हिमाल चिनौं
पूर्वको नुम्बुरदेखि पश्चिमको अन्नपूर्णसम्मका हिमाल देखिने काठमाडौं उपत्यकाकै हामी अधिकांशलाई तिनको नामसम्म थाहा छैन।
मललितपुर, गोदावरीस्थित सेन्ट जेभियर्स स्कूलमा पढ्थें। पादरीहरू हामीलाई प्रत्येक डिसेम्बर पहिलो साता फूलचोकी लगेर हिमालहरू चिनाउँथे। तीमध्ये खास थिए- पादरी जेम्स दोनली। उति वेला अहिले जस्तो प्रदूषण थिएन, काठमाडौंबाट प्रायः सधैं हिमाल देखिन्थे। त्यहींबाट हिमशृङ्खलाहरूप्रति मेरो लगाव बस्यो। हाइस्कूल सकिएपछि म हिमालका तस्वीर खिच्न थालें।
पढाइ सकिएपछि सेन्ट जेभियर्समै काम पाएँ। स्कूलमा आउने विदेशीहरूलाई पाटन घुमाउन लैजाँदा हिमाल पनि देखाउँथ्यौं। तर, उनीहरूले ती हिमालका नाम सोध्दा अलमल्ल पथ्र्यौं। सधैं यस्तो भएपछि लाज लाग्न थाल्यो।
सन् १९७५ ताका काठमाडौंबाट देखिने हिमालहरूको परिचय सहित ‘पानोरमा’ पुस्तिका बनाउने सुर कस्यौं। म हिमालका नाम, तिनको भौगोलिक विवरण जुटाइरहेकै थिएँ। कुन्द (दीक्षित)जीले पाटनढोकास्थित निवासको कौसीबाट देखिने हिमालहरूको स्केच कोर्नुभयो। डिजाइनको जिम्मा कनकमणि दीक्षितजीले लिनुभयो।
अनि त्यसलाई दिल्लीमा लगेर छपायौं। मलाई लाग्छ, काठमाडौंबाट देखिने हिमालको पानोरमा त्यही नै पहिलो हो। हामीले पुस्तिकामा पानोरमासँगै पहिलो सफल आरोहणका जानकारी पनि समेटेका थियौं जुन सन् १९७८ मा भएको सगरमाथा आरोहणको २५औं वार्षिकोत्सव समारोहमा ज्यादै काम आयो। समारोह आयोजक, भर्खरै खुलेको पर्यटन मन्त्रालयसँगै विदेशी पाहुनालाई हिमालबारे चिनाउने कुनै व्यवस्थित सामग्री थिएन।
पाहुनाहरूलाई सभागृहको ग्यालरीमा ‘बोर्ड डिस्प्ले’ मार्फत हिमालबारे बुझाउने व्यवस्था मिलाइयो। यसमा हामीले नै सघाएका थियौं। हाम्रो पुस्तिकाले त्यति वेलाकी रोयटर्सकी नेपाल संवाददाता एलिजाबेथ हलीलाई पनि हिमालबारेका सामग्री तयार पार्न सघाउ पुग्यो।
पछि, म ग्रामीण विकासको काममा पहाडी जिल्लामा खटिएँ। कामकै क्रममा विदेश पनि घुमें। अवकाशपछि हुलाक टिकट सङ्कलनमा लागें। यो कामले मलाई फेरि हिमालसँग नजिक्यायो। हिमालका इतिहास बुझ्ने र केलाउने मौका पाएँ। हालसम्म विश्वका ४६ मुलुकले सगरमाथाका ९४ वटा टिकट छापेका रहेछन्। २८ मुलुकले अरू नेपाली हिमालका पनि ४१ वटा टिकट निकालेका छन्।
मैले ती टिकट समेटेर तयार पारेको पुस्तक नेपाल हिमालयः द रूफ अफ द वर्ल्ड अन पोस्टेज स्ट्याम्पले लन्डनमा आयोजित प्रदर्शनीमा पुरस्कार पनि पायो। विदेशीले यसरी टिकट छाप्नु हाम्रा हिमाललाई विश्व सम्पदाको मान्यता दिनु हो। विश्वमाझ नेपालकै प्रवर्द्धन हुनु हो।
हिमाल नदेखिने ठाउँकाले नचिन्नु स्वाभाविकै होला। तर, काठमाडौं उपत्यकाकै बासिन्दाले हिमाल नचिन्नुले हाम्रा प्राकृतिक सम्पदाबारेको शिक्षा हदै कमजोर रहेको प्रमाण दिन्छ। मौसम खुलेका वेला सातदोबाटो र त्यसभन्दा अझ दक्षिणबाट पश्चिमको अन्नपूर्णदेखि पूर्वको नुम्बुरसम्मको शृङ्खला देख्न सकिन्छ। गणेश, लाङटाङ, जुगल, रोल्वालिङ र खुम्बुका केही भाग त प्रायः देखिई नै रहन्छन्। गोर्खाको मनासलु र हिमालचुली पनि देखिन्छन्।
सन् १९६५ मा सेन्ट जेभियर्स स्कूलका फादर हेलिब्रान्डले चम्पादेवी डाँडाको फेदी र टौदहबाट खिचेको तस्वीरमा सगरमाथा प्रष्टै देखिएको छ। अरू ठाउँबाट खिचिएका हिमालहरूका पानोरमिक तस्वीर पाइन्छन्।तर, काठमाडौं उपत्यकाबाट हिमालका पानोरमिक तस्वीर उति खिचिएको पाइन्न। मैले सुनाकोठीबाट एउटा खिचेको छु। काठमाडौं सबै जिल्लाका बासिन्दा र विदेशीहरूको पनि केन्द्र भएकाले यहाँबाट देखिने हिमाली पानोरमालाई प्रवर्द्धन गरिनुपर्छ भन्ने मलाई लाग्छ।
अर्को त विश्वव्यापी तापमान वृद्धि र प्रदूषणबाट जोखिममा परेका हिमाल जोगाउने चेतना प्रसार गर्न पनि यिनको चिनारी अत्यावश्यक भइसकेको छ। हिमाल चिनेपछि नै हामीलाई यी सम्पदाको माया लाग्छ, सम्मान बढ्छ।
फुर्सदमा हिमाल चिन्ने र चिनाउने अनि हुलाक टिकट सङ्कलनमा सक्रिय श्रेष्ठले खिचेका काठमाडौंबाट देखिने हिमाल: