लिम्बूहरूलाई तिब्बत र सिक्किमबाट पनि सुवांगी
लिम्बूहरूले विजयपुर र गोरखालीबाट मात्र नभई तिब्बत र सिक्किमबाट पनि सुवांगी पाएर स्थानीय स्तरमा शासन सत्ता चलाएको विभिन्न दस्तावेजहरूमा उल्लेख भएको पाइन्छ।
राजा रणबहादुर शाहको समयमा वि.सं. १८३९ साउन वदी ८ रोज ५ मा खजुम रायलाई दिइएको रुक्कामा ‘तिमिहरूको कुरा जो छ हाम्रा भारदारहरूबाट विस्तार गर्या सुन्यु हिजो हिन्दूपतिले बक्स्याको नगरा निसान मान मर्यादा ज्या हो सो हामीले पनि बक्स्यौं मोहर लिन चाँडो हजुरमा आइपुग’ उल्लेख छ।
इतिहासकार रमेश ढुङ्गेलले प्राचीन नेपाल (संख्या ११३‚ भदौ-असोज २०४६:४) मा तत्कालीन सेन राजाहरूको राजनीतिक अधिकार आदर्शका रूपमा किरात प्रदेशमा कायम रहेको उल्लेख गरेका छन्। त्यस क्षेत्रको शासन स्थानीय सामन्तका रूपमा पुस्तैनी कार्यरत किरात दिवान तथा हाङहरूको हातमा हुन्थ्यो। त्यसैले हिन्दूपति सेनहरूलाई राजा माने पनि किरातहरूको आफ्नै किसिमको परम्परागत शासन चल्दथ्यो। पल्लो किरातमा पनि १० जना दलपति हाङले नै वास्तविक शासन चलाउँथे। त्यसैले पल्लो किरातलाई दश लिम्बुवान भन्ने चलन चलेको हो।
माथि उल्लिखित दुई उदाहरणले तत्कालीन लिम्बुवानमा पहिले सेन र पछि गोरखालीले लिम्बूहरूलाई मोहर दिएर स्थानीय स्तरमा अधिकार सम्पन्न बनाएको देखिन्छ। यद्यपि‚ विजयपुरबाट आदर्शका रूपमा सेन राजाले शासन चलाइरहेको वेला लिम्बुवानका कतिपय ठाउँमा भने भोट (तिब्बत) र सिक्किमको पनि शासन वा प्रभाव थियो।
बाजहाङका छोरालाई तिब्बती राजाको मोहर
विजयपुरमा पहिले कोच घरानाका राजाको शासन चलेको थियो। विजयपुरमा रहेर शासन गर्ने अन्तिम कोचे राजा विजनारायण राय थिए।
फ्रान्सिस ह्यामिल्टनले आफ्नो पुस्तक एन एकाउण्ट अफ् किङ्डम अफ् नेपाल (सन् १८१९:२)मा माझकिरातबाट विस्थापित भएर तत्कालीन इस्ट इन्डिया कम्पनीको अधीनमा रहेको पूर्णियामा सेन राजपरिवारसँग शरण लिएर बसेका गोरखालीबाट सत्ताच्युत चौदण्डीका चौतारिया अगमसिंह रायसँग भेट गरी आवश्यक सूचना लिएको उल्लेख गरेका छन्। आफूलाई सिक्किम र नेपालको सम्बन्धबारे चासो भएकाले खास सूचना अगमसिंहबाट प्राप्त गरेको ह्यामिल्टनले उल्लेख गरेका छन्। अगमसिंह वंशानुगत रूपमा किरात जातिका थिए। उनी निर्वासित राजा (चौदण्डीका सेन)का अन्तिम चौतारिया अर्थात् प्रधानमन्त्री थिए।
ह्यामिल्टनले उनै अगमसिंहबाट विजयपुरको राजघराना र लिम्बू चौतारियाको पुस्तौनी अधिकारबारे पनि सूचना बटुलेको पुस्तकबाट थाहा हुन्छ। ह्यामिल्टन (सन् १८१९:१३३ र १४७)लाई उद्धृत गर्दै इतिहासकार इमानसिंह चेम्जोङले किरातकालीन विजयपुरको संक्षिप्त इतिहास (२०५९ कः१३-१७)मा उल्लेख गरे अनुसार‚ वि.सं. १४२१ मा साङलाइङ नामका राजाले स्थापित गरेको राजघरानाका पुस्तामध्ये सातौं पुस्ताका विजयनारायणले वाराताप्पादेखि उत्तर र साँगुरीगढीदेखि दक्षिणमा राजधानी बनाई शासन चलाउन थाले। यो ठाउँको नाम विजयपुर कहिन्छ। उनले पहाडी भागमा पनि आफ्नो प्रभाव विस्तार गर्न फेदाप थुमका लिम्बू राजा मुरेहाङ खेवाङलाई विजयपुर झिकाई मित्रता कायम गरी आफ्नो राज्यलाई बलियो बनाए। मुरेहाङलाई राय पद दिएर उनको पुस्तौनीलाई विजयपुरको दिवान वा चौतारिया बनाउन पनि विजयनारायण राजी भए। दश लिम्बूका थुमथुमका हाङहरू विजयपुर आएर पालैपालो ६-६ महीना राजकाजमा सहयोग पुर्याउने सहमति पनि भयो।
