दा हेलिकप्टरको डङ्डङ्डङ् बाक्लै सुनिन्छ।
अन्तर्राष्ट्रिय जगत्मै नाम कमाएका थामेबासी फरेस्टर/वातावरणविद् ल्हाक्पा नोर्बु शेर्पा भन्छन्, “पर्यटन र अर्थतन्त्र विस्तारले यहाँको समाज र वातावरणमा पर्ने असरबारे सतर्क भई अगाडि बढ्नुपर्छ। बाह्य संसारको फाइदा लिने हो, तर सांस्कृतिक र प्राकृतिक सम्पदाको संरक्षण गर्नैपर्छ। सार्वजनिक सम्पत्तिमा निजी क्षेत्रको अतिक्रमण हुन दिनुहुन्न।”
राम्रो कुरा चाहिं पर्यटनको आम्दानी तथा नयाँ संविधान अन्तर्गतको सक्षम स्थानीय सरकारका कारण कतिपय सेवा-सुविधा व्यवस्थित बनेका छन्। अन्यत्र गाउँमा कतै पनि नदेखिने आगलागी सामना गर्ने पानीको होजपाइप यहाँका सबै बस्तीमा तयारीमा पाइन्छन्, यस्तै सर्वत्र बिजुलीका तार भूमिगत छन्। थामेको जलविद्युत् आयोजना स्थानीयको सामूहिक स्वामित्वमा सञ्चालित छ। सगरमाथा राष्ट्रिय निकुञ्ज र स्थानीयवासीको सम्बन्ध यदाकदा खलबलिने गर्छ, तर बिग्रेको छैन।
खुम्बु क्षेत्रले पूरै देशलाई धेरै कुरामा मार्गदर्शन गर्न सक्दछ- पर्यटन, सामुदायिक सहभागिता, आदिमा। तर, यहाँको शेर्पा समुदायका सदस्य काठमाडौं भन्नुस् वा न्यूयोर्क पलायन हुने क्रम जारी छ। खुम्बुको शेर्पापन बचाउनुपर्छ, तर यो बसाइँसराइको क्रमले के गर्ला? ।
यो पनि भन्न पर्ने हुन्छ कि ‘अपर खुम्बु’ ले वरिपरिका जिल्लाको अर्थतन्त्र धानेको छ। खुम्बु क्षेत्रले ‘औल’ का राई, मगर, तामाङ र अन्य समुदायलाई रोजगारी र ‘क्याश इन्कम’ दिलाएको पनि बिर्सनु हुन्न।
विश्वको एक मात्र चुचुरो हो सगरमाथा/चोमोलोङ्मा, सँगसँगै खुम्बु क्षेत्रको प्राकृतिक र सामाजिक सम्पदालाई पनि ‘एक मात्र’ भन्न हिचकिचाउन पर्दैन। यस्तो उत्कृष्ट ठाउँको पर्यटकीय मूल्य भने धेरै नै सस्तो हुन पुगेको छ। र, खुम्बुले कम्तीमा दुई नभए तीन गुणा बढी आम्दानी गर्न सक्छ, पर्यटन र पर्वतारोहणबाट। र, यसो हुन गए पूरै राज्यका लागि खुम्बु ‘अप-मार्केट’ पर्यटनको उदाहरण बन्न सक्छ।
खुम्बु पर्यटनको थप विकास गर्न यहाँ सेवा-सुविधा अझै राम्रो बनाउनुपर्छ, जबकि अहिले पनि नेपालका अन्य पदमार्गभन्दा यहाँको बसोबास आरामदायी छ। कसैलाई सानो कुरा लाग्न सक्ला, तर पाहुना सुत्ने कोठाको चिसो हटाउन प्रबन्ध गर्नैपर्ने देखिन्छ, यत्तिले नै पर्यटकबाट आम्दानी बढाउँछ। कोठा चिसो भएकाले सबै पर्यटक दाउरा वा गुइँठा बालेको स्टोभ वरिपरि अबेरसम्म झुम्मिन्छन्। यदि डबल-ग्लेज ऐनाको झ्याल, हटवाटर ब्याग या कोठाकोठामा हिटर हुने हो भने पर्यटकको आकर्षण स्वतः बढ्नेछ र उच्च क्रयशक्तिका यात्रु आउनेछन्। गोक्योको ताल छेवैको एउटा लजमा डबल-ग्लेज झ्याल राख्दा कोठा न्यानो भएको महसूस भयो।
