को हुन् पूर्वी नेपालका चेम्जोङ, जसले मुगल सैनिकलाई पराजित गरे ?
लिम्बूहरुले पाएको किपटसम्बन्धी अधिकारको अन्तिम नविकरण २०१७ साल चैत २७ गते आइतबार भएको थियो। राजा महेन्द्रले मिक्लुङका सुब्बा प्रेमबहादुर मावोहाङलाई प्रदान गरेको मोहरमा ‘नेपाल अधिराज्य पल्लो किरातका लिम्बू किपटिया गैरके...’ भन्ने परेको छ।
प्रेमबहादुर मावोहाङ (वि.सं. १९४९–२०२७) त्यस क्षेत्रका ठूला किपटिया लिम्बु सुब्बा थिए। मावोहाङ चेम्जोङ थरका उनले भुपेन्द्रनाथ ढुंगेलसँग मिलेर ‘नेपाल संक्षिप्त इतिहास’ (२०११) पुस्तकमा सहलेखन पनि गरेका छन्। ‘प्रेमबहादुर जिम्दार’ भनेर चिनिने उनको जिम्मा किपटभित्र मिक्लुङ पहाड (दक्षिणी पानीढलो), बोक्रा पश्चिम, बुढिखोलापूर्व भुँडेसिमल उत्तरको आठ मौजा रहेको ‘थाक्थाकु मावोहाङ चेम्जोङ वंशावली’ (२०६५ःख) पढ्दा थाहा हुन्छ।
मावोहाङ २०१४ सालमा काठमाडौं गएको लिम्बूवान प्रतिनिधि मण्डलका सदस्य पनि थिए। उनले तत्कालिन राजासमक्ष आफ्नो किपट नविकरणका लागि बारम्बार आग्रह गरेका कारण अन्तिमपटक किपट नवीकरणको मोहर प्राप्त गर्न सफल रहेको पनि बताइन्छ।
राजा महेन्द्रको छाप लागेको र हातैले लेखेर प्रदान गरिएको मोहरलाई उनले छापाखानामा छपाई आफ्नो सुवांगी छाप लगाई विभिन्न ठाउँमा बाँडेको देखिन्छ। तीमध्ये एकप्रति यस लेखकले आफ्ना बुवा कप्तान आशबहादुर यक्सो लिम्बूले पनि सङ्ग्रह गरिराखेको अवस्थामा फेला पारेको छ।
यसरी हेर्दा, लिम्बूको किपटको मोहर नवीकरण गर्ने अन्तिम किपटिया सुब्बा प्रेमबहादुर मावोहाङ (चेम्जोङ) देखा परेका छन्।
पाँचथरको स्याबरुम्वा र फाक्तेप अनि धनकुटाको मौनाबुधुक र राजारानीलाई मूल बसोबासस्थलका रुपमा स्थापित गरेर बसेका मावोहाङ चेम्जोङहरुको इतिहासको जरा र लहरा लामो छ। धनकुटाको चेम्जोङहरुको माङ्गेन्ना मुन्धुममा धनकुटाको ‘कुर्ले यक’ आउने गर्छ। यो गढीको भग्नावशेष साविकको कुरुले तेनुपा गाविसमा रहेको छ। सम्भवतः चेम्जोङहरु छुट्टिदै आ-आफ्नो भूमी निर्माणका क्रममा धनकुटा आइपुगेका चेम्जोङहरुले कुर्ले गढी निर्माण गरी आधिपत्य जमाई बसे।
चेम्जोङको प्राचीनता
तिब्बतमा बौद्ध धर्मको प्रभाव बढ्दै गएपछि आफ्नो मौलिक धर्म जोगाउन त्यहाँका प्रकृतिपूजक तथा युमासामका उपासक राजाको तिब्बती बौद्ध धर्मावलम्बी मन्त्रीहरुसँग धार्मिक तथा साँस्कृतिक अस्तित्वको लागि प्रतिस्पर्धा तथा युद्धहरु भए। शेरबहादुर इङ्नामद्वारा अनुदित इतिहासकार इमानसिंह चेम्जोङद्वारा लिखित ‘किरात इतिहास र संस्कृति’ (२०६३ः८५–८९) पढ्दा चेम्जोङहरुको राजकीय पैतृक विरासतका बारेमा महत्वपूर्ण ऐतिहासिक तथ्य प्राप्त हुन्छ।
चेम्जोङअनुसार राजा मुनाफेनहाङ वृद्ध भएपछि उत्तरी तिब्बतमा लासाहाङ राजा भए। त्यो बेला तिब्बतीहरुमा बौद्धधर्मको प्रभाव बढ्दै थियो।
मौलिक प्रकृति धर्म र सँस्कारका पक्षपाती राजा लासाहाङको सन् ८३९ मा हत्या भयो। उनका दुई छोरामध्ये तिब्बती मन्त्रीहरुबाट उवाहाङले अपमानित महसुस गरेपछि दक्षिणी तिब्बतमा आक्रमण गरिदिए। उनले दक्षिणी भूभागमा पनि आक्रमण गर्दै प्रभाव बढाउँदै जाँदा ताप्लिजोङ, आगेजोङ, पोमेजोङ, यासोकजोङ, मिक्लाजोङ, चेम्पोवाजोङजस्ता किरात भूमीमा अधिपत्य जमाए।
उवाहाङले आफ्नो राजधानी इलाम जिल्लाको तल्लोडाँडा चेम्पाजोङ (चेम्फोजोङ)मा बनाए। चेम्फोजोङ यक इलामको साविकको इभाङमा अवस्थित छ। त्यहीँबाट छरिएर विभिन्न ठाउँमा गएका उनको एक हाँगा सन्तान कालान्तरमा चेम्जोङ कहलाए।
उवाहाङको शासनकाल सन् ८४९ देखि ८६५ मानिन्छ। उनीपछि उनका उत्तराधिकारी मावोहाङले सन् ८६५देखि ८८० सम्म शासन चलाए। मावोहाङ निक्कै प्रतापी र धार्मिक राजा मानिन्छन्। त्यसैले उनका सन्तानले आफूहरुको थर अगािड ‘मावोहाङ’ लेख्छन्। यस्तो लेख्नेमा चेम्जोङहरु पनि पर्छन्।
यक्सो वंशावलीबाट चियाउँदा
मावोहाङका सन्तानमध्ये यक्सो पनि एक हो। उनीहरुले ताप्लेजुङको सान्थाक्रा र हाङपाङलाई मूलथलो बनाए। उनीहरुको मूल किपट थलोका रुपमा हाङपाङ स्थापित छ।
१९०९ सालको पुरानो कागजलाई आधार बनाएर तयार पारिएको यक्सो वंशावली ‘यक्सो इत्लाम’ (२०७३ः६३–६४) का आधारमा मावोहाङका वंशज बारे यहाँ केही तथ्य प्रस्तुत गरिन्छ।
मुनाफेनहाङका तीन भाइ छोरामध्ये जेठा लासाहाङका छोरा उवाहाङ र नाति मावोहाङ हु्न्। माइला खालाहाङका सन्तान काङभा, मावखिम, यरङ्वा, लक्सम र मादेम भए। यस्तै कान्छा इमेहाङका सन्तान लेप्चा भए।
लासाहाङका चार छोरामध्ये जेठा उवाहाङ, माइला चाङ्वाहाङ, साइला पारावाहाङ र कान्छा मुरेंगन हुन्। तीमध्ये माइलातिर सुवाङसङ् र महरेसङ भए। साइलातिरका सन्तान फुरुम्वो र पालुङ्वाहरु भए। कान्छा मुरेंगनतिर तवेबुङ, मांयुक, ईजम, पतङ्वा, लाबुङ र संसंवो भए।
उवाहाङका एउटै छोरा थिए, मावोहाङ। मावोहाङका पनि एकै जना छोरा थिए, मुदाहाङ। मुदाहाङका तीन भाइ छोरामध्ये जेठा थाक्मिया, माइला मुरेगन र कान्छा काप्पेनहाङ भए। मुरेगनका सन्तान तुम्वाहाम्फे, सर्वन्दुङ, यङदेन र मादेन फेन्दुवाहरु हुन्। यस्तै काप्पेनहाङका सन्तान चाहिँ लेचेन्जे, लेखक्पा, थगम्बा, लुङदेपु, हिदुम, फाक्फेक्वा मावोहरु हुन्।