तर‚ विजयपुरकी राजकुमारी मैया मुरेहाङलाई गोभक्षक भनी घृणा गर्थिन्। यो सहन नसकेर मुरेहाङले एकान्तमा पारी एक दिन मैयाको सतीत्व लुटे। यसै अभियोगमा विजयनारायणले मुरेहाङलाई मृत्युदण्ड दिए। यो खबर सुनेर फेदापमा रहेका मुरेहाङका छोरा बाजहाङले विजयनारायणसँग बदला लिने अठोट गरे। यसका लागि उनी मकवानपुर पुगी त्यहाँका राजा लोहाङ सेनलाई गुहारे। बाजहाङको लिम्बू सेना र मकवानी सेना गरी दुई दल मिली साना साना राज्यहरू जित्दै उनीहरूले पूर्वको गिद्धेपहाड पुगी आफ्नो साँध कायम गराए। तर, गिद्धेपहाडमा शत्रुपक्षको प्रहारले बाजहाङको युद्धस्थलमै वि.सं. १६७५ मा देहान्त भयो। लोहाङ सेन विजयपुर आइपुग्दा त्यहाँका राजा विजयनारायणको देहान्त भइसकेकोले सजिलै उनी विजयपुरको गद्दीमा विराजमान हुन सफल भए। उनले बाजहाङका छोरा पानोहाङलाई मन्त्री बनाए। उनलाई नेपालको इतिहासमा विद्याचन्द्र राय भनेर चिनिन्छ (चेम्जोङ, २०५९:२०-२३)।
मकवानपुरी राजा लोहाङ सेनलाई मोरङ बोलाएर त्यहाँको राज्य स्थापनामा महत्त्वपूर्ण भूमिका खेल्ने उनै पानोहाङको तिब्बतका राजासँग पनि राम्रो सम्बन्ध रहेको थियो। विजयपुरमा लोहाङ सेनले लिम्बूहरूको साथ लिई कोच घरानाको राज्य खोस्नुअघि नै तिब्बतसँग धर्मका विषयमा सम्बन्धका रहेकाले सेनहरूले विजयपुर राज्य लिएको बाजहाङका छोराहरूले तिब्बत सरकारलाई जानकारी गराएका थिए। साथै‚ उनीहरूले मकवानपुरका हिन्दू राजाले मुलुक जिती हाङहरूको जिम्मा दिएको कुरा पक्का सबूत गरी त्यहाँका राजालाई समय समयमा आफूहरूलाई हेरचाह गर्न बिन्ती पनि चढाए। यस कुरामा राजी भई तिब्बत सरकारले पनि लिम्बू हाङहरूलाई मोहर गरिदिएका थिए।
आगो बज्रको साल १० महीना १३ मा गरिदिएको मोहरमा ‘फेदाप देशका राजा बाजहाङले उनको राज्यभर सबै उनका छोरालाई जिम्मा लगाई उनी स्वर्गे भएका छन्। यो फेदाप देशबाहेक नुहाङ्मा, भागासुम र अरु तराईसम्म फैलिएका सात देशहरू अघि उनीहरूका पितापुर्खादेखि खाईपाई चलाई ल्याएको हो। तसर्थ उपर्युक्त जागिरे, ढाक्रे, लामा गैह्रले आ-आफ्नो मनमा यो देशलाई मित्र राज्य सम्झी ब्यवहार गर्नु’ भन्ने उल्लेख छ (इमानसिंह चेम्जोङ, किरात इतिहास- २०५९ खः२८)।
यसले फेदापका लिम्बूहरूले विजयपुरका सेनको मातहतमा रहेर चौतरिया चलाए पनि तिब्बती राजासँग पनि उत्तिकै सुमधुर राजनीतिक सम्बन्ध कायम गरेका रहेछन् भन्ने ठहर्छ।
पृथ्वीनारायण शाहले कायम गरेका साँध
पृथ्वीनारायण शाहले पूर्वतिरको अभियानका वेला उत्तरी पहाडी खण्डबाट सरदार रामकृष्ण कुँवर र अमरसिंह थापाको नेतृत्व र दक्षिण तराई खण्डबाट बख्सी अभिमानसिंह बस्न्यात र पारथ भण्डारीको नेतृत्वमा गोरखाली सैन्य परिचालन गरेका थिए।
विजयपुर गोरखालीको अधीनमा आइसकेपछि पृथ्वीनारायण शाहले योगी भगवन्तनाथलाई वि.सं. १८३१ भदौ सुदी ६ शुक्रबार काठमाडौंबाट लेखेको पत्रमा ‘किरातको अम्बल मदेश पहाड भोट जति थियो. आफ्ना आशिर्वादले सवै फत्य भयो. मध्येशमा कनकाई नदी पहाडमाहा सभा खोलो तमोर नदीका साध लाग्यो. मानिस काट्न पाइयेयन. भाग्यो कति मोगलानतिर गयो. कति सुखिमतिर गयो. अरु झार जलमाँहा ८५ वेसि काटिया वाकी सुषिम संग हाम्रो घा हुन लागि रहेछ. घा वन्या देषि किरात वाट भागी जान्या कन पकरेर हामिलाई सौंपि दिन्याछ. घा न वन्या अव हामिले सुषिम संग खड्नु पर्न्याछ. उप्रान्छ हाम्रा विश्वामित्र उपाध्याय र गंगानन्द आचार्य सुखिम गयाका छन्’ भन्ने उल्लेख छ (योगी नरहरिनाथ, इतिहास प्रकाशमा सन्धिपत्र सङ्ग्रह भाग १-२०५५:६-७)।
पत्रमा उल्लेख भएका वाक्यले लिम्बूहरू युद्धमा ज्यान बचाएर सिक्किमको शरणमा पुगेको भन्ने स्पष्ट हुन्छ। पत्रमा पृथ्वीनारायणले यत्रतत्र आफ्ना दूतहरू पठाएको पनि खुल्छ। उनले सिक्किममा विश्वामित्र उपाध्यय र गङ्गानन्द आचार्य, पटनामा किरिटमाली, नवाव सुजाउद्दौला समक्ष वैकुण्ठ उपाध्यय, कलकत्तामा दिनानाथ उपाध्यय, ल्हासामा राज गिरीलाई पठाएको खुल्न आउँछ। पृथ्वीनारायणको पत्रमा मधेश‚ पहाड र भोट भन्ने शब्द पनि परेकाले त्यस वेला लिम्बुवानमा भोटको प्रभाव थियो भन्ने पनि सङ्केत गर्छ।
गोरखालीले लिनुअघि हालको इलाम साथै पाँचथर जिल्लामा रहेको इसिलिम्बा र च्याङ्थापु त्यस वेला सिक्किम अधीनस्थ थियो। सेन राजाको अधीनमा रहेका भूभागहरू कब्जा गरिसकेपछि पृथ्वीनारायणले यी ठाउँहरू सिक्किमबाट खोस्ने नीति बनाएका थिए। सोही अनुसार अभिमानसिंह बस्न्यात, पारथ भण्डारी, कीर्तिसिंह खवास र बलि बानियाँको सैन्य समूहलाई आदेश दिंदा सिक्किमको पुराना भाग र तिब्बत अधीनस्थ कुनै पनि भूभाग छुँदै नछनू भन्ने खालको सन्देश पठाएको देखिन्छ।
पृथ्वीनारायणले वि.सं. १८३१ आश्विन वदि ३० रोज ४ मा जारी गरेका लालमोहरमा ‘इस् लिम्वा. चांथापुसम्म जति हाम्रो फौज पुग्यो त अब त्यो जग्गा छा्ड्नु छैन. वलिया गरि गढि तांहि वनाउना छन्... सुषिम आई लाग्या एकाठाउं वनाइकन. कत्तल गर्न्या जांचो गर. सुषिमका पुराना देश महा गया. माथि लासा संग विग्रन जाला. तस् अर्थ उपल्ला मुष तिर लासाका देश महा चार अंगुल पनि सांध चापनु छैन. प्रजालाई दुष दिनु पनि छैन. सुषिमका पुराना देश महापनि जानु छैन’ भन्ने उल्लेख छ (बाबुराम आचार्य, श्री ५ बडामहाराजाधिराज पृथ्वीनारायण शाहको संक्षिप्त जीवनी- २०६१:४३१-३२)।
योगी भगवन्तनाथलाई लेखेको पत्रमा कन्काई नदीसम्म मात्र साँध लाग्यो भनी उल्लेख गरे पनि अर्को पत्रबाट त्यस वेला दक्षिण-पूर्वी भेगमा गोरखालीले टिस्टासम्मै साँध पुर्याएको देखिन आएको आचार्यले उल्लेख गरेका छन्। अभिमानसिंह बस्न्यातले दन्तकालीका पूजारी लोकेश्वर पण्डितलाई गरिदिएको वि.सं. १८३१ कात्तिक सुदि ८ को थमौती पत्रमा तप्पा वौनीगावका र तप्पा दामावाडीका गाउँ समेत थामी लालमोहर गराइदिने प्रतिज्ञा गरेको देखिनाले टिस्टासम्म नै गोरखालीले अधिकार गरेको देखिन आउँछ (आचार्य, २०६१:४३२)।
