कस्तो थियो गोरखालीविरुद्ध लिम्बूहरूको विद्रोह ?
लिम्बूहरूको गोरखालीसँगको विद्रोह दमनमा बलका साथै छल पनि प्रयोग गरिएको थियो। तर, विद्रोह साम्यपछि पनि लिम्बूहरूले गोरखालीलाई शान्तसँग रहन दिएनन्।
हाल सुनसरीको धरान उपमहानगरपालिकामा पर्ने विजयपुरसँग लिम्बूहरूको विशेष ऐतिहासिक विरासत छ । विजयपुरमा लिम्बूहरूले नै सेनवंशीलाई मकवानपुरबाट बोलाई राजा थापेका थिए । यहाँ लिम्बूहरूले पुस्तौनी दिवान वा चौतारिया पद पाउँथे । यहाँका अन्तिम सेन राजा कामदत्त सेनलाई शक्ति सङ्घर्षका क्रममा लिम्बू चौतारिया बुद्धिकर्ण रायले सिक्किमको सहयोग लिई हत्या गरिदिए ।
कामदत्त सेनको हत्यापछि उनका काका रघुनाथ सेन आएर विजयपुरको गद्दीमा बसे । तर उनी लामो समय टिक्न सकेनन् । केही समय कम्पनी सरकारको आश्रयतिर पलायन भएका दिवान बुद्धिकर्ण राय निर्विघ्न विजयपुर आए । उनले चौदण्डीबाट कर्ण सेनलाई बोलाई नाम मात्रको राजा थापी आफू सर्वेसर्वा भई विजयपुरबाट शासन चलाएको इतिहास पाइन्छ ।
गोरखाली आक्रमणपछि कर्ण सेन र बुद्धिकर्ण पलायन भएपछि खासगरी पहाडी खण्डमा आफ्नो मुलुक जोगाउन चैनपुरमा जैकर्ण रायको नेतृत्वमा साङ्वोत राय, तेसाकापा राय, काङ्सो रायजस्ता लिम्बू वीर योद्धाहरू गोरखाली सेनासँग भिड्न युद्ध मैदानमा उत्रेको इतिहास इमानसिंह चेम्जोङलाई उद्धृत गर्दै भगिराज इङ्नाम र शेरबहादुर इङ्नामले लेखेको ‘तेह्रथुम जिल्लाको सुब्बाङ्गी प्रथा’ (२०७०ः३०) मा पढ्न पाइन्छ ।
विजयपुरको विरासत
फ्रान्सिस ब्यूक्यानन ह्यामिल्टन इष्ट इण्डिया कम्पनीका चिकित्सक थिए । अंग्रेज अधिकारीहरू आफूले जेजस्तो सूचना पाउँथे, त्यसलाई आफ्नो टिपोटमा राखिहाल्थे ।
उनीहरूको तिनै टिपोटहरूको आधारमा कालान्तरमा पुस्तक तयार हुन्थ्यो । ती पुस्तकहरू अध्ययन गरेर त्यहाँका कतिपय इतिहाससम्बद्ध टिपोटहरू नेपाली इतिहासमा साधनका रूपमा उपयोग गरिएको पाइन्छ ।
ह्यामिल्टनले आफ्नो पुस्तक ‘एन एकाउन्ट अफ् किङ्डम अफ् नेपाल’ (सन् १८१९ः२) मा लेखेअनुसार उनले आफूलाई चासो भएको सिक्किम र नेपालको सम्बन्धको खास सूचना अगमसिंह राईबाट प्राप्त गरेका थिए । अगमसिंह वंशानुगत रूपमा किरात (राई) जातिका थिए। उनी निर्वासित राजकुमार (चौदण्डीका सेन)का अन्तिम चौतारिया अर्थात् प्रधानमन्त्री थिए ।
उनै अगमसिंहबाट ह्यामिल्टन विजयपुरको राजघराना र लिम्बू चौतारियाको पुस्तौनी अधिकारबारे पनि सूचना बटुलेको उनको पुस्तक अध्ययन गर्दा थाहा हुन्छ । ह्यामिल्टन (सन् १८१९ः १३३ र १४७) लाई उद्धृत गर्दै इतिहासकार इमानसिंह चेम्जोङले ‘किरातकालीन विजयपुरको संक्षिप्त इतिहास’ (२०५९ः१३–१७)मा उल्लेख गरेअनुसार वि.सं. १४२१ मा साङलाइङ नामका राजाले स्थापित गरेको राजघरानाका पुस्तामध्ये सातौं पुस्ताका विजयनारायणले वाराताप्पादेखि उत्तर र साँगुरीगढीदेखि दक्षिणको ठाउँमा राजधानी बनाई शासन चलाउन थाले । यो ठाउँको नाम विजयपुर कहिन्छ ।
उनले पहाडी भागमा पनि आफ्नो प्रभाव विस्तार गर्न फेदाप थुमका लिम्बू राजा मुरेहाङ खेवाङलाई विजयपुर झिकाई मित्रता कायम गरी आफ्नो राज्यलाई बलियो बनाए । मुरेहाङलाई राय पद दिएर उनको पुस्तौनीलाई विजयपुरको दिवान वा चौतारिया बनाउन पनि विजयनारायण राजी भए । दश लिम्बूका थुमथुमका हाङहरू विजयपुर आएर पालैपालो ६–६ महीना राजकाजमा सहयोग पु¥याउने सहमति पनि भयो ।
चेम्जोङ (उहीः २०–२३) अनुसार विजयपुरकी राजकुमारी मैया मुरेहाङलाई गोभक्षक भनी घृणा गर्थिन् । यो सहन नसकेर एकान्तमा पारी एक दिन मुरेहाङले मैयाको बलात्कार गरे । यसै अभियोगमा विजयनारायणबाट मुरेहाङले मृत्युदण्ड पाए ।
यो खबर सुनेर फेदापमा रहेका मुरेहाङका छोरा बाजहाङले विजयनारायणसँग बदला लिने अठोट गरे । यसअनुसार उनी मकवानपुर पुगी त्यहाँका राजा लोहाङ सेनलाई गुहार्न पुगे । बाजहाङको लिम्बू सेना र मकवानी सेना गरी दुई दल मिली साना साना राज्यहरू जित्दै उनीहरूले पूर्वको गिद्धेपहाड पुगी आफ्नो साँध कायम गराए । तर गिद्धेपहाडमा शत्रुपक्षको प्रहारले बाजहाङको युद्धस्थलमै वि.सं. १६७५ मा देहान्त भयो ।
लोहाङ सेन विजयपुर आइपुग्दा त्यहाँका राजा विजयनारायणको देहान्त भइसकेकोले सजिलै लोहाङ सेन विजयपुरको गद्दीमा विराजमान हुन सफल भए । उनले बाजहाङका छोरा पानोहाङलाई मन्त्री बनाए । उनलाई इतिहासमा विद्याचन्द्र राय भनेर चिनिन्छ ।
लोहाङ सेनले मकवानपुर लगी केही लिम्बूहरूलाई मन्त्री पनि बनाएका थिए । इमानसिंह चेम्जोङको ‘किरातकालिन विजयपुरको संक्षिप्त इतिहास’ (२०३२ः३९–४०)लाई उद्धृत गर्दै इतिहासकार डा. राजाराम सुवेदीले पुरातत्व विभागको मुखपत्र ‘प्राचीन नेपाल’ को सङ्ख्या १४७ (२०५८ असारः४३) मा प्रकाशित लेख ‘मकवानपुर राज्य’ मा उल्लेख गरेअनुसार किरातहरूमा मोरङमा विद्याचन्द्र राय, सप्तरीमा चोङबाङ राय, महोत्तरीमा लिवाङ राय र मकवानपुरमा सेरिङ रायलाई इज्जतसाथ मन्त्री बनाएर राखियो ।
पल्लो किरात लिम्बुवान गोरखा राज्यमा गाभिनुअघि विजयपुरका सेनहरूलाई लिम्बूहरूले राजा मान्थे । तर सेन राजाहरूको राजनीतिक अधिकार आदर्शको रूपमा मात्र यस क्षेत्रमा कायम थियो । त्यस क्षेत्रका स्थानीय सामन्तको रूपमा पहिलेदेखि नै पुस्तौनी रूपमा कार्यरत किरात दिवान राय तथा हाङहरूको नै स्थानीय शासनमा हात हुन्थ्यो ।
