अठोट नै शक्ति
मेघरौल, महोत्तरीबाट उच्च अदालत पाटनसम्मको यात्रा तय गरेकी रंजना विश्वकर्मा न्यायसेवामा नेतृत्व तहसम्मको उडान भर्न चाहन्छिन् ।
महोत्तरी, मेघरौलको निम्न मध्यमवर्गीय परिवारमा जन्मेकी रंजना विश्वकर्मा (३०) का सहपाठीमध्ये १० कक्षाभन्दा माथि उक्लेका निकै कम छन् । धेरैको त उतिबेलै बिहे भइसकेको थियो । धनुषाको भरतपुरबाट विद्यालय शिक्षा पूरा गरेकी उनी अहिले उच्च अदालत पाटनमा अधिकृत छिन् । धेरैका लागि उनको यो यात्रा सामान्य लाग्न सक्छ, तर रंजना हुर्केको समाजका लागि भने यो सपना झैं लाग्छ ।
छोरी मान्छे घर छोडेर टाढा जानुहुँदैन भन्ने मान्यता राख्ने समाजबाट उठेर यहाँसम्मको यात्रा तय गर्नु रंजनाका लागि पनि सहज थिएन । तर, परिवारको साथ र आफ्नो निरन्तरको लगनका कारण उनले कानूनमा स्नातक र व्यवस्थापनमा स्नातकोत्तरसम्मको शिक्षा हासिल गरिन् । न्यायसेवामा प्रवेशका लागि भएको प्रतिस्पर्धामा पनि अब्बल ठहरिइन् । रंजना भन्छिन्, “मेरो अठोट र रुचिमा परिवारको साथ थियो, त्यसैले यो यात्रा तय गर्न सकें ।”
रंजनाका बुवा सिंचाइ विभागका श्रेणीविहीन कर्मचारी हुन् भने आमा गृहिणी । आमाबुवाले ५ कक्षासम्म मात्रै औपचारिक अध्ययन गरेका भए पनि छोरीको रुचि बुझेर आड–भरोसा दिंदा आफू सफल भएको उनी बताउँछिन् । भन्छिन्, “परिवारमा आपसी सल्लाह, छलफलले एकअर्कामा विश्वास जगाउँछ, शक्ति दिन्छ ।”
२०७४ सालमा न्याय सेवामा प्रवेश गरेकी रंजना अहिले इजलास सहायकको भूमिकामा छिन् । पढ्नमा औधी रुचि राख्ने उनी दैनिक पत्रिकाहरूमा लेख्छिन् पनि । “आफ्नो विचार व्यक्त गर्न लेखनलाई माध्यम बनाएकी छु, त्यसमा बृहत्तर हितको उद्देश्य त छँदैछ” रंजना भन्छिन् । करीब दुई वर्षअघि मात्रै न्यायसेवामा प्रवेश गरेकी उनी अदालतकै विषयमा पनि कलम चलाउँछिन् ।
लिंग, वर्ण, जात, धर्मका आधारमा समाजमा व्याप्त विभेदले पनि विकासमा अवरोध गरिरहेको बताउने उनी समाज रूपान्तरणका लागि शिक्षालाई नै महत्वपूर्ण ठान्छिन् । “दोस्रो कुरा आफ्नै अठोट र निरन्तरको प्रयास पनि हो”, उनी भन्छिन् ।
रंजनाका अनुसार विश्वविद्यालय तह पुग्दासम्म पनि उनी कक्षामा कहिल्यै उत्कृष्ट भइनन् । “म औसत विद्यार्थी हुँ तर, अध्ययनको दायरालाई पाठ्यक्रमभन्दा परसम्म विस्तार गर्न सकें” रंजना आफ्नाबारे भन्छिन्, “प्रतिकूल परिस्थितिका बावजुद पनि दृढतापूर्वक पाइला चाल्ने हो भने अवरोधहरू पन्छिंदै जान्छन् ।”
जुन समुदाय, समाज र परिवेशबाट उठेर उनले अहिलेसम्मको यात्रा तय गरिन् त्यो समावेशी समाज निर्माणका लागि पनि महत्वपूर्ण छ । अब अगाडिको लक्ष्य के छ त ? उनी भन्छिन्, “मेरो क्षमता र परिस्थितिले साथ दियो भने न्यायसेवाको उपल्लो तहसम्म पुगेर मुलुकको सेवा गर्ने रहर छ ।”
पढ्नुहाेस्: