धनकुटामा काजी जसपाउ थापाको निशानी
सैनिक प्रयोजनको कोतखाना स्थापना गरेर धनकुटालाई पूर्वी नेपालको केन्द्र बनाउने कार्यको शुरूआत काजी जसपाउ थापाले गरेको विभिन्न दस्तावेजहरूले देखाउँछ।
पूर्वी नेपालको प्रशासनिक केन्द्रको रुपमा विजयपुर र चैनपुर महत्त्वपूर्ण थिए। सेनकालीन राजधानी भएकाले वियपुरबाट भने शाहकालमा पनि लामो समय प्रशासन चलेको थियो।
पछि विजयपुर र चैनपुर बीचको पहाडी भू-भाग धनकुटा पूर्वको एक महत्त्वपूर्ण प्रशासनिक केन्द्रको रुपमा स्थापित हुन पुग्यो। नेपाललाई पाँच विकास क्षेत्रमा विभाजन गरिंदा धनकुटा पूर्वाञ्चल विकास क्षेत्रको सदरमुकाम बनाइयो। त्यसवेला क्षेत्रीय कार्यालयहरू यहीं रहने भएकाले धनकुटामा ठूलो चहलपहल हुने गरेको थियो।
२०४६ सालको परिवर्तनपछि धनकुटामा रहेका क्षेत्रीय कार्यालयहरूमध्ये कतिपय विराटनगर सारिए। त्यसपछि धनकुटाको चहलपहल निक्कै कम हुन पुग्यो। पछिल्लो समय प्रादेशिक राजधानी धनकुटामै हुनुपर्ने माग राखेर धनकुटावासी आन्दोलित पनि भए तर अहिलेसम्म प्रदेश १ को प्रादेशिक राजधानी विराटनगरबाट यताउता चल्मलाउने छाँट देखिएको छैन। कुनै वेला ‘धनकुटा गौडा’ को रुपमा प्रख्यात धनकुटासँग इतिहासको गौरव भए पनि वर्तमान भने विस्थापित अवस्थामा गुज्रन पुगेको छ।
इतिहासकार रमेशकुमार ढुङ्गेलले पुरातत्त्व विभागको मुखपत्र प्राचीन नेपाल (सङ्ख्या ११३, भदौ-असोज २०४६:१)मा ‘एकीकरणताकादेखि राणाकाल शुरू नहुञ्जेलसम्म पनि सुदूर पूर्वमा विजयपुरपछि एकैचोटी चैनपुर मात्र सरकारी केन्द्रको रुपमा रहेको थियो। तिनताका वर्तमान धनकुटामा साधारण बस्ती भएको र १-२ पाटी-पौवाको व्यवस्थासम्म भएको जानकारी अभिलेखिक स्रोतबाट पाइएको र धनकुटा भन्ने नामाकरण समेत भइसकेको थिएन’ भनी गरेको टिप्पणीप्रति धनकुटाको इतिहासमा चासो राख्नेको मस्तिष्कको तन्तु पक्कै पनि हल्लिएको हुनुपर्छ।
ढुङ्गेलको उक्त लेखले राणाकालको प्रारम्भपछि अर्थात् वि.सं. १९०३ पछि मात्र धनकुटा प्रशासनिक क्षेत्रका रुपमा गुल्जार भएको भन्ने स्पष्ट सङ्केत गर्छ। तर, राणाकाल प्रारम्भ हुनुभन्दा धेरै वर्षअघि नै धनकुटा प्रशासनिक क्षेत्रको रुपमा पूर्वमा स्थापित हुन थालेको प्रशस्तै प्रमाणिक लेखोटहरू पाइन्छन्। ढुङ्गेलको लेखाइलाई विश्वास गर्ने हो भने जंगबहादुर राणा शक्तिशाली प्रधानमन्त्री भएपछि धनकुटा पूर्वको प्रशासनिक केन्द्रको रुपमा स्थापित भएको मान्नुपर्ने हुन्छ। तर, जंगबहादुरका बुवा काजी बालनरसिंह कुँवर धनकुटामा बडाहाकिम भई बसेका र बुवासँगै बालक जंगबहादुर पनि धनकुटा पुगेको स्पष्ट इतिहास पाइन्छ। कतिसम्म भने जंगबहादुरले धनकुटामा रहेको श्रीजंग पल्टनबाटै सैन्य जीवन प्रारम्भ गरेका थिए।
इतिहासकार रमेशकुमार ढुङ्गेलले पुरातत्त्व विभागको मुखपत्र प्राचीन नेपालमा राणाकालको प्रारम्भपछि मात्र धनकुटा प्रशासनिक क्षेत्रका रुपमा गुल्जार भएको भन्ने स्पष्ट सङ्केत सहित लेखेका छन्। तर, राणाकाल प्रारम्भ हुनुभन्दा धेरै वर्षअघि नै धनकुटा प्रशासनिक क्षेत्रको रुपमा पूर्वमा स्थापित हुन थालेको प्रमाणिक लेखोटहरू पाइन्छन्।
धनकुटामा जंगबहादुरको बाल्यकाल
वि.सं. १८८५ को वैशाखमा जंगबहादुरको काजी प्रसादसिंह बस्नेतकी ल्याइतेतिरकी छोरी प्रसादलक्ष्मीसँग विवाह भयो। त्यसवेला उनको उमेर १० वर्ष १० महीना थियो। जंगबहादुरको विवाह भएको केही महीनापछि काजी बालनरसिंह कुँवर बडाहाकिम पदमा नियुक्त भई धनकुटा गए। जंगबहादुर पनि बुवासँगै धनकुटा गएका थिए। उनले त्यहीं लठ्ठी, खुकुरी, तरबार इत्यादि चलाउने विद्यामा निपूर्णता प्राप्त गरे। पौडी पनि त्यहीं सिके। वि.सं. १८९० को हिउँदमा बालनरसिंह बडाहाकिम पदमै डडेल्धुरा सरुवा भए (पुरुषोत्तमशम्शेर जबरा, श्री ३ हरूको तथ्यवृत्तान्त-२०६५:४)।
यस तथ्यले काजी बालनरसिंह धनकुटामा पाँच वर्ष बडाहाकिम भएर बसेको देखिन्छ। राणाशासनको अभ्युदयकर्ता जंगबहादुरले बाल्यकालको महत्त्वपूर्ण क्षण धनकुटामा बिताएको पनि स्पष्ट देखिन्छ।
अर्को ऐतिहासिक प्रमाण अनुसार, जंगबहादुरले धनकुटामै रहँदा १३ वर्षको उमेरमा सुबेदार पदबाट सैन्य जीवन प्रारम्भ गरेका थिए। ‘जंगबहादुर राणाको जीवनी र कृतिसँग सम्बद्ध टिपोट’ मा वि.सं. १८८६ मा १३ वर्षको उमेरमा श्रीजंगमा सुबेदारी भई धनकुटा गएको, वि.सं. १८८७ र १८८८ मा १४ वर्षको उमेरमा धनकुटामा बसी उर्दी, कवायत तथा शिकार खेलेको, वि.सं. १८८९ को असार महीनामा धनकुटाबाट फर्की ढाक्रे (बेरोजगार) भई दरबारमा चाकरी गरी पहलमान सिकेको भन्ने उल्लेख छ (गङ्गा खरेल, सिनास जर्नल वर्ष २६ अङ्क १-जनवरी १९९९:१६४)। यसले पनि धनकुटा प्रशासनिक केन्द्रको रुपमा राणाकाल प्रारम्भ भएपछि विकसित हुन पुगेको दाबीलाई खण्डन गर्छ।
काजी बालनरसिंह धनकुटाको हाकिम भएर त्यहाँ जानुभन्दा १० वर्षअघि नै सरकारी कामको शिलशिलामा काजी बहादुर भण्डारी विजयपुरबाट धनकुटा पुगेको देखिन्छ। जनरल काजी (भीमसेन थापा) ले वि.