अनुसन्धानमा छुटाइएको वन फर्सी
हाम्रा अधिकांश वनस्पतिविद्ले विभिन्न जातजातिले प्रयोग गर्ने औषधीय गुणयुक्त वनस्पतिबारे अनुसन्धान गरेका छन्। तर, वन फर्सीबारे अनुसन्धान गरेको नपाइनु चाहिं अचम्म हो।
फर्सी (पम्पकिन) ‘क्युकरबिटा’ जाति अन्तर्गतको वनस्पति हो। यो जाति अन्तर्गतका खासगरी क्युकरबिटा म्याक्सिमा, क्युकरबिटा पेपो र क्युकरबिटा मस्कटा प्रजातिलाई फर्सी भनिन्छ। यी तीन वटै प्रजाति करीब उस्तै हुन्छन्।
विदेशतिर आकारमा बडेमानको फर्सी पनि फल्ने गरेको पाइन्छ। बेलायतबाट प्रकाशन हुने द गार्जियनको १२ जनवरी २०२१ को संस्करणमा बेल्जियममा ११ सय ९० केजीको फर्सी फलेको जानकारी छ। हामीकहाँ भने सरदर पाँच–दश केजीसम्मका फर्सी फल्ने गरेका छन्। यहाँ यूरोप र अमेरिकामा जस्तो फर्सीबाट विविध परिकार पनि बनाइँदैन। मुन्टा, गट्टा र पाकेपछि तरकारीका रूपमा मात्रै खाइन्छ।
कतिपय ठाउँमा त गट्टा खाने चलन छैन। डोल्पासँग सीमा जोडिएको रुकुमको गाउँ रन्मा–मैकोटका बासिन्दाले पाकेको फर्सी मात्र खाँदा रहेछन्। पूर्वी मध्यपहाड तथा हिमाली भेगतिर पाकेको गुलियो फर्सी उसिनेर खाने चलन छ।
आकारको आधारमा यूरोप, अमेरिकामा पाइने र हाम्रातिर हुने फर्सीका प्रजाति फरक हुन्। तर, यताको फर्सी पनि उतैबाट ल्याइएका हुन्। वैज्ञानिक मत अनुसार, फर्सी दक्षिण अमेरिकामा करीब चार हजार वर्षअघि उद्विकास भएको हो। एकाध हजार वर्षअघि नै फर्सी दक्षिण अमेरिकाबाट मध्य अमेरिकामा पुर्याइयो। इटालीका खोजकर्ता क्रिस्टोफर कोलम्बसले यसलाई मध्य अमेरिकाबाट १५औं शताब्दीको अन्त्यतिर यूरोप पुर्याए। यूरोपबाट १६औं शताब्दीको मध्यतिर दक्षिण एशियामा आयो होला र नेपालमा १७औं शताब्दीमा भित्र्याइयो होला।
हामीले रोप्ने फर्सीको पूर्वज अर्जेन्टिना, बोलिभिया र उरुग्वेमा पाइने क्युकरबिटा एन्ड्रेएना मानिन्छ। यसलाई दक्षिण अमेरिकामा वन फर्सी (वाइल्ड पम्पकिन) भनिन्छ। पूर्वी नेपालमा पनि वन फर्सी पाइन्छ, जुन हड्सोनिया जातिको हो।
खाने फर्सी र हामीकहाँ पाइने वन फर्सी (हड्सोनिया) एउटै क्युकरबिटेसी परिवारका हुन्। वैज्ञानिकले यी दुईलाई भिन्न जातिमा समावेश गरेका छन्, तर दुवै जातिको फलको आकार दुरुस्तै मिल्छ। फूलको आकार र रङ भने फरक हुन्छ। वन फर्सीको फूलको रङ पहेंलो हैन, घिउ रङको हुन्छ। यसको बोट ससाना रूखमा झाँगिन्छ भने बीउ रूख कटहरको बिजन जस्तै हुन्छ।
हड्सोनिया जातिका दुई प्रजाति दक्षिण र दक्षिण–पूर्व एशियामा मात्र पाइन्छ। यो पंक्तिकारले दुवै प्रजाति फेला पारेको छ। तर, सन् २०२० मा प्रकाशित पुस्तक फ्लोरिङ प्लान्टस् अफ प्रोविन्स नम्बर वान (इस्ट नेपाल) मा एकै प्रजाति मात्र पाइने लेखिएको छ।
