गाेरखालीले सजिलै जितेको थिएन लिम्बुवान
केही इतिहासकारले गोरखालीहरूले युद्ध नलडी नै लिम्बुवानको भूभाग हात पारेको उल्लेख गरेका छन्। तर‚ विभिन्न दस्तावेजहरूले गोरखा र लिम्बुवानबीच विभिन्न समयमा युद्ध भई सन्धि‚ सम्झौता भएको देखाउँछन्।
केही इतिहासकारका पुस्तक पढ्दा पृथ्वीनारायण शाहको राज्य विस्तार अभियानमा गोरखालीहरूले युद्ध नलडीकनै लिम्बुवान हात पारेका थिए भन्ने भ्रम पर्छ। उनीहरूको लेखाइमा लिम्बूहरूले विसं १८३१ मा गोरखालीहरूलाई आमन्त्रण गरी आफ्नो भूमि सहजै समर्पण गरेको भन्ने उल्लेख छ।
यस्तो लेख्नेमध्ये एक हुन्, सैनिक पृष्ठभूमिका इतिहासकार प्रेमसिंह बस्न्यात। उनले आफ्नो पुस्तकमा उल्लेख गरेका छन्‚ ‘पृथ्वीनारायण शाहले लिम्बुवान (पल्लो किरात)मा हमला गरेर लिम्बूहरूको रीतिथिति बिगारे भनेर अहिले झ्याली पिटिंदैछ, वास्तवमा लिम्बुवान क्षेत्रमा गोरखाली सेनाले युद्ध लडेकै थिएन। चैनपुर अन्तर्गत सिङ्लेला पहाड र इलामदेखि सिक्किमसम्मका सत्र वटा थुम जित्न एकीकरणका वेला कुनै युद्ध गर्नु परेन। गोरखाली सेनानायकहरूलाई लिम्बूका १० हाङ क्षत्रीय नायक र यिनका प्रतिनिधिले चैनपुर किल्लामा बोलाएर पान-फूल सहित स्वागत गरेका थिए, काङ्सो नामका एक लिम्बू नायकले गोरखालीहरूसँग युद्ध गरेको भनेर भ्रम सिर्जना गरिएको’ (नेपाली सेनाः लिगलिगकोटदेखि वर्तमानसम्म-२०७१:८९)। पुस्तक मार्फत सिर्जना गरिएका यस्ता भ्रम चिर्न आवश्यक छ।
राजा कामदत्त सेनको हत्या
माझकिरात खम्बुवान र पल्लोकिरात लिम्बुवानमा राज्य विस्तारका लागि आफ्ना फौज परिचालन गरिरहँदा पृथ्वीनारायण शाहले विजयपुरमा भएका राजनीतिक घटना र उतारचढावलाई नियालिरहेका थिए।
विजयपुरका दिवान बुद्धिकर्ण रायले कामदत्त सेनको हत्या गरे। कामदत्तको हत्यापछि केही समय कर्ण सेनलाई थपना राजा बनाई बुद्धिकर्ण विजयपुरका हर्ताकर्ता भएका थिए। आफ्ना मावली भाइ कामदत्तको हत्यालाई पृथ्वीनारायण शाहले ठूलो मुद्दा बनाए। यही विषयलाई लिएर उनले इष्ट इन्डिया कम्पनीका वारेन हेस्टिङ्गेससित आफ्ना वकील मार्फत पत्राचार गरे। १७७३ मे २७ (१८३० जेठ १८)मा पृथ्वीनारायणले हेस्टिङ्गेसलाई लेखे।
पत्रमा ‘तपाईंसित मैत्रीपूर्ण सम्बन्ध स्थापित गर्ने मेरो अभिलाषा छ। मेरा भाइ कामदत्त सेनको धोखेबाज दिवान बुद्धिकर्णले मेरो भाइको राज्य अम्बरपुर र विजयपुरमा अवैध रुपमा अधिकार जमाइराखेको छ। यसलाई दण्ड दिनाको लागि म आफ्नो सैन्यदल पठाउँछु। तर त्यो दिवान छिमेकको जिल्ला पूर्णियामा शरण लिन जाला भन्ने शङ्का लागेको छ। त्यस अवस्थामा बुद्धिकर्णलाई कुनै किसिमले सैनिक सहायता नदिनू भन्ने एक पत्र तपाईंले छिमेकको जिल्ला पूर्णियामा रहेका हाकिमलाई लेखी पठाउनु भए अनुगृहित हुनेछु’ भन्ने छ। (बाबुराम आचार्य, श्री ५ बडामहाराजाधिराज पृथ्वीनारायण शाहको संक्षिप्त जीवनी- २०६१:४१९)।
पृथ्वीनारायण र कामदत्तबीच गहिरो मित्रभाव थियो। अंग्रेजहरूसँग बाहिरी तराईका विषयमा सम्झौता भएपछि चौदण्डी रियासतमा अधिकार गर्न जाँदा कामदत्तसँग सहायता लिने निश्चय पृथ्वीनारायण शाहले गरेका थिए। यस्तै अवस्थामा कामदत्त सेनको हत्या भएको तथा कर्ण सेन र बुद्धिकर्ण राय आपसमा मिलेको समाचार उनले पाएका थिए (बाबुराम आचार्य, पूर्णिमा, पूर्णाङ्क ५०- भदौ २०३८:२०-२१)
विजयपुरमा राजा र दिवानबीच शक्ति संघर्ष चल्दा कामदत्तले बुद्धिकर्णका भाइ बुधकर्णलाई विसं १८२५ मा काटे। यस घटनापछि बुद्धिकर्ण भाग्न बाध्य भए। यसैको बदलास्वरूप विसं १८२६ मा बुद्धिकर्णले तत्कालीन इष्ट इन्डिया कम्पनीको पूर्णिया जिल्लामा पुगी विजयपुरमा रहेका आफ्ना गुटका सैनिकहरूद्वारा राजा कामदत्त सेनको हत्या गराए। यसपछि कामदत्तका काका राघुनाथ सेन उत्तराधिकारी बनेर विजयपुरमा आफ्नो गादीमा अधिकार गरे तर उनी त्यहाँबाट भाग्दा बुद्धिकर्ण राय विना विघ्नबाधा विजयपुरमा पुगी चौदण्डीबाट कर्ण सेनलाई बोलाएर विजयपुरका पनि नाम मात्रका राजा थापी ‘राजभार सामर्थ’ उपाधि लिई आफू विसं १८२७ मा विजयपुरका हर्ताकर्ता बनेका थिए (आचार्य, उहीः४१६-४१७)।
गोरखालीद्वारा विजयपुर कब्जा
चौदण्डीलाई पतन गराई माझकिरात गोरखा राज्यमा गाभेपछि गोरखाली सेनानायकहरू रामकृष्ण कुँवर र अमरसिंह थापा चैनपुरतिरबाट लिम्बुवान आक्रमणका लागि अगाडि बढे। पहाडी खण्डबाट रामकृष्ण र अमरसिंह अगाडि बढिरहेका थिए भने दक्षिण तराई खण्डबाट अभिमानसिंह बस्न्यात र पारथ भण्डारी बढ्दै थिए।