सं. १८७५ फागुन वदी ६ मंगलबार भण्डारीलाई लेखेको पत्रमा ‘विजैपुरमा आइ १ दिन मुकाम् गरी माघका २७ दिन जाँदा धन्कुटा आइपुग्या केहिदिन विजैपुरमा बसी मुलुकको हालसुरत बुझी रैतीको सल्लाह गरी ७५ सालको कबुलियत बमोजिम रुपया कविराज खड्काबाट दर्बार पठाउन्या र उसको पनीमुलुकमा रह्याको बाजबी असुल गराई दिन्या बंदोबस्त गरी तैले धनकुटा जानु भन्या हुकुमको लालमोहर आयो... धनकुटा पुग्या काम बढिया भये छ.... रैतीलाई दुष नदिनु भन्या बंदीस बाँधी मुलुकमा फारक चलाई रैतीको षातिर सरसल्लाह गरी धनकुटा जान्या गर्नु...’ भन्ने परेको छ (ज्ञानमणि नेपाल, नेपाल निरुपण -२०५५:२६९)।
यो पत्रबाट काजी बहादुर भण्डारी आफ्नो मूल मुकाम विजयपुरलाई बनाएर सरकारी काम विशेषले केन्द्रको आदेश अनुसार धनकुटा पुगेको र केन्द्रमा सरसल्लाह गरी वेलावेला धनकुटा जाने गरेको थाहा हुन्छ। यस्तै‚ काजी बहादुर भण्डारीको समयमा विजयपुर मुकामबाटै धनकुटालाई पनि हेर्ने गरिएको थियो भन्ने बुझिन्छ।
काजी बहादुर भण्डारी नेपाल-अङ्ग्रेज युद्ध (वि.सं. १८७१-७२) मा पूर्वी नेपालको मोर्चामा सक्रिय थिए। त्यसवेला अङ्ग्रेज सेनापति मेजर लेटर १५ सय सैनिक लिएर मोरङको सिमानामा आइपुग्दा जितागढी, पर्सा र समनपुरमा नेपाली सेनाले विजय गरेपछि विजयपुर इलामतिर रहेका नेपाली सैनिकहरूमा उत्साह आएको थियो। इलामतिर ५०० सैनिक लिएर बसेका काजी बहादुर भण्डारीले रातको समय पारी तुरुन्तै आक्रमण गरिदिएका थिए। तर‚ शत्रुलाई हराउन नसकिने देखेर उनले आधा घण्टापछि नै आफ्ना सैनिक फर्काएका थिए (बाबुराम आचार्य, पूर्णिमा पूर्णाङ्क ८४-वैशाख २०५०:२४)।
पूर्वी नेपालको ठूलो र मुख्य प्रशासनिक केन्द्र विजयपुर भएका वेला त्यहाँ सुब्बाहरू पूर्णानन्द उपाध्यय, योगनारायण मल्ल आदि हाकिम भएर रहेका देखिन्छ। राजा रणबहादुर शाहको समयको वि.सं. १८५० सुदी ७ को पत्रमा विजयपुरका सुब्बा पूर्णानन्द उपाध्ययले सिक्किमका मन्त्रीको सल्लाहमा लिम्बूहरूले वेलावेलामा विद्रोह गर्ने गरेको अर्जी दरबारमा पठाएको र राजाले सुब्बा पूर्णानन्दलाई सिक्किमका भोटेहरूलाई मात्र होइन, लिम्बूहरूलाई पनि विश्वास नगर्नू भन्ने आदेश दिएको देखिन्छ (महेश सी. रेग्मी, रेग्मी रिसर्च सेरिज वर्ष ३ अङ्क १२-सन् १९७१:२७८-२७९)। यसले सुब्बा पूर्णानन्द उपाध्यय वि.सं. १८५० तिर विजयपुर मुकाममा हाकिम भएर बसेको देखिन्छ।
इतिहासकार दिनेशराज पन्तले पूर्णिमा को पूर्णाङ्क ५८ (चैत २०४०:३१-४४) मा प्रकाशित गरेको ‘श्री ५ रणबहादुर शाहका नौ वटा अप्रकाशित लालमोहर’ मा सुब्बा योगनारायण मल्ललाई सम्बोधन गरिएको छ। यी पत्रहरू वि.सं. १८३५ देखि १८३७ सम्ममा लेखिएका हुँदा त्यसवेला विजयपुरमा हाकिम भएर पूर्वी नेपालको प्रशासन चलाउने हाकिमी जिम्मेवारी सुब्बा योगनारायण मल्लले लिएको देखिन्छ।
धनकुटाको निशान भगवती
धनकुटा बजारको मध्य भागमा निशान भगवतीस्थान रहेको छ। जिल्ला प्रहरी कार्यालय परिसरभित्र रहेको यो मन्दिरभित्र दुई सैन्य पल्टनका निशानहरू छन्। सैनिक क्याम्पबाट खटिने पूजारीले नित्य पूजा गर्दछन्।
श्रीजंग पल्टनको निशानलाई पाल्पाबाट धनकुटा ल्याइएको भन्ने भनाइ यहाँ प्रचलित छ। पाल्पाबाटै इन्द्रध्वज पल्टनको निशान पनि धनकुटा ल्याइयो (जनार्दन घिमिरे, श्री निशान भगवती मन्दिर धनकुटा-२०७५:१)।
जंगबहादुरले श्रीजंग पल्टनबाटै सुबेदारी पदबाट सैन्य जीवन प्रारम्भ गरेको ऐतिहासिक प्रसङ्ग माथि उल्लेख गरिसकिएको छ। श्रीजंग पल्टन धनकुटामा करीब १२० वर्ष बस्यो। यस पल्टनको निशान रातो कपडाले बेरिएको छ। दैनिक स्तोत्रका पुस्तक वाचन गरी पूजा हुन्छ। सेनाबाट खटिएका बाहुनले औंसी र आइतबार बाहेक निशानको नित्य पूजा गर्छन्। दशैंमा पञ्चबलि दिई भगवतीलाई तल्लो टुँडिखेल लान्छन् (डा. गोपालबहादुर भट्टराई, धनकुटा गौँडाको इतिहास-२०६८:७८-७९)।
कुनै समय निशान भगवतीस्थान रहेको परिसर पूर्वी नेपालको सैन्य दृष्टिकोणले महत्त्वपूर्ण केन्द्र थियो। यस ठाउँलाई पहिले खलङ्गा पनि भनिन्थ्यो। अलैचीगोला पनि यसै ठाउँमा थियो। यो ठाउँदेखि नजिकै लहरै सार्कीहरूको घरेलु जुत्ता उद्योग छ। यस ठाउँलाई ‘मेक्चन’ भनिन्छ। गोलाबारुद तथा हतियार कारखानालाई मेगजिन भनिन्छ। गोलाबारुद तथा हतियार कारखानामा सार्कीहरूले छालाको काम गर्ने हुँदा पहिले यसै स्थानमा स्थापित मेगजिन अड्डा भएकाले यस ठाउँलाई मेगजिन भन्दाभन्दै मेक्चन भएको हुनसक्ने देखिन्छ।
यहाँका सार्कीहरूमध्ये सेते सार्कीलाई मिझार पद प्रदान गरिएको थियो। सेतेका नाति पुस्ताका सदस्य गगन नेपालीले दिएको जानकारी अनुसार‚ सेतेले वि.सं. १९९० अघिसम्म स्थानीय सार्कीहरूबाट तिरो उठाई सरकारलाई बुझाउने जिम्मा पाएका थिए।
धनकुटा पूर्वको सैन्य र प्रशासनिक दृष्टिकोणले महत्त्वपूर्ण थियो भन्ने मुख्य प्रमाण हो, निशान भगवतीस्थान परिसरमा ठडिएका शिलालेखहरू। यहाँका दुई शिलालेख तत्कालीन काजी जसपाउ थापाले राखेका हुन्।
गोलाबारुद तथा हतियार कारखानामा सार्कीहरूको संलग्नताको सन्दर्भमा वि.सं. १९६९ मा जारी सुन्दरीजल जंगी अड्डासँग सम्बद्ध सवालमा छाला फाँट तथा सार्की फाँट पनि उल्लेख भएकालाई उदाहरणको रुपमा लिन सकिन्छ। (भवेश्वर पंगेनी, नेपालको सैनिक इतिहासः सुन्दरीजल जंगी मेगजिन अड्डा -२०६८:४३-४४)।
धनकुटा पूर्वको सैन्य र प्रशासनिक दृष्टिकोणले महत्त्वपूर्ण थियो भन्ने मुख्य प्रमाण हो, निशान भगवतीस्थान परिसरमा ठडिएका शिलालेखहरू। यहाँका दुई शिलालेख तत्कालीन काजी जसपाउ थापाले राखेका हुन्। तीमध्ये साके १७४४ अर्थात् वि.सं. १८७९ असार सुदी ७ शुक्रबारका दिन राखिएको शिलालेखमा काजी जसपाउ थापाले यहाँ कोतशाला स्थापना गरेको देखिन्छ। अर्को वि.सं. १८८० असार वदी १२ शनिबार राखिएको शिलालेखमा काजी जसपाउ थापाले धर्मशाला बनाएको उल्लेख छ।
काजी जसपाउ थापाको अर्को निशानीको रुपमा धनकुटाकै श्रीवानीमा रहेको मेजर पाटी नामको धर्मशाला पनि रहेको छ। उक्त धर्मशालामा राखिएको शिलालेख अनुसार‚ साके १७४८ अर्थात् वि.सं. १८८३ माघ सुदीमा काजी जसपाउ थापाले यो धर्मशाला निर्माण गरेका हुन्। धर्मशालाको पुरानो रुप खण्डहर भएकाले नयाँ धर्मशाला बनाइएको छ। तर‚ धर्मशालाको भित्तामा काजी जसपाउ थापाले कुँद्न लगाएको शिलालेख राखिएको छ।
यी तीन शिलालेखले काजी जसपाउ थापा वि.सं. १८७९ देखि १८८३ सम्म धनकुटाको हाकिम भएर बसेको स्पष्ट देखाउँछ। यसै अवधिमा उनले विभिन्न ठाउँका किपटिया लिम्बू सुब्बाहरूलाई जारी गरेको कस्यपत्रहरू पनि प्रकाशित छन्। इतिहासकार भगिराज इङ्नामको लिम्बूवानको ऐतिहासिक दस्तावेज सङ्ग्रह (२०७७) अनुसार‚ वि.सं. १८८० चैत सुदी १ मंगलबार पोनहाङ कर्ण राई (पृ. ६३५) र १८८३ चैत सुदी ५ आइतबार मेवाखोलाका किपटिया लिम्बू सुब्बाहरू कर्णसिंह राई, जित्मल् राई (पृ. ६३९) लगायतको नाममा उनले कस्यपत्र जारी गरेको देखिएकाले उनी सैन्य बाहेक प्रशासनिक काममा सक्रिय भएको देखाउँछ।
उनीपछि नै बालनरसिंह कुँवर धनकुटामा बडाहाकिम भएर गएका हुन्। सम्भवतः काजी जसपाउ थापा धनकुटाको हाकिम भएर जानुअघि विजयपुरमा मुकाम गरी बसेका काजी बहादुर भण्डारी केन्द्रको आदेश अनुसार धनकुटा पनि खटिएका थिए। धनकुटामा काजी पदमा रहेका अधिकारीको दरबन्दी देखिएको हुँदा त्यसवेला धनकुटामा हाकिम भएर जाने सरकारी अधिकारीको हैसियत ठूलै हुने गरेको स्पष्ट हुन्छ। त्यसवेलाको काजी पद हालका मन्त्री तहको हुन्थ्यो। माथि उल्लेख गरिएका काजी जसपाउ थापाको शिलालेखहरूमा उनको पदीय हैसियत ‘मंत्रिवर श्री काजी’ भनी उल्लेख गरिएकोबाट यसको पुष्टि हुन्छ।
यी दस्तावेजहरूबाट धनकुटामा सैनिक प्रयोजनको कोतखाना स्थापना गरेर धनकुटालाई पूर्वी नेपालको केन्द्र बनाउने कार्यको शुरूआत काजी जसपाउ थापाले गरेको देखिन्छ। उनी भीमसेन थापाकालीन काजी थिए। भीमसेन थापा नेपाली सेनालाई आधुनिक बनाउने र गोलाबारुद तथा हातहतियार कारखाना खोल्ने मुख्तियार हुन्। उनले बाँधेको यहीं व्यवस्था अनुसार‚ काजी जसपाउ थापाले धनकुटामा कोतखाना स्थापना गरेको थिए।
को हुन् काजी जसपाउ थापा?
काजी जसपाउ थापा काजी देवदत्त थापाका छोरा हुन्। एक जना पराक्रमी योद्धाको रुपमा उनको नाम अभिलेखित छ। खासगरी नेपालको राज्य विस्तार अभियानका क्रममा पश्चिमको किल्ला काँगडाको युद्ध र नेपाल-अङ्ग्रेज युद्धमा उनले वीरतापूर्वक लडेका थिए।
वंशावली अनुसार‚ गोरखाको हटियाथोक सातधुरे खलकका काजी कर्णसिंह थापाका छोरा हरिहर थापा हुन्। हरिहरका छोरा देवदत्त थापा हुन्। काजी जसपाउ थापा काजी देवदत्त थापाका छोरा हुन् (योगी नरहरिनाथ, श्रीमगर गुरुङ वंशावली, २०७८:११)।
‘सक्छौ जागिर खाऊ, सक्दैनौ जागिर नखाऊ, झण्डामुनि बस, दरबारमा नपस’ भन्ने भनाई जसपाउ थापाकै हो। यसलाई एउटा मननयोग्य उक्तिका रुपमा लिइने गरिएको छ। काजी जसपाउ मुख्तियार भीमसेन थापाका भाई काजी नयनसिंह थापा र सुरदत्त शाहीका साथ नयाँ श्रीनाथ, वज्रवानी र रणभीम पल्टन लिएर काँगडा हान्ने अभियानमा त्यसतर्फ प्रस्थान गरेका थिए।
त्यतिवेला त्यसतर्फका राजा रामशरणले १० हजारको सङ्ख्यामा फौजलाई तैनाथ गराएर हण्डुरको बाटो बन्द गरिदिएका थिए। त्यो बाटो खुलाउन काँगडाबाट हस्तदल शाही, सरदार अंगद (घले) का साथ १० कम्पनी लिएर हण्डुर आई लडेका काजी जसपाउ थापाले त्यहाँबाट शत्रुलाई संहार गरी बाटो साफ गरेर उनी काँगडा फर्केका थिए। त्यसपछि उनी बडाकाजी अमरसिंह थापाका साथ जालन्धरको बाटो भई सुमेरुगढ आक्रमण गर्न अघि बढेका थिए। काजी नयनसिंह थापा भने भगवानपुरको बाटो भई माल काँगडा आक्रमण गर्न निस्के। काजी नयनसिंहलाई शत्रुपक्षले हानेको गोली लाग्यो। त्यस युद्धमा ४०० नेपाली फौज हताहत भए। गोली लागेको केही दिनपछि नयनसिंह थापाको मृत्यु भयो।
तर‚ नेपाली फौजले काँगडा किल्ला घेर्न भने छाडेन। पाँच हजार फौजका साथ बडाकाजी अमरसिंह थापा र सरदार रणजित कुँवरको साथमा रहेर काँगडा किल्ला घेर्नेमध्येका एक सैन्यनायक थिए जसपाउ थापा। त्यहाँको युद्धमा उनको नेतृत्वमा ५०० शत्रु सेनाको संहार भएको थियो (प्राचीन नेपाल सङ्ख्या २४-साउन २०३०:१२-१४)।
काजी जसपाउ थापाले नेपालको राज्य विस्तार अभियानका क्रममा पश्चिमको किल्ला काँगडाको युद्ध र नेपाल-अङ्ग्रेज युद्धमा वीरतापूर्वक लडेका थिए।
त्यस लगत्तै भएको नेपाल-अङ्ग्रेज बीचको युद्धमा पनि जसपाउले पराक्रम देखाएका थिए। युद्धका क्रममा वि.सं. १८७१ मंसीर २२ गते देहरादुनबाट तिमली पार भएर शत्रु सेना मुगलानमा उत्रिएको थियो। पुस ७ गते सिवालिकको कालापारी भञ्ज्याङ पार गरेर नेपालको सरहदमा घुसी तिलकपुरमा बस्यो। जिलेस्पीको बदलामा त्यसै दिन जनरल मारिण्डेल आइपुगेका थिए। त्यहाँबाट सात माइल फरक नाहनमा रणजोर थापा बसेका थिए। उनको साथ काजी जसपाउ थापा र भैरवसिंह बस्न्यात आदि तीन सरदारका अधीनमा एक हजार सैनिक थिए। यिनैमध्येबाट २५० जना नालापानी गएका थिए।
पुस १४ गते बिहानै मार्टिण्डेलले मेजर रिचर्डलाई ७५० सैनिकका साथ मोर टिप्पामा पठाए। त्यसको भोलिपल्ट रातमा काले टिप्पा दखल गर्न लड्लोलाई त्यति नै सङ्ख्यामा सेना दिई पठाए। शत्रु सैन्य आएको खबर पाई रणजोर थापाले काजी जसपाउ थापा र सरदार भैरवसिंह बस्न्यातलाई ५०० सैनिकका साथ झ्याम्टाका आडमा पठाए। यिनीहरू आडमा पुग्दा लड्लो पनि आइपुगे। आड दखल गर्नलाई दुई पटक आक्रमण गरे। तेस्रो पटकको आक्रमणमा काजी जसपाउ थापाले आफ्ना तर्फका सैनिक निकालेर शत्रुउपर जोडदार आक्रमण गर्न अगाडि बढ्दा अङ्ग्रेजहरू त्यहाँबाट भागे। पूर्णिमाको जुनेली रात हुनाले लखेट्दै जाँदा शत्रु सेनामध्ये निक्कै भीरमा परे। त्यसपछि उनीहरू नाहन फर्कन बाध्य भए (बाबुराम आचार्य, पूर्णिमा पूर्णाङ्क ८४-वैशाख २०५०:२१-२२)।
झ्याम्टाको यो युद्धमा काजी जसपाउ अत्यन्तै आक्रोशित भएका थिए। दुई मुखबाट अङ्ग्रेजले आक्रमण गरेको थियो। दोहोरो गोली चल्दा १०-१२ जना मरे। २०-२२ जना घाइते भए। अरु सरदार र सुबेदारहरूले ‘लडाइँ बिग्रियो, आडमा जाऊँ’ भनी जसपाउलाई सम्झाए। तर‚ जसपाउले ‘बिग्रेको लडाइँ भारदारको हुन्छ, सप्रेको लडाइँ सिपाहीको हुन्छ। लडाइँ पक्कै पनि सपारौंला, सपार्न नसके ज्यान दिऊँला’ भनी हठ गरेका थिए (प्राचीन नेपाल, उहीः१४)।
युद्ध मैदानमा खटिएको वेला यस्तो अभिव्यक्ति दिने काजी जसपाउ थापा पराक्रमी थिए भन्नेमा कुनै शंका छैन। उनले पश्चिममा काँगडादेखि पूर्वमा धनकुटासम्म पुगेर सेवा गरेका थिए।