हड्सोनिया म्याक्रोकार्पा
एशियाको वन फर्सी जर्मन–डच वनस्पतिविद् कार्ल लुडविग ब्लुमले सन् १८२६ मा पत्ता लगाएका हुन्। ब्लुमले त्यस वेला वन फर्सीको नाम ट्राइकोज्यान्थस म्याक्रोकार्पा राखेका थिए। तर, वन फर्सी ट्राइकोज्यान्थस जातिको वनस्पतिभन्दा निकै फरक छ। यसैले बेल्जियमका वनस्पतिविद् सेलेस्टिन अल्फ्रेड कोग्निक्सले सन् १८८१ मा यसलाई हड्सोनिया जातिमा स्थानान्तर गरी यसको नामकरण हड्सोनिया म्याक्रोकार्पा गरे।
पंक्तिकारले वन फर्सी सन् १९८० ताका सुनसरीको रामधुनी नगरपालिका– ६ स्थित जंगलमा देखेको हो। हिजोआज त्यस ठाउँमा पाइँदैन। त्यसपछि मोरङको राजारानी पोखरीमा सन् २००३ मा फेला पारेको थियो। त्यो वन फर्सी फ्लोरा अफ भूटान भोलम २ (सन् १९९१) मा प्रकाशित विवरण अनुसार हड्सोनिया म्याक्रोकार्पा हो। पुस्तकमा यो प्रजाति एक हजार २०० मिटर उचाइसम्मको भूभागमा पाइने उल्लेख छ। भारतको दार्जीलिङमा पनि यो प्रजातिको वन फर्सी पाइएको लेखिएको छ।
यसै आधारमा, वन फर्सीको एक प्रजाति हड्सोनिया म्याक्रोकार्पा नेपालमा पाइने खुलासा गर्दै पंक्तिकार र महेन्द्र मोरङ बहुमुखी क्याम्पस विराटनगरका उप–प्राध्यापक रामकुमार राईले लेखेको लेख आवर नेचर जर्नलमा सन् २००८ मा प्रकाशन भएको थियो। तर, वनस्पति विभागले हड्सोनिया जाति समावेश दुई पुस्तक सन् २०११ र २०१९ मा प्रकाशन गरेकोमा दुवैमा हड्सोनिया म्याक्रोकार्पा परेको छैन। यस्तै, प्रदेश १ को उद्योग, पर्यटन, वन र वातावरण मन्त्रालयले प्रकाशन गरेको पुस्तक फ्लोरिङ प्लान्टस् अफ प्रोविन्स नम्बर वान (इस्ट नेपाल) मा पनि समावेश छैन।
बोटानिकल सर्भे अफ इन्डिया र सिक्किम सरकारले प्रकाशन गरेको फ्लोरा अफ सिक्किम– अ पिक्टोरियल गाइड (सन् २०२१) पुस्तकका अनुसार हड्सोनिया म्याक्रोेकार्पा सिक्किममा पनि पाइँदो रहेछ। यस्तै, लन्डनको रोयल बोटानिक गार्डेन्स, किउले आफ्नो वेबसाइटमा राखेको विवरणमा हड्सोनिया म्याक्रोेकार्पा बोर्नियो, कम्बोडिया, जावा, मलाया, बर्मा, सुमेत्रा, थाइल्यान्ड र भियतनाममा मात्र पाइन्छ। यस अनुसार, यो प्रजाति नेपालका साथै भारत र भुटानमा पनि पाइँदैन। तर, रोयल बोटानिक गार्डेन्स, किउको वेबसाइटमा राखिएको हड्सोनिया म्याक्रोकार्पाको नमूना नम्बर केत्रिपलजिरो ७४२७०७ र केत्रिपलजिरो ७४२७०६ सँग राजारानी पोखरीबाट संकलन गरिएको नमूना दुरुस्तै मिल्छ।
हड्सोनिया हेटेरोक्लिटा