पछि सिक्किमले आफ्नो अधीनमा राखेको इसिलिम्बा र च्याङथापु गोरखालीहरूले आफ्नो अधिपत्यमा ल्याए। पहिले विजयपुरको अधीनमा रहेको इलाम पछि सिक्किमले आफ्नो अधीनस्थ बनाएको थियो। वि.सं. १८३१ असोज १३ गते गोरखालीले इलाम पनि आफ्नो अधिपत्यमा ल्याए (बाबुराम आचार्य, नेपालको संक्षिप्त वृत्तान्त- २०६३:१९३)।
लिम्बूहरूले वि.सं. १८३१ साउनमा पृथ्वीनारायण शाहले गरिदिएको लालमोहरलाई आफूहरूसँग गरेको सन्धि सम्झौता ठान्ने गरेका छन्। पृथ्वीनारायण शाहले सुन राय लगायतलाई दिएको उक्त लालमोहरको ब्यहोरा इतिहासकार शंकरमान राजवंशीले प्राचीन नेपाल (संख्या ३- वैशाख २०२५:२९-३०)मा प्रकाशित गरेका छन्। उनले लालमोहर वि.सं. १८३१ साउन सुदी १ सोमबार (तदअनुसार साउन २७) गते जारी गरेको उल्लेख गरेका छन्। लालमोहरमा सेनहरूले लिम्बूहरूलाई जुन अधिकार दिएका थिए, त्यो कायम हुने उल्लेख छ।
विजयपुरमा नुनपानी समारोहको आयोजना गरी गोरखाली भारदारहरूलाई प्रतिज्ञा गराएर सुन राय लगायतले लालमोहर लिइसकेपछि वि.सं. १८३१ भदौमा अरु लिम्बू सुब्बाहरू नन्द राय, जमुन राय लगायतलाई पनि लालमोहर दिएर गोरखालीहरूले आफ्नो पक्षमा मिलाए। पहिले सिक्किम अन्तर्गत रहेका पाँचथर उत्तरी भेगका थेगिम, नेम्बाङ, पापो लगायतका सुब्बाहरूले पनि विजयपुरबाट सुन रायलाई पाँचथर झिकाएर सल्लाह गरी गोरखामै सामेल भए। उनीहरूलाई साँगुरीगढीदेखि उत्तर भारप्पा फालेबुङसम्मको पर्गन्नाको जिम्मा दिइएको थियो (चेम्जोङ, २०५९:९८-९९)।
लिम्बुवानमा तिब्बतमाथि गोरखाली निगरानी
वि.सं. १८३१ साउन पृथ्वीनारायण शाहले हिजो हिन्दूपति सेनहरूले दिएको अधिकार कायम रहने गरी लिम्बुवानलाई आफ्नो अधीनमा लिए। त्यस वेला गोरखाली अधीनलाई स्वीकार नगर्ने लिम्बुवानका १० मध्ये आधाजसो लिम्बू सुब्बाहरू छिमेकी राज्य सिक्किमतर्फ पलायन भएका थिए। त्यस वेला गोरखालीहरू लिम्बुवानमा ढुक्कले भने बस्न सकेका थिएनन्। रेग्मी रिसर्च सेरिज (महेश सी. रेग्मी (सम्पा.) वर्ष ३ अङ्क १२-सन् १९७१:२७८-७९)मा प्रकाशित वि.सं. १८५० असार सुदी ७ को यो लालमोहरमा पूर्णानन्दका तर्फबाट राजालाई जाहेर गरिएको अर्जीमा लिम्बूको प्रसङ्ग परेको छ। लालमोहरमा गान्तोकका छत्रजितको सल्लाहमा वेला वेला लिम्बूहरूले विद्रोह गर्ने गरेको उल्लेख छ। यस्तै‚ सिक्किमलाई जस्तै लिम्बूहरूलाई पूर्ण रूपमा विश्वासमा लिई नहाल्नू र उत्तरी तथा पूर्वी क्षेत्रको सूचना होशियारीपूर्वक सङ्कलन गरी पठाउँदै गर्नू भन्ने आदेश सुब्बा पूर्णानन्दले राजा रणबहादुर शाहबाट पाएका थिए।