अभिमानसिंह र पारथ अम्बरपुर (सप्तरी)मा रहेर त्यहाँबाट कोशी तरी विजयपुर दखल गर्ने साइत पर्खेर बसिरहेका वेला राजा कर्ण सेन र दिवान बुद्धिकर्ण राय विजयपुरमै थिए। उनीहरू दुवै हिउँद नलागी गोरखालीले विजयपुर आक्रमण गर्दैनन् भन्नेमा ढुक्क थिए। त्यसै समय राजा कर्ण सेन आफ्ना जहान पूर्णियामा पुर्याएर आउँछु भनी गए। तर‚ फर्किएर आएनन्।
मध्यवर्षादको उर्लंदो भेलमा अभिमानसिंहले गोरखाली सेनालाई हात्तीबाट कोशी पार गराई विजयपुरमा हमला गरे। हमलापछि बुद्धिकर्ण भागे। ८५ जना लिम्बू सैनिकको मृत्यु भयो। विजयपुर गोरखालीको अधीनमा पुगेपछि १० लिम्बुवानका लिम्बूहरूले सरदार रामकृष्ण कुँवरलाई अरुणपार चैनपुरमा बोलाए भन्ने बाबुराम आचार्यको धारणा छ। त्यसपछि अभिमानसिंह बस्न्यातको नेतृत्वको फौजले पल्लोकिरातमा पुगी उत्तरतिर तिब्बतको सिमाना र पूर्वमा तमोर नदीसम्म अधिकार गरे (बाबुराम आचार्य, उहीः४२१-४२२)।
विजयपुर गोरखालीको अधीनमा आइसकेपछि पृथ्वीनारायण शाहले योगी भगवन्तनाथलाई विसं १८३१ भदौ सुदी ६ शुक्रबार काठमाडौंबाट लेखेको पत्रमा ‘किरातको अम्बल मदेश पहाड भोट जति थियो. आफ्ना आशिर्वादले सवै फत्य भयो. मध्येशमा कनकाई नदी पहाडमाहा सभा खोलो तमोर नदीका साध लाग्यो. मानिस काट्न पाइयेयन. भाग्यो कति मोगलानतिर गयो. कति सुखिमतिर गयो. अरु झार जलमाँहा ८५ वेसि काटिया’ भन्ने उल्लेख छ (योगी नरहरिनाथ, इतिहास प्रकाशमा सन्धिपत्र सङ्ग्रह, भाग १- २०५५:६-७)। यसले युद्धमा ज्यान बचाएर लिम्बूहरू सिक्किमको शरणमा पुगेको भन्ने स्पष्ट हुन्छ।
बाबुराम आचार्य (पूर्णिमा, पूर्णाङ्क २७-असोज २०२९:१६७)का अनुसार, अभिमानसिंह र पारखको नेतृत्वको गोरखाली फौजले विसं १८३१ साउन ५ गते विजयपुर कब्जा गरेको हो। तर, आचार्यले उल्लेख गरे जस्तो लिम्बुवानको पहाडी खण्डमा गोरखालीले सजिलै अधिकार जमाएको होइन। उनको दाबीलाई खण्डन गर्ने तथ्यहरू छन्। लिम्बुवानको पहाडी खण्ड कब्जा गर्न गोरखालीले छल, बल र कूटनीति प्रयोग गरेको देखिन्छ।
रामकृष्ण र अमरसिंह चैनपुर क्षेत्रमा आएर त्यहाँका याक्खा मझिया तथा लोहरूङ राईहरूलाई पृथ्वीनारायण शाहको लालमोहर दिएर आफ्नो पक्षमा ल्याए। पृथ्वीनारायणले विसं १८३० साउन बदीमा दश लोहरूङ, थुलुङसिंह मझिया, पावा मझिया, साङ्ला मझिया, हेलुङ्वा मझिया, धुपु मझिया, माल्टा मझिया, पाठक मझिया, शोभाजित मझिया लगायतको नाममा लालमोहर जारी गरेका थिए। लालमोहरमा ‘जहाँसम्म मकुवानी राजाको नुन खाएथ्यौ ताँहासम्म नुनको साह्रै सेवा टहल गरी खाएथ्यौ हिजु तिमीहरूको राजा जो हो सो पनि छैन। तसर्थ तिम्रा भैयाद कविलारी समेत यहाँ आव। तिम्रा सब वातका चारदास्ती बक्सौंला...’ भन्ने उल्लेख छ (शिवकुमार श्रेष्ठ, लिम्बुवानको ऐतिहासिक अध्ययन- २०६८:१३३)।
लिम्बू सेनापति काङ्सोरेको बलिदान
राज्य विस्तार गर्दै माथि उल्लिखित क्षेत्रमा आइपुग्न गोरखाली फौजले ठूलो मिहिनेत गर्नुपरेको विभिन्न दस्तावेजले देखाउँछन्। तीमध्ये ब्रायन हड्सनले नेपालबाट सङ्कलन गरेका पाण्डुलिपिलाई अघि सार्न सकिन्छ। पाण्डुलिपि (भाग-८५ पृ. १३२) अनुसार, माझकिरात मासेर लिम्बू भूमि लैजान भनी अरुण तरेर गोरखाली सेना आइपुग्दा उनीहरू विरुद्ध लिम्बूहरू उठे। सभा खोलाको दोभानमा युद्ध भयो। गोरखाली पक्षसँग नमिल्ने लिम्बू सुब्बा जैकर्णतिर लागेर साङ्बोत्रे, तेसाक्पा, काङ्कारे, काङ्सोरे, सिपा फाक्ते लगायत योद्धाले युद्धमा भाग लिए। उनीहरूले गोरखाली सेनालाई दुम्जासम्म खेदाएको पाण्डुलिपिमा उल्लेख छ (कमल तिगेला र अरू (सम्पा.), गोर्खा लिम्बू युद्ध- २०६९:२१)।
हड्सन पाण्डुलिपिको (भाग-८५ को पृ.१३३)मा गोरखाली सेना रघु राना र लिम्बू सेना काङ्सोरेबीच मल्ल युद्ध भएको उल्लेख छ। रघु राना पनि वीर थिए। लिम्बू काङ्सोरे चाहिं दैवीशक्ति भएका थिए। दुवै सरदार लड्न लाग्दा लिम्बू योद्धाहरू तरबार, ढाल डेरामै राखेर मैदानमा पुगेका थिए। सरदारहरूमध्ये जसले जित्छ उसैको पक्षले सम्पूर्ण युद्ध जितेको ठहरिने शर्त थियो। काङ्सोरेलाई दैवीशक्ति चढेपछि रघु रानालाई ढाले। तर‚ अघिल्लो दिन बालुवामा लुकाएर राखेको हतियार झिकी गोरखालीहरूले काङ्सोरेलाई षड्यन्त्रपूर्वक प्रहार गरेर मारे (तिगेला र अरू, उहीः२२-२३)।
रघु राना र काङ्सोरेबीच चैनपुर सभा खोलाको मैदानमा कहिले मल्लयुद्ध भएको हो भन्ने स्पष्ट मिति खुल्न सक्ने दस्तावेज उपलब्ध भएको छैन। तर, पृथ्वीनारायण शाहले लिम्बुवानका अगुवा सुब्बाहरू श्रीजङ्ग राय, श्रीफुङ राय र श्रीजमुना रायलाई विसं १८३१ वैशाख वदी ३० मा लेखेका पत्रमा ‘हिजो जति पिच्छा बक्सियको त्यो मुलुक आज हाम्रो प्रतापले हाम्रो भयो त तिमीहरू पनि हाम्रै छौ. तिमीहरूका जाहानको पिछा हामिले लियौं. जस जस जम्मा जम्मा गराई दवाई खाई खाई आयाको थियौ. सो सकल मूलुक सम्भार गर. अरु नौ लाख राईपट्टि होइन. क्या अर्थले हो भन्या अरु राजालाई मासने हो. तिमीहरू आफ्ना भाइ वा लिम्बु घराई लिकन पिछा बक्स्यौं’ भन्ने उल्लेख गरेका छन्। मिति गणना अनुसार यो पत्र पृथ्वीनारायण शाहले विसं १८३१ वैशाख १ गते आइतबार लेखेका हुन् (नयराज पन्त र अरू (सम्पा)‚ श्री ५ पृथ्वीनारायण शाहको उपदेश- २०२५:११७९-८०)।
विसं १८३० को साउनतिर पृथ्वीनारायण शाहले संखुवासभामा आवाद याक्खा तथा लोहरूङहरूलाई लालमोहर दिएको र विसं १८३१ को वैशाखमा उनी लालमोहर मार्फत लिम्बूहरूलाई आफूले पिछा लिएको भनी सम्झाएको विवरणले लिम्बू सेनापति काङ्सोरेको गोरखाली सैन्य नायक रघु रानाबीच मल्लयुद्ध विसं १८३० को अन्तिमतिर भएको हुन सक्ने अनुमान गर्न सकिन्छ। गोरखालीहरूले पहिले पहाडी खण्ड हात लिएको र त्यसको चार-पाँच महीनापछि मात्र विजयपुर हात लिएका थिए।
पल्लोकिरात लिम्बुवान गोरखा राज्यमा गाभिनुअघि लिम्बूहरूले विजयपुरका सेनहरूलाई केन्द्रीय शासक मान्थे। तर‚ सेन राजाहरूको राजनीतिक अधिकार आदर्शका रूपमा मात्र किरात प्रदेशमा कायम थियो। त्यस क्षेत्रका स्थानीय सामन्तका रूपमा पहिलेदेखि नै पुस्तौनी रूपमा कार्यरत किरात दिवान राय तथा हाङहरूको नै स्थानीय शासनमा हात हुन्थ्यो। पल्लोकिरातमा पनि लिम्बूहरूका दश जना दलपति ‘हाङ’ हरूले नै वास्तविक शासन चलाउँथे (रमेशकुमार ढुंगेल, प्राचीन नेपाल‚ संख्या ११३, भदौ-असोज‚ २०४६:४)। त्यसै हुनाले पल्लो किरातलाई दश लिम्बुवान भन्ने चलन रहेको हो।
कतिपय लिम्बूहरूले भने सिक्किमलाई केन्द्रीय शासक मान्थे। यसको भरपर्दो प्रमाणका रूपमा गोरखाली राजा गिर्वाणयुद्धविक्रम शाहको समयको एक लालमोहरलाई लिन सकिन्छ। सिक्किमी राजाबाट सुवाङ्गी पाउने लिम्बू सुब्बामध्ये मिंहित राई एक देखिएका छन्। गिर्वाणयुद्धविक्रम शाहले विसं १८६९ वैशाख सुदी ५ मा जारी गरेका लालमोहर प्राचीन नेपाल (संख्या ९०- कात्तिक-मंसीर २०४२:३१)मा प्रकाशन भएको छ। लालमोहरमा ‘तेरा वावु वराजु देषि विहारी आयाको किपटजिमिन संलुप्पा तस्को साँध सुवेल ढुङ्गो देषि लाया रुवा देषि चार किल्ला भित्रका जिमिन सुषिंको राजाले फागुंदेषि फोरि तँलाई नगारा स्मेत भिन्न पारि भिन्ना सुवांगि गरिदियाको रहेछ हाम्रा प्रतापले मिच्यापछि-१ वाट पनि मोहर गरि भिन्न सुवाँगि थामि वस्कनु भयाको रहेछ आज हामी पनि फागुको अलागक गरी सुषिंमले दियाको वमोजिम सुवागी चार किल्ला भित्र जिमिन थामि बक्स्यौं’ भन्ने उल्लेख छ। यसले तत्कालीन लिम्बुवानको कतिपय भूभाग सिक्किमको शासन अन्तर्गत रहेछ भन्ने प्रमाणित हुन्छ।
लिम्बूहरू आफ्नो भूमिमा पराक्रमका साथ लडेका थिए। तर‚ गोरखाली सेनाले कूटनीतिक अस्त्र पनि प्रयोग गरे। गोरखाली र लिम्बू सेनाबीच शान्ति स्थापना हुन नसकेपछि गोरखालीले खास गरी लिम्बुवानको पहाडी खण्डमा अर्को दाउपेच रचे। त्यहाँ एक जना मगरलाई अघि सारियो। रघु रानालाई बलशाली रूपमा अघि बढाइएको थियो, तर यता अर्का मगर रामभद्र थापालाई चाहिं कूटनीतिक चातुर्यका साथ अघि बढाइएको देखिन्छ।
रामभद्र थापाले लिम्बू र मगर जातिको प्राचीन इतिहास अध्ययन गरे। अध्ययनमा केही पारिवारिक सम्बन्ध पनि पत्ता लाग्यो। लिम्बू र मगरका पुर्खाहरू कुनै वेला सिङमाङ गढ (सिम्रौनगढ)मा बस्थे। उनीहरू एउटै पारिवारिक मूलका पनि थिए। विशेष गरी सिंजाली मगरसँग कुनै कुनै लिम्बूहरूको वंश एउटै रहेको र मरिमराउ पर्दा जुठो समेत बार्ने चलन रहेकोबारे दुवै पक्षबीच कुरा हुँदा अब उप्रान्त लिम्बू र मगर लड्नु‚ भिड्नु हुँदैन भन्ने सहमति भयो (इमानसिंह चेम्जोङ, किरात इतिहास र संस्कृति- २०६३: १७१)।
माथि उल्लिखित ऐतिहासिक तथ्यहरूले प्रेमसिंह बस्न्यात जस्ता इतिहासकारहरूले सिर्जना गरेका लिम्बुवान सम्बन्धी भ्रमको पर्दा पक्कै हटेर जानेछ। अर्को कुरा, लिम्बूहरूको गोरखाली विरुद्धको युद्ध विसं १८३१ मा सकिएको थिएन।
लिम्बूहरूबीच आपसी फुट
पृथ्वीनारायण शाहले राज्य विस्तार अभियान गर्दै जाँदा गोरखाली सेना विसं १८३० चैतमा चैनपुर पुग्यो। त्यस वेला १० लिम्बू १७ थुममा १२ जना नामी सुब्बा थिए। तीमध्ये फेदापका सुब्बा आतहाङको नेतृत्वमा तम्बरखोलाको शुभवन्त राय, मैवाखोलाका श्रीदेव राय र मेवाखोलाका रैनसिंह राय गोरखालीसँग मिले। आठराईका श्रीजंग राय, पाँचथरका फुङ (कुम) राय र चौबीसका जमुन रायलाई पनि लालमोहर दिएर पृथ्वीनारायणले सम्झौता गरे। चैनपुरमा घमासान युद्ध हुँदा त्यहाँका लिम्बू सुब्बा भने हार खाई सिक्किमतिर पसे। यता गोरखालीसँग नमिल्ने छथरका सुनुहाङ राय, याङरोकका योङ्याहाङ राय र चारखोलाका आसदेव राय आआफ्नो गढमा लडे। तर‚ हातहतियारको अभावले उनीहरूले हार स्विकारी आफ्नो देश छाडेर सिक्किम पसे। तापनि उनीहरूले शत्रु सेनासित लड्न छाडेनन् (इमानसिंह चेम्जोङ, किरातकालीन विजयपुरको संक्षिप्त इतिहास- २०५९:४५-४६)।
उनीहरूले पछिसम्म लड्न नछाडेको प्रमाणका रूपमा रणबहादुर शाहले १८४३ जेष्ठ सुदी २ रोज २ मा आफूसँग मिल्न आउन भनी १७ जना लिम्बू सुब्बाको नाममा जारी गरेको लालमोहरले स्पष्ट पार्छ। लालमोहरमा ‘...उप्रान्त जीहाको निमिष खायाको थियो सेवकको गर्नु निमिष सक्दो गर्नुछ गर्यौ आज हाम्रो पाव भनी आयौ त तम्रो पिछा लियौ बर्स्दास्ती गरौला हिजो तिमीहरूले पारि बसी लुटपीट गोवध खतछित् गर्याको सब माफगरिबक्यौं हाम्रा पिछा पर्यापछि गोवध नगर्नु पारी हुँदा गर्याको षत वापत तिमीहरूलाई कसैले दराउतम्बी गर्या अप्सरिया होला निमिषको साझो गरी टहलमा रुझु रहु तिमी सुबा सुबाहरूको षातिरजामासित पजनी भेटाई आज तम्रो खायन पायन जस्को जस्तो जस्तो छ जाँची बुझि लाजिमा माफिक बनाइबक्सौंला सर्वथा चाँडो गरी आज ढिलाइ नगर उप्रान्त तम्रो ज्या लुटपिट गर्याकोमा हामीले माफ गरिबक्स्याकोछ जस्ले लुटपिट लियाको छ मागी लेउ’ भन्ने उल्लेख छ।
लालमोहरमा लिम्बूहरू सिमानामा बसेर लुटपिट गर्ने तथा गोवध गर्ने भन्ने उल्लेख छ। यसले आफ्नो भूमि खोसिएकोमा असन्तुष्टि जारी गर्दै उनीहरू लड्दै भिड्दै बसेको स्पष्ट हुन्छ।
लिम्बुवानको संवेदनशील भूगोल
इतिहासकार दिनेशराज पन्तको ‘श्री ५ रणबहादुर शाहको नौ वटा अप्रकाशित लालमोहर’ शीर्षकको लेख पूर्णिमाको पूर्णाङ्क ५८ (चैत २०४०:३१-४४)मा प्रकाशित छ। यी ऐतिहासिक पत्रहरूलाई लिम्बुवानको संवेदनशील सामरिक भूगोलको विवेचनाका लागि राम्रो खुराकका रुपमा लिन सकिन्छ। तत्कालीन लिम्बुवानको भूगोल सामरिक रूपमा संवेदनशील थियो।
रणबहादुरकालीन ती पत्रहरू लेखिंदा योगनारायण मल्ल (कतै जोगनारायण मल्ल) विजयपुरमा रहेर सुब्बा पदबाट प्रशासन चलाइरहेका थिए। उनले त्यस क्षेत्रको पहाडी भेगमा आवाद लिम्बूहरू र उनीहरूसँग सीमा जोडिएको तथा सीमा नजिकका देशहरूको गतिविधि मिहिन ढङ्गले नियालिरहेका थिए। मल्लले लिम्बूहरूको आन्तरिक गतिविधि र छिमेकी देशहरूसँगको सम्बन्ध तथा लिम्बुवानमा ती देशका गतिविधिको सूचना राजालाई दिन्थे। राजाबाट आवश्यक आदेश पनि उनले नै पाउँथे।
पूर्णिमामा प्रकाशित पत्रमध्ये १८३५ वैशाख सुदी ४ सोमबार (पृ.३१-३२)को पत्रमा वारिका सुब्बा मार्फत ल्हासाबाट सोधिएको साँधसिमानाबारे मल्लले राजालाई जानकारी गराएका छन्। ल्हासाले त्यस क्षेत्रका ठाना कुर्ने आठथुमलाई उकासेर गएपछि त्यहाँका ठानाहरू खाली भइरहेकाले मुलुकको सुरक्षा कसरी गर्ने भन्ने मल्लले चिन्ता गर्दा राजाको तर्फबाट तत्काल सैनिकहरू पश्चिमतिर खटिइरहेको र त्यताको काम सकिएपछि पूर्वतिर पठाउने आश्वासन दिइएको छ।
यस्तै‚ १८३५ वैशाख वदी ४ बिहीबारको पत्रमा सिक्किमका पुराना र नयाँ काजीबीच लडाइँ हुँदा पुराना काजीले धर्मा (भुटान)को फौज ल्याई सिक्किममा आक्रमण गरेको उल्लेख छ। यस्तै‚ त्यही वेला भोटले लिम्बूहरूलाई दुःख दिइरहेका र लिम्बूहरूले रणबहादुरलाई सहयोग माग्दा भोटमाथि आक्रमण गर्न वचन दिएको उल्लेख छ। यसो हुँदा भोट र लिम्बूबीच फुट आउने र त्यसले आफूहरूलाई फाइदा गर्छ भन्ने पत्रमा उल्लेख छ। पत्रमा उल्लेख छ, ‘लिम्बु र भोट्या फोर्नु हाम्रो सब्यै हो...।’
१८३६ आषाढ सुदी १० बुधबार लेखिएको पत्र (पृ.३६-३७)मा भोटगाउँ (लिम्बुवानको हिमाली क्षेत्र)मा लडाइँ भएको उल्लेख छ। भोटगाउँमा आक्रमण कसले गरेको? ल्हासाको सल्लाह वा भुटानको सल्लाहमा भएको भनी राजाबाट सोधनी भएको छ। यदि भोटका प्रशासकको आदेशबाट आक्रमण भएको हो भने भोटगाउँवासीको पिछा लिन हुँदैन भन्ने निर्देशन काठमाडौंबाट गएको उक्त पत्रबाट बुझिन्छ।
त्यस समय भुटान र सिक्किमबीच पनि वेलावेला युद्ध हुन्थ्यो। १८३७ भाद्र वदी ३ शुक्रबारको एक पत्र (पृष्ठ ३८-३९)मा भुटानका नौ हजार सेना भोटको बाटो हुँदै सिक्किम आक्रमण गर्न आएको तर झोलुङ्गे पुल काटिएकाले पछि हटेको उल्लेख छ। यता राजाबाट भोट, मधेश तथा भुटानका गतिविधिहरू पनि बुझ्दै गर्न आदेश दिइएको छ।
यसरी हेर्दा लिम्बुवानको उत्तरी क्षेत्रमा भोट, पूर्वमा सिक्किम, अलि पर भुटान र दक्षिणमा बङ्गाल पर्ने भएकाले पनि त्यहाँका लिम्बूहरूलाई फकाउँदै हातमा लिनुपर्ने बाध्यता गोरखालीहरूसँग थियो।
विसं १८५० सम्म पनि लिम्बुवानमा पूर्ण रूपमा शान्ति नछाउँदा त्यहाँ खटिने भारदारहरू लिम्बूहरूसँग सशङ्कित थिए भन्ने एक पत्रबाट बुझ्न सकिन्छ। विसं १८५० असार सुदी ७ मा तत्कालीन राजा रणबहादुर शाहले विजयपुरमा सुब्बा पूर्णानन्द उपाध्ययलाई लेखेको पत्रमा यस्तो छनक पाइन्छ। पत्र अनुसार‚ पूर्णानन्दले दरबारलाई पठाएको अर्जीमा सिक्किम, गान्तोकका मन्त्री छत्रजितले लिम्बूहरूलाई विद्रोह गर्ने सल्लाह दिएको उल्लेख छ। यस्तै‚ राजा रणबहादुरले पूर्णानन्दलाई लेखेका पत्रमा सिक्किमका भोटेहरूको मात्र नभई लिम्बूहरूलाई पनि विश्वास गरिहाल्न नहुने उल्लेख गरेका छन् (महेश सी. रेग्मी (सम्पा.) रेग्मी रिसर्च सेरिज‚ वर्ष ३ अङ्क १२- सन् १९७१:२७८:२७९)।
विसं १८४८ मा लिम्बूहरूले लेप्चा तथा सिक्किमीहरूसँग मिलेर चैनपुरमा ठूलो विद्रोह गरेका थिए। विद्रोह दबाउन बहादुर शाहले काठमाडौंबाट देवदत्त थापाको नेतृत्वमा एक हजार सैनिक पठाएका थिए। विद्रोहीमध्ये ६०० जना खलङ्गाभित्रै मारिए‚ कोही छिन्नभिन्न भए। त्यसै वेला देवदत्त टिस्टासम्म पुगेर दार्जीलिङ समेत दखल गरेका थिए (बाबुराम आचार्य, पूर्णिमा‚ पूर्णाङ्क ६३- चैत २०४१:१३)।
विजयपुरमा नुनपानी समारोह
फेरि फर्कौं, विसं १८३१ तिर। विजयपुरमा पुस्तौनी लिम्बूले दिवान (मुख्यमन्त्री) पाउने चलन रहिआएको थियो। त्यहाँ अरू लिम्बूहरू पनि मन्त्री हुन्थे। तीमध्ये चेम्जोङ लिम्बूको पनि विजयपुरमा राम्रै स्थान थियो।
कुनै समय मुगलहरूले राजा शुभ सेन र इन्द्रविधाता सेनलाई कब्जामा लिए। उनीहरूलाई छुटाउन रानी इन्दुराजराजेश्वरीले चेम्जोङहरूलाई गुहार मागिन्। संवत् १७६३ असोज बदी ६ मा पत्र लेखेर रानीले यस्तो गुहार मागेकी थिइन् (जनकलाल शर्मा, प्राचीन नेपाल‚ संख्या ४- साउन २०२५:३४-३५)। चेम्जोङ रायको नेतृत्वमा चौबीस, दक्षिणी पाँचथर, छथर, फाकफोक, मिकलुङ, जलरा, बेल्हारा, खाल्सा आदिबाट उठेको फौजले सेन राज्यको दक्षिणी भूभागमा आधिपत्य जमाएर बसेका मुसलमान फौजलाई भगाएर जलालगढ कटाएका थिए (चेम्जोङ, उहीः५१)।
यही सहयोगका कारण सेन राजाहरूले चेम्जोङहरूलाई विजयपुरमा इज्जतसाथ राखेको अनुमान गर्न सकिन्छ। तर‚ विजयपुरका दिवान बुद्धिकर्ण रायबाट सेन राजा कामदत्त सेनको हत्या भएपछि भने दुई चेम्जोङ मन्त्री सामो राय र अहुम राय त्यहाँबाट स्यावरुम्वा पुगे। त्यो वेला स्यावरुम्वा सिक्किम अधीनस्थ थियो। कामदत्तको हत्यापछि सर्वेसर्वा भएका बुद्धिकर्णलाई आफ्नो वर्चस्व काम गर्न पलायन भएका मन्त्रीहरूलाई विजयपुर झिकाई रिझाएर राख्नुपर्ने बाध्यता आयो। बुद्धिकर्णका भाइले विसं १८२६ आश्विन सुदी ८ मा सामो राय र अहुम रायलाई विजयपुर झिकाए। उनीहरू खुवा बोधे पर्गन्ना चौबिस थुम घुम्दै विजयपुर आएर बुद्धिकर्णसँग मिली राजकाज चलाउन थाले। तर‚ बुद्धिकर्णका दुश्मन जयरुद्र उपाध्ययले कुनै पनि हालतमा नमिल्न भन्दै ती दुई चेम्जोङ मन्त्रीलाई ‘बोधे प्रगन्ना छाडेर किन विजयपुर आएका’ भन्ने प्रश्न गरी हरिचन्दगढीबाट माघ बदी ४ मा एक पत्र पठाएका थिए (चेम्जोङ, उहीः६८-६९)।
यसअघि पनि विजयपुरका दिवानसँग आफ्नो मत नमिल्दा चेम्जोङ मन्त्रीहरू अन्यत्र जान्थे भन्ने अनुमान गर्न सकिने अर्को पत्र पनि छ। विजयपुरका तत्कालीन दिवान सिरिकान्त रायले विसं १८१८ जेष्ठ सुदी १५ मा लेखेको पत्रमा ‘जेम्बुचों राय हमेरकाम षातिर जीउधन मिसाउ संगलै लेनाज मामिला देशका धावो आपन हाथलै लापर नीपाह मूज नयाको बिन्ती...’ (राजवंशी (सम्पा.), २०१८:१२) भन्ने उल्लेख छ। यसले विजयपुर छाडी अन्यत्र गएका चेम्जोङ रायलाई विजयपुर फर्किई मिलेर काम गर्न आह्वान गरिएको सङ्केत मिल्छ।
सामो राय बुद्धिकर्णको समयका सक्रिय मन्त्री रहेको स्पष्ट हुन्छ। विसं १७६३ ताका पनि अर्को सामो राय सक्रिय देखिन्छन्। जयरुद्र उपाध्ययले सामो रायलाई ‘साउन राय’ भनी उल्लेख गरेका छन्। विसं १८३१ साउनको पृथ्वीनारायण शाहले लिम्बूहरूलाई सेनले जस्तै खाइनपाइन थामिदिएको भन्दै जारी गरेको सम्झौतावादी लालमोहरमा श्रीसुन राय भन्ने व्यक्तिको नाम उल्लेख छ। सामो राय, साउन राय र सुन राय एकै व्यक्तिको नाम हुन सक्छ। सुन राय चौबिस थुमका चेम्जोङ हुन्। जमुन राय र सुन राय एकै व्यक्ति हुन् भन्ने पनि उल्लेख गरेका छन् (भगिराज इङ्नाम र शेरबहादुर इङ्नाम, तेह्रथुम जिल्लामा सुब्बाङ्गी प्रथा- २०७०:३२-३३)।
तत्कालीन विजयपुरमा किरात राजप्रतिनिधि भई अभिमानसिंह बस्न्यात मार्फत गोरखाली राजासँग सम्झौता गर्ने लिम्बू मन्त्रीमध्येका एक लिम्बुवान पाँचथर थुम चुङ्जिवा मौजाका श्रीसुन राय हुन्। उनका वंशज सुब्बा देवपत्ति रायका भाइ कारोबारीका विचारसिंह चेम्जोङ लिम्बूले उल्लेख गरे अनुसार ‘नुनपानीको थिति’ गरिदाको समारोह यस्तो थियोः
विजयपुरका प्रतिनिधिहरू श्रीसुन राय, श्रीफुङ राय र श्रीजंग रायले एउटा ठूलो तामाको खड्कुलोमा सङ्लो पानी खन्याई नुन हाली तामाकै डाडुले घोली अभिमानसिंहलाई पानीबाट नुन झिक्न लगाए। अभिमानसिंहले बिलिसकेको नुन झिक्न असम्भव छ भन्ने जवाफ दिंदा किरात प्रतिनिधिले भने, ‘तिमीहरूले हामी किरात वंशलाई तिम्रो वंशमा मिलाउनु भनेको नुन पानीमा विलीन भई पानी भए जस्तो भई हामी किरात वंश पनि गोरखा वंशमा मिली विली गोरखा वंश हुनु भनेको हो।’
किरात प्रतिनिधिले सेन मकुवानीले दिएको थिति बमोजिम आफ्नो थितिमा कुनै प्रकारको गडबडी नगरी आफ्ना पितापुर्खाका पालादेखि पाइखाई ल्याएको थिति बमोजिम जग्गा भोग गर्न दिने हो भने गोरखालीसँग मिल्ने प्रस्ताव गरे। मिलिसकेपछि आफ्नो वंशलाई हेला गरे, थिति बिगारी जग्गा खोसेर लगे नुन पानीमा विलाएर हराए झैं गोरखाली वंशको नाश होस् भनी कसम खान प्रस्ताव गर्दा अभिमानसिंह लगायतका गोरखाली अधिकारीहरूले त्यसलाई मानी नुनपानी पिए। त्यसपछि पृथ्वीनारायण शाहले ती लिम्बू प्रतिनिधिको नाममा एक लालमोहर जारी गरिदिए (चेम्जोङ, उही ९४-९६)।
लालमोहरमा ‘यहा मेरा धर्म समाचार भलो छ उप्रान्त तिमीहरूलाई हिज पनि पिछा बक्सेको हो त्यो तिम्रो लिम्बुवान मुलुक हाम्रो प्रतापले तिम्रा पुर्खा तूतू तुम्याहाङको प्रताप हान्यो र याहा श्री ढङ सन्तान लिम्बुवान खम्बुवान मुलुक हाम्रो भया तापनि तिमीहरू हाम्रै छौ तिम्रा जहानको पिछा हामीले लियौं जस जसको जसको जे जे तम्रा खाइन् पाइन् लुङ्गवांग वांगसिंग वांगगड जिमी भूमी हिज आपै आप आपुंगी पाए बमोजिम जिमी भूमी रहुन्जेल साखा सन्तान तक भरत सधाई भोग्य गर’ भन्ने उल्लेख छ (श्रेष्ठ, उहीः११४-११५)। यो लालमोहर विसं १८३१ साउन सुदी २२ रोज २ मा जारी भएको भन्ने मानिएको छ। तर, त्यो सही छैन। किनकि‚ तिथि गणनामा सुदी २२ सम्म पुग्दैन। तिथि सार्दाको गल्तीले सुदी २२ हुन पुगेको हो।
यस समस्याको निवारणका लागि इतिहासकार शंकरमान राजवंशीले पुरातत्त्व विभागको मुखपत्र प्राचीन नेपालको संख्या ३ (२०२५ वैशाखः२९-३०) मा संक्षेपमा ऐतिहासिक व्याख्या सहित उक्त लालमोहर छापेका छन्। यसमा लालमोहर जारी गरिएको तिथि विसं १८३१ साउन सुदी १ रोज २ उल्लेख छ। यसलाई मितिमा परिणत गर्दा १८३१ साउन २७ गते सोमबार हुन आउँछ।
यसरी पृथ्वीनारायण शाह र लिम्बुवानका सुब्बाहरूबीच शान्ति सम्झौता भयो। तर‚ १८३१ साउनपछि पनि लिम्बुवानमा पूर्ण रूपमा शान्ति स्थापना भइसकेको थिएन। लिम्बूहरूकै कतिपय समूह गोरखालीसँग मिलिसकेका थिएनन्। विजयपुरका भूतपूर्व दिवान कतै लुकेर बसिरहेका थिए।
पृथ्वीनारायण शाहले अभिमानसिंह र पारथलाई विसं १८३१ असोज बदी १० मा लेखेको पत्रमा ‘..लिम्बू श्रृंग्या सुब्बाले मान्न आयाको सबै विस्तार विन्ति गरि पठाया छौ विधि विस्तार सुन्यौ...इसलिंवा च्यांगथापु लिदा सुखीम चम्की गयो...घा तोडि हाल्यौ त आखिर त्यतिमा पनि तटकी गयौ त मध्येस छोड्न्या होइन। हिन्दुपतिका साथ तिष्टासम्म चाडै गरिहाल्न्या हो’ भन्ने उल्लेख छ (श्रेष्ठ, उहीः११५-११६)।
यस पत्रमा उल्लेख भएका लिम्बू श्रृंग्या सेरेङ चोङबाङ हुन्। उनीहरू त्यस वेला लिम्बुवानका प्रभावशाली समूह थिए। उनीहरू कहिले गोरखालीहरूसँग मिल्ने, कहिले फुट्ने गरिरहन्थे। पृथ्वीनारायणको पत्र अनुसार‚ गोरखाली सैन्य अधिकारीहरूले सेरेङ चोङबाङहरू मिल्न आउने कुरा उल्लेख गरी पठाएको देखिन्छ। रणबहादुर शाहको समयमा पनि गोरखाली पक्षसँग पूर्ण रूपमा मिलिसकेका थिएनन्। रणबहादुरले विजयपुरमा रहेर गोरखाली प्रशासन चलाइरहेका सुब्बा जोगनारायण मल्ललाई लेखेको पत्रमा सेरेङहरू मकवानी सेनहरूसँग नजिक थिए भन्ने प्रमाणित हुन्छ। पत्रमा ‘...उप्रान्त लिंवु श्रृंग्याहरू मिल्न आउँदैछन् भन्ने कुरो तिमीले लेखेछौ। हिजो मकवानीका पालामा पनि ती किरातले बहुतै गर्यो। हाम्रा पालामा पनि तन्ले २/४ बेर मिल्न आउँदै फट्टाउँदै गर्या जस्तो गरी बीरभद्र राई जस्तो आयथ्यो। त्यस्तै गरी निख्रिकन आया पिछा लेऊ’ भन्ने परेको छ (दिनेशराज पन्त, पूर्णिमा‚ पूर्णाङ्क ५८-चैत २०४०:३९-४०)।
यसबाट पृथ्वीनारायण शाहको समयमा सबै लिम्बूहरू गोरखाली पक्षसँग मिलिसकेका थिएनन् भन्ने यसले पनि प्रमाणित गर्छ।
बुद्धिकर्ण रायको हत्या
विजयपुरमा गोरखाली आक्रमणपछि विजयपुरका दिवान बुद्धिकर्ण राय भागेर इस्ट इन्डिया कम्पनीलाई गुहार्न पुगेका थिए। तर‚ यो प्रयास निरर्थक भएपछि उनी भुटानको सीमाको चिलमरी गाउँमा लुकेर बसेका थिए। केही लिम्बू सुब्बाहरूलाई उनीहरूको पुरानै हकभोगलाई कायम गरिदिएको लालमोहर पृथ्वीनारायण शाहले जारी गरिसकेका थिए। तर‚ बुद्धिकर्ण जीवित रहुन्जेल विजयपुरमा शान्ति स्थापना हुने छैन भन्ने ठानी गोरखालीहरूले उनको धुइँधुइँती खोजी गर्न थाले।
गोरखालीहरू कुम्ले व्यापारीका रूपमा विभिन्न ठाउँमा पुगे। कम्पनी सरकारको क्षेत्रभित्र पर्ने चिलमरी भन्ने ठाउँमा उनी लुकेर बसेको ठाउँ पत्ता लगाई रातको समयमा घर घेरा हाली समाते। उनलाई लछारपछार गर्दै विजयपुर ल्याएर कामदत्त सेनलाई मारेको अभियोग लगाई निष्ठुर ढङ्गले मारियो। उनको प्राण जान तीन दिन लागेको थियो (फ्रान्सिस ह्यामिल्टन, एन एकाउन्ट अफ् किङ्डम अफ् नेपाल- सन् १८१९:१४१)।
त्यो काम फत्ते गरे बापत सेनानायक अभिमानसिंह बस्न्यातले बारामा बिर्ता पाए। प्रतापसिंह शाहले अभिमानसिंह बस्नेतलाई विसं १८३४ साउन ३ वदी २ रोजमा लेखेको पत्रमा ‘यदि बुद्धिकर्णलाई पक्राउ गर्न नसकिएको भए ठूलो अशान्ति मच्चाउने थिए’ भन्ने उल्लेख छ (श्रेष्ठ, उहीः११६-११७)।
चरम यातनाका साथ मारिएपछि बुद्धिकर्णको प्रेतात्मा उनको चिहानबाट निस्केको केही अध्यात्मवादीहरूले अनुभूत गरी उनको आत्मालाई खुसी पार्न विजयपुरका बासिन्दाले उनलाई ‘वुर्हा सुभा’ (बुढा सुब्बा) मानी पूजा गर्न थालियो (चेम्जोङ, उहीः६४)।
लिम्बुवान फिर्ता गर्ने प्रयास
लिम्बूहरूले विसं १८४८ मा चैनपुरमा ठूलो विद्रोह गरे। त्यतिखेरै नेपालको तिब्बत र चीनसँग घमासान युद्ध भइरहेको थियो।
इतिहास शिरोमणि बाबुराम आचार्यले किरात प्रदेशमा सिक्किमे सैनिकहरूले आक्रमण गर्दा त्यहाँ घरबास भएका केही लिम्बूहरू विपक्षी सैनिकसँग मिलेका थिए भनी नेपालको संक्षिप्त वृत्तान्त (२०६३:२२९)मा उल्लेख गरेका छन्। तर‚ नेपालमै रहेका र त्यसमा पनि हिजो गोरखालीसँग मिल्ने सुब्बा श्रीदेउको नाममा विद्रोहपछि थामिदिएको लालमोहर र रुक्कामा गोरखासँग मिल्ने लिम्बूहरू पनि त्यो विद्रोहमा सहभागी भएको स्पष्ट सङ्केत पाइन्छ।
योगी नरहरिनाथद्वारा सम्पादित इतिहास प्रकाश भाग १ (२०५५:६-७)मा रणबहादुर शाहले विसं १८४८ साल चैत्र शुक्ल २ रोज ६ मा लेखेको पत्रमा चैनपुर युद्धको दृश्यको राम्रो झल्को आउँछ। पत्रमा ‘..विजयपुरतिर अरुण नदीपार सुखिम चैनपुरमा चिनिया भोटेसमेत आए। लिम्बुवान लाप्चालाई भित्र खर्च दिएर विद्रोह गरी एक दुई जग्गा लिएको थियो। पाँच सात हजार वैरी आएका रहेछन्। विजयपुरका सुब्बा पूर्णानन्द उपाध्ययले पठाएको एक दुई कम्पनी फौज सामेल भई सिद्धपोखरीमा तीन ठूला ठूला खलंगा बारी बसेको बैरीलाई दुईतिरबाट छेकेर आक्रमण गरियो। बैरी पक्ष एकै जना पनि उम्कन नपाई काटिए। खलंगाभित्रै पाँच सय वैरीका गीड पुगेको थियो। करुवाङसहित काजी काटिए। अरु दुई चार जना पनि काटिए। यो थाहा पाएपछि हामीले बढाईं गर्यौं, त्यतातिर पनि बढाईं गर्नुहोस्’ भन्ने परेको छ।
यस अनुसार‚ दुई तिरबाट छेकेर एकै जनालाई उम्कन नदिई ५०० जना गोरखालीका वैरी अर्थात् विद्रोहीलाई काटिएको थियो। उक्त विद्रोह दबाउन काठमाडौंबाट सैन्यशक्ति चैनपुर झिकाउनुपरेको थियो। काजी देवदत्त थापा मगरको नेतृत्वमा पुगेको सैन्य शक्तिले यो विद्रोह दबाउन भूमिका खेलेको थियो (प्राचीन नेपालको संख्या २४ (२०३० साउनः२)।
यो विद्रोहको दमन सजिलै भएको थिएन। बलका साथै छल पनि प्रयोग गरिएको थियो। आक्रमण गरिएपछि त्यहाँबाट भागेर अरुण पश्चिम पुगेका क्षेत्री बाहुनहरूले सिक्किमी र भोटे सैनिकहरूसँग गोरखापक्षका मृतकको शव चैनपुरको खलङ्गाको वनमै गाड्नुपर्ने चलन भएको कुरा मिलाई शवका रूपमा हतियार ल्याई खलङ्गामा लुकाइराखे (ढुंगेल, उहीः१०)।
तर‚ यो विद्रोहपछि पनि लिम्बूहरूले गोरखालीलाई शान्तसँग रहन दिएनन्। यो प्रसङ्ग खुल्ने रणबहादुर शाहको एक लालमोहर रेग्मी रिसर्च सेरिजको वर्ष ३ अङ्क १२ (सन् १९७१ जनवरी-डिसेम्बरः २७८-२७९)मा छापिएको छ। विजयपुरका सुब्बा पूर्णानन्द उपाध्ययलाई पठाएको विसं १८५० असार सुदी ७ को उक्त लालमोहरमा पूर्णानन्दका तर्फबाट राजालाई जाहेर गरिएको अर्जीमा लिम्बूको प्रसङ्ग छ। लालमोहरमा गान्तोकका छत्रजितको सल्लाहमा वेला वेलामा लिम्बूहरूले विद्रोह गर्ने गरेको उल्लेख छ। यस्तै‚ सिक्किमलाई जस्तै लिम्बूहरूलाई पूर्ण रूपमा विश्वासमा लिई नहाल्नु र उत्तरी तथा पूर्वी क्षेत्रको सूचना होशियारीपूर्वक सङ्कलन गरी पठाउँदै गर्नू भन्ने आदेश सुब्बा पूर्णानन्दले राजा रणबहादुर शाहबाट पाएका छन्।
विद्रोहपछिको लालमोहर र रुक्का
सीमावर्ती भएकाले लिम्बुवानको भूगोल सामरिक रूपमा संवेदनशील रहेको थियो भन्ने चर्चा माथि भइसकेको छ। लिम्बूहरूलाई सिक्किमको विशेष साथ सहयोग थियो भने भोट र भुटानले पनि यस क्षेत्रमा विशेष चासो दिन्थ्यो। दक्षिणतिर कम्पनी सरकार थियो। यस्तो अवस्थामा लिम्बूहरूलाई शान्त राख्न सेनदेखिको खायनपायन थामिदिंदै उनीहरूसँग मीठोमसिनो नगरी गोरखाली राजालाई सुखै थिएन। त्यस वेला राजा र काजीहरूबाट जारी भएका लालमोहर र रुक्का यस लेखकलाई हाल बेलायत निवासी संस्कृतिकर्मी तथा साहित्यकार टंक वनेमबाट प्राप्त भएको हो।
यसै क्रममा सबैभन्दा पहिले रणबहादुर शाहले सिर्देउ रायको नाममा विसं १८४८ भाद्र वदी २ रोज २ मा एक रुक्का जारी गरे। रुक्कामा ‘हिजो सुषिमसित मिली कुल गरेर ल्याये पनि हारेउ सुवाहरूले डांड लीया कुला गर्याको सासना भयाको छैन. येस साल फिरि पुर्वतिर काज आछिव. सबै लीम्बुको नाममा मोहर जान्छ...’ भनी हिजो विद्रोह गरे पनि कसैलाई सजाय नहुने र पहिले जस्तै मोहर पनि जारी हुने आश्वासन दिएका थिए।
यस्तै‚ काजी श्रीकृष्ण शाहले विसं १८४८ भाद्र सुदी ३ रोज ४ मा एक कस्यपत्र जारी गरे। कस्यपत्रमा श्रीदेउ राय र जयकर्ण रायलाई ‘तेरो पिछा मैले लियाको छ. मेरो बन्याको दिन तेरा ज्या विग्य्राको छ. म बनाइ दिउला’ भनी हिजो जे बिग्रे-भत्केको छ, त्यो आफूले बनाइदिने आश्वासन दिएका थिए।
चैनपुरको विद्रोह दबाउन सैन्य शक्ति लिएर विजयपुरबाट चैनपुर पुग्ने सुब्बा पूर्णानन्द उपाध्यय र कुलानन्द उपाध्ययले विसं १८४८ माघ बदी १ रोज १ मा सिर्देउ रायलाई एक कस्यपत्र पठाएर ‘अघिका सेनका समयदेषि तिम्रो मुसा पर्जा गाउ कुरिया तिमीलाई सरकारबाट पनि लालमोहर गरि वक्स्या बमोजिम हामिले पनि बहाल गरि दिञौं’ भनी राजाले दिएको लालमोहर अनुसार आफूले पनि थामिदिएको जानकारी गराएका थिए।
यस्तै‚ काठमाडौंबाट विद्रोह दबाउन चैनपुर पुगेका गोरखाली काजी देवदत्त थापाले पनि काठमाडौंबाट सिर्देउ रायकै नाममा विसं १८४९ षौष सुदी ८ रोज ६ मा एक कस्यपत्र पठाएका थिए। कस्यपत्रमा ‘डंडकुण्ड मोरो अपुताली चाकचकुई छिनाहरि रहता वहता वाजि मामिला माफ गरि साउन्या फागु पंचखतको छुवान्या षेति सालवसाल घर तिरो अघेलि आफना हातले उधाई दुवा वहावानुच्छे थितिको मोहर बक्स्याको हो स्वही मोहर बमोजिम हामिले पनि थामि थितिको वाहालि गरि दियूँ...’ भनी पञ्चखत बाहेकका सबै अधिकार लिम्बू सुब्बाको नाममा थामिदिए।
तथ्यहरूले गोरखा राज्यमा लिम्बुवान सजिलै र सहजै गाभिएको होइन भन्न देखाउँछ।