स्थाननामबाट वनस्पतिको न्वारन
नेपालमा हिमाल, पहाड, खोला, ठाउँ विशेष आदिको नामबाट फूल फुल्ने १०३ वटा वनस्पतिका नाम राखिएका छन्। तर, यस्तो नामकरण र महत्त्वबारे सम्बद्ध पक्षहरू नै बेखबर छन्।
हिमाल मासिक (भदौ २०७८) मा ‘वनस्पतिको नाममा बाँच्नेहरू’ लेखमा २० नेपालीका नामबाट ३३ प्रजातिका वनस्पतिको वैज्ञानिक नामकरण गरिएकोबारे लेखियो। यस पटक नेपालका स्थाननामका आधारमा नामकरण गरिएका वनस्पतिहरूको चर्चा गरिँदै छ।
वनस्पति प्रजातिको नामकरण मूलतः कुनै खास संरचना वा जैविक गतिविधिका आधारमा गरिन्छ। जुन संरचना सम्बन्धित वनस्पतिको सहगोत्री वा अन्यमा हुँदैन। वनस्पतिको वैज्ञानिक नामकरण व्यक्तिका साथै वनस्पति भेटिएको देश, हिमाल, खोला, जिल्ला, उपत्यका, ठाउँको नामबाट गरिन्छ। नेपालबाट पत्ता लागेको भन्ने अर्थमा नेपाल शब्द प्रयोग गरी करीब २५० प्रजाति, उपप्रजाति आदिको नाममा नेपालेन्सिस्, नपलेन्सिस्, नेपलेन्सिस्, नेपालेन्स्, नेपलेन्स्, नपाउलेन्सिस्, निपाउलेन्सिस्, निपाउलेन्स्, नेपालिका, नेपालिकम्, नेपालिकस्, एल्पिनो–नेपालेन्स् लेखिएका छन्।
नेपालबाट पत्ता लागेका वनस्पतिको नेपाल शब्द बाहेक यहाँका हिमाल, पहाड, उपत्यका, खोला, ठाउँ आदिबाट पनि नामकरण भएको छ, जसमा फूल फुल्ने वनस्पति मात्रै अहिलेसम्म ८१ प्रजातिभन्दा बढीको नामकरण गरिएका छन्। संयोग नै भनौं, धेरैजसो दुर्लभ वनस्पति प्रजातिको नेपालका हिमाल, पहाड, उपत्यका, खोला, ठाउँबाट नामकरण भएको छ। त्यसरी स्थाननामबाट नामकरण गरिएका सबै वर्गका वनस्पतिबारे यो लेखमा प्रदेशगत रूपमा चर्चा गरिएको छ।
प्रदेश- १
यो प्रदेशका स्थाननामबाट अहिलेसम्म २८ प्रजातिका वनस्पतिको नामकरण भएको छ। ताप्लेजुङको तमोर नदीबाट तीन वटा वनस्पतिका नाम राखिएका छन्– मालाक्सिस् तमुरेन्सिस्, स्ट्रोबिलान्थस् तम्बुरेन्सिस् र पेडिकुलारिज् तमुरेन्सिस्।
ताप्लेजुङबाट पैयुँ जातिको वनस्पतिको नाम पु्रनस ताप्लेजुङनिका राखिएको छ भने यही जिल्लाको तोप्केगोला भन्ने ठाउँबाट प्रुनस तोप्केगोलेन्सिस् र सौसुरिया तोप्केगोलेन्सिस् नामकरण गरिएको छ। यी दुवै वनस्पति रूख प्रजाति र नेपालका रैथाने हुन्। जापानी टोलीले यी दुई प्रजाति समुद्री सतहबाट क्रमशः ३७ र ३५ सय उचाइमा फेला पारेको थियो। तिनका नमूना जापानको युनिभर्सिटी अफ टोक्योमा सङ्गृहीत छन्। यसको नमूना नेपाली वनस्पतिविद्वय पीआर शाक्य र नवीन आचार्य संलग्न टोलीले सङ्कलन गरेको अभिलेख भए पनि यसबारे थप अध्ययन गरिएको छैन।
सर्वोच्च शिखर सगरमाथाबाट तीन वटा वनस्पति बरबेरिज एभरेष्टिना, क्यारेक्स मोन्टी–एभरेष्टी र जेन्टियना सगरमाथाई नामकरण गरिएको छ। यस्तै, मकालु हिमालबाट पोटेन्टिल्ला मकालुइन्स्, र्यानन्कुलस मकालुइन्सिस् तथा जलजला हिमालबाट बिस्टोर्टा जल्जलेन्सिस्, सेक्सिफ्रागा जल्जलेन्सिस् नामकरण भएका छन्।
भारतका अनुसन्धानकर्ताले सन् १९५०–१९६० ताका कोशी नदीको विस्तार क्षेत्रबाट फूल फुल्ने करीब २०० प्रजातिका वनस्पतिका नमूना सङ्कलन गरेका थिए। तीमध्ये सुनसरीस्थित कोशी नदीको त्रिवेणीमा फेला परेको बिगोनिया (मकरकाँचे)को एक प्रजातिलाई सीआर राओले सन् १९६९ मा बिगोनिया त्रिवेनेन्सिस् नामकरण गरे। यस्तै, त्रिभुवन विश्वविद्यालय वनस्पतिशास्त्र केन्द्रीय विभागकी प्रा.डा. सङ्गीता राजभण्डारीले सन् २०१० मा पाँचथरबाट विश्वका निम्ति बिगोनियाको नयाँ प्रजाति बिगोनिया पाँचथरेन्सिस् पत्ता लगाएकी छन्।
धनकुटाबाट तुलसी परिवारको वनस्पति आइसोडन धनकुटानस् नामकरण भएको छ। सुनकोशीबाट इम्पाटियन्स सुनकोशीइन्सिस् नाम राखिएको छ। फ्लावरिङ प्लान्टस् अफ् प्रोभिन्स नं. १ पुस्तक (सन् २०२०)मा अरुण नदीबाट नामकरण गरिएको इम्पाटियन्स अरुनेन्सिस् नेपालको रैथाने प्रजाति भनेर चर्चा गरिएको छ। तर, यो नेपालको रैथाने होइन, यसको सही नाम इम्पाटियन्स बाइकोर्नाटा हो। वरुण नदीको नामबाट चिराइतो जाति अन्तर्गतको स्वेर्टिया बरुनेन्सिस् नामकरण भएको छ। यो नदी संखुवासभाको हाटखोला उत्तरतर्फ अरुण नदीमा मिसिन्छ।
संखुवासभाको लाम्नीनामाबाट सौसुरिया लामीनामइन्सिस् नामकरण भएको छ। सोलुखुम्बुको खुम्बु, हिङ्कु उपत्यका र कोशी नदीमा भेटिएका वनस्पतिका नाम क्रमशः सोर्बस खुम्बुइन्सिस्, एफ्राग्मस हिङ्कुइन्सिस् र पेडिकुलारिज कोशीइन्सिस् राखिएका छन्। भारतको दार्जीलिङबाट सङ्कलित वनस्पतिको नमूनालाई सिंगलिला हिमाल (इलाम सहितका ठाउँमा पर्ने)को नामबाट सन् २०१० मा प्रुनस सिंगलिलइन्स् नाम दिइयो। यद्यपि, यो वनस्पतिको नमूना बेलायतका जेडिए स्टेन्टनले वैज्ञानिक अध्ययनका लागि सन् १९५६ मै नेपाल (संखुवासभा)बाट सङ्कलन गरिसकेका थिए।
बेलायतका जेडी हूकर सन् १८४८ मा दार्जीलिङबाट नेपाल प्रवेश गरी तमोर नदीको किनारैकिनार ताप्लेजुङको दोभानसम्म पुगेर तापेथोक हुँदै ओलाङचुङ्गोला पुगेका थिए। उनले त्यस वेला तमोर किनारबाट सङ्कलन गरेको उन्यू अन्तर्गत टेरिडेसी परिवारको एक प्रजातिलाई हेमिओनिटिस टम्बुरिई नाम दिइएको छ। यो प्रजाति नेपाल सहित भारत, दक्षिण–मध्य चीन, बर्मा लगायत देशमा पाइन्छ।
फन्जी वा फन्गाई (माइकोटा) भनिने ढुसी अन्तर्गत च्याउ पनि पर्छ। बेलायतकी कीट वैज्ञानिक फ्रान्सिस् एल. बाल्फोर–ब्राउनीले बेलायती अन्वेषकहरूले पूर्वी तथा मध्य नेपालबाट सन् १९४९, १९५२–१९५६, १९६१–१९६२ मा सङ्कलन गरेको नमूना अध्ययन गरी लेखेको फन्गी अफ रिसेन्ट नेपाल इक्सपीडिशन्स् (सन् १९६८) पुस्तक प्रकाशन भएको थियो। पुस्तकमा धनकुटाबाट सङ्कलन गरिएको एक नमूनालाई मोलिसिआ धनकुटाई नामकरण गरिएको छ, जुन नेपालको रैथाने प्रजाति हो।
यस्तै, लेउ वर्गका दुई वनस्पति प्रजातिलाई सगरमाथा र मकालु हिमालको नामबाट कोलेओडेस्मियम सगरमाथाई र गोम्फोनेमा मकालुइन्स् नामकरण गरिएको छ। गोम्फोनेमा मकालुइन्स्को नमूना भोजपुरको नेपाले डाँडा हुँदै आउने खोलाबाट सन् १९९४ मा सङ्कलन गरिएको थियो।
बागमती प्रदेश
यो प्रदेशका स्थाननामबाट २७ प्रजातिका वनस्पतिका नाम राखिएका छन्। काठमाडौं उपत्यकाबाट करीब ७० किलोमिटर उत्तरतर्फ रहेको गणेश हिमालको नामबाट फूल फुल्ने तीन वनस्पति प्रजातिलाई जुन्कस गणेशी, लियोन्टोपोडियम मोन्टिस्गणेशी र सेक्सिफ्रागा गणेशी नामकरण गरिएको छ।
ललितपुरको फुल्चोकीबाट सङ्कलित फूल फुल्ने दुई वनस्पतिका नाम सर्सियम फुल्चोकिइन्स र आइसोडोन फुल्चोकिइन्सिस् राखिएका छन्। यी दुई वनस्पति सयपत्री र तुलसी परिवार अन्तर्गतका हुन्। सयपत्री परिवारको सर्सियम फुल्चोकिइन्स् भने फुल्चोकी बाहेक बाजुरामा पनि भेटिएको छ। आइसोडोन फुल्चोकिइन्सिस् सन् १९७५ मा पत्ता लाग्दा र्याबडोसिया फुल्चोकिइन्सिस् नाम राखिएको थियो, तर थप अध्ययन गर्दा यो आइसोडोन जाति अन्तर्गतको भएको ठहरियो। अन्ततः सन् १९८८ मा यसको नाम आइसोडोन फुल्चोकिइन्सिस्मा परिणत गरियो।
रसुवा, नुवाकोट र सिन्धुपाल्चोक जिल्लाका भूभागमा फैलिएको लाङटाङ राष्ट्रिय निकुञ्ज क्षेत्रबाट सुनाखरी र घाँस वर्गको वनस्पतिलाई लिपारिज लाङटाङ्गेन्सिस् र पोवा लाङटाङ्गेन्सिस् नामकरण भएको छ। पोवा लाङटाङ्गेन्सिस् तिब्बतमा फेला परेको जानकारी प्रकाशन भए पनि उक्त प्रजाति पोवा पागोफिला हो कि भन्ने ठानिएको छ। यस्तै, वनस्पतिविद् मधुसूदन विष्ट र अन्य दुई विदेशीले सन् १९६५ मा लाङटाङ उपत्यकामा सङ्कलन गरेको वनस्पतिको नाम एस्ट्रागालस लाङटाङ्गेन्सिस् राखिएको छ।
वनस्पतिविद् सङ्गीता राजभण्डारीले नुवाकोटमा फेला पारेको बिगोनियाको एक प्रजातिलाई सन् २०१० मा बिगोनिया नुवाकोटेन्सिस् नामकरण गरेकी छन्। दोलखामा अवस्थित रोल्वालिङ हिमाल आसपासको क्षेत्रबाट सङ्कलित दुई वनस्पतिलाई सौसुरिया रोल्वालिङ्गेन्सिस् र सेक्सिफ्रागा हुकेरी भेराइटी रोल्वालिङ्गेन्सिस् नामकरण गरिएको छ। दोलखाको यालुङ खर्क, बेडिङ गाउँ र सिन्धुपाल्चोकको खरे खोलाबाट क्रमशः पेडिकुलारिज यालुङ्गेन्सिस्, एकोनिटम भेडिङ्गेन्सिस् र इम्पाटियन्स खरेन्सिस् तथा बागमतीबाट ड्राबा बाग्मतीइन्सिस् नामकरण भएका छन्।