जेठा थाक्मियाका सन्तान मुजिवा हुन्। उनका सन्तान चेम्जोङहरु हुन्। कान्छा थाक्काइनहाङका दु्ई छोरामध्ये तागेहाङका सन्तान इङ्वादक, सवेइनाम, फुङदित आङ्छङ्वोहरु भए भने कान्छा सुल्लिफुङका सन्तानहरु नै यक्सोहरु हुन्।
यक्सो वंशावलीको पुराना मुल कागजमा भने उवाहाङलाई देवानाम्जे, मावोहाङलाई देवारोङ्गे र मुदाहाङलाई देवा फुनजांपा भनी लेखिएको छ। यो कागज ६ पुस्ताभन्दाअघिका पुर्खाले लेखी सुरक्षित राखेको अवस्थामा यो लेखकले पुख्र्यौली विरासतका रुपमा फेला पारेको हो।
सेनकालमा चेम्जोङहरु
यस्तो प्राचीन ऐतिहासिक विरासत बोकेका चेम्जोङहरुको विजयपुर दरबारमा ठूलो मान र इज्जत थियो। विजयपुर दरबारमा गाह्रो अप्ठ्यारो पर्दा सेना राजा तथा दिवानहरु चेम्जोङहरुलाई हारगुहार गर्थे।
प्राचीन ऐतिहासिक विरासत बोकेका चेम्जोङहरुको विजयपुर दरबारमा ठूलो मान र इज्जत थियो। विजयपुर दरबारमा गाह्रो अप्ठ्यारो पर्दा सेना राजा तथा दिवानहरु चेम्जोङहरुलाई हारगुहार गर्थे।
यसैक्रममा दुई जना सेन राजा आफ्नै मन्त्रीको धोकाबाट दक्षिणी भेगमा रहेका नवाबहरुबाट अपहरणमा मात्र परेनन्, उनीहरुको भूभागमाथि पनि मुगलहरुले कब्जा गरिदिए।
यस्तो अवस्थामा रानी मदिधाता इन्द्रराजराजेश्वरीले चेम्जोङ राय लगायतका लिम्बूहरुलाई सहयोगका लागि पठाएको पत्र पुरातत्व विभागको मुखपत्र ‘प्राचीन नेपाल’ सङ्ख्या ४ (२०२५ साउनः३४–३५) मा जनकलाल शर्माले प्रकाशमा ल्याएका छन्। यो पत्रको सक्कल शर्माको ‘बराहक्षेत्र र केही अन्य स्थल’ लेखको फलक नं. ४ मा प्रकाशित गरिएको छ।
सम्वत् १७६३ आश्विनमा लेखिएको यो पत्रको ब्यहोरा यस्तो छः
।।श्री लहा श्री ..........जी।।
।।स्वस्ति श्री रुपनारायणेत्यादिविविधविरुदावलिविराजमान मानोन्तममहाराजा श्री हिन्दुपति राजराजेश्वर श्री मदिधाता इन्दराजराजेश्वरी श्री श्री महारानी जीवदेवीनां सदा शोभागतिहाबीत्री शचीनाम
चेमजेगराये यई आवाराये इन्दराये छगमीराये माजीम राये वाआजी राय गवात्रा राये शीहा राय श्री.....
के आशीषपूर्वक पत्रमीदं कार्जन्च आगे पूर्वमह नीमकह
राम ही धुम उठी वभूते रामकीश्न थापाले मेजल हैतो
पान्चपत्र दरशन तो कीत शोभा शुवा मजकुरकर
लह«ो बरीके हानतुजाहि महतोदरे शवके जश होय से कर
त इती सम्वत् १७६३ साल माहआशीच वदो ६ गद रोमो र जीतपुर पारवानगी धम्मागत दुअरीआं....