पल्लो किरातमा पनि लिम्बूहरूका दश जना दलपति ‘हाङ’ हरूले नै वास्तविक शासन चलाउँथे । त्यसै हुनाले पल्लो किरातलाई दश लिम्बुवान भनिने चलन रहेको हो भनी रमेश ढुङ्गेलले पुरातत्व विभागको मुखपत्र ‘प्राचीन नेपाल’को सङ्ख्या ११३ (२०४६ भदौ असोजः४)मा प्रकाशित ‘पल्लो किरातको चैनपुरः एक महत्वपूर्ण ऐतिहासिक प्रदेश’ लेखमा उल्लेख गरेका छन् ।
यताबाट हेर्दा विजयपुरमा राजा सेनहरू भए पनि त्यहाँका असली शासक भने लिम्बू चौतारियाहरू नै थिए भन्ने स्पष्ट हुन्छ ।
दश लिम्बूमा फुट
वि.सं. १८३० को अन्तिमतिर पहाड खण्डबाट रामकृष्ण कुँवर र अमरसिंह थापाको नेतृत्वमा र वि.सं. १८३१ को साउनमा तराई क्षेत्रबाट अभिमानसिंह बस्नेत र पारथ भण्डारीको नेतृत्वमा गोरखाली सेना लिम्बूवान हात पार्न दुईतिरबाट दपेटा दिन अगाडि बढेका थिए ।
गोरखालीहरू कोशीको उर्लंदो साउने भेल तरेर राजधानी आइपुग्न नसक्ने अनुमान गरेर कर्ण सेन र बुद्धिकर्ण राय ढुक्क थिए । तर अभिमानसिंह बस्नेत र पारथ भण्डारी हात्तीबाट आफ्ना सेनालाई कोशी तारेर विजयपुर उत्रँदै गरेको खबर पाएपछि कर्ण सेन र बुद्धिकर्ण राय विजयपुरबाट पलायन भए ।
बाबुराम आचार्यले ‘पूर्णिमा’को पूर्णाङ्क २७ (२०२९ असोजः१६७) मा प्रकाशमा ल्याएको ‘गोरखाविजयकालका घटना’ शीर्षकको तिथ्यावलीअनुसार गोरखाली सेनाले वि.सं. १९३१ साउन ५ गते विजयपुर दखल गरे ।
यसको केही दिनपछि नै लिम्बू सुब्बाहरूलाई पृथ्वीनारायण शाहको भाकामा थमौती गरेको लालमोहर प्रदान गरियो । यो लालमोहर लिम्बूवानमा गोरखाली र लिम्बूवानबीचको सन्धिका रूपमा चर्चित छ । तर यो लालमोहर सबै लिम्बू सुब्बाहरूका लागि मान्य भएन । केहीले लालमोहरको अवज्ञा गरे ।
त्यसबेला १० लिम्बू १७ थुममा १२ जना नामी सुब्बाहरू थिए । तीमध्ये फेदापको आतहाङको नेतृत्वमा तम्बरखोलाको शुभवन्त राय, मैवाखोलाका श्रीदेव राय र मेवाखोलाका रैनसिंह राय गोरखासँग मिले । आठराईका श्रीजंग राय, पाँचथरका फुङ (कुम) राय र चौविसका जमुन (सुन) रायलाई पनि लालमोहर दिएर पृथ्वीनारायण शाहले उनीहरूसँग सम्झौता गरे ।
चैनपुरमा घमासान युद्ध हुँदा त्यहाँका सुब्बा हार खाई सिक्किमतिर पसे । यता गोरखालीसँग नमिल्ने छथरका सुनुहाङ राय, याङरोकका योङ्याहाङ राय र चारखोलाका आसदेव राय आ–आफ्नो गढीमा बसी लड्दै रहे । तर हातहतियारको अभावले उनीहरूले हार स्वीकार गर्नुप¥यो । आफ्नो देश छाडी सिक्किम पसे तापनि शत्रु सेनासित लड्न उनीहरूले नछाडेको इतिहासकार इमानसिंह चेम्जोङको ‘किरात इतिहास’ (२०५९ः४५–४६) पढ्दा थाहा हुन्छ ।
सिक्किम र लेप्चासँग मिली विद्रोह
लिम्बूहरूले वि.सं. १८४८ मा चैनपुरमा ठूलो विद्रोह गरे । त्यतिखेरै नेपालको तिब्बत र चीनसँग घमासान युद्ध भइरहेको थियो ।
