रूख चिनौं
फूल र फल लाग्ने वनस्पतिमा मात्र अध्येताहरूको ध्यान जाँदा नेपालका कैयन् रूख प्रजाति चिन्नै सकिएको छैन।
पर्यापर्यटनकोे निम्ति महत्त्वपूर्ण तेह्रथुमको लालीगुराँस नगरपालिकामा विभिन्न समयमा जैविक विविधताको अध्ययन भएको छ। वनस्पति अध्ययनका लागि त्यहाँ सर्वप्रथम जापानबाट हिरोसी हाराको नेतृत्वमा टोली सन् १९६३ मा पुगेको थियो। त्यसपछि पनि नेपाल सहित भारत, चीन, जापान, अमेरिका, बेलायत, फ्रान्स, जर्मनी लगायत मुलुकका वनस्पति अध्येताहरूले त्यहाँ वनस्पति सङ्कलन गरेका छन्।
यस आधारमा उक्त पालिकामा रहेका वनस्पति प्रजातिको पर्याप्त तथ्याङ्क प्रकाशन भइसकेको अनुमान गर्न सकिन्छ। तर, विश्वका विभिन्न सङ्ग्रहालयका विद्युतीय सञ्जाल तथा पुस्तकहरूमा त्यहाँबाट सङ्कलित नमूना अत्यन्त थोरै भेटिन्छ।
यस पङ्क्तिकारले उक्त पालिकाबाट सङ्कलन गरिएका नमूना प्रकाशित पुस्तक तथा वनस्पति सङ्ग्रहालयका विद्युतीय सञ्जालमा ११० जति प्रजाति (फूल फुल्ने र सल्लो) फेला पारेको छ। लालीगुराँस नगरपालिका क्षेत्रमा एक हजारभन्दा बढी वनस्पति प्रजाति रहेको पङ्क्तिकारको अनुमानित आँकडाका आधारमा उक्त सङ्ख्या १०/१२ प्रतिशत होला।
लालीगुराँस नगरपालिकाको ८९.६९ वर्ग किलोमिटर क्षेत्रफलमध्ये ५३.४ प्रतिशत वन क्षेत्रले ढाकेको छ। तर, पङ्क्तिकारले सङ्कलित तथ्याङ्कमा त्यहाँबाट रूख प्रजातिमा पात्लेकटुस (क्यास्टानोप्सिस् पुर्पुरेल्ला उप-प्रजाति पुर्पुरेल्ला) र खोल्मे (सिम्प्लोकस रामोसिसिमा), बाँझका दुई प्रजाति क्वार्कस् ल्यामेलोसा र क्वार्कस् सेमिकार्पिफोलिया, जमाने मान्द्रो (माहोनिया नपाउलेन्सिस्), लालीगुराँस (रोडोडेन्ड्रन अर्बोरियम्) मात्र सङ्कलन भएको देखिन्छ।
पालिकामा रूख प्रजाति त्यति मात्रै होलान् त? होइन, गुराँसको मात्रै त्यहाँ तीन वटा रूख प्रजाति भएका आधारमा त्यहाँ रूख प्रजाति करीब चार-पाँच दर्जन हुनुपर्छ। उक्त नगरपालिकाबाट लालीगुराँस र भाले सुनपाते (रोडोडेन्ड्रन लेपिडोटम्) को मात्र हर्बेरियम नमूना सङ्कलन भएको छ।
रूख प्रजाति अध्ययनको यस्तो कमजोर अवस्था उक्त नगरपालिकाको मात्र नभई देशभरकै साझ समस्या हो। यसैले यो लेखमा वनस्पति सङ्कलन प्रक्रिया कस्तो हुन्छ भन्ने चर्चा गर्दै रूख प्रजाति र सङ्कलित नमूना कसरी कम भए भन्नेबारे लेखिएको छ।
सङ्कलन प्रक्रिया
