शारीरिक अपाङ्गतालाई जित्दै सगरमाथा आरोहणमा
साहसिक खेल मानिएको पर्वतारोहणमा लागेका शारीरिक रूपमा अपाङ्गता भएका व्यक्तिहरूमध्ये केही आरोही यस पटक सर्वोच्च शिखर सगरमाथामा पाइला टेक्ने लक्ष्य सहित आधारशिविरतर्फ लागेका छन्।
सगरमाथाको चुचुरोमा पुग्न के चाहिन्छ? धेरैकोे जवाफ हुन्छः पैसा र हिम्मत। अनुभवी आरोहीहरू भने त्यतिले मात्र नपुग्ने बताउँछन्। उनीहरूको बुझाइमा शारीरिक तन्दुरुस्ती अर्थात् सबलता सफल आरोहणका लागि थप पूर्व शर्त हो।
पछिल्ला दशकमा भने दृढ इच्छाशक्ति र सहयोग पाएमा शारीरिक अपाङ्गता भएका व्यक्तिले पनि सगरमाथा आरोहण गर्न सक्छन् भन्ने पुष्टि गरेका छन्, केही आरोहीले। विगतका आरोहणमा जस्तै यसपटक पनि सर्वोच्च शिखर सगरमाथा आरोहणका लागि अपाङ्गता भएका व्यक्तिहरू पनि आरोहण गर्न आधारशिविर पुगेका छन्।
शारीरिक अपाङ्गता भएर पनि सगरमाथा आरोहणमा निस्किएका आरोहीसँग आफ्नै दुःख, संघर्ष र साहसका कथा छन्। हालसम्म सगरमाथा आरोहणका लागि ४५४ जनाले अनुमति पाएका छन्। उनीहरूमध्ये केही अपाङ्गता भएका आरोही छन्। सबै दुःखपीडा बिर्सेर आरोहण सफल बनाउन दिलोज्यान दिएर लागिपरेका छन्।
यस्तै, अनेक चुनौती छिचोलेर सगरमाथाको शिखर चुम्न आधारशिविर पुग्नेहरूमध्ये एक हुन्, पूर्व बेलायती सैनिक हरि बुढा मगर। रोल्पाको मिरुलमा जन्मिएका हरिको बाल्यकाल कहिले रोल्पाली गाउँ त कहिले उच्च हिमाली गोठमा बित्यो। लेकका गोठमा गाईभैंसी चराउने र खेतीपाती गर्ने आमाबुबासँग गाउँले परिवेशमा उनको बाल्यकाल बित्यो।
गाउँकै सरकारी विद्यालयमा अक्षर चिने। घरको आँगनबाट देखिने सिस्ने र माछापुच्छ्रे हिमालका दृश्य हेरेर कुनै दिन ती हिमालको शिखरमा पुग्न पाए कस्तो हुन्थ्यो होला भन्ने कल्पना गर्दै हुर्किए। तर, युवावस्थामा हिमालसम्म जाने फुर्सद र साधनस्रोत दुवै भएन। झन त्यसैमा गाउँको प्रचलन अनुसार ११ वर्षको उमेरमै हरिको विवाह भयो।
रोल्पा माओवादी सशस्त्र द्वन्द्वको उद्गमस्थल भएकाले उनको गाउँ पनि नराम्ररी प्रभावित भइसकेको थियो। गाउँका युवायुवतीसँग माओवादी सेना वा नेपाली सेनामा जाने र गाउँ छोडेर मुग्लान वा सदरमुकाम भाग्ने बाहेकका विकल्प थिएनन्। उनका बुबाले पनि माओवादीमा लाग्नुभन्दा छोराले पढेर केही गरोस् भन्ने चाहनाले जिल्ला सदरमुकाम लिवाङ पढ्न पठाए। त्यहींबाट प्रवेशिका परीक्षा उत्तीर्ण गरेका उनी १९ वर्षको उमेरमा बेलायती सेनामा भर्ना भए।
बेलायती सेनामा भर्ना भएपछि उनको परिवारमा मात्रै होइन, छरछिमेक सबैमा उत्साह थपिएको थियो। तर, त्यो उत्साह र खुशी लामो समय टिकेन। जागीरको सिलसिलामा अफगानिस्तानको हेल्मन्ड प्रान्तमा पुगेको वेला तालिवानी सेनाको एम्बुसमा परे। उनको जीवन क्षणभरमै अन्धकार छाए जस्तो भयो।
अफगानिस्तानमा तैनाथ नेटो सैनिकलाई सघाउन बेलायती सेनाको तर्फबाट सहभागी भएर नियमित गस्तीमा हिंडिरहेको वेला तालिवानी विद्रोहीले बिछ्याएको बम विस्फोटमा परेका थिए। त्यही विस्फोटमा दुवै खुट्टा गुमाए। घुँडाभन्दा माथिको भागमा पनि चोट लाग्यो।