इतिहास शिरोमणि बाबुराम आचार्यले किरात प्रदेशमा सिक्किमे सैनिकहरूले आक्रमण गर्दा त्यहाँ घरबास भएका केही लिम्बूहरू विपक्षी सैनिकसँग मिलेका थिए भनी ‘नेपालको संक्षिप्त वृत्तान्त’ (२०६३ः२२९)मा उल्लेख गरेका छन् । तर नेपालमै रहेका र त्यसमा पनि हिजो गोरखालीसँग मिल्ने सुब्बा श्रीदेउको नाममा विद्रोहपछि थामिदिएको लालमोहर र रुक्का पाइएकोले हिजो गोरखासँग मिल्ने लिम्बूहरू पनि त्यो विद्रोहमा सहभागी भएको सङ्केत पाइन्छ ।
योगी नरहरिनाथद्वारा सम्पादित ‘इतिहास प्रकाशमा भाग–१’ (२०५५ः६–७) मा रणबहादुर शाहले वि.सं. १८४८ साल चैत्र शुक्ल २ रोज ६ मा चैनपुर युद्धको दृश्यको राम्रो झल्को आउँछ ।
पत्रमा ‘..विजयपुरतिर अरुण नदीपार सुखिम चैनपुरमा चिनियाँ भोटेसमेत आए । लिम्बूवान लाप्चालाई भित्र खर्च दिएर विद्रोह गरी एक दुई जग्गा लिएको थियो । पाँच सात हजार वैरी आएका रहेछन् । विजयपुरका सुब्बा पूर्णानन्द उपाध्यायले पठाएको एक दुई कम्पनी फौज सामेल भई सिद्धपोखरीमा तीन ठूला ठूला खलंगा बारी बसेको वैरीलाई दुईतिरबाट छेकेर आक्रमण गरियो । वैरी पक्ष एकै जना पनि उम्कन नपाई काटिए । खलंगाभित्रै पाँच सय वैरीका गिंड पुगेको थियो । करुवाङसहित काजी काटिए । अरू दुई चार जना पनि काटिए । यो थाहा पाएपछि हामीले बढाईं गर्यौं, त्यतातिर पनि बढाईं गर्नुहोस्’ भन्ने परेको छ ।
यसअनुसार दुईतिरबाट छेकेर एकै जनालाई उम्कन नदिई पाँच सय जना गोरखालीका वैरी अर्थात् विद्रोहीलाई काटिएको थियो । यो विद्रोह दवाउन काठमाडौंबाट सैन्यशक्ति चैनपुर झिकाउनु परेको थियो । काजी देवदत्त थापा मगरको नेतृत्वमा पुगेको सैन्य शक्तिले विद्रोह दवाउन भूमिका खेलेको पुरातत्व विभागको मुखपत्र ‘प्राचीन नेपाल’ को सङ्ख्या २४ (२०३० साउनः२) पढ्दा थाहा हुन्छ ।
यो विद्रोह दमन सजिलै भने भएको थिएन । बलका साथै छल पनि प्रयोग गरिएको थियो । ‘प्राचीन नेपाल’को सङ्ख्या ११३ (२०४६ भदौ–असोजः१०) मा उल्लिखित रमेश ढुङ्गेलको लेखअनुसार त्यहाँ आक्रमण गरिएपछि त्यहाँबाट भागेर अरुण पश्चिम पुगेका क्षेत्री, बाहुनहरूले सिक्किमी र भोटे सैनिकहरूसँग गोरखापक्षका मृतकको शव चैनपुर, खलङ्गाको वनमै गाड्नुपर्ने चलन भएको कुरा मिलाई शवको रूपमा हतियार ल्याई खलङ्गामा लुकाइराखे । त्यही हतियारबाट विद्रोहीलाई सखाप पार्न गोरखाली पक्षधर सैन्यलाई सहज हुनपुग्यो ।
तर विद्रोहपछि पनि लिम्बूहरूले गोरखालीलाई शान्तसँग रहन दिएनन् । यो प्रसङ्ग खुल्ने रणबहादुर शाहको एक लालमोहर रेग्मी रिसर्च सेरिजको वर्ष ३ अङ्क १२ (सन् १९७१ जनवरी–डिसेम्बरः२७८–२७९) मा छापिएको छ ।
विजयपुरका सुब्बा पूर्णानन्द उपाध्यायलाई पठाएको वि.सं. १८५० असार सुदी ७ को यो लालमोहरमा पूर्णानन्दका तर्फबाट राजालाई जाहेर गरिएको अर्जीमा लिम्बूको प्रसङ्ग परेको छ । लालमोहरमा गान्तोकका छत्रजितको सल्लाहमा बेलाबेलामा लिम्बूहरूले विद्रोह गर्ने गरेको उल्लेख छ ।
