घरआँगनकै वनस्पति नदेख्ने अनुसन्धान
'कल्ला लिली' र 'आइरिस जापोनिका' नेपालमा पाइने कुरा आधिकारिक अभिलेखमा भेटिंदैन। राष्ट्रिय वनस्पति उद्यानमा रहेका यी वनस्पतिबारे विज्ञहरू अहिलेसम्म बेखबर हुनु विडम्बना हो।
चैत पहिलो साता ललितपुरस्थित राष्ट्रिय वनस्पति उद्यान गोदावरी पुग्दा थरीथरी वनस्पतिका फूलहरूले वसन्त ऋतुको महक छरिरहेका थिए। पिंडालुको जस्तो बोट तर पात बाक्लो भएको फूल प्रजाति सेतो रङमा गजब राम्रो फुलेको थियो।
यो वनस्पति यसअघि अन्यत्र पनि देखेको थिएँ, तर फूलको तस्वीर खिच्न पाएको थिइनँ। यसको वैज्ञानिक नाम खोजबिन गर्ने मेसो पनि मिलिरहेको थिएन। उद्यानमै असाध्यै राम्रो फूल फुलेको आइरिस जाति (जिनस) को वनस्पति देखें।
अध्ययन गर्दै जाँदा गोदावरीमा भेटिएको पिंडालु जस्तो वनस्पतिको उद्गम दक्षिण अफ्रिका भन्ने थाहा भयो। त्यो हिजोआज भारत सहित विभिन्न देशमा पुर्याइएको लेखिएको छ।
अचम्म चाहिं के भने, नेपालमा पाइने वनस्पतिको सूचीमा यो वनस्पति नभए पनि गाउँघरमा यसलाई औषधिका रूपमा प्रयोग गर्ने गरेका छन्। भारत सहित दक्षिण-पूर्व एशियामा यसको औषधीय गुणबारे अनुसन्धान भएका छन्।
यस्तै, गोदावरीमै देखिएको आइरिस जाति अन्तर्गतको वनस्पति चीन, तिब्बत, बर्मा लगायत देशमा प्राकृतिक रूपमै पाइने र उत्तर–पश्चिम तथा उत्तर–पूर्व भारतमा पुर्याइएको जानकारी अनुसन्धानमा लेखिएको छ। नेपालमा यसको स्थिति भारतको जस्तै हो। यसैले यहाँ यी दुई वनस्पतिबारे चर्चा गरिंदै छ।
कल्ला लिली
रोयल बोटानिक गार्डेन्स, क्यु, लन्डनको वेबसाइटमा रहेको तस्वीर अनुसार माथि चर्चा गरिएको पिंडालु जस्तो वनस्पतिको वैज्ञानिक नाम ‘ज्यान्टाडेशी इथिओपिका’ हो। यस जातिको वनस्पतिलाई ‘कल्ला लिली’ भनिंदो रहेछ। चिसो जमीनमा सजिलै हुर्कने यो वनस्पति यूरोपमा निकै लोकप्रिय भएको जानकारी पाइन्छ।
यो प्रजाति दक्षिण अफ्रिका सहित करीब तीन दर्जन देशमा पाइने जानकारी रोयल बोटानिक गार्डेन्स क्युको वेबसाइटमा लेखिएको छ। यो वनस्पति राष्ट्रिय वनस्पति उद्यानमा रहेको जानकारी भने उक्त उद्यानले प्रकाशन गरेको एक सामग्रीमा लेखिएको छ।
एशियन जर्नल अफ फर्मास्यूटिकल एन्ड क्लिनिकल रिसर्चको भोलम १२ अङ्क ८ (सन् २०१९) मा प्रकाशित ‘ज्यान्टाडेशी इथिओपिकाः अ रिभ्यू अफ इट्स मेडिसिनल युजेज, फाइटोकेमिस्ट्री एन्ड बाइलोजिकल एक्टिभिटिज’ शीर्षक लेख अनुसार ज्यान्टाडेशी इथिओपिका जडीबुटीका रूपमा निकै उपयोगी रहेछ। यो वनस्पति पिलो आएको, पोलेको, खुट्टाका औंलाका जोर्नी तथा अन्य भाग सुन्निएको, कीराले टोकेको, हाडजोर्नी दुख्ने, लिगामेन्ट समस्या, मांसपेसी झमझमाउने, ओठ र जिब्रोमा सानो बिमिरा निस्किएर पाक्ने जस्ता समस्या निको पार्न प्रयोग हुने गरिंदो रहेछ।