बेलायतका उन्यू विज्ञ क्रिस्टोफर फ्रेजर–जेन्किन्सले करीब दुई दशक नेपाल बसाइका क्रममा नेपाल सहित एशियाका विभिन्न देशका उन्यूहरूको अनुसन्धान गरेका थिए। उनै जेन्किन्स र टिजी वाकरले सन् २००८ मा उन्यूको एक प्रजातिलाई टेरिस काठमान्डुइन्सिस् नामकरण गरेका छन्। यस्तै, उन्यूकै एथिरियम जाति अन्तर्गत दुई वटा प्राकृतिक ठिमाहा प्रजातिका नाम एथिरियम X काठमान्डुइन्सिस् र एथिरियम x लाङटाङ्गेन्स् राखिएका छन्।
नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिष्ठानका सचिव महेशकुमार अधिकारीले नेपालका विभिन्न स्थानबाट आधा दर्जनभन्दा बढी फन्गाईको नामकरण गरेका छन्। बागमती प्रदेशमा स्थाननामबाट फन्गाईका सात प्रजाति र एक भेराइटीको नामकरण भएको छ। उनै अधिकारीले सेतो सल्ले च्याउ (खान हुने)लाई रुसुला काठमान्डुन्सिस् नामकरण गरेका छन्, जसको सन् २००६ मा १० रुपैयाँको हुलाक टिकट नै छापिएको थियो।
यस्तै, लेउ वर्गको एक प्रजातिलाई जापानका तीन अनुसन्धाताले सन् २००७ मा साइक्लोटेल्ला काठमान्डुइन्सिस् नामकरण गरेका छन्। उनीहरूले त्यो प्रजाति काठमाडौंको भूसतहबाट १०८ देखि १७६ मिटरभित्रको जमीनमा जीवाश्मबाट फेला पारेका हुन्। यसको नमूना जापानको द नेशनल साइन्स म्यूजियम टोक्योमा सङ्गृहीत छ।
लुम्बिनी प्रदेश
यो प्रदेशका स्थाननामबाट फूल फुल्ने एक वनस्पति र च्याउका दुई प्रजातिको नामकरण भएको छ। सुनाखरी विज्ञ भक्तबहादुर रास्कोटीले सन् २०१९ मा पाल्पामा एक प्रजातिको सुनाखरी सङ्कलन गरेका थिए, जसको नाम उनले ह्याबनरिया पाल्पेन्सिस् राखेका छन्।
त्रिभुवन विश्वविद्यालय केन्द्रीय वनस्पति विभागमा अध्यापनरत हरिप्रसाद अर्यालले दुई वटा च्याउ प्रजातिलाई अर्घाखाँची र पाल्पा जिल्लाबाट टरमिटोमाइसिस् अर्घाखाँचेन्सिस् र टरमिटोमाइसिस् पाल्पेन्सिस् नामकरण गरेका छन्। यी दुवै प्रजाति खान हुने च्याउ हुन्।
कमिलासँग अन्योन्याश्रित सम्बन्ध भएको च्याउ टरमिटोमाइसिस् जातिको हो। यही जाति अन्तर्गतको च्याउ पूर्वी नेपालका चारकोसे झाडीका प्रायः धमिरा वा कमिलाको ढिस्को लडेको ठाउँमा पलाउँछ। त्यहाँ त्यसलाई देउले च्याउ भनिन्छ।
गण्डकी प्रदेश
गण्डकी प्रदेशका हिमाल, खोला, पहाड, उपत्यका आदिका नामबाट ३२ प्रजातिका वनस्पतिको नामकरण भएको छ।
यो प्रदेशको मुस्ताङमा नेपालमा पाइने कुल रैथानेमध्ये करीब ११ प्रतिशत फूल फुल्ने वनस्पति पाइन्छन्। त्यहाँबाट पत्ता लागेकामध्ये मुस्ताङ शब्द प्रयोग गरी चार प्रजाति आर्टिमिया मुस्ताङ्गेन्सिस्, जुन्कस मुस्ताङ्गेन्सिस्, मिक्रोउला मुस्ताङ्गेन्सिस् र पोवा मुस्ताङ्गेन्सिस् नामकरण गरिएको छ। यस्तै, टुकुचे, मुक्तिनाथ र नाम्दोबाट आर्टिमिसिया टुकुचाइन्सिस्, जस्टिसिया टुकुचेन्सिसु, पोवा मुक्तिनाथेन्सिस् र सेक्सिफ्रागा नाम्दोइन्सिस् नामकरण भएका छन्।