फूल र पात सहितको करीब सात-आठ इन्च लामो हाँगो हर्बेरियम नमूना भनेर अनुसन्धानका लागि सङ्कलन गरिन्छ। फल रहेको नमूना पनि त्यति नै लामो सङ्कलन गरिन्छ। झर वर्गको वनस्पति भए फूल वा फल सहित उखेलिन्छ। वनस्पति पहिचान गर्न वैज्ञानिक जगत्मा फूललाई मुख्य आधार मानिने भएकाले फूल फुलेकोलाई प्राथमिकता दिइन्छ। फूलको तुलनामा फललाई कम महत्त्व दिएर हर्बेरियम् नमूना सङ्कलन गरिन्छ। यस कारण फूल वा फल नभएको वनस्पति सङ्कलन गरिँदैन।
वनस्पति सङ्कलन गर्ने टोलीका सदस्य बाटोको आसपास वनस्पतिका नमूना सङ्कलन गर्दै अघि बढ्छन्। बाटोमा फुलेको अवस्थामा जे जति भेटिन्छ, त्यस वेला त्यो ठाउँको वनस्पति त्यति नै फुलेका हुन्छन् भन्ने बुझइ उनीहरूको हुन्छ। उनीहरू अन्य वनस्पति कहाँ फुलेका होलान् भनेर अक्सर ध्यान दिंदैनन्। स्थानीय बासिन्दालाई सम्बन्धित ठाउँमा के कस्ता वनस्पति छन् र तिनीहरू प्रायः कहिले फुल्छन् वा फल्छन् भन्ने थाहा हुन्छ। तर, अधिकांश समय टोलीमा स्थानीय व्यक्ति भरिया मात्र हुन्छन्।
एक्सपीडिशनमा बन्दोबस्तका सामग्री पनि लगिएका हुन्छन्। जस्तै, जेनेरेटर, हलुँगो खालका कुर्सी, टेबल, वनस्पतिको हरियो नमूनालाई एक-दुई घण्टामा उही रङ र आकारमा सुकाउने सामग्री आदि।
वन तथा वातावरण मन्त्रालय वनस्पति विभाग अन्तर्गतको राष्ट्रिय हर्बेरियम तथा वनस्पति प्रयोगशाला गोदावरीले वनस्पति सङ्कलन गर्न वर्षमा कैयौं ससाना समूह देशका विभिन्न भागमा पठाउँछ। ती समूह सामान्यतया एक सातासम्म स्थलगत खटिएर आठौं दिनमा कार्यालयमा हाजिर हुनुपर्छ। फिल्डमा एक साताभन्दा बढी रहन विशेष निर्णय हुनुपर्दो रहेछ। तर, दौडादौड गरेर हप्ता दिनमै फर्कंदा कति नै वनस्पति सङ्कलन हुन सक्छन् र? सरकारले वनस्पति सङ्कलन होइन, कर्मचारीलाई घुमाउने काम मात्रै गरेको देखिन्छ।
प्रजाति अध्ययन
वनस्पति सङ्कलकले बाटोको छेउछाउ नमूना सङ्कलन गर्न ध्यान दिन्छन् भनेर माथि उल्लेख गरियो। सङ्कलकले खाना खाने वा बास बस्ने ठाउँ वरपर भने अलि बढी सङ्कलन गर्न भ्याउँछन्। टोली कुन दिन कहाँ पुग्ने भनेर बाटो निर्धारित हुन्छ र अघिल्तिर जाँदै गरेका भरियाहरूलाई पछ्याउँदै सङ्कलकहरूले सङ्कलन गर्नुपर्ने भएकाले धेरै फैलिने सम्भावना हुँदैन।
सङ्कलकहरूले बढी देख्ने भनेको झर नै हुन्। झडी तथा लहरादार वनस्पति विरलै भेट्छन्। रूखमा फुलेको फूल सानो आकारको भए देखिँदैन। देखिएछ भने पनि रूखका हाँगा भुइँबाटै भेट्न सकिने भए त फूल सहितको हाँगा सङ्कलन गर्न सकिन्छ। तर, रूख अग्लो भए चढेर फूल सहितको हाँगा सङ्कलन गर्न सम्भव हुँदैन। रूख चढ्ने सरसामान पनि लगिएको हुँदैन।
रूखबाट हर्बेरियम नमूना सङ्कलन नहुने कारण यही हो। नमूना सङ्कलन नहुने मात्रै होइन, रूख प्रजातिका फूलको तस्वीर पनि कम खिचिएका छन्। वनस्पतिको अध्ययन गर्नेहरू क्यामेरा त चलाउँछन्, तर रूखमा फुलेका सानो फूल खिच्न सक्ने क्षमताका लेन्स बोक्दैनन्। वनस्पति र सानो फूलको तस्वीर खिच्न क्रमशः टेली लेन्स र म्याक्रो लेन्स चाहिन्छ। नेपाली वनस्पति विज्ञसँग त्यस्तो लेन्स शायदै भेटिएला।
नेपालमा रूख प्रजाति कति होलान् भनेर अनुमान गर्न कठिन छ। सबैको नमूना सङ्कलन भएको छैन र सङ्कलित नमूना पनि विदेशका सङ्ग्रहालयमा छन्। वनस्पति विज्ञलाई रूख अध्ययनमा खासै रुचि भएको पाइँदैन। यसै कारण हामीकहाँ वनस्पतिविद् दर्जनौं भए पनि रूख विज्ञ एक जना पनि छैनन्।
मिहिन ढङ्गबाट अध्ययन गरे नेपालमा जुनसुकै ठाउँमा नयाँ रूख प्रजाति भेटिन्छ। जस्तो कि, झपाको जलथल जङ्गलमा दुई-तीन वर्षदेखि जैविक विविधताको अध्ययन गरिरहेको फरेस्ट एक्शन नेपालले ६ वटा नयाँ रूख प्रजाति पत्ता लगाएको छ।
नमूनामा मनपरी
वनस्पति सङ्कलन टोलीले एकै प्रजातिका थुप्रै हर्बेरियम नमूना सङ्कलन गर्छन्। ती नमूना सम्बन्धित देश वा ठाउँका सङ्ग्रहालयलाई कम्तीमा एक सेट बुझाउनुपर्ने अन्तर्राष्ट्रिय प्रावधान छ।
लालीगुराँस नगरपालिकामा अहिलेसम्म केही दर्जन वनस्पति सङ्कलन टोलीबाट वनस्पतिका नमूना सङ्कलन भएको छ। सबैजसो विदेशी अध्ययन टोलीमा राष्ट्रिय हर्बेरियम तथा वनस्पति प्रयोगशालाका प्रतिनिधि समावेश थिए। तर, सङ्कलित नमूना नेपालमा एकदमै थोरै सङ्गृहीत छन्।
यसले के देखाउँछ भने विदेशी सङ्ग्रहालयले नियम पालन गरेनन्। नेपाल सरकारका प्रतिनिधिले पनि त्यसप्रति चासो दिएनन्। पछिल्लो पटक भने हर्बेरियमका पूर्व प्रमुख सुशीम रञ्जन बरालले केही थिति बसाए। त्यसपछि विदेशी सङ्ग्रहालयले सङ्कलन गरेका नमूना केही मात्रामा भए पनि बुझउन थालेका छन्।
नेपालमा वनस्पतिका नमूना सङ्कलन हुन बाँकी छ। तर, नमूना सङ्कलन भएर मात्र देशलाई फाइदा हुँदैन। कुन ठाउँमा कति वनस्पति प्रजाति छन् र तिनको महत्त्व के छ भन्ने जानकारी सम्बन्धित स्थानीय सरकारलाई हुनुपर्छ। यसका लागि वनस्पतिको नमूना सङ्कलन त गर्नैपर्छ, तर अबको अध्ययन कहाँ, कस्ता र कति वनस्पति छन्, तिनको उपयोगिता के हो भनेर प्रकाशमा ल्याउनेतर्फ मोडिनुपर्छ।
अध्ययन नतीजा सर्वसाधारणले बुझने गरी सकेसम्म देवनागरी लिपिमा प्रकाशन गरिनुपर्छ। स्थानीय बासिन्दाले चिन्ने गरी वनस्पतिका तस्वीर सहितका पुस्तक प्रदेश तथा स्थानीय सरकारले प्रकाशन गर्दै जाने योजना बनाउनुपर्छ। महत्त्वपूर्ण कुरा चाहिं, वनजङ्गलका मुख्य सम्पदा रूखको पहिचान गर्न वनस्पति अध्येताहरू लाग्नुपर्छ। तिनको सही तथ्याङ्क बन्नुपर्छ।
(मादेन वनस्पतिविद् हुन्। हिमालको २०७८ चैत अंकबाट।)