सुनसरी र झापामा भेटिएको ‘व्यापारी’ रूख कस्तो वनस्पति?
वैज्ञानिक नाम ‘टेरिगोटा एलाटा’ रहेको व्यापारी भनिने रूख नेपालमा सूचीकृत हुनै बाँकी छ। औषधीय गुणयुक्त यो वनस्पतिबारे हामीकहाँ अध्ययन पनि जरुरी छ।
गत पुस मसान्तको बिहान इटहरी–चतरा सडकखण्ड अन्तर्गत सुनसरीको बराहक्षेत्र नगरपालिकास्थित जङ्गलमा मोटर हाँकिरहेको थिएँ। सडक छेउछाउ पातलो काण्ड भएको, सुरिला र हल्का सेतो रङको एकै किसिमका रूख उल्लेख्य देखें।
यस्ता रूख चार वर्षअघि भाइ ताम्रध्वज लिम्बूले त्यो ठाउँबाट करीब तीन किलोमिटर दक्षिण सोही नगरपालिकाको वडा नम्बर ५ बाङ्गेस्थित जङ्गलमा देखाएका थिए। उनले उक्त रूखको नाम ‘व्यापारी’ बताएका थिए। यसको घाँस गाईबस्तुले मीठो मानेर खाँदा रहेछन्। त्यस वेला गाउँ नजिक जङ्गलको सिमानामा मात्र केही सङ्ख्यामा थिए, ती रूख। त्यसैले कतैबाट घाँसका लागि ल्याएर रोपिएको हो कि भन्ने लागेको थियो।
ती रूखमा अचम्मको फल सुकेको अवस्थामा भेटिएका थिए। फलको आकार नरिवलको दाना जस्तै थिए। भुइँमा झरेका फलको फुटेको भाग उघार्दा बीउहरू कलिला केराका दुई काइँयोका टुप्पा जोडाएर सर्लक्क राखे जस्ता देखिन्थे। बीउका आकार भने ठ्याक्कै काठको खराउ जस्ता थिए।
पहिलेका कुरा सम्झिएपछि मोटर रोकेर रूखका फेदमा गइयो। व्यापारीकै रूख रहेछन् ती। तर, त्यहाँ यो निकै बाक्लो सङ्ख्यामा थिए। चार वर्षअघि फागुन महीनामा देख्दा केही मात्र फल रूखमा अरू सबै भुइँमा झरेको अवस्थामा थिए। यस पटक बोटमा फल बाक्लै झुन्डिएको देखियो। तस्वीर १०५ एमएम म्याक्रो लेन्सबाट खिचें।
यो रूखका बारेमा त्यहीं श्रीमती (सीता राना) लाई सुनाए। उनले नरिवल जस्तो यसको दाना घरमा अझै रहेको बताइन्। मैले उस वेला फल र हर्बेरियम नमूना सङ्कलन गरेर काठमाडौं लगेको भुलिसकेको रहेछु।
मेरो बाल्यकाल यो पालिकाको पूर्वतर्फको सिमानामा अवस्थित रामधुनी नगरपालिकाको जङ्गलमा गाईबस्तु चराउँदै र घाँसदाउरा गर्दै बितेको थियो। तर, विगतमा त्यस्तो रूख कहिल्यै देखेको थिइनँ। त्यसैले पहिचान गर्न निकै गाह्रो भयो।
यसको वैज्ञानिक नाम पत्ता पाउन नसकेपछि नेपालकै केही वनस्पति विज्ञलाई तस्वीर पठाएको थिएँ। उनीहरूले पनि चिन्न सकेनन्। राष्ट्रिय हर्बेरियम तथा वनस्पति प्रयोगशाला गोदावरीमा यसका नमूना सङ्ग्रह गरिएको छ कि भनेर खोजें। तर, भेटिएन। त्यसैबीच फरेस्ट एक्सन नेपालको वनस्पति तथा वातावरण अध्येता लिलानाथ शर्मासँग भदौ २०७७ मा झापाको जलथल जङ्गल पुगें। त्यहाँ यसको रूख टाढैबाट चिनें।