टुकुचेभन्दा थोरै उत्तरतिर कालीगण्डकीको किनारबाट सङ्कलित १५/२० सेन्टिमिटर अग्लो घाँस वर्गको वनस्पतिको नाम क्यारेक्स गण्डकिइन्सिस् राखिएको फ्लोरा अफ मुस्ताङ (सन् २००८) पुस्तकमा उल्लेख छ।
संसारको आठौं अग्लो हिमाल मनास्लु गण्डकी प्रदेशमै पर्छ। यो हिमालको आसपासका क्षेत्रबाट सङ्कलित वनस्पति यसकै नामबाट हेडिसारम मनास्लेन्स्, हेडिसारम मनास्लेन्स् भेराइटी नेपालेन्स्, पापाभर मनास्लुइन्स् राखिएका छन्। गण्डकी प्रदेशतर्फ पर्ने गणेश हिमालबाट पापाभर गणेशेन्स, पार्निसिया चाइनेन्सिस् भेराइटी गणेशी र रोस्कोइया गणेशेन्सिस् नामकरण भएको छ।
मनाङ र लमजुङ जिल्लाबाट दुई वनस्पतिका नाम सिनोटिस मनाङ्गेन्सिस् र पापाभर लम्जुङ्गेन्स् राखिएका छन्। कास्कीको पञ्चासे, म्याग्दीको घोरेपानी र अन्नपूर्ण हिमालबाट पानिसिया पन्चासिन्सिस् (सुनाखरी), इम्पाटियन्स घोरेपानियसिस् र पेडिकुलारिज अन्नपूर्णेन्सिस् नामकरण भएको छ। पिनालिया जातिको सुनाखरी अन्तर्गत अन्नपूर्ण हिमाल र पोखराबाट पिनालिया अन्नपूर्णेन्सिस् र पिनालिया पोखरेन्सिस् नामकरण भएको छ। डोल्पाबाट सुनाखरीकै एउटा प्रजातिलाई मालाक्सिस् डोल्पेन्स् नाम दिइएको छ। मनाङस्थित अन्नपूर्ण पदमार्गमा पर्ने ब्रागा गाउँबाट कोडोनोप्सिस् ब्रागाइन्सिस् नामकरण भएको छ। गोर्खाको तुम्जे भन्ने ठाउँबाट रोस्कोइया तुम्जेन्सिस् नाम राखिएको छ। यो प्रजाति गोर्खा बाहेक सोलुखुम्बुको जुनबेसीमा पनि पाइएको अभिलेख प्रकाशित छ।
उन्यूको एक प्रजातिको नाम अन्नपूर्ण हिमालबाट पोलिस्टिकम अन्नपूर्णिकोला राखिएको छ। यस्तै, मुस्ताङ, पोखरा र गोर्खाबाट तीन वटा उन्यूका प्राकृतिक ठिमाहा प्रजातिको एथिरियम X मुस्ताङ्गेन्स्, एथिरियम X पोखरेन्स् र थेलिप्टेरिस X गोर्खालेन्सिस् नामकरण भएको छ। यस्तै, फन्गाईका तीन प्रजातिलाई अन्नपूर्ण हिमाल, मनाङ र अन्नपूर्ण हिमाल आसपासको क्षेत्र चुम्रुङबाट पक्सिनिया अन्नपूर्णा, पक्सिनिया मनाङ्गेन्सिस् र सिउडोबेल्ट्रानिया चुम्रुङ्गेन्सिस् नामकरण गरिएको छ।
कर्णाली प्रदेश
यो प्रदेश अन्तर्गतका स्थाननामबाट जम्मा ११ प्रजातिका वनस्पतिको नामकरण भएको छ। कर्णाली प्रदेशमा ठूली भेरी र सानी भेरी नदी छन्। डोल्पातर्फ ठूली भेरी नदी आसपासको क्षेत्रमा सन् १९५२ मा सङ्कलित तीन वनस्पतिको वैज्ञानिक नाम स्क्रुफुलारिया भेरिइन्सिस्, स्ट्रोविलान्थस भेरिइन्सिस् र ओनोस्मा भेरिइन्सिस् राखिएका छन्। ती तीनको नमूना बेलायतका वनस्पतिविद् ओलेग पोलुनिन, डब्लुआर साइक्स र एलएचजे विलियम्सले सङ्कलन गरेका हुन्।