इतिहासकार इमानसिंह चेम्जोङले यस पत्रलाई सरलीकरण गर्दै ‘किराँतकालीन विजयपुरको संक्षिप्त इतिहास’ (२०५९ः५०–५१) मा उल्लेख गरे अनुसार पत्रको सरल ब्यहोरा यस्तो छः
उप्रान्त प्रथम पत्र यो छ कि आजदेखि उता पूर्वमा मेरो हक केही रहेन। धुमधाम लडाई गर्न पर्यो। यहाँबाट रामकृष्ण थापा पठाएका छौं। सामो राय सुभाको ताम्रपत्र हेरियो। तिमी सामो राय सुभालाई निश्चय कर लाग्ने रहेछ। दुश्मनमाथि झट्टै हमला होओस् भनी म चाहन्छु। मेरो र तिमीहरु सबैको जय होस।
त्यसबेलाका प्रभावशाली राजा शुभ सेनले आफ्नो राज्य मकवानपुरमा योग्य मन्त्री नभेटेपछि तनहुँका राजा दिग्विजय सेनसँग मागेर परशुराम थापा र प्रद्युम्न उपाध्यायलाई ल्याएका थिए। तर यी दुवै ‘नमकहराम’ निस्के। यिनीहरु शुभ सेन र उनका भतिजलाई पक्रेर ल्याउन मुगल नायव नवाव इस्फुन्दियार खानको षडयन्त्रमा सामेल भए। जनकपुर आसपासमा शुभ सेन घेरिए। भतिज विधाता इन्द्र सेन विजयपुरबाट गई शुभ सेनलाई छुटाए।
यसपछि हर्षबढाई भइरहेको बेला प्रद्युम्नका एक नातेदार कालु उपाध्यायले यी दुई काका भतिजलाई पक्राउ गरी इस्फुन्दियार खानलाई बुझाइदिए। दुवैलाई दिल्ली चलान गरियो। सेनहरुको अधिपत्यमा रहेको दक्षिणी क्षेत्रको ज्यादा भूभाग मुगलहरुले कब्जामा लिए। दुवैलाई जबरजस्ती मुसलमान गराएर जात पतित गराइयो।
उनीहरुलाई उद्धार गरेर सेन राजवंश जोगाउन विधाताइन्द्र सेनकी रानीले लिम्बू भारदारहरुलाई गुहारिन्। त्यसबेला दक्षिण भारतबाट फर्कदै गर्दा दिल्लीका नवाव औरङजेबको बाटैमा मृत्यु भयो। पूर्णिया र दरभंगामा रहेका मुगल अफिसर लिएर इस्फुन्दियार खान दिल्लीतर्फ लागे। लडाईमा औरङजेबका प्रतिनिधि छोरा आजम शाहको मृत्यु भयो।
सेनहरुको दक्षिणी भूभाग लिएर बसेका मुगलहरु हटेपछि विजयपुर र मकवानपुरका मन्त्रीहरुले एकापसमा सल्लाह गरी शुभ सेनका अमरावतीपट्टिका छोराहरुमध्ये मान्धातालाई विजयपुर र माणिक्य सेनलाई मकवानपुरको राजा बनाई शान्ति कायम गराएको इतिहास शिरोमणि बाबुराम आचार्यको ‘श्री ५ बडामहाराजाधिराज पृथ्वीनारायण शाहको संक्षिप्त जीवनी’ (२०६१ः१८–१९) पढ्दा थाहा हुन्छ।
चेम्जोङका अनुसार त्यसबेला सेन राज्यबाट मुगलहरुले अधिपत्य जमाएका दक्षिणी भेगका भूभाग फिर्ता गराउन चेम्जोङ रायको नेतृत्वमा चौबिस, दक्षिणी पाँचथर, छथर, फाकफोक, मिकलुङ, जलरा, बेल्हारा, खाल्साबाट फौज उठाएर सेन राज्यको दक्षिणी भूभागमा अधिपत्य जमाएर बसेका मुसलमान फौजलाई भगाएर जलालगढ कटाएका थिए।
चेम्जोङहरुको यस्तो विगतका कारण पनि विजयपुरमा उनीहरुको मान र इज्जत ठूलो थियो। तर त्यहाँका सेन राजा कामदत्त सेन र दिवान बुद्धिकर्ण रायबीचको झगडा र कामदत्त सेनको हत्यापछि त्यहाँका दुई चेम्जोङ मन्त्री सामो राय र अहुम राय विजयपुरबाट पलायन भई स्यावरुम्वा बस्न पुगे। त्यो बेला स्यामरुम्वा सिक्किम अधिनस्थ थियो।