शर्माले निकै खोजी गरेर भर्खरै यो रूखको वैज्ञानिक नाम थाहा पाएको बताए। यो वनस्पति नेपालमा सूचीकृत भइनसकेको रहेछ। रोयल बोटानिकल गार्डेन्स क्यू लन्डनले जारी गरेको विद्युतीय सञ्जालमा रहेको नक्शामा पनि नेपाल सेतो रङमा अर्थात् यो वनस्पति नपाइने समूहमा छ (हे. नक्शा)। नक्शामा प्राकृतिक रूपमा यो वनस्पति पाइने देशहरू हरियो रङमा र रोपिएको अवस्थामा पाइने देशहरू प्याजी रङमा छन्।
टेरिगोटा एलाटा
सुनसरीमा व्यापारी रूख भनेर चिनिने वनस्पति कपास परिवार (माल्भेसी) अन्तर्गतको रहेछ। रोयल बोटानिकल गार्डेन कलकत्ताका सुपरिटेन्डेन्ट नाथानियल वालिचले सन् १९२९ मा यसको वैज्ञानिक नामकरण गरेका थिए, स्टरकुलिया एलाटा।
संसारभर स्टरकुलिया जाति अन्तर्गत करीब १८० प्रजाति छन्। नेपालमा भने यसका तीन प्रजाति र एक भेराइटी छ। तराई र चुरे क्षेत्रमा स्टरकुलिया भिलोसा फाट्टफुट्ट पाइन्छन्। यसको स्थानीय नाम ओदाल हो। यो वनस्पति दक्षिण र दक्षिणपूर्व एशियामा मात्र पाइन्छ।
ओदालको रूख बडेमानको हुन्छ। एक वर्ष जति उमेर भएको ओदालको लाथ्राको बोक्रा निकालेर डोरी बनाइन्छ। त्यो डोरी बर्खाको पानीमा जति भिज्यो, उति बलियो हुन्छ। तर, हिउँदमा भने खप्दैन। यसको कलिलो जरा किच्याउँदा चिपचिप पदार्थ निस्किन्छ। त्यसलाई गाउँघरमा सेलरोटी पोल्ने पिठोमा मिसाउँछन्। ओदालको जरा कुटेर मिसाउँदा रोटी नरम र मीठो हुन्छ।
व्यापारी रूख र स्टरकुलिया जातिका वनस्पतिबीच केही भिन्नता हुने रहेछ। स्कटिस बोटानिस्ट रोबर्ट ब्राउनले व्यापारी रूख त स्कटरकुलिया जाति जस्तै देखिने टेरिगोटा जातिको हो भन्ने ठम्याए। त्यसपछि सन् १८४४ मा यसलाई स्टरकुलिया जातिबाट टेरिगोटामा स्थानान्तरण गरी वैज्ञानिक नाम ‘टेरिगोटा एलाटा’ मा परिणत गरिदिए। त्यस उप्रान्त यसको वैज्ञानिक नाम त्यही कायम छ।
यद्यपि स्कटरकुलिया र टेरिगोटा दुवै जातिका फूल लगभग उस्तै हुन्छन्। यिनीहरूमा स्टामेन (भाले प्रजनन अङ्ग) र कार्पेल (पोथी प्रजनन अङ्ग) एकै ट्युबमा पलाउँछ। डिम्बाशय अर्थात् ओभरी फेदमा, बीचमा ट्युबको वरिपरि स्टामेन र टुप्पोमा कार्पेल हुन्छ। स्टामेन यसरी पलाएको संरचनालाई मोनाएडल्फस स्टामेन भनिन्छ।
व्यापारी रूखको मोनाएडल्फस स्टामेन संरचनामा स्टामेन पलाउने तरीका स्टरकुलियामा भिन्न हुँदो रहेछ। स्टरकुलिया जातिका वनस्पतिमा स्टामेन ट्युबको वरिपरि अनियमित रूपमा पलाउँछ। तर, व्यापारीको रूखको फूलमा स्टामेन ट्युबको वरिपरि घेरा अर्थात् वर्ल्समा पलाउने रहेछ।