डोल्पा, मुगु र जाजरकोट जिल्लाबाट सङ्कलन गरिएका तीन वनस्पति प्रजातिलाई मालाक्सिस् डोल्पेन्सिस् (सुनाखरी), पेडिकुलारिज मुगुइन्सिस् र प्रुनस जाजरकोटेन्सिस् नाम दिइएको छ। हुम्लाको सिमीकोट र टालुङबाट पापाभर सिमिकोटेन्स् र सौसुरिया टालुङ्गेन्सिस् नामकरण भएको छ। मुगुको चङ्खेलीबाट पापाभर चङ्खेलीइन्स नाम राखिएको छ। यस्तै, कर्णालीबाट बरबेरिज कर्णालिइन्सिस् र जुम्लाबाट पापाभर ग्रान्डे भेराइटी जुम्लाइन्सिस् नामकरण गरिएको छ।
सुदूरपश्चिम प्रदेश
यो प्रदेशमा तीन वटा वनस्पतिका नाम स्थानका आधारमा राखिएका छन्। सन् १९८४ मा फ्रान्सका वनस्पतिविद् एमए फारिल्लेले दार्चुलाको कावा तालबाट धनियाँ परिवारको एक वनस्पति पत्ता लगाए। फारिल्लेले सन् २००२ मा त्यसको नाम पिम्पिनेल्ला कावालेखेन्सिस् राखे। उक्त नमूना फ्रान्सको एक सङ्ग्रहालयमा सङ्गृहीत छ।
सन् १९५४ मा बेलायतका जेईएम अर्नोल्डले बझाङस्थित सैपाल हिमाल आसपासका क्षेत्रबाट वनस्पतिका नमूना सङ्कलन गरेको सन् २०१६ मा प्रकाशित ‘हिस्ट्री अफ बोटानिकल एक्स्प्लोरेसन इन नेपालः सन् १८०२–२०१५’ लेखमा उल्लेख छ। ती नमूनामध्ये एक वनस्पतिको नाम सन् १९८७ मा सैपाल हिमालको नामबाट ग्यालियम सैपालेन्स् राखियो।
सन् १९९१ जुलाईदेखि सेप्टेम्बरसम्म जापानका वनस्पतिविद्हरूको एक टोली वनस्पतिका नमूना सङ्कलन गर्न बाजुरा जिल्लाका साथै कर्णाली उपत्यका गएको थियो। त्यस वेला सङ्कलित एक नमूनालाई सन् १९९३ मा बाजुराको नामबाट इम्पाटियन्स बाजुरेन्सिस् नामकरण गरियो। अर्को प्रजातिको नाम सैपाल हिमालबाट गालियम सैपालेन्स् राखिएको छ।
स्थाननामबाट अहिलेसम्म वनस्पतिको नामकरण नभएको प्रदेश नम्बर २ हो। माथि उल्लिखित ६ वटा प्रदेशका स्थाननामबाट नाम राखिएका १०३ वनस्पति प्रजातिमध्ये करीब ८० प्रतिशत नेपालका रैथाने हुन्। रैथाने वनस्पति ठाउँ विशेषमा मात्र पाइने भएकाले तिनको नाम स्थाननामबाट राखिँदा सम्बन्धित ठाउँको चिनारी संसारभर हुन्छ। तर, स्थानीय सरकार, प्रदेश सरकार आफ्नो क्षेत्रका स्थाननामबाट न्वारन गरिएका वनस्पति र यसको महत्त्वबारे बेखबर छन्। सम्बन्धित स्थानीय र प्रदेश सरकारले त्यहाँबाट नामकरण भएका वनस्पति ती ठाउँका विशेष पहिचान हुन् भनेर थाहा पाउनुपर्छ। यस्तै, यी वनस्पति प्रति वनस्पति क्षेत्रका सरोकारवालाहरूबाट चासो अपेक्षित हुन्छ। वन, वनस्पति तथा वातावरण सम्बद्ध निकाय, सङ्घसंस्था र व्यक्तिहरू सम्बन्धित ठाउँका महत्त्वपूर्ण वनस्पतिबारे बेखबर रहँदा न संरक्षण हुन्छ, न त तिनको सही उपयोग गराउन सक्छन्।
(हिमाल मासिकको मंसीर अंकमा प्रकाशित)