महिलामाथिका यौन हिंसालाई रंगकर्मको माध्यमबाट मुखरित गर्दै महिला स्वयंलाई पनि ब्युँझाउने काममा यी रंगकर्मीको अभियान प्रशंसनीय छ।
हरेक दिनजसो बलात्कारका घटना सुन्नु पर्दा आकांक्षा कार्की (२८) को मनमा हुण्डरी चल्थ्यो । के महिलाको शरीर पुरुषको उपभोगको निजी साधन हो ? के यौन केवल पुरुषको इच्छा र आवश्यकताले निर्धारण गर्ने कर्म हो ? यस्ता प्रश्नहरूले उनको दिमाग बेस्कन हल्लिन्थ्यो ।
जवाफ खोज्दै जाँदा उनले ‘पितृसत्तात्मक पूँजीवाद’ लाई कारण देखिन् । यस्तो पितृसत्तात्मक पूँजीवाद जसले महिलाको जन्म नै पुरुषको सहायता र सहुलियतका लागि भएको ठान्छ । अनि, पुरुषले त्यस्तो सहुलियत प्राप्तिलाई जन्मजात अधिकार ठान्छ ।
उनले खुट्याउन थालिन्– महिलालाई समाजले सुन्दर, दयालु, भोग्य, दानशील, मिहिनेती, कमजोर आदि बनाएको छ । र यसकै आडमा शोषण चलिरहेको छ ।
यो बुझाइ नयाँ थिएन । तर, बुझ्ने आकांक्षा चाहिं नयाँ थिइन् । त्यसैले उनी यो समस्याको हल कसरी खोज्न सकिन्छ भनेर घोत्लिन थालिन् । त्यसैको जन्म हो– भजाइना मोनोलग्स (योनीका कथाहरू) नाट्य शृंखला, जसको नयाँ शृंखला वैशाखमा हुँदैछ ।
२०७२ सालमा आकांक्षा र साथी गुञ्जन दीक्षितले ‘कथा घेरा’ संस्था मार्फत थालेको योनीका कथाहरू एउटा आत्मसंवाद हो । जहाँ शुरूमा सामान्य मूडमा रहेकी कलाकार आफूले भोगेका यौनजन्य दुव्र्यवहारका घटना मसिनोसँग सम्झिदै जान्छन् ।
खासमा यो तरिका महिलालाई आफ्नो यौनिक अधिकार बुझाउँदै ब्युँझाउने कलापूर्ण काइदा हो । सात दशकअघि अमेरिकी अधिकारकर्मी तथा लेखिका इभ एन्सलरले भजाइना मोनोलग शीर्षकमा यस्तो अभियानको थालनी गरेकी थिइन् ।
योनीका कथा स्वयं आकांक्षाको पनि कथा हो । भारतको बैंगलोरमा पढ्दा अटोबाट ओर्लिन लाग्दा चालकले उसको यौनाङ्ग देखाएको, बाल्यकालमा शिक्षकले असजिलो लाग्ने गरी ढाडमा छोएको, मन नलाग्दा नलाग्दै पुरुष सहकर्मीले अंकमाल गरेको, घुरेर अनुहार र वक्षस्थलमा हेरिरहेको जस्ता नभनिएका कैयौं घटना उनलाई ताजै छ । “यस्ता हरेक घटनाबाट बच्नु महिलाका लागि नियमित युद्ध जस्तै हुन्छन्”, उनी भन्छिन् ।
नयाँ वर्षको योनीका कथाहरू मा सामूहिक अभिनयबाट अभिव्यक्त गर्ने तयारी भइरहेको छ । ‘प्राइभेट इज पोलिटिक्स’ यसको विषय हो । यसको अर्थ महिलाको शरीरलाई निजी ठान्ने पितृसत्तात्मक मनोविज्ञानले महिलामाथि गरेको राजनीति भएको आकांक्षा अर्थ्याउँछिन् ।
नाटकमा कलाकारहरूले आफ्ना अप्रिय भोगाइ स्वाभाविक शैलीमा व्यक्त गर्नेछन्, जसलाई उनीहरूले घर, कक्षाकोठा, अस्पताल, सडक, चमेनागृह, विवाहमण्डप जहींतहीं दिनहुँजसो सामना गरिरहेका हुन्छन् । “तर, सामाजिक अवस्थाका कारण महिलाले प्रतिवाद गरेका घटना कमै सुनिन्छ”, उनको भनाइ छ ।
त्यसो त पश्चिमी समाजमा शुरू भएर भारत हुँदै नेपाल आएको यौन दुव्र्यवहार विरुद्धको मिटु अभियानमा आकांक्षा पनि खुलेर आइन् । उनले नाटकको अभ्यासका क्रममा नाम चलेका एक निर्देशकले आफूलाई दुव्र्यवहार गर्न खोजेको सामाजिक सञ्जालमा लेखिन् । उनको त्यो आँटलाई सराहना गर्ने धेरै थिए ।
“दुव्र्यवहार सहनु भनेको अरू दुव्र्यवहारका लागि चाहिने वातावरण बनाइदिनु हो” आकांक्षा भन्छिन्, “त्यसैले पनि आफ्नो सकसबारे खुलौं, हरेक अनिच्छित छुवाइ विरुद्ध औंला ठड्याऔं, हुन्न भनौं ।”
पढ्नुहाेस्:
दासता विरुद्धको लडाइँ
स्वाभिमान सिकाउँदै
प्रेरणाकी पुञ्ज
अठोट नै शक्ति
भुइँमान्छेकी कथाकार
दृश्यकी भाष्यकार
विद्रोहले बनेको व्यक्तित्व
पर्वतारोहणकी सरदार
चुपचाप ‘रोल मोडल’
समावेशी सुन्दरी
‘परनिर्भरताले दास बनाउँछ’
‘साम्बा’ को संघर्ष