“एक्कासि कहाँ के भयो केही थाहा भएन। होशमा आउँदा खुट्टा थिएनन्,” हिमाल आरोहणबारे केही समय पहिलेकोे एक भेटमा हरिले भनेका थिए, “अमेरिकी सेनाको बेसमा संसारको सबैभन्दा उत्कृष्ट उपचार पाएँ र त अहिले म जिउँदो छु।”
दुर्घटनापछि शारीरिक रूपमा उनी सोचेभन्दा छिटो तङ्ग्रिए। तर, मानसिक रूपमा तन्दुरुस्त हुन निकै कठिन भयो। मानसिक पीडा भुलाउन उनी प्यारासुट जम्प, स्की, कायाकिङ, प्याराग्लाइडिङ जस्ता साहसिक खेलमा लागे।
तिनै साहसिक खेलप्रतिको लगाव र सङ्गतले हरिलाई कालान्तरमा पर्वतारोहणतिर लाग्न प्रेरित गर्यो। फ्रान्स र इटालीको सिमानामा रहेको माउन्ट ब्लोङ्क (४,८१० मिटर), तान्जेनियाको माउन्ट किलिमन्जारो (५,८९५ मिटर), नेपालको मेरा पिक (६,४७६ मिटर) जस्ता हिमालको सफल आरोहणपछि उनको नजरमा परेको हो, सगरमाथा।
उनी सगरमाथा आरोहणको तयारीमा लागे। तर, त्यही वेला (सन् २०१७ मा) नेपाल सरकारले अपाङ्गता भएका व्यक्तिलाई हिमाल आरोहणमा बन्देज लगाइदियो। सरकारको नयाँ नियमले घुँडामाथि भाग नभएका हरि पनि प्रभावित हुने निश्चित थियो।
उनले यतिमा हार मानेनन्। कानून व्यवसायीसँग मिलेर सर्वोच्च अदालतमा रिट दायर गरे। कानूनी लडाइँमा उनलाई सफलता मिल्यो। सर्वोच्चले अपाङ्गता भएका व्यक्तिलाई हिमाल आरोहणमा लगाएको बन्देज खारेज गरिदियो।
अनि हरि फेरि सगरमाथा आरोहणको तयारीमा जुटे। तयारी गरिरहेकै वेला काेरोनाभाइरसको महामारी फैलियो। महामारीले उनको सगरमाथा आरोहण योजना पछाडि धकेलियो।
हरि तयारीमा जुटिरहेका वेला ७३ वर्षीय चिनियाँ आरोही सिआ बोयूले १४ मे २०१८ मा सगरमाथाको सफल आरोहण गरे। सन् १९७५ मा चिनियाँ आरोहण दलसँग पहिलो पटक सगरमाथा आरोहण गरिरहेको वेला सिआको खुट्टा हिउँले खाएको थियो।
सगरमाथामा दुवै खुट्टा गुमाएका उनी सन् २०१४, २०१५ र २०१६ मा पनि सगरमाथा आरोहणका लागि आएका थिए। तर, सन् २०१४ र २०१५ मा हिमपहिरो र भूकम्पका कारण आरोहण रद्द गरेर घर फर्किनुपर्यो। सन् २०१६ मा चुचुरो चुम्नै लागेका वेला मौसम बिग्रिएपछि शिखर नपुगी फर्किए।
सगरमाथा आरोहणमा सिआको दृढता अपाङ्गता भएका व्यक्तिका लागि प्रेरणादायी मानिन्छ। त्यसो त तिब्बततर्फबाट १५ मे २००६ मा आरोहण गरेका न्यूजिल्यान्डका मार्क इङ्लिस सगरमाथा शिखरमा पुग्ने दुवै खुट्टा नभएका आरोही हुन्। आरोहीहरूको तथ्याङ्क र विवरणको अभिलेखीकरण गर्ने आधिकारिक संस्था हिमालयन डेटा बेसको तथ्याङ्कमा उल्लेख भए अनुसार २१ मे २०१३ मा इक्वेडरका सेन्टियागो क्विन्टेरो (दुवै खुट्टा नभएका)ले नेपाली मोहडाबाट सगरमाथा आरोहण गरेका थिए। त्यसको चार वर्षपछि एउटा खुट्टा नभएका अमेरिकी आरोही जेफ ग्लासब्रेनरले पनि नेपाली मोहडाबाट सगरमाथा आरोहण गरेका छन्।
बीस जना जो चुली चढे
हिमालयन डेटा बेसका अनुसार अपाङ्गता भएका अमेरिकी नागरिक थोमस ग्रान्भिल्ले (टम) ह्वीटकरले २७ मे १९९८ मा नेपाली मोहडाबाट सगरमाथा आरोहण गरेका थिए। कार दुर्घटनामा एउटा खुट्टा गुमाएका उनी नै सगरमाथा आरोहण गर्ने पहिलो अपाङ्गता भएका व्यक्ति भएको तीे विवरणमा उल्लेख छ। उनले आरोहण गरेदेखि अहिलेसम्म एक जना महिला र १९ जना पुरुष गरी २० जनाले सगरमाथा आरोहण गरेका छन् । ती मध्ये दुई जना नेपाली छन्।