लिम्बुवान हात लिएको दुई दशक बित्न लाग्दा पनि लिम्बूहरूसँग गोरखालीहरू ढुक्कसँग बस्न नसकेको यसबाट स्पष्ट हुन आउँछ। लिम्बुवान हात लिएको चार-पाँच वर्षपछि जारी भएका पत्रहरू पढ्दा पनि लिम्बुवानमा तिब्बती गतिविधिहरू भइरहेको स्पष्ट देखिन आउँछ। इतिहासकार दिनेशराज पन्तले पूर्णिमाको पूर्णाङ्क ५८ (चैत २०४०:३०-४४)मा प्रकाशित गरेको ‘श्री ५ रणबहादुर शाहका नौवटा अप्रकाशित लालमोहर’मा यसबारे जानकारी पाउन सकिन्छ। यी लालमोहरहरू त्यतिखेर विजयपुरको हाकिम भई बसेका सुब्बा योगनारायण (जोगनारायण) मल्लको नाममा जारी भएका छन्। वि.सं. १८३५ वैशाख वदि ४ रोज २ मा लेखिएको लालमोहरमा यस्तो लेखिएको छः
लासाबाट आएका मानिसले साह्रो गरी सेपिराष्याछन्. मोहरमा लेषियाको सांध दिउ भन्या सर्कारको ढेरै विरिन्या छ एक थोक सांध गरी काज छिन्या वढिया हुदो हो भनि विन्ति गरी पठायाछौ इहा पनि वारिका सुब्बाको मार्फत्ले साक्या लामा गुङच्याराचन ततुय वांग्यालहरूको चिठि आयाको थियो. लासामा हिजोको धर्मपत्र महा लेखियाको धर्मपत्र लिकन लासामा भला मानिस पठाउछौ ताहाबाट जउन् सांध सिमानाको ठेगाना भइ आवला. तसै माफिक सांध सिमानाको ठीक गरौंला भनि यस्ता तरहसित लेषि उठाञुं. उप्रान्त इहा किरातका ठाना कुर्हंन्या आठ थुमलाई ताहाबाट उकास्या गएछ यस्तो भया कसो गरी मुलुकको सम्भार गर्ने होला भनि विंति पठायाछौ. पश्चिमतिरको काज हुदा उमराहरू गयाका थिया अव ठिक गरीकन पठाउंछौ (पन्त, २०४०:३०-३१)।
यसले तिब्बत र नेपालको साँध सिमानामा केही गडबडी भएको र तिब्बतले लिम्बुवानका ठाना कुर्नेहरूमध्ये आठ थुम (आठराई?)का लिम्बूहरूलाई उकासेर गएकाले त्यहाँ सम्हाल्न गाह्रो भइरहेको कुरा राजालाई अवगत गर्दा गोरखाली सैन्य अधिकारीहरू पश्चिमतिरको अभियानमा गएकाले उनीहरू फर्किएपछि थप शक्ति लिम्बुवान पठाइने जानकारी गराइएको स्पष्ट पार्छ।
यसैगरी वि.सं. १८३५ वैशाख वदी ४ रोज ५ मा लेखिएको अर्को लालमोहरमा भोटले लिम्बुवानमा आएर लिम्बूहरूलाई दुःख दिइरहेको भन्ने सन्देश विजयपुरबाट जाँदा राजाले लिम्बू र भोटेहरूबीच फुट पैदा गर्दा आफूहरूलाई फाइदा हुने उल्लेख छ। लालमोहरमा यस्तो लेखिएको छः
सुषिमको अघिका काज पुरानो काजी र नया काजीको लडाई भइरहेछ. नया काजिको छोरो १ लडाइमा पर्यो. पुराना काजिल धर्माकंन कमायको रहेछ र धर्माको फौज उठाइ सुषिममाथि तस्तो देखता भोट्याले लिम्वुकन वहुतै दुष् दिन लागेछ र तमोरवार गोर्षाको सेमाना गर्छु. भोट्या हान्छु. काजि परिआयाको गुहार पनि दिया भनि लिम्वुहरू भन्न आया र भोट्या लिम्वु पाट्याकोता हाम्रो सवैको हो भन्या जस्तो लाग्यो र मान भनि वचन दिञौं भनि लेष्याछौ. सुन्यौ. लिम्वु र भोट्या फोर्नु हाम्रो सव्यै हो हान भन्या छौ वनाया छौ निस्तत सुद्ध भैकन साध दिन्या भया गुहार पनि दिनु (पन्त, २०४०:३२-३३)।
यसैगरी वि.सं. १८३६ असार सुदी १० रोज ४ मा लेखिएको लालमोहरमा भोट गाउँ (पूर्वी नेपालको हिमाली गाउँ) तिर अशान्ति मच्चिएको उल्लेख छ। खासगरी भोटे सेनाहरूले त्यहाँ आक्रमण गरेको र ती आक्रमणकारीहरू ल्हासाको निर्देशनमा आएका हुन् कि आफैं आएका हुन् त्यो राम्ररी बुझ्न केन्द्रबाट निर्देशन आएको देखिन्छ। लालमोहरमा लेखिएको छः
भोट गाउँतिर लडाइ भयाको भोट गाउमा हान्न आउन्या को हो भोट गाउ हान्न आउन्याले हाकिमका मतोले हान्न आयाको हो कि ल्हासाको मतोले हान्ने आयाको हो. त्यो ता भोटको हाकिमका मतोले आयाको भया हतपत भोट गाउल्यालाई वलिया गरि पिछा लिनु भोट गाउल्यालाई आप्ना साथ बल राषि पर्गन्नामहाँ नालवन्दिको कुरो वांधि आफ्नु पक्की पन्या गरि भोग गाउंलाई गुहार दिनु (पन्त, २०४०:३६)।
वि.सं. १८३७ भदौ वदी ३ रोज ६ को लालमोहरमा धर्मा (भुटान) र सिक्किमबीच युद्धको सम्भावना देखिएको र त्यसका लागि नौ हजार भुटानी सेना हिजो भोटमा उसलाई हटाएकै ठाउँको बाटो हुँदै आइरहेको जानकारी विजयपुरबाट गएपछि त्यस्ता कुराहरू बुझ्दै गर्न पनि निर्देशन दिइएको छ। लालमोहरमा लेखिएको छः
वाकि धर्मासित एस्तो एस्तो कुरो भयेथ्यो. उकिल जांदा एस्ता तरहसित पठायाथ्यूं. फेरि मानिस पठायाको छ. उत्तरा आयाको छैन. ९ हजार धर्माको फौज भोटको वाटो आयेको छ अघि सुषिमले तेसै जगाबाट धर्मालाई हटायाको रहेछ. आज पनि ताहाको झोलंगो काटिदिदा आयाको फौज फक्र्यो। फेरी तरीको वाटो गरी आव. तिमि हामि साहमेल भै चढाइ गरौंला भन्याको हो. औलामा आउनु भोट्या गाह्रो मान्नन भनि लेषे छौ. भलो. भोट मधेसको षवर वुझ पनि लेष. धर्मावाट आयाको वुझ पनि लेख (पन्त, २०४०:३७-३८)।
यी लालमोहरबाट गोरखालीहरूको अधीनमा गइसकेको लिम्बुवानमा तिब्बत, सिक्किम र भुटानको भूराजनीतिक रणनीति तथा संवेदनशीलताबारे बुझ्न सहयोग पुग्ने देखिन्छ।
कहिले सेनको कहिले तिब्बतको
लिम्बुवान क्षेत्रमा खासगरी पहाडी क्षेत्रमा रहेका कतिपय ठाउँमा लिम्बूहरू स्वायत्त थिए भने कतिपय ठाउँलाई भने वेला वेला सिक्किमले आफ्नो अधीनमा राख्ने गर्थ्यो।
कुनै वेला मगरजोङ, खम्बाछेन र तम्बरगढ सिक्किम अधीनस्थ थियो। विस्तारै सिक्किमका राजा फुन्छोंग नामग्यालको सेनाले लिम्बुवानका याङरोक, मेवा, वालुङ, मैवा र फेदापसम्म आफ्नो अधिपत्य जमाई दिंदा त्यहाँ लिम्बू सुब्बाहरूले सिक्किमका महाराजालाई वर्षेनि सिर्तोक बुझाउन पर्थ्यो। ती राजाले वालुङ र खम्पाछेन गाउँमा बौद्धमठ समेत बनाई त्यहाँका बासिन्दालाई बौद्ध धर्मको प्रभावमा समेत पारेका थिए (चेम्जोङ, २०५९खः ४१)।
वि.सं. १७३७ मा श्यानपुरका सुब्बा योयोहाङ स्वघोषित राजा भए। त्यस वेला सिक्किममा फुन्छोंग नामग्यालका छोरा तेन्सोङ नामग्यालको शासन चल्दै थियो। उनले योयोहाङकी छोरीसँग पनि विवाह गरेका थिए। यी सिक्किमी राजाले यहाँका लिम्बूहरूलाई सुवांगीका लागि विभिन्न पद र नगरानिशान समेत प्रदान गरेका थिए। माटो भेडाको साल ७ महीना २७ गते दिइएको एक लालमोहरमा ‘लिम्बु गाउँका मुखिया, आक्योन, चोङ छिरिङ, लुङहाङ खार्साङहरूलाई ऐन मुताविक तिरो लगायत रकम कलम नियमित बुझाएबापत र दरबारको चाकरीमा सदा हाजिर भइरहेको हुनाले सुवांगी पद दिइएको’ उल्लेख छ (चेम्जोङ, २०५९खः ४१-४२)।
लिम्बुवानमा १८४८ को विद्रोह
जब जब चीन र तिब्बतसँग नेपालको विवाद वा युद्ध हुन्थ्यो, त्यसै वेला लिम्बुवानमा पनि शान्ति खलबलिन्थ्यो। त्यतिवेला सिक्किम र तिब्बतसँगै लिम्बूहरू पनि पहिलेको आफ्नो स्वायत्त भूराजनीतिक विरासत रहेको ठाउँमा आन्दोलित हुन्थे। तिब्बतसँग युद्ध हुँदा काठमाडौं केन्द्रबाट केरुङ, कुति तथा झुँगातिर गोरखाली सैन्य परिचालित हुन्थे। लिम्बुवानतिर गोरखाली सेना परिचालित हुन्थे।
वि.सं. १८४५ मा पनि त्यस्तै भयो। मिसाहा चाँदीको टकको विषयमा विवाद हुँदा नेपालको तिब्बतसँग युद्ध हुने अवस्था सिर्जना भयो। सिक्किमले तिब्बतको पक्ष लियो। त्यस वेला गोरखाली सैन्य अफिसरको रूपमा संखुवासभाको चैनपुरमा जहरसिंह बस्न्यात कार्यरत थिए। नायब राजकुमार बहादुर शाहले उनलाई सिक्किम आक्रमण गर्न खटाए। सिक्किममा लेप्चा सेनापति युक्सथुक थिए। बस्न्यातले दार्जिलिङमा आक्रमण गर्दा उनी भागेर भुटान पुगे। गोरखालीहरूले भुटानमा पनि आक्रमण गरिदिए। तर‚ भुटानसँग सन्धिसम्झौता भएपछि उनी सिक्किम केही दिन अडिएर बसे तापनि त्यहाँ अनिकाल फैलिएकाले त्यहाँबाट हटी उनी इलाम आएर गढी निर्माण गर्दै बसेका थिए (बाबुराम आचार्य, पूर्णिमा पूर्णाङ्क ६०-माघ २०४१:४२-४३)।
वि.सं. १८४८ पनि तिब्बत र नेपालबीच युद्ध भयो। त्यसै वेला लिम्बूहरूले सिक्किमी र लेप्चाहरूको साथ लिएर ठूलो विद्रोह गरी केही दिन चैनपुर कब्जा गरेका थिए। लिम्बूहरूलाई सहयोग गर्न सिक्किमका सेनापति युक्सथुकले भोटिया सेना र लेप्चा सेनालाई एकत्रित गरेर सिद्धपुर (चैनपुर)मा ल्याएका थिए। यिनै सेनासित यहाँका लिम्बूहरू मिल्न पुगे। सरदार बदलसिंह बस्न्यात र सुब्बा पूर्णानन्द उपाध्ययले विद्रोह दबाउने प्रयास गरिरहेका वेला काठमाडौंबाट काजी देवदत्त थापा मगरको नेतृत्वमा एक हजार सैन्य बहादुर शाहले काठमाडौंबाट रवाना गराए। यो फौजले लिम्बूहरूको विद्रोह दबाएको थियो। यो फौजले नै टिस्टा नदीसम्म पुगी दार्जिलिङसमेत कब्जा गरेको थियो (बाबुराम आचार्य, पूर्णिमा पूर्णाङ्क ६३-चैत २०४१:१३)।
बाबुराम आचार्यले यो विद्रोह वि.सं. १८४८ को फागुनतिर भएको उल्लेख गरेका छन्। वास्तवमा यो विद्रोह फागुनमा नभई असार वा साउनमा भएको थियो भन्ने प्रमाण यो लेखकसँग छ। उक्त विद्रोहमा सामेल हुनेमध्ये मैवाखोलाका लिम्बू सुब्बा सिर्देउ राय (वनेम फागु)लाई दिएको वि.सं. १८४८ भाद्र वदि २ रोज २ मा त्यस वेलाको विद्रोहलाई सम्बोधन गर्दै दिएको रुक्काको छायाँप्रति यो लेखकलाई वेलायतबासी संस्कृतिकर्मी तथा साहित्यकार टंक वनेमले उपलब्ध गराएका हुन्। रुक्काको व्यहोरा यस्तो छः
स्वस्ति श्री मन्महाराजा धिराज कस्य रुक्का....
आगे फागु सिरदेव राये प्रति. अघि तिमिहरूले सुषिम सित मिली कुल गरेर ल्याये पनि हारेउ सुवाहरूले डांड लीया कुला गर्याको सासना भयाको छैन. येस साल फिरि पुर्वतिर काज आछिव. सवै लीम्वुका नाउमा मोहर जान्छ. मोहर वमोवीम सुवा पगरि. कुरिया प्रर्जा झारा भै सुवा पुर्नानंन्द उपाध्याको सामील हौ येतावाट जान्या भारादार औ सुवाका सल्लाहले. जतातिर षटाउछन्. उसै मुष जाइ काज गर. अघिका जस्तो कुलचुल परिपंच गर्या. सासना दुष पाउला. सोझो लिषिकन काजमा वस्या तम्रो मीहनत सेवा माफिक गौरव रीस्ति गरि वक्सौंला इति सम्वत १८४८ भाद्र वदि २ रोज २ शुभम...
यो रुक्काबाट लिम्बुवानको त्यो विद्रोह वि.सं. १८४८ को फागुनतिर नभई भदौअघि नै भएको स्पष्ट हुन आउँछ। उक्त विद्रोहमा भोट (तिब्बत)को पनि सहभागिता रहेको थियो भन्ने अर्को रुक्काले पनि देखाउँछ। योगी नरहरिनाथ (सम्पा.)ले इमानसिंह चेम्जोङबाट प्राप्त गरी इतिहास प्रकाशमा सन्धिपत्र सङ्ग्रह भाग-१ (२०५५:६८४)मा प्रकाशित भएको सुब्बा पूर्णानन्द उपाध्ययले विजयपुरबाट वि.सं. १८४९ मङ्सिर सुदि १० मा लिम्बू सुब्बा वंगेहाङ रायलाई दिएको रुक्कामा भोटको संलग्नता भएको स्पष्ट रूपमा खुल्न आउँछ। रुक्काको ब्यहोरा यस्तो छः
आगे बंगेहाङ राएके आसिष. उप्रान्त भोट्याका थिचा मिचामा आप्ना कुल् कविला उकास्ननसकि भोट्यातिर गयौ त पनि तेस्को षता तक्सिर माफ गरिदियौं. कौनै वातको अंदेसा नमानि कुल कविला स्मेत आपना घर वारिमा आइ वस. कमाव कजाव. तिमिहरूलाइ मुहहि पिछाहि माफ गरि दियौं. इति सम्वत् १८४९ साल अगहन सुदि १० मुकाम विजैपुर।
तिब्बत र सिक्किमबाट लिम्बूलाई सुवांगी
लिम्बुवान गोरखालीहरूको अधीनमा आउनुअघि तिब्बत र सिक्किमले लिम्बू सुब्बाहरूलाई गरिदिएको सुवांगी मोहरहरूको पछिल्ला ऐतिहासिक प्रमाणहरू पनि छन्।
पुरातत्त्व विभागको मुखपत्र प्राचीन नेपाल (संख्या ९०- कात्तिक-मंसीर‚ २०४२:३१)मा प्रकाशित लिम्बू सुब्बा मिंहित रायलाई तत्कालीन राजा गिर्वाणयुद्ध विक्रम शाहले वि.सं. १८६९ वैशाख सुदी ५ मा जारी गरेको लालमोहरलाई उदाहरणको रूपमा लिन सकिन्छ। लालमोहरमा ‘तेरा वावु वराजु देषि विहारी आयाको किपटजिमिन संलुप्पा तस्को साँध सुवेल ढुङ्गो देषि लाया रुवा देषि चार किल्ला भित्रका जिमिन सुषिंको राजाले फागुंदेषि फोरि तँलाई नगारा स्मेत भिन्न पारि भिन्ना सुवांगि गरिदियाको रहेछ हाम्रा प्रतापले मिच्यापछि-१ वाट पनि मोहर गरि भिन्न सुवाँगि थामि वस्कनु भयाको रहेछ आज हामी पनि फागुको अलागक गरी सुषिंमले दियाको वमोजिम सुवागी चार किल्ला भित्र जिमिन थामि बक्स्यौं’ उल्लेख छ।
अझै पछिल्लो प्रमाणको रूपमा इतिहासकार भगिराज इङ्नामबाट यो लेखकले प्राप्त गरेको राष्ट्रिय अभिलेखालय रहेको एक फिरादपत्रलाई पनि उदाहरणको रूपमा लिन सकिन्छ। उक्त पत्रले गोरखालीले लिम्बुवानको भूभाग हात लिनुअघि त्यहाँका लिम्बूहरूलाई ल्हासा, सिक्किम र सेनहरूबाट मोहर प्राप्त भएको थियो भन्ने देखाउँछ।
हालः ताप्लेजुङको चाँगेको फेउदेनका चेतसिंह आङबुहाङले आफू र सिरिं (सेरेङ चोङबाङ)बीच भएको जग्गा सम्बन्धी झगडामा उनले सरकारलाई जग्गा आफ्नो भएको दाबी गर्दै सरकारलाई फिरादपत्र जाहेर गरेका थिए। फिरादपत्रमा यस्तो उल्लेख छः
मकवानी राजाको पाला चाग्याको फेउदेनको जग्गा खाँदै थियौ, सेन राजाको राजमा पनि हामीले ब्यहोरी आएको हो। लासाबाट पनि थामिदिएको हो। सुषिमले पनि थामि दिएको हो। त्यहाँ पछि गोरखालीको प्रवेश भएपछि तीन चार वटा लालमोहर प्राप्त भएको। लालमोहर अनुसार १२ पुस्ता खाई ब्यहोरी आएको। ७४ साल भण्डरी काजीका पालामा सिरिंले मेरो जग्गामा झगडा गर्न आयो। ७८ सालमा पनि जाँच भएको हामीले नै जग्गा पाएको। त्यो जग्गा सिरिंको होइन हाम्रो हो। एकोहोरो कुराबाट मोहर ल्यायो। त्यो जग्गा सिरिंतिर गयो भने जाचकारीको निसहि भयो।
यस पत्रमा ७४ सालमा काजी भण्डारीसँग फिराद गरेको भन्ने उल्लेख छ। वि.सं. १८७४ मा काजी बहादुर भण्डारी धनकुटाका हाकिम भएर बसेकाले उनी नै थिए भन्ने स्पष्ट हुन्छ। यस्तै‚ ७८ साल अर्थात् वि.सं. १८७८ मा जग्गा जाँच भएको भन्ने उल्लेख छ। त्यसैले उक्त फिरादपत्र वि.सं. १८७९ तिर लेखिएको हो भन्ने अनुमान गर्न सकिन्छ।
वि.सं. १८७९ तिर काजी जसपाउ थापा मगर धनकुटामा हाकिम भएर बसेका थिए। धनकुटा बजारमा अवस्थित निशान भगवतिस्थानमा वि.सं. १८७९ असार सुदी ७ शुक्रबार काजी जसपाउ थापाले कोतखाना स्थापना गरेको व्यहोरा खुल्ने शिलालेख रहेकाले उनी त्यस वेला धनकुटाको हाकिम थिए भन्ने स्पष्ट हुन्छ। यो फिरादपत्र काजी जसपाउ थापा मार्फत सरकारलाई पठाइएको थियो भन्ने बुझ्न सकिन्छ।