विलियम रक्सबर्गले वन फर्सीको एक अर्को प्रजाति सन् १८३२ पत्ता लगाउँदा यसको नाम ट्राइकोज्यान्थस हेटेरोक्लिटा राखेका थिए। यसको बृहत् विवरण रक्सबर्ग लिखित फ्लोरा इन्डिका भोलम ३ मा छ। सन् १८४८ मा भारत आएका जोसेफ डाल्टन हूकरले ट्राइकोज्यान्थस हेटेरोक्लिटाको नमूना अध्ययन गरे। यो क्युकरबिटेसी परिवारको वनस्पति थियो, तर हूकरले थप अध्ययन गर्दै जाँदा क्युकरबिटेसी अन्तर्गत कुनै पनि जातिका वनस्पतिसँग पनि मिलेन। त्यसपछि हूकरले यो विश्वकै नयाँ जातिको वनस्पति भएको पत्ता लगाए र सर ब्राइन हड्सनको सम्मानमा एक नयाँ जाति जिनस हड्सोनिया स्थापना गरी उक्त वनस्पतिलाई सन् १८५३ मा हड्सोनिया हेटेरोक्लिटा नामकरण गरे।
रोयल बोटानिक गार्डेन्स किउ लन्डनले जारी गरेको एक जानकारी अनुसार, यो वनस्पति भारतको असम, बाङ्लादेश, कम्बोडिया, चीनको दक्षिण मध्य भाग, इस्ट हिमालय, तिब्बत, लावोस, बर्मा, भियतनाममा पाइन्छ। यता, वनस्पति विभागले सन् २०११ र २०१९ मा प्रकाशन गरेका दुई पुस्तक तथा फ्लोरिङ प्लान्टस् अफ प्रोविन्स नम्बर वन (इस्ट नेपाल) पुस्तकमा पनि हड्सोनिया हेटेरोक्लिटा समावेश छ।
उल्लिखित तीन पुस्तकका अनुसार, हड्सोनिया हेटेरोक्लिटाको नमूना सुनसरी, तरहराबाट सन् १९७४ मा ए.पी. सिं र एम.बी. क्षेत्रीले संकलन गरेका थिए। तर, त्यो जानकारी पहिलो पटक सन् २०११ मा मात्रै सार्वजनिक हुन सक्यो। यस्तै, यो प्रजाति पंक्तिकार र रामकुमार राईले सन् २००७ मा भोजपुरको हतुवागढी–३ सिन्ड्राङमा फेला पारेका थिए। त्यो नमूना रोयल बोटानिक गार्डेन्स किउ लन्डनमा संग्रह गरिएको हड्सोनिया हेटेरोक्लिटाको नमूना नम्बर के डबल जिरो ११२४५१३ –के डबल जिरो ११२४५१६ सँग मिल्छ।
माथि उल्लिखित आवर नेचर जर्नलमा प्रकाशित 'हड्सोनिया माइक्रोकार्पा अ न्यू रेकर्ड फर फ्लोरा अफ नेपाल' लेखमा दुई वटा तस्वीर समावेश छन्। त्यसमध्ये पहिलो तस्वीर हड्सोनिया हेटेरोक्लिटाको हो। तर, लेखकद्वयले त्यसलाई हड्सोनिया म्याक्रोकार्पा भनेर प्रकाशन गरेका थिए, जुन अपुरो अध्ययन हो।
फरेस्ट एक्सन नेपाल संस्थाका अनुसन्धानकर्ता लीलानाथ शर्माले झापाको जलथल जंगलमा वन फर्सी फेला पारे। पंक्तिकार पनि २०७७ चैतमा शर्मासँगै जलथल पुगेको थियो। त्यहाँ प्रशस्त मात्रामा हड्सोनिया हेटेरोक्लिटा पाइँदो रहेछ। मंसीर–पुसमा फुल्ने र फल चैत–वैशाखसम्म बोटमै रहने यो वनस्पति ३० मिटरसम्म लामो हुन्छ। जलथलका पहाडे मूलका बासिन्दाले यसको उपयोगबारे थाहा नभएको बताए।