यस्तै सिक्किमलाई जस्तै लिम्बूहरूलाई पूर्ण रूपमा विश्वासमा लिई नहाल्नू र उत्तरी तथा पूर्वी क्षेत्रको सूचना होशियारीपूर्वक संकलन गरी पठाउँदै गर्नू भन्ने आदेश सुब्बा पूर्णानन्दले राजा रणबहादुर शाहबाट पाएका छन् ।
विद्रोहपछि जारी रुक्काहरू
सीमावर्ती भएकोले लिम्बूवानको भूगोल नै सामरिक रूपमा संवेदनशील रहेको थियो । लिम्बूहरूलाई सिक्किमको विशेष साथसहयोग थियो भने भोट र भूटानले पनि विशेष चासो दिन्थ्यो । दक्षिणतिर कम्पनी सरकार छँदै थियो ।
यस्तो अवस्थामा लिम्बूहरूलाई शान्त राख्न सेनदेखिको खायनपायन थामिदिंदै उनीहरूसँग मीठो मसिनो नगरी गोरखाली राजालाई सुखै थिएन । त्यसबेला राजा र काजीहरूबाट जारी भएको लालमोहर र रुक्का यस लेखकलाई हालः बेलायत निवासी संस्कृतिकर्मी तथा साहित्यकार टंक वनेमबाट प्राप्त भएको हो ।
यसक्रममा सबैभन्दा पहिले रणबहादुर शाहले सिर्देउ रायको नाममा वि.सं १८४८ भाद्र वदी २ रोज २ मा रुक्का जारी गरी ‘हिजो सुषिमसित मिली कुल गरेर ल्याये पनि हारेउ सुवाहरूले डांड लीया कुला ग¥याको सासना भयाको छैन. येस साल फिरि पुर्वतिर काज आछिव. सबै लीम्बुको नाममा मोहर जान्छ...’ भनी हिजो विद्रोह गरे पनि कसैलाई सजाय नहुने र पहिलेजस्तै मोहर पनि जारी हुने आश्वासन दिएका थिए ।
यस्तै काजी श्रीकृष्ण शाहले वि.सं. १८४८ भाद्र सुदी ३ रोज ४ मा एक कस्यपत्र जारी गरी श्रीदेउ राय र जयकर्ण रायलाई ‘तेरो पिछा मैले लियाको छ. मेरो बन्याको दिन तेरा ज्या विग्य्राको छ. म बनाइ दिउला’ भनी हिजो जे बिग्रे भत्केको छ, त्यो आफूले बनाइदिने आश्वासन दिएका थिए ।
विद्रोह दवाउन सैन्य शक्ति लिएर विजयपुरबाट चैनपुर पुग्ने सुब्बा पूर्णानन्द उपाध्याय र कुलानन्द उपाध्यायले वि.सं. १८४८ माघ बदी १ रोज १ मा सिर्देउ रायलाई एक कस्यपत्र पठाएर ‘अघिका सेनका समयदेषि तिम्रो मुसा पर्जा गाउ कुरिया तिमीलाई सरकारबाट पनि लालमोहर गरि वक्स्या बमोजिम हामिले पनि बहाल गरि दिञौं’ भनी राजाले दिएको लालमोहर अनुसार आफूले पनि सोही अनुसार थामिदिएको जानकारी गराए ।
यस्तै काठमाडौंबाट चैनपुर पुगेका गोरखाली काजी देवदत्त थापाले पनि काठमाडौंबाट सिर्देउ रायकै नाममा वि.सं. १८४९ षौष सुदी ८ रोज ६ मा एक कस्य पत्र पठाई ‘डंडकुण्ड मोरो अपुताली चाकचकुई छिनाहरि रहता वहता वाजि मामिला माफ गरि साउन्या फागु पंचखतको छुवान्या षेति सालवसाल घर तिरो अघेलि आफना हातले उधाई दुवा वहावानुच्छे थितिको मोहर बक्स्याको हो स्वही मोहर बमोजिम हामिले पनि थामि थितिको वाहालि गरि दियूँ...’ भनी पञ्चखतबाहेकका सबै अधिकार लिम्बू सुब्बाको नाममा थामिदिए ।