टेरिगोटा जाति अन्तर्गत संसारभर २१ प्रजातिका वनस्पति पहिचान भएका छन्। तिनीहरू धेरैजसो मध्य अफ्रिकी देशहरूमा र केही प्रजाति अफ्रिका तथा मध्य अमेरिकी देशमा पाइन्छन्। एक प्रजाति श्रीलंकामा मात्र पाइन्छ।
टेरिगोटा एलाटा भने भारत सहित दक्षिण र दक्षिणपूर्वी एशियामा पाइन्छ। यो प्रजाति पाइने देशहरूका नक्शामा अफ्रिकालाई उल्लेख गरिएको छैन। तर, केही अनुसन्धानात्मक लेखहरूमा यो प्रजाति नाइजेरिया, इजिप्ट आदि देशमा पाइएको लेखिएका छन्। यसको बोट ३० मिटरसम्म अग्लो, हाँगा भने १०-१२ मिटर माथिदेखि मात्र हुन्छन्। बोटको मोटाइ २०० सेन्टिमिटरसम्म हुन्छ। यो रूख नेपालमा अहिलेसम्म सूचीकृत नभएकाले नेपालको वनस्पतिबारे लेखिएका पुस्तक तथा लेखहरूमा यसबारे जानकारी हुने कुरै भएन।
औषधीय गुण र उपयोग
जर्नल अफ मेटेरियल्स एन्ड इन्भारोमेन्टल साइन्सको भोलम ९ अङ्क १ (सन् २०१८) मा प्रकाशित लेख अनुसार, टेरिगोटा एलाटालाई बुद्ध नरिवल रूख भनिन्छ। तर, यसको बीउ सेवनले नशालु पदार्थ जस्तो असर गर्ने लेखिएको छ। भारतमा कतैकतै यसलाई अफिमको सट्टा प्रयोग गरिंदो रहेछ।
रूखको बोक्रा भने औषधीय गुुणयुक्त हुने उल्लेख छ। बोक्रा कुटेर निकालिएको रस सेवन हर्निया उपचारमा लाभदायक हुने रहेछ। यस्तै, शरीरको कुनै भागमा तरल पदार्थ जमेर सुन्निएको तथा हाडजोर्नी सुन्निएको उपचारमा पनि प्रयोग गरिंदो रहेछ। कुष्ठरोगको उपचारमा पनि यसको प्रयोग गरिने लेखिएको छ।
जर्नलमा प्रकाशित सामग्री अनुसार, यो रूख निकै उपयोगी देखिन्छ। यसमा के के उपयोगी रसायन छन् भनेर उल्लेख्य अनुसन्धान भएको रहेछ। यसको पात पनि उपयोगी हुँदो रहेछ। नोभेल रिसर्च इन माइक्रोबाइलोजी जर्नलको भोलम ३ अङ्क ३ (२०१९) मा यसको पातमा एन्टिअक्सिडेन्ट र एन्टिमाइक्रोबियल एक्टिभिटीबारे गरिएको अध्ययन प्रकाशित छ। अध्ययनले पातबाट भविष्यमा महत्त्वपूर्ण औषधि निर्माण हुन सक्ने निष्कर्ष दिएको छ।
व्यापारी वा बुद्ध नरिवल भनिने रूख विश्वका निकै देशमा लोकप्रिय रहेछ। नेपालमा भने यसबारे धेरैलाई थाहै छैन। सुनसरीको बराहक्षेत्र नगरपालिका र झापाको हल्दीबारी गाउँपालिकाको जङ्गलमा भेटिएको यो रूख अन्यत्र पनि हुनुपर्छ। यसलाई चिस्यानयुक्त ठाउँमा रोप्दा सप्रिने देखिन्छ। स्थानीय सामुदायिक वन उपभोक्ता समूहले यसप्रति चासो दिएर यसलाई जोगाई दिगो उपयोगको नीति बनाउनुपर्छ।
व्यापारी रूख औषधीय गुण भएको वनस्पति हो भनेर यस लेखमा लेखिएकै भरमा उपचारका निम्ति प्रयोग गरिहाल्न उपयुक्त हुँदैन। किनभने, हामीकहाँ यो वनस्पति औषधोपचारमा प्रयोग गरिएको अनुभव छैन। यसबारे थप अनुसन्धान जरुरी छ।