लुक्ला हवाईअड्डाबारे भ्रामक प्रचार पनि सच्याउनुपर्ने देखिन्छ। यस ‘खुम्बुको द्वार’ लाई ‘संसारकै सबैभन्दा खतरनाक विमानस्थल’ भनेर प्रचार गरिन्छ, र नेपाली पनि गर्वका साथ हो मा हो मिलाउँछन्! तर, यो अनर्गल ‘प्रोपगान्डा’ का कारण पूरै खुम्बु र नेपालकै पर्यटनलाई असर पारिरहेको छ, लुक्ला हवाईअड्डाको डरले कतिपय पर्यटक त खुम्बुमा खुट्टै हाल्दैनन्।
लुक्ला विमानस्थल कति खतरनाक छ त? उडान सम्बन्धी नियम मान्ने हो, प्रतिकूल मौसममा उडानका लागि वायुसेवा कम्पनी मालिकहरूको दबाब नहुने हो र सक्षम पाइलट हुने हो भने लुक्लाको धावनमार्ग ‘संवेदनशील’ भन्न मिले पनि ‘खतरापूर्ण’ भन्न मिल्दैन। अवतरण र उडान धावनमार्गको १३ डिग्री स्लोपमा एकतर्फी हुने कुरा सही हो, तर उडान र अवतरण गर्न हवाईजहाजलाई पर्याप्त ठाउँ छ, र दूधकोशी पारिको भित्ता अलि दूरीमै छ।
लुक्लालाई सुरक्षित हवाईअड्डा बनाउने नियमन मुख्य कुरा हो। तसर्थ, स्थानीय, प्रादेशिक र सङ्घीय सरकारी पक्ष, पर्यटन व्यवसायी र नागरिक समाज मिलेर ‘खतरनाक विमानस्थल’ को अफवाह मेटाउन लागिपर्नु उपयुक्त हुन्छ।
तल ओखलढुङ्गा र सल्लेरी हुँदै मोटरबाटो टाकसिन्डु कटिसकेको छ, एक-दुई वर्षमै लुक्ला (चौंरीखर्क) पुग्नेछ। अझ माथिसम्म पुग्दा यो बाटाले स्थानीय समाज र अर्थतन्त्रलाई पक्कै पनि असर पार्ने नै छ। ढुवानी सस्तो हुन जाँदा खुम्बुको अर्थतन्त्र फेरिनेछ, तल चौंरीखर्कदेखि माथि गोक्यो, थामे र सगरमाथा आधार शिविरसम्म, र पर्यटक सङ्ख्या बढ्नेछ।
तर, मोटरबाटोले पदयात्रा पर्यटन (‘ट्रेकिङ टुरिज्म’) लाई कस्तो असर पार्छ? आर्थिक अग्रगमनको योजना बनाउँदा यसका साथै शेर्पा संस्कृति र यहाँको जैविक सम्पदा कसरी जगेर्ना गर्ने, बहस गर्नुपर्ने वेला भएको छ। खुम्बु र यहाँका तीन हाँगाले खुम्बु, पूर्वी नेपाल र नेपाल धानेको छ भन्दा अतिशयोक्ति हुँदैन। खुम्बु सदा स्वच्छन्द, जागरुक र प्रतिरक्षित रहिरहोस्!
(हिमालको २०७८ पुस अङ्कबाट।)