माथिका विवरणले हड्सोनिया हेटेरोक्लिटा नेपालमा झापादेखि भोजपुरसम्म पाइने पुष्टि हुन्छ। यसकारण इलाम, मोरङ, सुनसरी, धनकुटा, संखुवासभा, तेह्रथुम लगायत जिल्लामा पनि पाइन सक्छ। वन फर्सीका दुई प्रजातिबीचको अन्तर पातको आकारबाट थाहा पाउन सकिन्छ। हड्सोनिया हेटेरोक्लिटाको पातको टुप्पो एक्कासि साँघुरिएको हुन्छ भने हड्सोनिया म्याक्रोकार्पामा त्यस्तो हुँदैन।
वन फर्सीका औषधीय गुण
अनुसन्धान प्रतिवेदन तथा लेखहरूमा वन फर्सी एक महत्त्वपूर्ण वनस्पति हो भनेर लेखिएको पाइन्छ। भारत, बाङ्लादेश लगायत दक्षिण–पूर्व एशियाली देशहरूमा यसबारे उल्लेखनीय खोज–अनुसन्धान भएको छ।
सन् २०१४ मा इन्डियन जर्नल अफ न्याचुरल प्रडक्टस् एन्ड रिसोर्सेसमा प्रकाशित 'अ नोट अन डिस्ट्रिब्युसन, इथ्नोबोटानी एन्ड इकोनोमिक पोटेन्सियल अफ हड्सोनिया हेटेरोक्लिटा इन नर्थ–इस्टर्न इन्डिया' लेखमा यसको उपादेयताबारे बृहत् जानकारी छ। लेख अनुसार, भारतका जंगल नजिक बसोबास गर्ने जातजातिले यसलाई खाद्य तथा औषधिका रूपमा प्रयोग गर्छन्। असमतिर रोप्ने गरिंदो रहेछ।
असमको कर्बिज र डिमासा समुदायले यसको बीउ स्थानीय हाटबजारमा बेच्छन्। पेटको जुका मार्न बीउ पिसेर खुवाइने रहेछ। बीउमा तेलको मात्रा अत्यधिक हुँदो रहेछ, जसको तेल निकालेर तरकारी पकाउन प्रयोग गरिन्छ। असममै मानिसलाई रुघा लाग्दा वन फर्सीको पात उमालेर बाफ लिंदा फाइदाजनक हुने लेखिएको छ। यसबाट ज्वरो पनि घट्ने लेखिएको छ। असमकै बोडो समुदायले यसको फल चिनी रोग नियन्त्रण गर्न उपयोग गर्दो रहेछ।
वन फर्सीको फलमा पाइने फेनोलिक, एल्कालोइड्स, फ्लावोनोइड्स, स्टेरोइड्स र सापोनिन्स उल्लेख्य मात्रामा पाइने जानकारी अनुसन्धानात्मक लेखमा छन्। यी जैविक रसायनहरू स्वास्थ्यका निम्ति उपयोगी मानिन्छ। यस कारण, वन फर्सी औषधिजन्य वनस्पति हो भन्ने पुष्टि हुन्छ।
झापा हल्दिबारीका सन्तलाल मेचेले बताए अनुसार, वन फर्सीलाई उनीहरू ‘हाक्लानी खाक्लौं’ भन्छन्। मेचे समुदायले पनि यसलाई औषधिजन्य वनस्पतिका रूपमा उपयोग गर्छ।
हाम्रा अधिकांश वनस्पतिविद्ले विभिन्न जातजातिले प्रयोग गर्ने औषधिजन्य वनस्पति (इथ्नोबोटनी)बारे अनुसन्धान गरेका छन्। तर, हालसम्म उनीहरूले वन फर्सीबारे अनुसन्धान गरेको नपाइनु चाहिं अचम्म हो। अनुसन्धाताहरू बृहत् अध्ययन गर्नुभन्दा बायोडाटामा पुस्तक र वैज्ञानिक लेख यति संख्यामा लेखेको छ भन्ने वृत्तिविकास देखाई लाभको पद र सुविधा लिनेतर्फ केन्द्रित छन्, जसका कारण हाम्रो अनुसन्धान फितलो भइरहेको छ। वन फर्सीबारे अनुसन्धान नहुनु त्यसैको एक दृष्टान्त हो।