बटरफ्लाई फ्लावर
माथि चर्चा गरिएको अर्को वनस्पति ‘आइरिस जापोनिका’ हो। नेपालमा आइरिस जाति अन्तर्गत आठ प्रजाति पाइने जानकारी प्रकाशित छ। उक्त सूचीमा आइरिस जापोनिका भने समावेश छैन। यो वनस्पति तिब्बतमा प्राकृतिक रूपमा पाइन्छ। त्यहाँको जस्तै भौगोलिक अवस्थिति भएको भारत र नेपालमा पनि यो पाइनुपर्ने हो। तर, यसलाई उत्तर–पश्चिम तथा उत्तर–पूर्व भारतमा पुर्याइएको लेखिएको छ।
आइरिस जातिको वनस्पतिको फूल निकै राम्रो देखिन्छ। वसन्त ऋतुमा फुल्ने फूलमध्ये यो जातिको वनस्पति सुन्दर फूलको पङ्क्तिमै पर्छ। यसलाई ‘बटरफ्लाई फ्लावर’ वा पुतली फूल भनिन्छ। यसको बोट सुनाखरीकै जस्तो हुन्छ, फूल पनि सुनाखरीकै जस्तो देखिन्छ। तर, नियालेर हेर्दा फरक थाहा पाइन्छ।
प्राय:जसो सुनाखरीका पुष्पदल र पुष्पपत्र उत्रै हुन्छन्। सुनाखरी बाहेकका फूलमा पुष्पदलभन्दा पुष्पपत्र ठूलो र आकर्षक हुन्छ। तर, आइरिस जाति अन्तर्गतका फूलमा पुष्पदल आकर्षक र आकार पनि ठूलो हुन्छ। पुष्पदल र पुष्पपत्रको रङ एउटै हुन्छ, तर पुष्पदलमा अर्कै रङ पोतिएको भाग पनि हुन्छ। त्यसलाई त्यो फूलको विशेष चिह्न भनिन्छ।
आइरिस जापोनिकाको हरेक पुष्पदलको केन्द्र भागमा टाई आकारको पहेंलो रङमा फुर्का देखिन्छ। कुनै कुनैमा पहेंलो फुर्काको वरिपरि नीलो रङका छिर्का पनि देखिन्छन्।
कमजोर अनुसन्धान
अमेरिकाको ओक्लाहोमा स्टेट युनिभर्सिटीका हर्टिकल्चर विषयका प्राध्यापक माइकल ए. स्नेलले अमेरिकन सोसाइटी फर हर्टिकल्चरल साइन्स जर्नलको भोलम ४७ अङ्क ७ (जुलाई २०१२) मा प्रकाशित लेखमा काठमाडौंमा कल्ला लिली पाइने लेखेका छन्।
कल्ला लिली हर्बल मेडिसिनका लागि उपयोगी वनस्पति हो। तर, नेपालमा औषधिजन्य वनस्पति अध्येता अर्थात् इथ्नोबोटानिस्टहरू यो वनस्पतिबारे बेखबर छन्। नेपालमा पाइने औषधिजन्य वनस्पतिबारे वर्षमा दर्जनौं अनुसन्धानात्मक लेख प्रकाशन हुने गरेका छन्। तर, यसबारे कसैले पत्तो नै पाएनन्। यसले नेपालमा वनस्पति लेखन धेरैजसो झारा टार्ने रूपमा मात्र भइरहेको छनक मिल्छ।
हामीकहाँ धेरैजसो अनुसन्धानात्मक लेखरचना ज्यादै कमसल उत्पादन भइरहेका छन्। नेपालमा वनस्पति अनुसन्धान गरी पहिचान गर्ने काम अगाडि बढ्न नसक्नुको कारण फितलो अनुसन्धान नै हो। यसको उदाहरण हो, राष्ट्रिय वनस्पति उद्यान गोदावरीमा रहेका वनस्पतिबारे धेरै वनस्पति विज्ञहरू बेखबर छन्। यसले हाम्रा अध्ययन–अनुसन्धान के कसरी हुने गर्छन् भन्ने विषयमै अनुसन्धान गर्नुपर्ने देखाउँछ। विषयविज्ञहरूको अनुसन्धान नाम मात्रको हुनु देशका लागि विडम्बना हो नै, विज्ञ वृत्तका लागि पनि लज्जाको विषय हो।