१६ मे २००४ मा सगरमाथाको आरोहण गरेका नवाङ शेर्पा पहिलो अपाङ्गता भएका नेपाली आरोही थिए। एउटा कृत्रिम खुट्टाको सहायताले सगरमाथा चढेका नवाङपछि २० मे २०१३ मा सुदर्शन गौतमले सगरमाथा आरोहण गरेका थिए। क्यानाडामा बस्दै आएका गौतम सहयोगी शेर्पाहरूको सहयोगले सगरमाथा आरोहण गर्न सफल भएका थिए। उनका दुवै हात छैनन्।
अहिलेसम्म दुवै खुट्टा नभए पनि सगरमाथा आरोहण गर्नेहरू घुँडामुनिको भाग नभएका आरोही छन्। घुँडामाथिको भाग नभएर पनि सगरमाथा आरोहण गर्न लागेको आफू नै पहिलो आरोही भएको हरिको भनाइ छ। धेरै वर्षको तयारी र राम्रो व्यवस्थापनपछि सगरमाथाको आरोहण शुरू गरेकाले आफू सफल हुनेमा हरि ढुक्क छन्।
हरि जस्तै अफगानिस्तानको युद्धमा एउटा खुट्टा गुमाएकी पूर्व अमेरिकी सेना क्रिस्टी इनिस पनि सगरमाथा आरोहणका लागि आधारशिविरतर्फ लागेकी छन्। अमेरिकी सेनाका रूपमा अफगानिस्तान युद्धमा सहभागी भएको वेला सन् २०१२ मा उनी घाइते भएकी थिइन्। त्यही क्रममा एउटा खुट्टा गुमाइन्। त्यसयता सामाजिक कार्य र स्नो बोर्डरको रूपमा विभिन्न खेलमा सहभागी हुँदै आएकी इनिस पछिल्लो समय पर्वतारोहणमा पनि लागेकी छन्।
सगरमाथाको चुली चुम्न उनी सन् २०१९ मा पनि नेपाल आएकी थिइन्। शिखर पुग्नै लागेको वेला सहकर्मी आरोहीको अक्सिजन सकिएर आरोहणमा समस्या भएपछि उनको टोली सामूहिक रूपमा आरोहण रद्द गरेर आधारशिविर झरेको थियो। त्यति वेला पूरा नभएको सगरमाथा आरोहणको सपना साकार पार्न इनिस योे सिजनमा नेपाल आएर सगरमाथा आधारशिविरतर्फ लागेकी हुन्।
सगरमाथा आरोहण गर्ने अपाङ्गता भएका व्यक्तिका रूपमा नाम दर्ज गर्न स्कट लेहम्यान र श्याना उंगेर पनि आधारशिविरतिर लागेका छन्। सगरमाथा आरोहण गर्ने पहिलो अमेरिकी बहिरा जोडी बन्ने योजनाका साथ लेहम्यान र उंगेर आधारशिविरतिर लागेका हुन्।
उनीहरूले सन् २०१५ मा अफ्रिकाको सबैभन्दा अग्लो हिमाल किलिमन्जारोको आरोहण गरेका थिए जुन सन् २०२० मा दक्षिण अमेरिकाको अकुङ्गा हिमाल आरोहण गर्ने पहिलो कान नसुन्ने आरोहण समूह बन्यो। सन् २०२१ मा दक्षिण अमेरिकाको सबैभन्दा अग्लो दिनाली हिमालको आरोहण गरे।
आरोहण र अन्य विषयको अधिकांश जानकारी यूट्यूब र खाली कागजमा लेखेर सोधेको भरमा लिने गरेको उनीहरूको वेबसाइटमा उल्लेख छ। हिमाल आरोहण जस्तो साहसिक खेलमा कान नसुन्ने व्यक्तिहरूको समस्या उजागर गर्नु उनीहरूको अभियानको उद्देश्य रहेको छ। यसअघि नै कान नसुन्ने आरोहीले सगरमाथा आरोहण गरिसकेकाले उनीहरू सातै महादेशका आठ हजार मिटर माथिका सात वटा हिमाल आरोहण गर्ने पहिलो जोडी भएर कीर्तिमान राख्न चाहन्छन्।
दृष्टिविहीन अमेरिकी लेन्निइ बेडवेलले सगरमाथा र ल्होत्से आरोहण गर्ने योजनामा छन्। १८ वर्षको उमेरदेखि आँखाको दृष्टि गुमाएका मेक्सिकन आरोही राफेल जैकी जरामिल्लो पनि सगरमाथा आरोहणको योजनामा छन्।