कामदत्त सेनको हत्यापछि विजयपुरमा चौदण्डीबाट झिकाई कर्ण सेनलाई नाममात्रको राजा बनाइएको थियो। दिवान बुद्धिकर्ण राय सर्वेसर्वा थिए। उनलाई आफ्नो वर्चश्व कायम गर्न त्यहाँ पलायन भएका मन्त्रीहरुलाई विजयपुर झिकाएर रिझाइ राख्नुपर्ने बाध्यता आइलाग्यो।
यसैक्रममा बुद्धिकर्णका भाइले १८२६ आश्विन सुदी ८ मा सामो राय र अहुम रायलाई विजयपुर झिकाउँदा उनीहरु खुवा बोधे पर्गन्ना चौविस थुम घुम्दै विजयपुर आएर बुद्धिकर्ण रायसँग मिली राजकाज चलाउन थाले। तर बुद्धिकर्णका दुश्मन जयरुद्र उपाध्यायले कुनै पनि हालतमा बुद्धिकर्णसँग नमिल्न भन्दै यी दुई चेम्जोङ मन्त्रीलाई ‘बोधे प्रगन्ना छाडेर किन विजयपुर आएका’ भन्ने प्रश्न गरी हरिचन्दगढीबाट माघ बदि ४मा एक पत्र पठाएका थिए।
१८३१ साउनमा पृथ्वीनारायण शाहले ‘लिम्बूहरुलाई सेनले जस्तै खायनपायन थामिदिएको’ भन्दै जारी गरेको सम्झौतावादी लालमोहरमा यस्तो सम्झौता गर्नेमध्ये श्रीसुन राय एक देखिन्छन्। यसबाट सामो राय, साउन राय र सुन राय एकै व्यक्तिको नाम हुनसक्छ।
चेम्जोङ मन्त्रीहरु कहिलेकाहिँ विजयपुरका दिवानसँग आफ्नो मतो नमिल्दा उनीहरु विजयपुर छाडी अन्यत्र जाने चलन यसअघि पनि थियो भन्ने अनुमान गर्न सकिने अर्को पत्र पनि पढ्न पाइन्छ। पुरातत्व पत्र सङ्ग्रह (२०१८ः१२) मा विजयपुरका तत्कालिन दिवान सिरिकान्त रायले वि.सं. १८१८ जेष्ठ सुदी १५ मा लेखेको पत्रमा ‘जेम्बुचोँ राय हमेरकाम षातिर जीउधन मिसाउ संगलै लेनाज मामिला देशका धावो आपन हाथलै लापर नीपाह मूज नयाको बिन्ती...’ भन्ने परेबाट विजयपुर छाडी अन्यत्र गएका चेम्जोङ रायलाई विजयपुर आई मिलेर देशको काम गर्न आहृवान गरिएको सङ्केत मिल्छ।
बुद्धिकर्ण रायको समयमा सामो राय विजयपुरका सक्रिय मन्त्री रहेको स्पष्ट हुन्छ। १७६३ सालताका पनि अर्को सामो राय सक्रिय देखिन्छन्। जयरुद्र उपाध्यायले सामो रायलाई ‘साउन राय’ भनी उल्लेख गरेका छन्।
१८३१ साउनमा पृथ्वीनारायण शाहले ‘लिम्बूहरुलाई सेनले जस्तै खायनपायन थामिदिएको’ भन्दै जारी गरेको सम्झौतावादी लालमोहरमा यस्तो सम्झौता गर्नेमध्ये श्रीसुन राय एक देखिन्छन्। यसबाट सामो राय, साउन राय र सुन राय एकै व्यक्तिको नाम हुनसक्छ।
भगिराज इङ्नाम र शेरबहादुर इङ्नामले आफ्नो पुस्तक ‘तेह्रथुम जिल्लामा सुब्बाङ्गी प्रथा’ (२०७०ः३२–३३) मा सुन राय चौविस थुमका चेम्जोङ भएको उल्लेख गरेका छन्। इङनामद्वयले जमुन राय र सुन राय एकै ब्यक्ति हुन् भन्ने पनि उल्लेख गरेका छन्।
चौबिस थुममा चेम्जोङहरुको ठूलो सुवांगी, उनीहरुको प्रामाणिक सेनकालिन ऐतिहासिक विरासतलाई मध्यनजर राख्दा १८३१ साउनमा पृथ्वीनारायण शाहबाट लालमोहर पाउने लिम्बु अगुवाहरुमध्ये चेम्जोङ लिम्बू पनि एक थिए भन्न कञ्जुस्याई गरिरहन पर्ने अवस्था छैन।